त्रिभुवन विश्वविद्य विद्यार्थी युनियनको चुनाव रोकिएका कारण विद्यार्थी संगठनका नेताहरुको तनाव
सकिएको छैन । अर्को तर्फ उनीहरुले नेतृत्व गरेको दावी गरेका लाखौ विद्यार्थीको एसएलसी परिक्षाफल प्रकाशित भएको छ । जसमा लाखौको संख्यामा आधा भन्दा बढी विद्यार्थीलाई नालायक घोषणा गर्ने रिजल्ट भएको छ । हाम्रो देशको सामाजिक परिवेशलाई ध्यानमा राखेर न स्ववियु निर्वाचन माथि कुनै विद्यार्थी नेताले बहस गरेका छन् न त किन हरेक वर्ष आधाभन्दा बढी विधार्थी एस एल सी परिक्षामा फेल हुन्छन् भनेर सार्वजानिक बहस चलाएका छन् । संचार माध्यममा सोधेको प्रश्न भन्दा पर गएर कुनै विद्यार्थी नेताले यसलाई उठाउनु पर्ने, बहस गर्नु पर्ने र परिमार्जन गर्नु पर्ने विषय बनाएनन् ।
स्ववियुको निर्वाचन नहुनुको कारण देखाउन विद्यार्थी नेताहरु त्यसरी नै प्रस्तुत भए जसरी संविद्यान सभा विघटन हुनुमा ती संगठनका माउपार्टीहरु प्रस्तुत भएका थिए । एक संगठनले आफुलाई चोखो बनाउनका लागि अर्को संगठनको विरोध गर्ने, फेरि अर्कोले अर्कोलाई गाली गर्ने चक्र चलिरहेको छ । यो चक्र स्ववियु निर्वाचन रोकिए पछि मात्रै सुरु भएको हैन । स्ववियु निर्वाचन हुने भनिए पछि हरेक क्याम्पसका चौरमा गरिएको चर्को हो हल्लाको पछिल्लो रुप मात्रै हो ।