तिम्रो याद

on Friday, November 29, 2019


यसै गरि आइरहोस् तिम्रो याद पनि
जसरी आउँछ बेला बेला भुईचालो
र सम्झाएर जान्छ मृत्युसँग मेरो निकटता
जसरी आउँछन् खडेरी, आँधी, असिना वा फौजी किरा
अनि खाएर जान्छन् किशानको महिनौँको मेहनत
बिना सहमति, बिना कृतज्ञता
जसरी आउँछ सुन्दर सपनासँगै
डरलाग्दो एैठन रतर्साईरहन्छन बिपनामा पनि

म भुल्न चाहन्छु तिमीलाई
र जान चाहन्छु बहुत दुर तिमीसँग
तर, गए पनि संसारको कुनै कुनामा
आईरहोस् तिम्रो याद
सम्झाईरहोस
तिमीले गरेका बेइमानी, छल र दिएका यातनाहरु
जसलाई सम्झेर
कसैलाई पनि विश्वास नगर्न सकुँ म

आँखाबाट निलौं जस्तो रारा

on Friday, November 1, 2019


















रारा तिमीलाई देख्दा खेरि यस्तो मोह जाग्यो
मिल्ने भए आँखाबाट निलौं जस्तो लाग्यो 

स्कुल पढ्दै हो कवि रमेश पौडेलले रारा तालमाथि लेखेको माथीको गीत सुनेर रारा घुम्ने रोमान्चक सपना देखेको | काठमाडौं आए पछि पत्रिकाहरूका विचार पेजमा ध्यान जान थाल्यो | १५ वर्ष अगाडीका मोदनाथ प्रश्रित मेरालागि राम्रा लेखक थिए | धेरै थरि ज्ञान बटुल्न | कान्तिपुरका स्तम्भकार थिए उनि | उनले रारा घुमेर फर्के पछि लेखेको लेखमा रारा ताल वरपर सल्लोको जङ्गल भएको कारण आगामी (२०६१ साल देखिको) २५ वर्षमा ताल सुक्न सक्ने अनुमान गरेका थिए | उक्त लेख पढे पछि मन नै चिसो भएको थियो | तै पनि रारा जाने रहर थियो |

एउटा अनुसन्धानको क्रममा कालिकोट जाने अवसर मिले पछि मेरा एक गुरुले 'एक पटक रारा पनि पुगेर आउनु है' भनेर पटक पटक भन्नु भएको थियो | कालिकोटको मान्मबाट मुगुको रारा ताल कति टाढा पर्छ भन्ने थाहा नभएकी मेरो मन रारा पुगिसकेको थियो | कालिकोट पुग्दा रारा जाने उपयुक्त मौसम भनेर धेरैले भन्दै थिए | मान्मको ह्वाईट गेस्टहाउसमा हामी दश दिने पाहुना थियौं | जहाँ हरेक दिन रारा जाने र फर्कने आन्तरिक पर्यटकले मेरो मन भड्काई रहेका हुन्थे | चार दिन मान्ममा बसे पछि मेरो मनमा रारा जाने हुटहुटी बास गर्न थालेको थियो | त्यहि बेला काठमाडौंबाट गएको लेखकहरूको टोलीले रारा गएर आएको सुनाए पछि त त्यो हुटहुटी झन् बढ्न थाल्यो | बजारमा गएर बुझ्दा मान्मबाट रारा गाडी लिएर जाँदा एक तर्फी बाटोको रेट बिस हजार रहेछ | खल्तीमा पकेट खर्च  भनेर दश हजार रूपया मात्रै थियो | नेपाल इन्भेस्टमेन्ट बैकको एटिएम खल्तीमा थियो तर पैसा झिक्ने ठाउँ थिएन | मुगुमा पनि राष्ट्रिय बाणिज्य बैंकको चेक चल्ने थाहा भयो | बाणिज्यबैकमा आफ्नो खाता थिएन | 

चार जना अट्ने फोर ह्विलरमा अन्य यात्री पाए आफुँले ५ हजार तिरे पुग्ने थियो | मान्ममा हरेक दिन बिहान र बेलुका म गाडीवालाको स्टेसनरी पसलमा जान्थें र रारा जाने अरू प्यासेन्जर पाए कि भनेर सोध्थें | तर, सधैं एकै उत्तर पाउँथे, 'अहिले सम्म त कोही आउनु भएको छैन | आउनु भयो भने तपाईंलाइ खबर गर्छु |' कालिकोटबाट फर्कने दिनको बिहान सम्म पनि मलाई रारा जाने अरु यात्री पाईने छ भन्ने आशा थियो | तर बिहानै गाडी लिएर आएको भाईले हिस्स पारेर भने, 'रारा जाने त पाइएन सुर्खेत जाने प्यासेन्जर पाइयो' | बिहान ८ बजे मान्मबाट गाडी सुर्खेत तर्फ झर्दै थियो | मेरो मन रारा जाने रहरले पिलितिर (पिली भन्दा पर त म गएकै थिईन नि त) लाग्दै थियो |

म कालिकोट पुगेर पनि रारा नपुगी आएँ | बाटो भरि मन पिली तिरै थियो | काठमाडौं आएको भोलि पल्ट रारा जान नपाएको तोडमा फोन एकातिर फालेर छोरोसँग खेलेर बिताएँ | बेलुका काम परेर फोन खोज्दा नयाँ नम्बरबाट फोन आएको रहेछ | कलब्याक गरें, सम्राट कटवाल भन्ने साथीले फोन गरेका रहेछन | कर्णाली फेलोशिप दिने भनेर | सानोमा आमाले भन्नु हुन्थ्यो, 'भगवानले तँ आँट म पुर्याउँछु भन्छन् रे' आमाका यस्तै कुराले हो मलाई कैयौं असम्भव लाग्ने कुरामा आँट आउने | आफुँले भगवानमा विश्वास नगर्ने भए पनि सम्राटसँगको कुराकानी पछि, मनले चाहिं आँटनु पर्ने जस्तो लाग्यो |  

फेलोशिप अन्तर्गत हामीलाई आफुँ जाने जिल्ला छान्न लगाईएको थियो | मेरो मन रारा हेर्न जाने रहरले उचालिएको थियो | तर रारा मुगु जिल्लामा पर्छ भन्ने बाहेक धेरै जानकारी थिएन | फेलोशिप पाउने शोभा दाहाल र मैले मुगु जाने भयौं | म मुगु जाने भने पछि धेरैले एक पटक रारा जानु है भन्ने सल्लाह दिए | मेरा अर्का गुरु घनश्याम भूषालले आफुँले जहाजबाट देखेको राराको बयान रोमान्चित हुँदै गर्नु भयो, 'प्रकृतिको अनुपम छटा भन्छन् नि बहिनि, रारा चाहिं अनुपम छटा हो के |' 

सामान्यतया काठमाडौं देखी गमगढी सम्म सार्वजानिक गाडीमा (सार्वजनिक यातायात ठाउँ ठाउँमा रोक्दै बिस्तारै लाने हुँदा बढी समय लाग्छ) पुग्न ३४ घण्टा लाग्छ भनिन्छ | तर, मुक्लिन नारायणगढ सडक खण्डको जाम, कालिकोटको दहि खोलाको पहिरोको कारण हामी काठमाडौंबाट बस चढेको ५२ घन्टामा मात्रै गमगढी पुग्यौं | मुगुको सदरमुकाम गमगढी देखी रारा सम्म पुग्नको लागि स्थानीय बासिन्दालाई २ घण्टा लाग्छ भन्छन् | हामीले ४ घण्टा लगायौं | रारालाई एक फेर घुम्न लगभग चार घण्टा लाग्छ रे स्थानीय बासिन्दालाई | हामी जस्तालाई फुलको सुगन्ध पनि सुग्नु पर्ने, फोटो पनि खिच्नु पर्नेलाई एक दिन पुरै लाग्ने रहेछ | बिहानै हिंडेका हामी तालको एक छेउ हिड्दै भोकले आतिएका थियौं | गमगढी तर्फको रारा छेउबाट जाँदा राराको एकमात्र होटल डाफें बाटामा पर्ने रहेछ | दिउसोको एक बजे डाँफेमा खाना खायौं |

गत वर्ष कर्णाली राजमार्ग भनिने जुम्ला सुर्खेत सडक खण्ड पिच भएको कारण यो वर्ष रारा घुम्ने पर्यटक धेरै आएको हामीलाई मान्म, नाग्म, गोठीज्युलाका होटलवालाहरूले बताएका थिए | तर, यतिनै पर्यटकले रारा घुमे भन्ने तथ्यांक पाउन मुस्किल रहेछ | रारा आउने पर्यटक एकै बाटोबाट आउँदैनन् कोही सरमुकाम गमगढी, कोही ताल्चा बिमानस्थल, कोही गोठिज्युला वा भुल्भुलेको लेकको बाटो पैदल रारा पुग्छन | मुगुको खत्याड भेगबाट सदरमुकाम गमगढी जाने आउने स्थानीय बासिन्दाको बाटो पनि राराको किनारै किनार पर्ने रहेछ | वारपार गर्नेको सबैको अनिवार्य रूपमा सामान्य विवरण राख्ने काम निकुन्जको सुरक्षामा रहेको सेनाको राखे पनि उदेश्यगत विवरण न राख्ने हुँदा कति कति मान्छे रारा घुम्न आए भन्ने थाहा हुँदैन |


रारा छेउको एक मात्र होटेल डाँफेमा कति मान्छे बस्ने गरि आए त ? भनेर सोद्दा म्यानेजर जगत थापा फागुनको पहिलो हप्ताबाट जेठ १३ गते सम्म दुई दिन बाहेक संधै होटेल प्याक भएको बताउँथे | उनलाई होटलमा रात बस्ने, दिनमा खाना खान आउने देखी एक कप चिया राराको छेउमा खाने सम्मलाई सेवा गर्दा गर्दै कुनै रेकर्ड राख्ने फुर्सद थिएन |
हामी राराको छेउमा पुग्दा वरपर बुट्यानमा सेता गुलाफ, पहेंला फुल र भुईं भरि पनि बैजनी, पहेंला, सेता फुल फुलेका थिए | म हुर्केको ठाउँमा जेठमा गुएली खाने बेला हुन्छ | राराको छेउमा जेठमा गुएँलीको फुल फुल्ने रहेछ | जताततै गुएँलीको बोट र फुल देखे पछि केटाकेटी बेलाको याद आयो | ताल छेउ छेउ हिंड्दा भुन भुन मौरीको भुन भुनाहट एक प्रकारको सङ्गीत जस्तो लाग्थ्यो | काठे पुलहरूले अर्कै आनन्द दिन्थे . तालमा पानीको सतह केहि घटेको रहेछ | पानीको सतह घटेको देखे पछि मोदनाथ प्रश्रितको पुरानो लेखको याद आयो | हाम्रो साथमा खत्याड भेगको कुनै विधालयका शिक्षक थिए | पानीको सतह घट्ने क्रम अघिल्ला वर्षमा पनि थियो कि यो वर्ष मात्रै घटेको हो भनेर उनलाई सोध्दा यो वर्ष खडेरीले गर्दा सतह घटेको गत वर्ष सम्म नघटेको बताए |

हामीले खाना खाने बेलामा पानी आयो | खाना खाएर केहि बेर के सुस्ताएका थियौं राराको पनि बझ्न थाल्यो छत्ल्याक छात्ल्याक गर्दै | होटलमा रहेका रारा हेर्न आउनेहरू किनार तर्फ दौडिए | स्थानीयले बताए अनुसार दिउसो १२ बजे पछि रारामा हावा चल्ने र तालका छाल आउने रहेछ | रारामा अहिले एउटा बोट चल्छ | तर हावा चलेको समयमा बोट नचल्ने हुनाले बिहानै जान पर्ने हुन्छ |
रारालाई एक फन्को लगाउन सरासर हिड्नेलाई लगभग चार घण्टा लाग्छ | तर, पानी खानु पर्यो, पिसाब गर्नु पर्यो भने फर्केर डाफें होटल नै आउनु पर्छ | राराको छेउमा धेरैले पाल गाडेर बसेको बताउँछन् जगत थापा | आगामी वर्षहरूमा अझै पर्यटक बढ्ने सम्भावना छ | त्यसको लागि राराको छेउमा अझै होटल खोल्न जरुरी रहेछ भन्ने लाग्यो | अहिले खुल्दै गरेको अर्को होटल पनि डाफें होटेलकै छेउमा छ | अर्को होटलको लागि टेन्डर खोल्ने तयारी चल्दै गरेको पनि थाहा भयो | अब खुल्ने होटलहरू अहिले होटेल भएको ठाउँ भन्दा अल्ली पर भए घुम्ने मानिसलाई केहि सुविधा हुन्थ्यो कि भन्ने लाग्यो ?

दिउँसो दुई बजे पछि चिसो हिमाली हावा सहित स्याठ चल्न सुरु भयो | हावामा राराको छाल हेर्न जुन मज्जा थियो, होटलमा ठाउँ नभएको र आफ्नो बाक्लो लुगा गमगढीमा छोडेको कारण हामी गमगढी फर्कियौं | गमगढीको होटेलमा फर्के पछि अघिल्लो दिन देखिका पाहुनाहरूले रारा कस्तो मान्यौ भनेर सोधे | मैले अब वर्षा लाग्ला भदौंमा परिवार लिएर रारामा नै दुईरात बस्ने गरि आउंछु भने पछि होटलका साहुले यत्रो फोटो खिचेछौ यहि देखाए हुँदैन भनेर जिस्काए | मैले पनि जिस्कने मेलोमा भने, 'राराको जङ्गलको ओस र कुहिएका रूखको गन्ध, थरिथरिका फूलले ढाकेका भुई र बुट्यान, मौरीको भुन्भुनाहट, दिउसो चल्ने चिसो हावा र त्यो हावा सँगै बज्ने तालको छालबाट आउने सङ्गीत यहीं नआई कसरी महसुश हुन्छ र ?' साँच्चै मलाई यस्तै लाग्यो | 

(यो लेख ७३ सालमा लेखिएको हो)

सर, तुमी पुन छोट्टी खेल्न्या हौ ?

on Monday, October 21, 2019


बैशाखको पहिलो साता कालिकोट जाँदा हाम्रो समूहको नेतृत्व दुई दशक अगाडी कर्णालीका जिल्लाहरूमा बिकासे (आइएनजीओको) काम गर्नुभएका, तर पछिल्लो समय त्यता नघुम्नु भएका अल्ली पाका सरले गर्नु भएको थियो | कालिकोटको गेला गाविस अन्तर्गत पर्ने गणेशकोटको उकालोमा उहाँले 'यता तिर अहिले पनि छोट्टी खेल्छन् ?' भनेर स्थानीय स्रोत व्यक्ति प्रेम शाही दाईलाई सोधे पछि प्रेम दाईले अहिले त्यति धेरै नभएको तर आफुँले किशोर अवस्थाको हुँदा दाई र काकासँग मिलेर कसरी छोट्टी खेल्न जाने गरिन्थ्यो भन्ने बारेमा बताउनु भएको थियो | दुई गाउँलाई छुट्याउने पाखोमा पुगे पछि प्रेम दाईले भन्नु भयो, 'हामीले यताबाट लाईट बाल्ने, उता बाट पनि लाइट बल्यो भने छोट्टी खेल्ने कुरा पक्का हुन्थ्यो' | प्रेम दाई त्यो बेला छोट्टी खेल्न आउने महिलाको बारेमा भन्थे, 'प्राय: माईत आएका महिलाहरू हुन्थे' | कुनै पनि खेलमा खास रुची नभएकी मलाई उनीहरूको कुरा सुन्दा छोट्टी खेल्ने भनेको कहिले दोहोरी खेल्ने पो हो कि जस्तो लाग्थ्यो, कहिले तास/जुवा खेल्ने पो हो कि जस्तो लाग्थ्यो | ठाउँ अनुसारको खेल हुन्छ, त्यो ठाउँको पनि खेल होला | अलिकति आफुँ भन्दा सिनियरसँग सोध्ने हिम्मत नभएर, धेरै चाहिं चासो नभएर कालिकोटमा मैले छोट्टी खेल्ने चलनको बारेमा खोजीनीति गरिन |
कालिकोट बाट फर्के लगत्तै मुगु जाने मेसो पर्यो | केड नामक गैर सरकारी संस्थाको सहकार्यमा काम गर्नु पर्ने थियो | मुगुको गमगढी स्थित केडको कार्यालयमा 'मुगुमा हुने बालविवाहको कारण माथी' आफ्नो अनुसन्धान केन्द्रित हुने बताए पछि केडका कर्मचारी प्रमोद दाहालले भन्नु भयो, 'अरु त देश भरिका उस्तै कारण हुन्छन् | यताको एउटा कारण छोट्टी खेल्ने पनि हो, महिलासँग कुरा गर्दा त्यो बारेमा पनि कुरा गर्नु होला है' | प्रमोदजीको कुरा सुने पछि कालिकोटमा 'छोट्टी खल्ने' बिषयमा चासो नराखिएकोमा थकथक लाग्यो | जे भए पनि यो (छोट्टी खेल्ने) खेल मुगुका किशोरीहरूको सानै उमेरमा बिहे गर्ने एउटा कारण पनि रहेछ | मैले यो छोट्टी खेल्ने भनेको के हो भनेर सोधे पछि प्रमोदजीले, 'त्यो बारेमा स्थानीय महिलाले नै राम्ररी बताउने' भनेर टार्नु भयो |
गमगढीबाट सोरूकोट जाने बाटोमा पूर्ण भाईले सोधे, 'छोट्टी खेल्ने कुरा पनि लेख्ने हो दिदि ?' | मैले अझै कुरा राम्ररी बुझेकी छैन | के लेख्ने, के नलेख्ने ? कालिकोट देखि खुलस्त रूपमा कसैले पनि नबुझाएको र आफुँले पनि नसोधेको एउटा खेल यो भेगमा मेरो लागि नयाँ छ जसले सानैमा बिहे गराउँछ भन्ने कुरा मनमा राखें | यत्ति थाहा भयो कि, यो खेल बोलीचालीमा व्यक्त गरिने र सार्वजनिक रूपमा खेलिने खेल चाहिं होइन | मैले पूर्ण भाईलाई 'हेरम' भनें | सोरूकोट पुगे पछि केडको फिल्ड कार्यालयमा खाने बस्ने व्यवस्था थियो | कार्यालयमा हुनु हुन्थ्यो कास्की हंसपुरका रामचन्द्र न्यौपाने सर | बेलुका खाना खाए पछि बालविवाहका कारण केके हुन सक्छन् भन्दा उहाँले भन्नु भयो, 'बाल बिवाह, यौन स्वास्थ्य, पढाई छोड्ने प्रवृतिको एउटा कारण चाहिं छोट्टी खेल्ने पनि हो |' छोट्टी खेल्ने अर्थात केटी खेल्ने/केटीसँग खेल्ने/केटीलाई खेलाउने भन्ने अर्थ रहेछ | राम राम ! गणेश कोटको उकालोमा प्रेम दाई र हेडसरले गरेका पाल्सी पाल्सी गफ त यस्तो बिषयमा पो रहेछ | रामचन्द्र सर र पूर्ण भाईका कुरा सुनेर मा ट्वा परें | रामचन्द्र सरले केड र जिल्ला स्वास्थ्य कार्यालयले एउटा गाउँमा गरेको स्वास्थ्य सिविरमा २०० जना मध्ये १९९ जनालाई यौन जन्य रोग भएको पाईएको बताउनु भयो |
छोट्टी सहमतिमा खेलिने सामुहिक खेल हो | छोटी खेल्ने र छोट्टी बस्ने भन्ने कुराले फरक फरक अर्थ राख्दो रहेछ | छोट्टी बस्ने भन्ने कुराले गैर यौन जन्य र छोट्टी खेल्ने भन्ने कुराले यौन जन्य क्रियाकलापलाई जनाउँछ | साथीसाथीमा उक्त बिषयमा पहिले नै कुरा हुने रहेछ, बस्ने कि खेल्ने भनेर ! पहिले नै सल्लाह भए अनुसार चार/पाँच युवती र चार/पाँच जना युवाहरू अल्ली सुनसान/कोल्टे पर्ने गोठमा भेला हुने रहेछन | त्यसरी भेला हुनेमा विवाहित महिलाले आफ्ना बाल्यकालका साथी बहिनी, भतिजी र वयस्क पुरुषले पनि साथी, भाई, भतिज लिएर छोट्टी बस्न/खेल्न जाने चलन हुने रहेछ | मनमा लागेका कुरा आफ्नो प्रेमी/प्रेमिकालाई देउडा गीतको माध्यम बाट व्यक्त गरिने रहेछ | यदि गीत सरासर गाईन्छ भने त्यो छोट्टी बसेको हो | जहाँ बाल्यकालका साथी, माईत आएकी चेली बसेर आफ्ना दुख्ख सुख्खका कुरा गरेको भनेर बुझ्न सकिन्छ | यदि गीत बीच बिचमा गाउन बन्द गरिन्छ भने त्यहाँ यौन जन्य क्रियाकलाप पनि भएको अनुमान गरिने रहेछ | आफ्नो आफ्नो समूह र गोप्य रूपमा बस्ने हुनाले अन्य सदस्यलाई त्यसमा सहभागी गराईंदैन | प्राय: महिलाहरू माईतीमा गएको समयमा छोट्टी खेल्ने काम हुन्छ | मुगुका महिलालाई पनि माईती जाने भनेको कुनै चाड पर्वमा हो | बैशाख पुर्णिमा, जनै पुर्निमामा त्यहाँ ठूलो मेला लाग्छ | छोट्टी बस्दा/खेल्दा प्रेम भएर बिवाह गरेका महिलालाई, 'मईती जाँदा तपाईं छोट्टी खेल्न जानुहुन्छ ?' भनेर सोधेकी थिएँ | त्यति प्रश्न सोध्नको लागि मैले खुब भूमिका बाध्नु पर्यो | आफ्नी श्रीमती अर्को मान्छेसँग यौन सम्बन्धमा रहेको कुरा कुन पुरुषलाई मन पर्दो हो ? आफुँ श्रीमाती माईती गएको समयमा छोट्टी खेल्न जाने गरेको भए पनि !
छोट्टी खेलिने चलनलाई कतिले उदार यौन जीवनको रूपमा पनि लिन सक्छन् | तर त्यति उदार नै चाहिं रहेनछ | श्रीमाती अर्कैसँग लागेको थाहा पाएको श्रीमान रंगेहात समाउने समयको प्रतिक्षामा हुन्छ र छोट्टी खेल्ने समयमा समातिएमा जारी तिर्न सक्ने आँट भएको मानिसले विवाहित महिलासँग छोट्टी खेल्ने हिम्मत राख्छ | विवाहित भन्दा अविवाहित/एकल महिलासँग छोट्टी खेल्न मन पराउँछन् रे पुरुषहरू ! कसैलाई मन पराउनुको पनि सामाजिक आर्थिक अवस्था हुने रहेछ | अविवाहितसँग छोट्टी खेल्दा जारी तिर्नु पर्ने, महिलाका पोईली (श्रीमान) पट्टिका कसैले भेटे खानु पर्ने कुटाईको कारण पनि केटाको रोजाईमा अविवाहित केटि पर्छन् रे !
मैले महिलाहरूसँग छोट्टी खेल्ने बिषयमा खुब नीदिखोजी गरेकोले होला एउटीले मलाई सोधिन्, 'सर तुमि पुन छोट्टी खेल्न्या हौ ?' उत्तरमा मैले 'मेरो श्रीमानलाई लिएर आउँछु अनि मलाई पनि लैजाउ है' भनें | मेरो कुरा सुनेर महिलाहरू खुब हासें र श्रीमानसँग छोट्टी खेल्न के को स्वाद भन्ने पारामा कुरा गरे |
एकदिन कागे (नाम) बहिनीको चिया पसलमा गफ गरेर बसिरहेका थियौं | मुगुमा महिलाको ३५ र पुरुषको ४० वर्ष सरदार आयु हो | अत्याधिक बाल मृत्युदरको कारण सरदार आयुमा केहि फरक पर्ने हुन्छ | तर, ६० काटेको स्थानीय मानिस मुगुमा सिला खोजे झैँ खोज्नु पर्छ | गाउँमा एक जना शाही बुवा हुनुहुन्थ्यो ७२ वर्षको उमेरको | म गाउँ आएको समय देखिनै कुरा गर्न खोज्नु भएको थियो | तर समय मिलेको थिएन | मेरै बाको उमेरका भएको कारण मलाई पनि अब बुढा मान्छेहरूको कुरा सुन्न मन पर्छ | उहाँ हामी बसेको ठाउँमा आएर मलाई सोध्नु भयो, 'के के सोध्यौ त महिला कन ?' | मैले छोट्टी खेल्ने बारेमा सोधेको भने पछि उहाँले भन्नु भयो, 'अहिलेकाले के छोट्टी खेल्छन् र ? हाम्रो जमानामा पो खेलिन्थ्यो !' उहाँले आफ्नो जमानाको कुरा झिके पछि हामीलाई पनि स्वाभाविक चासो हुने कुरा भयो | मैले मेरो मोबाईलको भिडियो खोलें | मोबाईल झिके पछि उहाँले, 'पख राम्रा लुगा लगाउँछु र खिचौली' भन्नु भयो | मैलो लुगा (उहाँ संधैं सफा लुगा लगाएर हिड्नु हुन्थ्यो, त्यहि पनि सायद नयाँ लुगा लगाउने विचार थियो कि) मा खिचेको भिडियो काठमाडौंका कसैलाई नदेखाउने सर्तमा उहाँले कुरा गर्नु भयो | मैले काठमाडौं आए पछि उहाँको सर्त उल्लङ्घन गरेर केहि साथीलाई उक्त भिडियो देखाएँ | साथीहरूलाई देखाएको भन्दा मैले नै बढी हेरें |
शाही बाले ११ वर्षको उमेरमा पहिलो पटक छोट्टी खेलेका रहेछन | अहिले २० वर्ष भयो रे उहाँले छोट्टी नखेलेको | ११ वर्षको उमेर देखी ५२ वर्षको उमेर सम्म लगभग चार सय महिला सँग उहाँले छोट्टी खेल्नु भएको बताउनु भयो | छोट्टी खेल्दा खेल्दै ३ महिलासँग बिवाह भएको रहेछ | 'घरै त ३ भईगाए बुन (बन/घरबाहिर) कत्ति भए कत्ति कसले हिसाब गर्ने ?' भनेर भन्नु भएको रहेछ | घरबाहिर छोट्टी खेलेका महिलाहरूको पेटमा आफ्नो बच्चा पनि थियो होला भन्दै उहाँले भन्नु भयो, 'बच्चाकी आमा जहाँ गयो उहींका भैगए' | गफै गफमा आफुँले खेलेका छोट्टीहरू र तीनको पेटमा हुर्केका बच्चाको याद आउने बताउँदै, 'याद आएर पनि के र ? म उता नजाने उनीहरू यता आउने नही' |
छोट्टी सहमतिमा नै बस्ने/खेल्ने भए पछि त्यसलाई किन छोट्टा खेल्ने नभनेको होला ? भन्ने प्रश्न मेरो मनमा उठिरहे | पछि थाहा भयो त्यो पनि शक्ति सम्बन्धित हुने रहेछ | छोट्टी खेल्ने काम सहमतिमा भए पनि बिवाह गर्ने/सँगै जीवन बिताउने बिन्दुमा पुग्ने हो भने केटाको घरमा नै जाने हुनाले छोट्टा खेल्ने नभनेर छोट्टी खेल्ने भनेको होला जस्तो लाग्यो |

म जान चाहन्छु

on Wednesday, October 16, 2019

म जान चाहन्छु कुनै अनकन्टार जंगल वा मरुभूमि
जहाँ कसैले नसोधुन् के के हुँदै छ मेरो प्रगति ?
नसोधुन् मेरो कमाईको मात्रा,
नसोधुन् मेरो राजनीतिक सिद्धान्त र जिवनको सम्बन्ध
जहाँ कहिल्यै नमिलेको भुगर्वका प्लेट झै टकराव भईरहन्छ

कसैले नदोओस कुनै सुझाब पनि
जसरी म सुनिरहेकि छु ।
छिट्टै नामको अगाडी डाक्टर लेख्न
छिट्टै लेखिरहेको किताब सक्न
छिट्टै विश्वविधालयमा स्थायी हुन
छिट्टै काठमाडौमा घर बनाउन
छिट्टै सरकारको कुनै अंगमा काम गर्न

कसैले नगरोस् गुनासो पनि
मेरो फेसबुकका फोटो हेरेर
तिमीले त्यतिका नेता चिनेकि छौ,
दुईचार ठाउँमा जागिर लगाईदिन त सक्छेउ नि
तिमीले त्यतिका पत्रिकार चिनेकि छेउ
मेरो यत्ति लेख छपाई दिन त सक्छेउ नि
तिमिले त्यत्तिका मान्छे भेट्छेउ
मलाई नि भेट्न सक्छेउ नि

कसैले पढाएको समाचार पनि नआओस्
त्यो महान योद्धाका पतनका कुरा
त्यो आदर्शवादीको शोषणको कुरा
त्यो विकासवादीका भ्रष्टचारका कुरा
वा कयौ वादीका कुरा

यि सबै सबै भन्द पर
एक्लै एक्लै हिड्न छ मन मलाई
जहाँ अपरिचितले सोधोस्
निद्रा पर्यो कि परेन
अनि म सुनाउन सकुँ
आफैँ मेरेको त्यो डरलाग्दो सपनाको कुरा
हिड्दा हिड्दै चौतारीमा थकाई मार्दा
कसैले निधार छामेर भनोस्
तिमीलाई थकाईले त ज्वारो आएछ बसौ यतै
बेलुका आगोको छेउमा खुट्टा सेकाउँदै गर्दा
कसैले कर गरेर भनोस्
आँखा चिम्म गरेर यत्ति घुटुक्क पार बिहान उहठ्दा ठिक हुन्छ
राती सुत्ने बेलामा कोहि बताई देआस सिरानीको दिशा
जसले रोक्छ डरलाग्दा सपनालाई कतै

बाटोमा भेटिएको मान्छेले नाम नसोधी
सोधोस् पानीको प्यासको कुरा
गलेको शरिरको कुरा
सुनिएका खुट्टाको कुरा
लागेको लेक उतार्न खानु पर्ने जंगली झारको कुरा
दम बढ्न नदिन चापिरहनु पर्ने पातको कुरा
र छुट्ने बेलामा भनोस्
जिवन लामो बाँच्नको लागि
थोरै आफ्नो पनि ख्याल गर्नु होला

मुगाली सपना

on Tuesday, October 15, 2019

भनिन्छ, ‘खुला आाखाले देखिने सपनाले मानिसलाई निदाउन दिंदैन रे’ ! निद्रै हरण गर्ने–नगर्ने हामी सबैका धेरै सपना हुन्छन् । जुन फेरिइरहन्छन्, बेला–बेला सामाजिक सञ्जालमा मानिसहरू आफू टोलाइरहेको फोटो हालेर भक्तराज आचार्यको ‘हजार सपनाहरूको माया लागेर आउँछ’ भन्ने गीतको लाइन लेखिरहन्छन् ।

कतै नलेख्नेहरूलाई पनि आफ्ना हजार सपनाको माया लागिहाल्दो हो । हरेक रात मान्छेले सरदर कति सपना देख्छ ? खुला आँखाले कति सपना देख्छजस्ता तथ्यांक र मिथ्यांकको बारेमा मलाई धेरै थाहा छैन । आफ्नाबाहेक अरूको सपानामा खास रुचि नभएको कारण मैले कसैको सपनाबारे त्यति धेरै खोतलखातल गर्न पनि सक्दिनँ । तर, गएको जेठमा मुगुमा भेटिएका केही मानिसले सुनाएका सपनाले मलाई बेला–बेलामा झस्काइरहन्छ । 

दिनेश सरको फोन 
मुगुमा म रारा हेर्ने मुख्य सपनाको फेर समाउँदै गएकी थिएँ । रारातालको किनारमा भेट भएको थियो सिरहा घर भएका मुगुमा पढाउने सरकारी शिक्षक दिनेश साहसँग जो ४८ सालदेखि मुगुका विभिन्न गाउँमा बसेर सरकारी विद्यालयमा पढाइरहेका थिए । जेठ दोस्रो साता सरकारले विद्यार्थीलाई पठाएको किताब लिन गमगढी हिंडेका । ‘जंगलको बाटो छ, साँझ फर्कनुपरे दुई जना मात्रै नफर्किनुहोला’ बिहानै पर्वत बलेवा घर भएका आर्मी भाइले हामीलाई भने । त्यही कारण गमगढी हिँडेका दिनेश सरलाई एक छिन कुराएर साथी बनाएका थियौं म र शोभा दाहालले । पच्चीस वर्षदेखि मुगुमा पढाएको उनको कुरा सुन्नेबित्तिकै हाम्रो स्वाभाविक प्रश्न थियो, ‘यति लामो समय एकै जिल्लामा किन नि ?’ २५ वर्ष कुनै शिक्षकले आफू जन्मे हुर्केको परिवेशभन्दा पर पुगेर किन पढाएको होला ? 

‘पछाडि परेको कर्णालीको शिक्षामा आफ्नो योगदान होस् भनेर’, वा अरु ? हाम्रो प्रश्नको उत्तर जे पनि हुन सक्थ्यो ! तर, ‘यहाँबाट सरुवा हुन आफ्नो मान्छे नाइँ’ उनले मुगाली लवजमा भने । ठाउँमा आफ्नो
मान्छे नभएको वा ठाउँमा भएका मान्छे आफ्नो नभएका तराईको पातलो ‘साह’ थर भएका एक पुरुष, हुर्कंदै गरेका तीन छोरीका बा, जसले हरेक दिन बिहान रेडियोमा कलिला किशोरीको बलात्कारका समाचार सुन्छन् । सायद त्यसैले होला पछिल्लो समय दिनेश सरले घर पायक जागिर चाहेका रहेछन् । त्यसका लागि एक पटक जिल्ला शिक्षा कार्यालय र आफ्नो समुदायको नेता धर्मनाथ साह सामान्य प्रशासन राज्यमन्त्री भएका बेलामा उनी आफ्नो बढुवाका लागि भन्न गएका पनि रहेछन् । ‘पटक–पटक भन्न जानुभयो त ?’ मैले सोधें । ‘आफ्नो समय पनि नाइँ’ भने दिनेश सरले ।

उनको कुरा सुनेपछि साथी शोभाले भनिन् ‘यस्तो पनि हुन्छ ?’ शोभाले आफ्ना टाढाका नातेदार तत्कालीन शिक्षामन्त्रीसाग भनसुन गरेर भए पनि दिनेश सरको सरुवा गराइछाड्ने कसम खाइन् । सरुवा, जागिर, बढुवाजस्ता कुरा आउँदा म एमालेको सरकारमा हुँदा झापा आन्दोलनका योद्धाले आफ्ना छोरालाई सामान्य जागिर पार्टीले व्यवस्था गरिदिन नसकेको भनेर एमाले केन्द्रीय कार्यालयमा आत्महत्या गरेको घटना सम्झिरहन्छु । मैले शोभालाई भने, ‘त्यसो नभनिहाल गाह्रो हुन्छ सरुवा गर्ने काम, त्यसका नियम हुन्छन् ।’ तर, उनले प्रतिक्रिया दिइन्, ‘तपाईंले चाहने हो भने कुनै समस्या हुादैन ।’ शोभाको कुरा सुनेपछि दिनेश सरले मेरो अनुहारमा हेरें । मानौं कि म भने उनको समस्या समाधान भइहाल्ने स्तरकी मान्छे हुँ । 

कुनै दिन मान्छे भेटेछु वा लेख्ने जाँगर चलेछ भने काम लाग्ला भनेर मैले थकाइ मार्न बसेको बेलामा दिनेश सरको बारेमा सामान्य जानकारी टिपें । उनले पनि हाम्रो फोन नम्बर आफ्नो मोबाइलमा टिपे । मैले पनि कुनै दिन उनको सरुवा गरिदिने मानिस भेटिएला कि भनेर उनको मोबाइल नम्बर टिपें । गमगढी फर्केको भोलिपल्ट म सीप भन्ने गाउँमा महिलाहरूको हूलमा सुतिरहेकी थिएँ । थाकेर लोद परेकी ! मस्त निद्रामा घुर–घुर फोन बज्यो, यस्सो घडी हेरेको बिहानको चार बज्दै थियो । दिनेश सरले फोन गरेका ! फोन काटेर सुतें । फेरि एक छिनपछि उनले फोन गरे । खास कुरा केही थिएन यसै सन्चो–विसन्चो सोध्न भने । त्यसपछि धेरै दिन बिहानै उनका फोन आए । खास कुरा केही भनेनन् । म बुझ्थें, ‘मेरो सिरहामा सरुवा भए छोरीहरूको पीरले मलाई औडाह हुँदैन’ भन्ने उनको कुरा ! उनले यसै गरी–गरी शोभालाई पनि फोन गर्थे, उसको फोन नउठेपछि फेरि मलाई गर्थे ।

म आफ्नै काममा व्यस्त थिएँ । उनको फोन आउँदा सम्झन्थें अनि बिर्सन्थें । मोबाइल फेरे पछि उनको नम्बर पनि हरायो । एक दिन बिहानको ३ बजे फोन आयो । नम्बर नहेरी फोन उठाएँ । कसैले भोजपुरी लवजमा भन्यो, ‘दाइलाई सर्पले टोक्यो !’ धेरै भयो मैले मेरा बाका सहयोगीको बोली नसुनेको ! मेरा हातखुट्टा काम्न थाले । आत्तिएको स्वरमा सोधें, ‘अहिले कहाँ हुनुहुन्छ ?’ नचिनेको ठाउँको नाम भने । ‘किन त्यता लागेको ?’ भनेपछि उनले भने, ‘घरनजिकै यही अस्पताल छ ।’ त्यसपछि पो मैले फोन आएको नम्बर हेरें । ९८४८ वाला ! उफ दिनेश सर थिए । मैले मोबाइल अफ गरेर सुतें । मोबाइल अन गरेपछि फेरि फोन बज्यो दिनेश सरको । मैले उनका दाइको स्वास्थ्यस्थिति सोधें । सामान्य रहेछ । अनि भनें, ‘सर अब मलाई फोन नगर्नू है !’ उनले सोधे, ‘किन ?’ । मैले ‘किन गर्नुहुन्छ त मलाई फोन ?’ भनेपछि ‘ए’ भनेर उनले फोन राखे । मलाई सरुवा—बढुवा गर्ने काममा आफ्नो क्षमता नभएकोमा यस्तो बेलामा ग्लानि हुन्छ । 


पूर्ण लावडका सपना 
मलाई गमगढीबाट दुई दिन परको सोरु भेग लैजान गमगढी आएका थिए जिम गाविसका भाइ पूर्ण लावड ! गमगढीबाट केही बेर ओरालो झरेपछि आफ्नो परिचय दिंदै भने, ‘जे भए पनि आफूलाई देखेर गर्व लाग्छ दिदी !’ मलाई उत्सुकता लाग्यो सत्र वर्षको केटाको आफैंप्रति गर्व गर्नलायक कुरा के हुँदो रहेछ भनेर । उनले भने, ‘पोहोर हाम्रो स्कुलबाट दुई विषय मात्रै लागेर फेल हुने विद्यार्थी म मात्रै हुा ।’ उनले पढेको विद्यालयबाट दलितहरू अहिलेसम्म कि त दस कक्षासम्म पुगेकै रहेनछन्, पुगेका पनि त्यति थोरै विषय लागेका छैनन् । अर्थात् सबका सब विषयमा फेल हुँदा रहेछन् । काठमाडौंमा साठी प्रतिशत ल्याएका छोराछोरीमाथी कति बा आमाले गुनासो गर्छन् राम्ररी नपढेको भनेर ! उनलाई भने दुई विषय लागेकोमा पनि गर्व रहेछ । पछि गाउँ गएपछि थाहा भयो, पूर्णले मात्रै आफैंमा गर्व गर्ने रहेनछन् । उनका परिवार र गाउँलेले पनि गर्व गर्ने रहेछन् । उनीसँग १० दिन उकालो–ओरालो, भात–भान्सा गरियो । कट्टर ब्राह्मणहरूको नेतृत्व भएको ठाउँमा एउटा दलित परिवारमा जन्मिएको १७ वर्षीय गरिब किशोरको छटपटी र कुदाइ देखेर म बेला–बेला आत्तिन्थें ।

१३ वर्षको उमेरदेखि नै उनी गाउँमा चर्चित रहेछन्, विद्यालयमा बााडिने हलुवा खाने बेलामा बाहुन बच्चाको लाइनमा दलित बस्यो भनेर प्राध्यनाध्यापकले कुटपिट गरेपछि । उक्त कुटाइको मानसिक पीडा र शरीरभरि सुम्ला बोकेर दुई दिन परको गमगढीमा रहेको पुलिस थानामा गएछन् पूर्ण । उनको त्यो साहसलाई गमगढीबाट गएका प्रहरीले त साथ दियो नै, दलितको क्षेत्रमा काम गरिरहेको केड नामक गैरसरकारी संस्थाले आफ्नो फिल्ड कार्यालय उनकै गाविसमा सारेछ । कार्यालयमा आएका कास्की हंसपुरका रामचन्द्र न्यौपानेले उनैलाई सहयोगी बनाएछन् । बिहान–बेलुका खाना पकाउने, पानी ल्याइदिने (उनको गाउँमा पानीको सधैं अनिकाल पर्छ, एक खेप पानी भरेर ल्याउन लगभग एक घण्टा लाग्छ) र दिउँसो विद्यालयमा नियमित पढ्न जाने सर्तमा । उनले न्यौपाने सरको सर्त माने, अनि कार्यालय उनको ससुराली गाउँमा बस्ने भयो । पढ्ने र कार्यालयमा सहयोगीको रूपमा काम गर्ने भएपछि उनले घर र ससुराली घरमा काम (मुगुमा ज्वाइँलाई खेत जोताउने, दाउरा कटाउने र गाई–बाख्रा हेर्न लगाइन्छ) गर्न भने पाएनन् । ससुराली घरमा परेको बेलामा काम गर्न नजाने भएपछि ससुरा रिसाएर गाली गर्दा रहेछन्, ‘... संस्थाको पिउन’ भनेर । 

ससुरालीको घरछेउबाट हिँड्दै गर्दा पूर्ण भन्थे, ‘यिनको अगाडि साँच्चिकै हाकिम हुने हो दिदी, तर कसरी भन्ने थाहा छैन ।’ हाकिम कसरी भइन्छ भन्ने मेलो नभएका उनले अमर न्यौपानेको ‘करोडौं कस्तुरी’ भन्ने पढेका रहेछन् । करोडौं कस्तुरीको र त्यसको व्यापारको चर्चा उनको कार्यालयसम्म पुगेको रहेछ । यत्तिको लेखेपछि धेरै चर्चित भइने रहेछ भनेर उनले पनि लेखेका रहेछन् एउटा डायरी । एक रात खाना खाएपछि, ‘दिदी मेरो उपन्यास पनि पढ्नु न’ भन्दै उनले उक्त डायरी मलाई दिएका थिए । गएको साउनमा हाकिम बन्ने सपना बोकेर उनी एक्लै काठमाडौंमा आए । अनेक हन्डरपछि अहिले एक डकुमेन्ट्री बनाउने पत्रकारको सहयोगी बनेर भूकम्पले भत्काएका गाउँहरूमा डुलिरहेका छन् । हेरौं उनका सपना कसरी सकार होलान् ?


कागेका सपना 
सोरुकोटमा तीनवटा मात्रै पसल छन् । एउटा पसलकी साहुनी हुन् कागे विश्वकर्मा । होची–होची हाासिरहनुपर्ने युवती । एक दिन उनको पसलमा चिया खाँदै गर्दा मैले हिम्मत जुटाएर सोधें, ‘तपाईंलाई किन कागे भनेका ?’ मेरो प्रश्नको जवाफमा ‘पहिला त सबैले माया गरेर काली–काली भने, भन्दाभन्दै कागे भने, अब त बानी भयो,’ उनले सुनाइन् । कागे २१ वर्षकी भइ्न । सात वर्षको छोरो छ । श्रीमान्ले अर्कै श्रीमती लिएर अन्तै बस्छन् रे । ‘तपाईंले बहुविवाहको मुद्दा हाल्नुभएन त ?’ मैले सोधेंकी थिएँ । ‘केटाले अर्काकी जोई लगेको भए पो जारी हुन्थ्यो, केटीले अर्काको पोइ लागेकोमा केको मुद्दा ?’ एउटा भाइले भने । मैले ‘एउटी जोई हुादाहुँदै पोइ (मुगुमा श्रीमान्, श्रीमतीलाई बोलीचालीमा जोई–पोइ भन्ने चलन छ) ले अर्की जोई ल्याए मुद्दा लाग्छ’ भनेपछि कागे खुसी भइन् । तर, मुद्दा हाल्न चार दिन (दुई दिन जान दुई दिन आउन) को बाटो को गमगढी गइरहोस् ? उनलाई झ्याउ लाग्यो । 

एक हप्ता उनको गाउँमा बस्ता साथीजस्तै भइन । नाताले उनी पूर्ण भाइकी जेठी सासू पर्थिन् । म फर्कने अघिल्लो दिन पूर्णकी जोई पिउली र कागे आएर दुई घन्टा गफ गरे । धेरै कुरा पूर्ण र पिउलीको राम्ररी अगाडि जान नसकेको दाम्पत्यमा केन्द्रित थियो । तर, कागेले पनि आफ्ना सपना सुनाउन भ्याइन्, ‘पसल राम्ररी चल्ने रे, धेरै पैसा कमाउने रे, गमगढीका जस्ता ठूला घर बनाउने रे मैले, त्यही बेला हाम्रो पोइलाई छोडेर जानेरे उसकी जोईले, मलाई उसले खोज्दै आउने रे, म भने कालो चस्मा लगाएर उसलाई देखेको नदेख्यै गर्ने रे !’ श्रीमान्को घरमा आफ्नो जिम्मेवारीबाहेक कुनै अधिकारको बारेमा नसोचेकी कागेको सपना सायाद गमगढीदेखि कोल्टीसम्म पुग्ने सडकमार्ग बनेपछि पूरा होला कि ?

रामचन्द्र सरको मौरीको घार 

सोरुकोट पुगेपछि केडको फिल्ड कार्यालय पस्दै गर्दा रामचन्द्र न्यौपानेले बाटो, खाना कस्तो भयो भन्नेबारेमा सोधे । जेठको चर्को घाममा दुई दिन मरुभूमिजस्तो बाटो हिंडेर पुगेकी मलाई कर्णालीका डाँडामा रूख जोगाउन सकिन्छ होलाजस्तो लागिरहेको थियो । त्यसैले भनें, ‘यति सारै बस्तुभाउ नछोड्ने हो भने डााडाहरू हरिया हुन्थे होलान्, बरु चुत्रोकै झाडी भए पनि आँखालाई शीतल त हुन्थ्यो ।’ मेरो कुरा सुनेपछि रामचन्द्र सरले ‘त्यो चुत्रोको जंगलमा कति राम्रो मह बन्दो हो ?’ भने । मौरीपालनमा दक्षता भएका रामचन्द्र सर बडो सरल थिए । केडको काम कृषि, महिला स्वास्थ्य र दलितजस्ता मुख्य विषयमा केन्द्रित थियो । सोरुकोटका बासिन्दालाई रामचन्द्र सरले मौरीपालन सिकाएका थिए । भेटिएका मान्छेलाई बेला बेलामा सोध्थे, ‘मौरी क्या गर्दा छन् ?’ मानिसहरू ‘भित्र बाहिर गर्दा’ भनेर उत्तर दिन्थे । 

मुस्ताङ गएको समयमा कागजी बदाम (अल्मोन्ड)को बिरुवा देखेपछि ५० बिरुवा मुस्ताङदेखि मुगुसम्म पुर्‍याएर गाउँलेलाई बाँडेका रहेछन् उनले । गाउँमा जाने काठमाडौंका मान्छेलाई उनी ती बिरुवा पनि देखाउँथे । काठमाडौंबाट आएको भनेपछि गाउँका मान्छेहरू मलाई ‘रारा पुन गई हौ ?’ भन्थे । मानौं रारा काठमाडौंको ताल हो । सोरुकोटका धेरैले रारा देखेका थिएनन् । म भर्खर पुगेको त्यो स्वर्गको कुरा नगरी कसरी रहन सक्थें र ? ‘राराको फूल र त्यहाँका मौरीको सङ्गीत ।’ 




एक दिन कुरै कुरामा ‘रारामा रहेको आर्मीले रारा वरिपरि मौरीको घार राखे हुने नि !’ भनेर मैले भनेपछि रामचन्द्र सर बहुत उत्साहित भएर भने ‘त्यसको क्वालिटी कति राम्रो हुँदो हो ? बरु मै गएर दुई वर्ष त्यसमा काम गर्थें ।’ बेला–बेलामा रामचन्द्र सर राराको जंगलमा सरकारले मौरीपालन गर्ने हो वा अरूलाई ठेक्का दिने हो भने महिनामै लाखौं मह उत्पादन हुने हिसाब निकाल्थे । काठमाडौं फर्केपछि सरकारले ल्याउन लागेको भूमि प्रयोग नीति, खाद्य सम्प्रभुता वा भूमिसुधारजस्ता विषयका कार्यक्रममा जाादा वा फूलले ढाकेका जंगल र चौर पुग्दा म रामचन्द्र सरको मौरी सपना सम्झिरहन्छु । नेपाल जंगलमा मौरी पालेर मह बेच्ने देश कहिले बन्ला हाम्रो ?
@फोटो: शोभा दाहाल 

हम लौट गए

on Thursday, July 11, 2019
समझलेना, 
आपका हाल देखकर 
खुदाले भेजेथे हामे
आपका आशु पोँछ्ने के लिए
हामरे मिल्नेके वाद भि 
आपका हाल वैसाहि रहा
हप्ता, महिना फिर साल वित्गया,
आप और भि दुखी हो गए,
फिर हमने
सिकायत कि खुदा से
खुदाने कहा
'उन्हो को तो आदत हे
रोनेका
मे तो तेरा इम्तहान लेरहाथा '
फिर हम
आपको छोडकर लौट गए ।

प्रिय

on Tuesday, April 30, 2019
भोली भेटौँला भनेर छुटेको भोली पल्ट,
बेपत्ता हुने छौ  तिमी ।
मैले डायल गरेको तिम्रो फोन उठ्ने छैन
मेरै लागि खोलिएको फेसबुकबाट कुनेै समाचार आउने छैन ।
टुइटरमा केहि लेख्ने छैनौँ तिमीले ।
बरु कसैले लेख्ने छ सिघ्र स्वास्थ्यलाभको कामना तिम्रो नाममा ।
आशुले भिजेका आखाले धमिलो धमिलो देख्दै
आउने छु म तिमीलाई भेट्न,
भिडमा घेरिएका तिमी
भिडमा घेरिएकि म
हातको स्पर्श त टाढाको कुरा
हाम्रा बिचमा आखा पनि राम्ररी कुरा गर्न पाउने छैनन् ।
मेरा हातहरु थर थराउने छन् तिमीलाई छुन,
तिम्रो पनि शरिर काप्ने छ मेरो स्पर्शको लागि
तड्पिई रहनेछौँ हामी
तिम्रा वरिपरि भएका मान्छे तिमीलाई मन पर्ने छैन
म तिम्रो छेउमा आउन सक्ने छैन ।
तिमी जानेछौँ छोडेर एक दिन अनन्त यात्रामा
मैले बिताउने छु मेरो सारा जिवन तिम्रो यादमा ।

नाममा अल्झिएको (श्रमिक) महिला दिवस

on Tuesday, March 5, 2019

वर्ष भरिमा केहि यस्ता दिनहरु छन्, जहिले अभियन्ता महिलाहरुले बोल्नै पर्ने, महिला लेखकले लेख्नै पर्ने र महिलाका मुद्धामा केन्द्रीत भएर काम गर्ने संस्थाहरुले कार्यक्रम गर्नै पर्ने बाध्यता वा रहरको दुवै हुने गरेको छ । ती केही दिन मध्ये आठ मार्च पनि एउटा दिन हो । आठ मार्च अर्थात् हामी मध्ये धेरैले पहिलो पटक महिलाको जुलुस देखेको दिन, पहिलो पटक कार्यक्रममा महिलाका विषयमा कुरा सुनेको दिन र हरेक वर्ष यसको वरपर रहेर गरिने कार्यक्रममा महिलाका विषयमा बाध्य भएर पुरुषहरुले पनि बोल्ने दिन । विस्तारै आठ मार्च एक दिनबाट बढेर ‘मार्च अर्थात् महिला महिना’ र कुनै एउटा विषयमा मात्र केन्द्रीत नभई महिलाका विविध मुद्धामा केन्द्रीत हुने थालेको छ । 

आठ मार्च कहिले देखी, किन, कसको नेतृत्वमा, कहाँ देखि मनाउन थालिएको थियो ? भन्ने कुरामा आउनु भन्दा अगाडी गत वर्षका केहि सम्झना जो मैले मेरो नोट बुकमा टिपेकि थिएँ राख्न चाहन्छु ।  गत वर्ष आठ मार्च आउँदै गर्दा लेखक सरिता तिवारीले श्रमिक महिला दिवस कसरी ‘नारी दिवस’ मात्रै भयो भन्ने प्रश्न फेसबुकमा राख्नु भएको थियो । अनि गत वर्ष कै आठ मार्चको बिहान काठमाडौंमा निस्किएको ¥यालीमा वामपन्थी राजनीतिक पार्टीका भगिनी संगठनहरू सहभागी थिएनन् । मैले राजनीतिक दलका महिला संगठन किन नआएका भनेर ¥यालीमा सहभागी राजनीति कार्यकर्ता तर एनजीओमा कार्यरत दिदीहरूलाई सोध्दा थाहा भयो, कार्यक्रमको ब्यानरम ‘नारी दिवस’ मात्रै लेख्ने भन्ने सरकारी पक्ष र ‘श्रमिक महिला दिवस’ लेख्ने भन्ने वामपन्थी दलका महिला बिचमा विवाद हुने गरेको रहेछ । नारी दिवस, महिला दिवस वा श्रमिक महिला दिवस नाम के राख्ने भन्ने विवादले केहि प्रश्न उब्ज्याएको छ । ती प्रश्नहरु हुन्, नेपालको वाम पन्थी (माक्र्सवादी) महिलाहरु किन श्रमिक महिला दिवस भन्ने नाम राख्न चाहन्छ ? श्रमिक महिला दिवस र महिला दिवसमा फरक के हो ? अनि श्रम र श्रमिक महिला भने कै के हो ?
 
वाम पन्थी र आठ मार्चका कुरा 
नेपालमा वामपन्थ वा कम्युनिज्मलाई आफ्ना आफ्नै पाराले बुझ्ने चलन छ, अर्थात् एकिकृत बुझाईको कमि छ । त्यस माथि आफ्ना आफ्ना बुझाईलाई सौहार्द रुपमा छलफल गर्न धेरै ‘समाजवादी’ नेताहरु भित्र भएको सामन्ती सोचले रोक्ने गरेको छ । यस विषयमा घनश्याम भूषाल, बाबुराम भट्टराई जस्ता नेता र चैतन्य मित्र जस्ता प्राज्ञहरुले पटक पटक लेखि र बोलि सक्नु भएको छ । महिलाको श्रम अधिकारको विषयमा कुरा गर्दा हामी (वामपन्थीहरु) जर्मन नेता क्लारा जेट्किनको नाम बढो सम्मान पूर्वक लिने गर्छौ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राख्ने र श्रमिक (महिलाहरु पनि) को अधिकारका लागि लड्ने क्लारा जेट्कीन जरूर सबैले संझनु पर्ने नाम हो । तर विर्सन नहुने कुरा के हो भने, युरोपमा उद्योगमा आधारित मजदुरहरु बढ्दै गर्दा, कार्ल माक्र्सको कम्युनिष्ट घोषणा पत्रमा रहेको ‘सन्सार भरका मजदुर एक हौँ’ भन्ने नारामा विश्वास गर्ने सोसल डेमोक्राटिक पार्टी जर्मनीले मजदुरका मुद्धालाई मुख्य केन्द्रमा राखेको थियो । यस्तो अवस्थामा महिला पनि भएको र मजदुर आन्दोलनमा पनि भएको नाताले क्लारा जेट्किनको जिम्मा महिला मजदुरका आवाज बुलन्द पार्ने जिम्मा दिएको हुन सक्छ । जस्तो महिलाका मुद्धा महिलाले नै उठाउनु पर्छ भन्ने मान्यता नेपाली समाज र राजनीतिमा अझै छ । 

त्यस बाहेक पहिलो पटक गार्मेन्ट उद्योगमा पन्द्र हजार महिलाले राम्रो ज्यालाको माग गरेर आन्दोलन गरेको देश जर्मन नभएर अमेरिका थियो र त्यो महिना मार्च नभई फेब्रुअरी थियो । जसको सम्झनामा १९०९को २८ फेब््रुअरीमा अमेरीकामा पहिलो पटक महिला दिवस मनाईएको थियो । निशन्देह अन्तराष्ट्रिय (श्रमिक) महिला दिवसको नाम प्रस्ताव गर्ने र अन्तराष्ट्रिय महिला सम्मेलनको आयोजनाको जस क्लारा जेट्किनलाई जान्छ । विस्तारै यो सबै देशमा मानिने दिवस बन्दै गयो र संयुक्त राष्ट्र संघले १९७५मा नेतृत्व दियो ।

नेपालको महिला आन्दोलनसँग आठ मार्चको सम्बन्ध
नेपालको महिला आन्दोलन लेखनमा गहन रुपमा काम भएको छैन । तर स्पष्ट रुपमा के भन्न सकिन्छ भने नेपालको महिला आन्दोलन विषयगत आधारमा उभिएको आन्दोलन हो । जसको सुरुवात योगमायाले गरिन्, जुन आफ्नै जिवनमा भोगेका तमाम दुख्खबाट पे्ररित भएर गरिएको पाइन्छ । योग माया पछि दिब्या कोईरालाहरुले बिराटनगरमा निकालेको जुलुस होस वा काठमाडौमा साहना, साधना, मंगलाहरुको डेलिगेसन नेपालको सुरुवाती महिला आन्दोलन परिस्थितिमा आधारित थियो ।

नेपालमा आठ मार्च सरकारी तबरबाटै संयुक्त राष्ट्रसंघ हुँदै आएको हो । विश्व भरिका समाजवादी महिलाले ६५ वर्ष महिला दिवस मनाए पछि नेपालमा आठमार्चमा कार्यक्रम हुन सुरु भयो । त्यहि समय देखि सरकारी तवरबाट र भूमिगत राजनीतिमा रहेका महिलाहरुले समानान्तर रुपमा आठ मार्च मनाउन थालिएको पाईन्छ भन्नु हुन्छ एमाले नेता विन्दा पाण्डे । पन्चायती राजतन्त्र र भुमिगत राजनीतिमा रहेमा दुई फरक धारका महिलाहरुका मुद्धा र मन पक्कै एकै थिएनन् । त्यस माथि कम्युनिष्ट प्रशिक्षण पनि भयो जसमा देशमा निक्कै सानो समुदाय भएको मजदुरका विषयमा लामा लामा भाषण र प्रशिक्षण हुने समय थियो । र कम्युष्टि भनेको अर्कै कुरा हो भन्ने सोच सरकारमा थियो । बिक्रम सम्बत् २०३८मा हेटौडाको औधोगिक क्षेत्रमा कार्यक्रम भए पछि ४६ साल सम्म हरेक आठ मार्च वामपन्थी महिलाहरु पक्राउ पर्ने दिनको रुपमा रहयो । पन्चायती बेला देखिको फरक फरक कार्यक्रम गर्ने चलन सरकारमा आफ्नो पार्टी पुगे पछि पनि जारी रहेको छ ।

महिलाको श्रम र महिला श्रमिक दिवस

श्रमिक कै कुरा जोडेर हेर्ने हो भने हरेक घर भित्रका सानो देखि ठूलो सम्मका लगभग सबै काम महिलाहरुले गरिरहेका हुन्छन् । अपवादलाई छोडेर हेर्ने हो भने, हरेक घरमा महिलाहरुको परिश्रम पुरुषहरुको तुलनामा धेरै खर्च भईरहेको हुन्छ । अर्थात घर भित्रको काम सताब्दीयौ देखि महिलाको भागमा परेको छ । हरेक दिन महिलाले यस्ता कयौँ काम गर्नु पर्ने हुन्छ । जसलाई आम भाषामा कामको रुपमा लिने गरिन्न । अर्थात घर भित्रको काम “भातै पकाउने त हो नि” भनेर बुझ्ने गरिन्छ । जसले गर्दा कुनै कार्यलयमा जागिर नगर्ने महिलालाई “उनको त कुनै काम नै छैन घरमा नै बस्छिन्” भन्ने वा कुनै कार्यलयमा काम गर्ने महिलालाई “कामकाजी” महिलाको ट्याग लगाउने कार्यले कार्यलय वा तलब ज्याला बाहेकको कामलाई “श्रम” रुपमा स्वीकार नगरेको देखाउँछ । 
घर भित्र महिलाको श्रमको मूल्यांक त गरिन्न नै घर बाहिर पनि महिलाको कामलाई समाजले सामान्य रुपमा लिन सकेको छैन । महिलालाई घर भित्रको काम गरेर मात्रै पनि पुग्दैन । घरभित्रको काम जसरी पनि सके पछि महिलाको लागि कामको अर्को तह शुरु हुन्छ । गाउँघरमा खेतिपाती, बस्तुभाउको काम हुन्छ भने सहरमा ज्याला मजदुरी, कार्यलयको वा अरु काम होलान् । घर बाहिरको कामलाई पनि नेपाली समाजले विहान बेलुका घर (धन्दा) सकेर मात्रै गर्ने कामको रुपमा लिने गरेको छ । अर्थात् एउटै काम गर्ने महिला र पुरुषलाई हेर्ने परिवार र समाजको धारणा फरक छ । त्यहि काम पुरुषको लागि जागिर हुन्छ भने त्यहि काम महिलाको लागि ‘समय कटाउने’, ‘यस्सो कमाउने’ वा ‘स्वतन्त्रताको’ विषय बन्ने गरेको छ । आफ्नो कार्यलयको काम जत्तिनै महत्वपूर्ण भए पनि धेरै महिलाको पहिलो प्रथमितामा घरको काम नपरेको अवस्थामा घर परिवारमा खटपट सुरु हुने गरेको थुप्रै उदाहरण छन् । जसले महिलालाई अर्ध–बधुवा मजदुरको रुपमा सिमित गरिदिएको भनाईलाई पुष्टि गरिहन्छन् ।

अर्को तर्फ पुँजीवादी उत्पादन प्रणालीले महिलालाई खेत, बारी र गोठको कामबाट बजारमा ल्याएको छ । महिलाले अब अलिकति भए पनि कमाएर घर व्यवहारमा योगदान दिनु जरुरी हरेक घरले सम्झन थालेको छ । यो ‘अलिकति’ले महिलाले अनिवार्य रुपमा घरमा हरेक दिन गर्ने कामलाई गणना गर्दैन भन्ने कुरा पुनः दोहो¥याउन जरुरी छ । यो ‘अलिकति’बाट महिलाले सम्पूर्ण रुपमा घर चलाउनेको  सरकारी तथ्यांक नै २५.७ पुगेको छ । सरकारी तथ्यांकमा नसमेटिएका यस्ता धेरै महिलाहरु छन्, जसले घर भित्र र बाहिरका दुबै काम गरेर पनि आफुँलाई घर मुलि भन्दैनन् । घर चलाउने, कार्यलयमा काम गर्ने, विदेश गएर घर परिवारमा योगदान गर्ने वा समग्रमा भन्नु पर्दा ‘पुरुषका नियन्त्रणमा रहेका क्षेत्रमा’ काम गर्ने महिलाको संख्या दिन दिनै बट्दो छ । तर समाजमा रहेको महिला र महिलाले गर्ने श्रमलाई हेर्ने दृष्टिकोण फेरिएको छैन । महिलाको श्रमको ब्याख्या, श्रमिक महिलाको परिभाषा निर्माण गर्दै महिलाको श्रमको मूल्य स्थापित गर्नको लागि सरकारी, ब्यक्तिगत र कार्यकर्ताको तहबाट अहिले वामपन्थी महिलाले नै नेतृत्वदायी भूमिका खेल्न सक्ने ठाउँ छ । देशको अनुहार बदल्न हिडेका मान्छेहरुले कार्यक्रमको ब्यानरमा राख्ने नाममा होईन महिलाको हरेक श्रमको मूल्य स्थापित हुने गरि काम गर्न सकुन महिला दिवसको शुभकामना । 

२०१८काे मार्च ८ मा कान्तिपुर दैनिकमा प्रकाशित

प्रेम कसरी ब्यक्तिगत हुन्छ ?

on Wednesday, February 13, 2019


भनिन्छ, संसारमा सबै भन्दा बढी लेखिएको बिषय प्रेम हो । ती अनगिन्ती गीत, कवित, कथा, निवन्ध वा उपन्यासमा हरेक लेखकले प्रेमलाई छुट्टाछुट्टै रुपमा प्रश्तुत गरेका हुन्छन् । हामीले हेर्दै आएका नेपाली र हिन्दि फिल्महरूको पहिलो र मुख्य बिषय बस्तु पनि प्रेम नै देखिन्छ । नेपाली भाषामा गाईने गीतको सानो अंश मात्रैमा प्रेमले प्रवेश नपाएको होला । नत्र पुरा का पुरा गीत प्रेममय छन् । भनिन्छ, हेरक मानिसलाई आफ्नो प्रेम महान लाग्छ र त्यहि महान लागेको प्रेमको पुष्टिलागि मानिस निरन्तर लेखिरहेको छ महाभारत, रामायण देखि स्वस्थानी कथा सम्म, रोमियो जुलिएट देखी समर लाभ—साया सम्मका कथा ।

मेरो समयका नेपाली महिला लेखकहरू खुलेर प्रेमका विषयमा लेख्न र बोल्न थालेका छन् । बैचारिक रुपमा प्रेमको विषयका सायद पुरुष लेखकको चासोको विषय होइन । गत वर्ष सितल दाहालले ‘प्रेम त हर समय घटित हुने कुरा हो’ भनेर लेखेकि थिईन । सितलको लेख भन्दा केहि समय अगाडी लेखक मनिषा गौचनले प्रेम भनेको शारीरिक वा यौन सम्बन्ध मात्रै होइन भनेर एउटा सार्वजानिक कार्यक्रममा भनेकि थिईन । प्रेमका बारेमा लेखक सरला गौतमले केहि वर्ष अगाडी मनै हल्लाउने गरि कान्तिपुरमा लेख लेखेकि थिईन । बजारमा प्रेम दिवसको पूर्व तयारी चलिरहेको बेला मेरो एक कक्षा पढ्ने छोरो भन्छ, ‘प्रेम भनेको कोहि मानिस वा कुनै कुरा प्रतिको गहिरो भावनात्मक सम्बन्ध हो’ । एक कक्षाको नैतिक शिक्षा देखि वर्तमान समयका लेखकहरुले मानिस प्रेम गर्न अर्थात् कसैलाई मन पराउन, मनमा गहिरो भावनात्मक सम्बन्ध बिकशित गर्नुलाई प्रेम मान्दछन् ।

प्रेम र बिवाह
किन कुनै साहित्यकार प्रेमको विषयमा लेख्छ ? वा फिल्मको मुख्य विषय किन प्रेम हुन्छ ? वा प्रेमको थिममा लेखेको साहित्य बढी पढिन्छ, प्रेमका विषयमा बनेका फिल्म हेरिन्छ ? किन यतिका गीतले प्रेमको राग अलापी गरिरहेका छन् ? दशकौं अगाडी प्रेम बिवाह त्यो पनि अन्तरजातीय गरेका शल्य चिकित्सक सरोज धिताल भन्छन् ‘प्रेम सबै भन्दा बढी अपब्याख्या गरिएको कुरा हो ।’ प्रेमका अनगिन्ती ब्याख्याहरूमा त्यसलाई विवाहसँग जोडेर हेर्ने मुख्य ब्याख्या होला । दुनियामा धेरैले प्रेमलाई ‘केहि वा कोही प्रतिको गहिरो सकारात्कम भावना’ मात्रै भनेर स्वीकार गर्दैनन् । बरु प्रेम सँगै जोडिएर आउने प्रायः कथामा यौनको मसला अनिवार्य हुन्छ । भावना बढेर सम्बन्ध यौन अर्थात् शारीरसँग जोडिन्छ भने त्यसलाई बैधानिक बनाउनु पर्ने ‘डिमाण्ड’ समाजको हुँदै आएको छ । अहिले सम्म संसार भर यौन जीवनको बैधानिकता विवाहमा गएर ‘म्यनिफेस्ट’ गर्नै पर्ने बाध्यता धेरैलाई छ । प्रेम बिवाह वा जिवन भरको सम्बन्धको रुपमा लिएका हुनाले सायद मानिस यस बारेमा सोच्छन्, लेख्छन्, गाउँछन्, पढ्छन् ।

प्रेम, प्रेमका आधार टेकेर गरिएको बिवाह, बिवाह पछिका सकारात्मक नकारात्मक परिणामको वरपर रहेर मैले
सन् २०१६को वर्ष भरि नेपालका ६ जिल्लाका १२ ग्रामिण बस्तीमा घुमेर मानिसका कुरा सुन्ने मौका पाएकि थिएँ । सानो उमेरमा बिवाह गरेका किशोर किशोरीहरु, उनीहरुका अभिभावक, विधालयका शिक्षक र स्थानीय नेतासँग पनि कुरा भयो । वर्ष दिन घुमे पछि थाहा भयो, नेपालमा छोरीहरूलाई कलिलो उमेरमा जवरजस्ती रुपमा अभिभावकले बिवाह गरिदिने चलन नेपालमा घट्दै गएको रहेछ । तर, त्यसको बदलामा कलिलो उमेरका छोरीहरू भाग्ने वा कलिला छोराहरूले केटी भगाउने चलन सुरु भएछ । चौध पन्द्र वर्षमा प्रेम बिवाह गरेका ती बहिनी भाईहरूका कथा त्यती सुखद थिएनन् । कति पयका किशोर किशोरीका कथा सुन्दै गर्दा मेरो मनमा नारायण गोपालले गाएको लौ सुन म भन्छु भन्ने गितको ‘त्यो एक दिनको घाम, सयौ दिनको पानी’ वाला अन्तरा बजिरहन्थ्यो । पन्द्र वर्ष नपुग्दै छोरीहरू किन भाग्छन् वा के सोचेर छोराहरु आफ्नै साथीलाई भगाउँछन् ? भन्ने कुराले जो कसैलाई पोलिरहनु स्वाभाविक हो । यो अस्वाभाविक बिषय माथि स्वाभाविक रूपमा ंसँगै भएका साथीहरूसँग कहिल्यै टुंगोमा नपुग्ने गफ धेरै भए । ती गफको सार थियो, प्रेमको अमुर्त व्याख्या र बुझाई ।
मैले सुनेका ६० जना किशोर किशोरी सबैका ‘प्रेम बिवाह’का कथामा र प्रेमको परिभाषा भित्र यौन सम्बन्ध र एक पटक भएको शारीरिक सम्बन्ध विवाहमा गएर टुंगिएको थियो । धेरैको प्रेम विवाह गरेर एउटा बच्चा जन्माए पछि कयौ जिम्मेवारीमा पुरिएको थियो । त्यो जिम्मेवारी मध्ये एउटा यस्तो जिम्मेवारी पनि थियो, मन लागे पनि नलागे पनि यौन सम्बन्ध राख्नु पर्ने बाध्यात्मक जिम्मेवारी । नेपालमा बैवाहिक बलात्कारको डरलाग्दो अवस्था रहेको भनेर गरिने अनुमानलाई किशोरीहरुका ती कथाले सहि बताउँथे ।

प्रेम ब्यक्तिगत कि सामाजिक
प्रेम सबै भन्दा अपब्याख्या गरिएको विषय हो भन्ने डा. सरोज धितालको भनाईमा म सहमत छु । नेपालमा त विचारधारा र साहित्यमा रुचि राख्नेहरुको लागि यौ झनै घनचक्करको विषय हो । हामी मध्ये धेरैलाई प्रेम वा बिवाह भन्ने कुरा सामान्य र व्यक्तिगत घटना लाग्छन् । प्रेमको विषय अल्लारे केटा केटीले गर्ने विषय हो भन्ने लाग्छ । प्रेमका नाममा १० कक्षा पढ्दै गरेकी छोरी गर्भवती हुने र नेपालको कानुनले २० वर्ष नपुगि विवाह दर्ता गर्न पनि रोक लगाएका कारण पर्ने अफ्ठेरो उक्त किशोरीको मात्रै अफ्ठेरो होईन । नेपालको कानुन, समाज र ब्यक्ति सबैलाई पर्ने अफ्ठेरो विषय हो । गत वर्षको समाज शास्त्र विभागमा भएको प्रेमको समाजशास्त्र विषयक छलफल कार्यक्रम पछि एक जना साथीले भने, ‘प्रेम पनि बहस गर्ने बिषय हो ? यो त महशुस गर्ने बिषय हो ।’ यो महसुस मात्रै गर्ने विषय होईन भन्ने कुरा समाज विज्ञानमा सामान्य चासो राख्ने मान्छेले बुझ्नु पर्ने विषयको । जब प्रेम एक जनाको मन बाट निस्केर अर्को ब्यक्ति कहा प्रस्ताव बनेर पुग्छ त्यस पछि प्रेम ब्यक्तिगत रहन्न । अझै अगाडी बढेर प्रेम कसै प्रतिको सकरात्मक भावना विवाहको तहमा पुग्छ त्यो दुई आत्मको मिलन मात्रै बन्दैन । दुई परिवार, दुई समाज र दुई संंस्कार बिचको विषय बन्न पुग्छ ।

बजारको कुरा
हरेक वर्ष प्रेम दिवास आउँदै गर्दा काठमान्डौमा मात्रै लाखौँको फुलाफ र करोडौंका कार्ड बिक्रि हुने गरेको कुरा संचार माध्यममा आउँछन् । यसैसँगै केहि बुज्रुकका, बजारले अहिलेका ‘केटाकेटी’ विगारिरहेको विश्लेषण सार्वाजानिक हुन्छ । उहाँहरुको विश्लेषण पनि सहि हो । तर अर्को विश्लेषण के हो भने, बजारले आफ्नो फाईदा बाहेक केहि पनि हेर्दैन । के व्यापारले कुनै ‘डे’ लाई छोडेको छ र भ्यालेन्टाइन डेलाई छोड्छ ? बजार निर्देशित अहिलेको सामाजिक—आर्थिक अवस्था नै यस्तो छ कि चन्द्रगीरिको डाँडाको सुन्दरता हेर्न मात्रै मान्छे आउँदैनन् भनेर केबरकार चलाउने ब्यापारीले डाडाँमा मन्दिर बनाएका छन् । त्यसैले बजारका पसल चमक धमक हुनु कुनै नयाँ कुरा होईन ।

समग्रमा भन्नु पर्दा, केहि अपवाद छोडेर भन्ने हो भने अहिले सम्म हामीले जेलाई प्रेम भन्दै आएका छौँ, त्यसमा प्रेम कम यौन र विवाहको स्वार्थ बढी जोडिएको हुन्छ । प्रणय दिवस भन्ने भ्यालेन्टाईन दिवसको सुरुवात पनि यौन र विवाहमा नै केन्द्रित भएर भएको हो र धेरैले बुझ्ने प्रेम भित्र यौन वा विवाह अनिवार्य सर्त रहँदै आएका तन् । अहिले सम्म मैले प्रेम गरेको बदलामा मलाई पनि प्रेम चाहिन्छ भन्ने कुराले प्रेम कम प्रेमको मोलमोलाई बढी गर्दै आएका छन् । जसलाई बर्तमान बजार अर्थतन्त्रले बढाई चढाई रंगिन बनाईरहेको छ । मानिस प्रेम गर्न स्वतन्त्र छ । प्रेम अर्थात् कसै प्रति गहिरो सकरात्मक भावना मनमा उमार्न स्वतन्त्र छ । आफुँले मन पराएको मानिसबाट मायाको अपेक्षा गर्न पनि स्वतन्त्र छ । म तिमीलाई मन पराउँछु भन्न पनि स्वतन्त्र छ । तर, म तिमीलाई प्रेम गर्छु भन्दैमा मलाई पनि तिमीले माया गर्नु पर्छ भन्न, अझ प्रेम गरेको भन्दै कसै माथि हक जताउन, विवाहको नाममा जबरजस्ती गर्न (अझै नेपालका कतिपय ठाउँमा किशोरीलाई तानेर सिन्दुर हाल्ने वा आफ्नो घरमा भित्राउने गरिन्छ, जसलाई प्रेम र विवाहको नाम दिईन्छ) वा प्रेमको नाममा उसको स्वतन्त्र अस्तित्व सिध्याउन कसैलाई छुट हुनु हुन्न । समाजमा आफुँलाई मन परेको मानिसलाई पराउँछु भनेर भन्न पाउने बातावरण हुनु जरूरी छ । उसले व्यक्त गरेको प्रेमको सम्मान गर्न जरूरी छ । तर, प्रेम गर्छु भन्न सक्नेले म त प्रेम गर्न सक्दिन भन्ने उत्तर पनि सम्मान पूर्वक नै सुन्न सक्ने हिम्मत हुन जरुरी छ ।
(सन् २०१८ मा कान्तिपुरमा प्रकाशित)

आमाको नाममा

on Sunday, January 20, 2019


हरेक पल्ट
मेरो नामसँगै
नसोध्नु मेरो बाबुको नाम
मलाई विश्वास छैन
मेरो नागरिकतामा
बाबु भनेर लेखिएको पुरुष
साँच्चिकै मेरो बाबु हो भन्न

तपाईँ सोध्न सक्नुहुन्छ
मेरी आमाको नाम
जसको मैले दूध खाएर बाँचे
ठूली हुँदासम्म
जसले मेरो हर आवस्यकतामा साथ दिइन्
रुँदा
फरियाको सप्कोले तिनैले आँसु पुछेकी हुन्
कृपया
सोध्दै नसोध्नु बाबुको नाम

हो
मेरो रगतले उसैकी छोरी भन्ला
के मेरी आमालाई
बलात्कार गर्दैमा मेरो बाबु हुन्छ ?
आमालाई पशु सम्झने संस्कारमा
 बाँच्नका लागि पनि लेख्नै परिरहेको छ 
कसैला बाबु भनेर

त्यसैले
जसले आफ्नो ज्यान बाजी लगाएर
जन्म दिन्छ
ममताले भिजाएर जसले हुर्काउँछ
उसैको नाम लेखिनु पर्छ
अरुले लेखुन् वा नलेखुन्
मैले लेख्न पाउनुपर्छ
त्यसैले
हरेक पल्ट
फारम भर्दा, परिचय माग्दा 
नसोध्नु मेरो बाबुको नाम
मान्दिन
मेरी आमालाई बैधानिक बलात्कार गर्ने पुरुष
मेरो बुवा हुनै पर्छ भनेर !