नाममा अल्झिएको (श्रमिक) महिला दिवस

on Tuesday, March 5, 2019

वर्ष भरिमा केहि यस्ता दिनहरु छन्, जहिले अभियन्ता महिलाहरुले बोल्नै पर्ने, महिला लेखकले लेख्नै पर्ने र महिलाका मुद्धामा केन्द्रीत भएर काम गर्ने संस्थाहरुले कार्यक्रम गर्नै पर्ने बाध्यता वा रहरको दुवै हुने गरेको छ । ती केही दिन मध्ये आठ मार्च पनि एउटा दिन हो । आठ मार्च अर्थात् हामी मध्ये धेरैले पहिलो पटक महिलाको जुलुस देखेको दिन, पहिलो पटक कार्यक्रममा महिलाका विषयमा कुरा सुनेको दिन र हरेक वर्ष यसको वरपर रहेर गरिने कार्यक्रममा महिलाका विषयमा बाध्य भएर पुरुषहरुले पनि बोल्ने दिन । विस्तारै आठ मार्च एक दिनबाट बढेर ‘मार्च अर्थात् महिला महिना’ र कुनै एउटा विषयमा मात्र केन्द्रीत नभई महिलाका विविध मुद्धामा केन्द्रीत हुने थालेको छ । 

आठ मार्च कहिले देखी, किन, कसको नेतृत्वमा, कहाँ देखि मनाउन थालिएको थियो ? भन्ने कुरामा आउनु भन्दा अगाडी गत वर्षका केहि सम्झना जो मैले मेरो नोट बुकमा टिपेकि थिएँ राख्न चाहन्छु ।  गत वर्ष आठ मार्च आउँदै गर्दा लेखक सरिता तिवारीले श्रमिक महिला दिवस कसरी ‘नारी दिवस’ मात्रै भयो भन्ने प्रश्न फेसबुकमा राख्नु भएको थियो । अनि गत वर्ष कै आठ मार्चको बिहान काठमाडौंमा निस्किएको ¥यालीमा वामपन्थी राजनीतिक पार्टीका भगिनी संगठनहरू सहभागी थिएनन् । मैले राजनीतिक दलका महिला संगठन किन नआएका भनेर ¥यालीमा सहभागी राजनीति कार्यकर्ता तर एनजीओमा कार्यरत दिदीहरूलाई सोध्दा थाहा भयो, कार्यक्रमको ब्यानरम ‘नारी दिवस’ मात्रै लेख्ने भन्ने सरकारी पक्ष र ‘श्रमिक महिला दिवस’ लेख्ने भन्ने वामपन्थी दलका महिला बिचमा विवाद हुने गरेको रहेछ । नारी दिवस, महिला दिवस वा श्रमिक महिला दिवस नाम के राख्ने भन्ने विवादले केहि प्रश्न उब्ज्याएको छ । ती प्रश्नहरु हुन्, नेपालको वाम पन्थी (माक्र्सवादी) महिलाहरु किन श्रमिक महिला दिवस भन्ने नाम राख्न चाहन्छ ? श्रमिक महिला दिवस र महिला दिवसमा फरक के हो ? अनि श्रम र श्रमिक महिला भने कै के हो ?
 
वाम पन्थी र आठ मार्चका कुरा 
नेपालमा वामपन्थ वा कम्युनिज्मलाई आफ्ना आफ्नै पाराले बुझ्ने चलन छ, अर्थात् एकिकृत बुझाईको कमि छ । त्यस माथि आफ्ना आफ्ना बुझाईलाई सौहार्द रुपमा छलफल गर्न धेरै ‘समाजवादी’ नेताहरु भित्र भएको सामन्ती सोचले रोक्ने गरेको छ । यस विषयमा घनश्याम भूषाल, बाबुराम भट्टराई जस्ता नेता र चैतन्य मित्र जस्ता प्राज्ञहरुले पटक पटक लेखि र बोलि सक्नु भएको छ । महिलाको श्रम अधिकारको विषयमा कुरा गर्दा हामी (वामपन्थीहरु) जर्मन नेता क्लारा जेट्किनको नाम बढो सम्मान पूर्वक लिने गर्छौ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राख्ने र श्रमिक (महिलाहरु पनि) को अधिकारका लागि लड्ने क्लारा जेट्कीन जरूर सबैले संझनु पर्ने नाम हो । तर विर्सन नहुने कुरा के हो भने, युरोपमा उद्योगमा आधारित मजदुरहरु बढ्दै गर्दा, कार्ल माक्र्सको कम्युनिष्ट घोषणा पत्रमा रहेको ‘सन्सार भरका मजदुर एक हौँ’ भन्ने नारामा विश्वास गर्ने सोसल डेमोक्राटिक पार्टी जर्मनीले मजदुरका मुद्धालाई मुख्य केन्द्रमा राखेको थियो । यस्तो अवस्थामा महिला पनि भएको र मजदुर आन्दोलनमा पनि भएको नाताले क्लारा जेट्किनको जिम्मा महिला मजदुरका आवाज बुलन्द पार्ने जिम्मा दिएको हुन सक्छ । जस्तो महिलाका मुद्धा महिलाले नै उठाउनु पर्छ भन्ने मान्यता नेपाली समाज र राजनीतिमा अझै छ । 

त्यस बाहेक पहिलो पटक गार्मेन्ट उद्योगमा पन्द्र हजार महिलाले राम्रो ज्यालाको माग गरेर आन्दोलन गरेको देश जर्मन नभएर अमेरिका थियो र त्यो महिना मार्च नभई फेब्रुअरी थियो । जसको सम्झनामा १९०९को २८ फेब््रुअरीमा अमेरीकामा पहिलो पटक महिला दिवस मनाईएको थियो । निशन्देह अन्तराष्ट्रिय (श्रमिक) महिला दिवसको नाम प्रस्ताव गर्ने र अन्तराष्ट्रिय महिला सम्मेलनको आयोजनाको जस क्लारा जेट्किनलाई जान्छ । विस्तारै यो सबै देशमा मानिने दिवस बन्दै गयो र संयुक्त राष्ट्र संघले १९७५मा नेतृत्व दियो ।

नेपालको महिला आन्दोलनसँग आठ मार्चको सम्बन्ध
नेपालको महिला आन्दोलन लेखनमा गहन रुपमा काम भएको छैन । तर स्पष्ट रुपमा के भन्न सकिन्छ भने नेपालको महिला आन्दोलन विषयगत आधारमा उभिएको आन्दोलन हो । जसको सुरुवात योगमायाले गरिन्, जुन आफ्नै जिवनमा भोगेका तमाम दुख्खबाट पे्ररित भएर गरिएको पाइन्छ । योग माया पछि दिब्या कोईरालाहरुले बिराटनगरमा निकालेको जुलुस होस वा काठमाडौमा साहना, साधना, मंगलाहरुको डेलिगेसन नेपालको सुरुवाती महिला आन्दोलन परिस्थितिमा आधारित थियो ।

नेपालमा आठ मार्च सरकारी तबरबाटै संयुक्त राष्ट्रसंघ हुँदै आएको हो । विश्व भरिका समाजवादी महिलाले ६५ वर्ष महिला दिवस मनाए पछि नेपालमा आठमार्चमा कार्यक्रम हुन सुरु भयो । त्यहि समय देखि सरकारी तवरबाट र भूमिगत राजनीतिमा रहेका महिलाहरुले समानान्तर रुपमा आठ मार्च मनाउन थालिएको पाईन्छ भन्नु हुन्छ एमाले नेता विन्दा पाण्डे । पन्चायती राजतन्त्र र भुमिगत राजनीतिमा रहेमा दुई फरक धारका महिलाहरुका मुद्धा र मन पक्कै एकै थिएनन् । त्यस माथि कम्युनिष्ट प्रशिक्षण पनि भयो जसमा देशमा निक्कै सानो समुदाय भएको मजदुरका विषयमा लामा लामा भाषण र प्रशिक्षण हुने समय थियो । र कम्युष्टि भनेको अर्कै कुरा हो भन्ने सोच सरकारमा थियो । बिक्रम सम्बत् २०३८मा हेटौडाको औधोगिक क्षेत्रमा कार्यक्रम भए पछि ४६ साल सम्म हरेक आठ मार्च वामपन्थी महिलाहरु पक्राउ पर्ने दिनको रुपमा रहयो । पन्चायती बेला देखिको फरक फरक कार्यक्रम गर्ने चलन सरकारमा आफ्नो पार्टी पुगे पछि पनि जारी रहेको छ ।

महिलाको श्रम र महिला श्रमिक दिवस

श्रमिक कै कुरा जोडेर हेर्ने हो भने हरेक घर भित्रका सानो देखि ठूलो सम्मका लगभग सबै काम महिलाहरुले गरिरहेका हुन्छन् । अपवादलाई छोडेर हेर्ने हो भने, हरेक घरमा महिलाहरुको परिश्रम पुरुषहरुको तुलनामा धेरै खर्च भईरहेको हुन्छ । अर्थात घर भित्रको काम सताब्दीयौ देखि महिलाको भागमा परेको छ । हरेक दिन महिलाले यस्ता कयौँ काम गर्नु पर्ने हुन्छ । जसलाई आम भाषामा कामको रुपमा लिने गरिन्न । अर्थात घर भित्रको काम “भातै पकाउने त हो नि” भनेर बुझ्ने गरिन्छ । जसले गर्दा कुनै कार्यलयमा जागिर नगर्ने महिलालाई “उनको त कुनै काम नै छैन घरमा नै बस्छिन्” भन्ने वा कुनै कार्यलयमा काम गर्ने महिलालाई “कामकाजी” महिलाको ट्याग लगाउने कार्यले कार्यलय वा तलब ज्याला बाहेकको कामलाई “श्रम” रुपमा स्वीकार नगरेको देखाउँछ । 
घर भित्र महिलाको श्रमको मूल्यांक त गरिन्न नै घर बाहिर पनि महिलाको कामलाई समाजले सामान्य रुपमा लिन सकेको छैन । महिलालाई घर भित्रको काम गरेर मात्रै पनि पुग्दैन । घरभित्रको काम जसरी पनि सके पछि महिलाको लागि कामको अर्को तह शुरु हुन्छ । गाउँघरमा खेतिपाती, बस्तुभाउको काम हुन्छ भने सहरमा ज्याला मजदुरी, कार्यलयको वा अरु काम होलान् । घर बाहिरको कामलाई पनि नेपाली समाजले विहान बेलुका घर (धन्दा) सकेर मात्रै गर्ने कामको रुपमा लिने गरेको छ । अर्थात् एउटै काम गर्ने महिला र पुरुषलाई हेर्ने परिवार र समाजको धारणा फरक छ । त्यहि काम पुरुषको लागि जागिर हुन्छ भने त्यहि काम महिलाको लागि ‘समय कटाउने’, ‘यस्सो कमाउने’ वा ‘स्वतन्त्रताको’ विषय बन्ने गरेको छ । आफ्नो कार्यलयको काम जत्तिनै महत्वपूर्ण भए पनि धेरै महिलाको पहिलो प्रथमितामा घरको काम नपरेको अवस्थामा घर परिवारमा खटपट सुरु हुने गरेको थुप्रै उदाहरण छन् । जसले महिलालाई अर्ध–बधुवा मजदुरको रुपमा सिमित गरिदिएको भनाईलाई पुष्टि गरिहन्छन् ।

अर्को तर्फ पुँजीवादी उत्पादन प्रणालीले महिलालाई खेत, बारी र गोठको कामबाट बजारमा ल्याएको छ । महिलाले अब अलिकति भए पनि कमाएर घर व्यवहारमा योगदान दिनु जरुरी हरेक घरले सम्झन थालेको छ । यो ‘अलिकति’ले महिलाले अनिवार्य रुपमा घरमा हरेक दिन गर्ने कामलाई गणना गर्दैन भन्ने कुरा पुनः दोहो¥याउन जरुरी छ । यो ‘अलिकति’बाट महिलाले सम्पूर्ण रुपमा घर चलाउनेको  सरकारी तथ्यांक नै २५.७ पुगेको छ । सरकारी तथ्यांकमा नसमेटिएका यस्ता धेरै महिलाहरु छन्, जसले घर भित्र र बाहिरका दुबै काम गरेर पनि आफुँलाई घर मुलि भन्दैनन् । घर चलाउने, कार्यलयमा काम गर्ने, विदेश गएर घर परिवारमा योगदान गर्ने वा समग्रमा भन्नु पर्दा ‘पुरुषका नियन्त्रणमा रहेका क्षेत्रमा’ काम गर्ने महिलाको संख्या दिन दिनै बट्दो छ । तर समाजमा रहेको महिला र महिलाले गर्ने श्रमलाई हेर्ने दृष्टिकोण फेरिएको छैन । महिलाको श्रमको ब्याख्या, श्रमिक महिलाको परिभाषा निर्माण गर्दै महिलाको श्रमको मूल्य स्थापित गर्नको लागि सरकारी, ब्यक्तिगत र कार्यकर्ताको तहबाट अहिले वामपन्थी महिलाले नै नेतृत्वदायी भूमिका खेल्न सक्ने ठाउँ छ । देशको अनुहार बदल्न हिडेका मान्छेहरुले कार्यक्रमको ब्यानरमा राख्ने नाममा होईन महिलाको हरेक श्रमको मूल्य स्थापित हुने गरि काम गर्न सकुन महिला दिवसको शुभकामना । 

२०१८काे मार्च ८ मा कान्तिपुर दैनिकमा प्रकाशित