नारीवादको भूत

on Tuesday, August 29, 2017
लेखक निलम कार्की निहारीकाले एक अन्तर्वातामा 'नारीवादी भएर आफ्नो घर बिगार्न चाहन्न' भनेर दिएको अन्तर्वार्ताको चर्चा सकिएको थिएन, भर्खरै  अर्की लेखक सीमा आभासले पनि आफुँलाई अरुले नारीवादी भन्ने गरेको उल्लेख गर्दै आफुँ नारीवादी नभएको भनेर जिकिर गरिएको आन्तार्वार्ता पढ्न पाइयो | नेपाली साहित्यको मुलधारमा रहेर लेखिरहेका यी दुई लेखकले किन आफुँलाई नारीवादी भन्न चाहन्नन् ? जबकी उनीहरूको लेखनको केन्द्रीय बिषय नै महिला हो | दुई लेखक त प्रतिनिधि पात्र मात्रै हुन् | नेपालमा सार्वजानिक जीवन बनेका, परिवारमा राम्रो सम्बन्ध/वातावरण भएका धेरै महिलाहरू आफुँलाई नारीवादी होइन भन्न तल्लिन देखिन्छन् |

हाम्रो समाजमा नारीवादिको एकदमै नराम्रो छबी निर्माण गरिएको छ | यसरी निर्माण गरिएका छवि दुई प्रकारका छन्, पहिलो नारीवादीहरू पुरुष बिरोधी अर्थात् पुरुषसँग प्रेम नगर्ने, प्रेम गरे पनि प्रयोग गर्ने अर्थमा लिने वा बिवाह नगर्ने (बिवाह नै नगरे पछि बच्चा जन्माउने कुरा पनि भएन), बिवाह भएको भए सम्बन्ध बिच्छेद गर्ने रुखा/जण्ड महिला नारीवादी हुन् भन्ने धारणा समाजमा छ | भने अर्को नारीवादी भनेका डलर कमाउने एलिट महिला हुन्, जो आम महिलाका सरोकारको बिषयमा कुरा गर्दैनन् भन्ने धारणा छ | अघिल्लो प्रकारको बुझाई आम जनाता र पछिल्लो बुझाई सहर केन्द्रित, समाजको कुनै न कुनै स्थानमा नेतृत्वदायी भूमिकामा रहेकाहरूमा छ |

कसैले मलाई नारीवादी भन्ने बित्तिकै म जनआस्थाका सम्पादक किशोर श्रेष्ठ दाईलाई सम्झन्छु | जसले प्राय: महिलाको कुनै मुद्दामा बहस भएन भन्ने लाग्ने बित्तिकै ५० भन्दा बढी महिला लेखक/अधिकारकर्मीलाई ट्याग गर्दै फेसबुकमा पोष्ट गर्नु हुन्छ | हरेक पोष्टमा यस्तो यस्तो छ भन्दै 'ए नारीवादीहरू यो मुद्दामा डलर नआउने भएर चुपचाप हो ?' भनेर प्रश्न जोड्नु हुन्छ | मलाई पनि ट्याग गरिएको हुँदा मैले आफ्नो प्रतिक्रिया स्वाभाविक रूपमा दिने कोशिस गर्ने गरेकी छु फेसबुकको पोष्टमा | तर, हरेक पटकको प्रश्नमा 'डलर नआउने भएर हो ?' भनिएको प्रश्नमा मेरो मन चसक्क दुख्छ |

भर्खरै लेखक टिकाराम राईले 'त्यसैले टल्केन जोयाको आँशुमा नारीवादको मुद्दा' नामक लेख लेख्नु भयो | उहाँको लेखको सार पनि डलर नभएको कारण नेपाली केटासँग बिवाह गरेर हिंसामा परेकी फिलिपिनो महिलालाई फर्काईएको बिषयमा नारीवादी बोलेनन् भन्ने रहेछ | नारीवादीले डलर खान्छन् वा डलर खाएको बिषयमा मात्रै बोल्छन् भन्ने कुरा उहाँहरू मात्र होइन काठमाडौं खाल्डोका जान्ने सुन्ने हुँ भन्ने धेरै पुरुषले यस्तै सोच्छन् | कुनै पनि समाजमा ज्ञानको निर्माण कसरी हुन्छ भन्ने कुरामा लिखित सहित्यको ठूलो भूमिका हुन्छ | यहाँ त लेखक (त्यो पनि समाजशास्त्रमा स्नातकोत्तर गरेको)/सम्पादक नै यस्ता विचार राख्छन् र त्यसको पैरवी गर्छन् भने आम मानिसले कसरी बुझ्दाहुन् ? यस्तै आरोप र लान्छना सुन्नु पर्ला भनेर होला धेरै स्थापित महिलाले आँफु 'नारीवादी नभएको' बाताउने गरेका |

नारीवाद केहो ? भन्ने प्रश्नको सरल जवाफ छ, 'नारीवाद समान हक अधिकारको आन्दोलन हो' | 'महिला बिरुद्ध हुने उत्पीडन र शोषण बिरुद्धमा जनचेतना जगाउने र त्यो आवस्था फेर्नकालागि गरिने क्रियाकलाप नारीवाद हो भन्ने' टिकाराम सरको बुझाइ र मेरो बुझाई समान छ | तर, त्यो समान हक/अधिकार कसरी हाँसिल गर्न सकिन्छ भन्ने कुरामा धेरै विचार/बाटा/उपाय छन् | जसले गर्दा नारीवादी आन्दोलान फरक फरक रूपमा बिकास भएको छ | नेपालको 'कथित बौद्धिक' मुलधारमा नारीवाद र त्यसमा पनि नेपाली नारीवादको बिषय माथी अझै सम्म खासै बहस भएको छैन | त्रिवि अन्तर्गत विभिन्न विभागमा नारीवादमाथी पढाई हुने भए पनि अहिले सम्म नेपाली नारीवाद माथी लेखिएको राम्रो प्राज्ञिक लेख पनि छैन | नेपाली नारीवादको बिषयमा बोल्नु पर्यो भने सबैले २००४ सालमा प्रकाशित सेरा तामाङको लेख 'विकासे नारीवाद' लाई टेकेर व्याख्या गर्ने गरेका छन् | टिकाराम राईले त्यहि लेखलाई पछ्याउँने काम गरेका छन् | तर, सामाजिक परिवर्तन तिब्र गतिमा हुने हुँदा एक दशक भन्दा पुरानो समाजको सन्दर्भ सामाग्रीले अहिलेको समाजको व्याख्या हुन सक्दैन | समाजका सन्दर्भहरू धेरै परिवर्तन भएका हुन्छन् | सेरा तामाङले लेखेको लेख पछि नेपाली नारीवाद/आन्दोलन धेरै फरक भई सकेको छ | उहाँले जुन समयमा त्यो लेख लेख्नुभयो त्यो बेला अरूको लागि/अरूले बोलिदिने तहमा थियो नेपाली नारीवाद | अहिले त्यो तहबाट उठेर आफ्नो लागि आफैं बोल्ने तहमा पुगेको देखिन्छ | जुन समाज,साहित्य/कला र राजनीतिमा महिलाको बढ्दो प्रतिप्रधात्मक सहभागिताले पुष्टि गर्छ |  

के पुरुष नारीवादी हुन सक्दैनन् ?
नेपालमा महिलाले महिलाको बारेमा बोल्ने/लेख्ने बित्तिकै नारीवादीको ट्याग लगाइन्छ (त्रिविका बिभिन्न विभागमा नारीवाद पढाउने, महिला हक हितको पैरवी गर्ने कुनै पुरुषलाई अहिले सम्म नारीवादी भनेको सुनिएको पढिएको छैन) अहिले सम्म | चाहे उसले नारी हक हितको बारेमा बोलेको/लेखेको होस् चाहे बिरुद्धमा | नारीवाद भित्रका धारहरूको कुरा छोड्ने हो भने समानताको आन्दोलनमा पुरुषहरूको सहभागिता हुन किन सक्दैन ? महिलाको हक (कानूनमा) खोसिई रहँदा पुरुषहरू यो  बिषयमा त महिला नै बोल्छन् भनेर पन्छिने गर्छन् | र महिलाहरू नबोलेको पाए पछि डलरको लान्छना लगाउँदै प्रश्न गर्ने किन गरिन्छ ? जोयाकै कुरा गरौँ न टिकाराम सरलाई त्यत्रो पिर परेको रहेछ, तपाईंले नै बोल्न/लड्न सुरु गर्नु भएको भए पनि हुन्थ्यो ? तपाईं चाहिं किन बोल्नु भएन नि ? कि महिलाको बिषयमा बोल्दा तपाईंको पुरुसत्व लजाउँछ ? नेपालको नारीवाद लिबरल हुँदै गयो भन्ने चिन्ता रहेछ, त्यसलाई समाजवादी नारीवाद बनाउन तपाईंले पनि त योगदान गर्न सक्नुहुन्छ नि ? किन गर्नु हुँदैन ? पुरुषले महिलाको कुरामा बोल्नुहुँदैन भनेर कतै कानून बनेको त छैन नि ! छ र ? बेला बेला यस्तो लाग्छ, मुद्दा पनि महिला र पुरुषका हुने रहेछन् | बिकास, राजनीति, कला-साहित्य, अर्थतन्त्र पुरुषको मुद्दा हो | महिलाका दुख्ख (ती सबै बिकास, राजनीति, कला-साहित्य वा अर्थतन्त्र सँग जोडिएका भए पनि) मात्रै महिलाका मुद्दा हुन् | जब सम्म महिलाका बिषयमा आम रूपमा पुरुष बोल्नेछैनन् (लान्छना लगाएर प्रश्न गर्ने एउटा कुरा हो, समस्या माथी गम्भीर भएर निष्कर्षमा पुग्ने गरि बहस गर्नु अर्को कुरा हो) तब सम्म महिला र पुरुषले समान हक अधिकार पाउन्दैनन् | समानता नभएको समाज कहिल्यै सुन्दर हुन सक्दैन | के आत्याधिक कार्यभारको कारण पाठेघर खस्ने रोग लागेकी श्रीमतीसँग शारीरिक रूपमा सन्तुष्ट हुन् नसकेर घर बाहिरकि(परस्त्री) महिलासँग लुकी छिपी यौन सम्बन्ध राख्नु पर्ने बाध्यता भएको पुरुषको समस्या, आमा चाडै रोगले थालिएका कारण सानैमा बिवाह गरेका र ठूलो भए पछि घरबार सजिलै अगाडी जान नसकेका केटाहरूको समस्या, छुई भएर छाउ गोठमा बस्ता बलात्कृत भएकी १५ वर्षकी बहिनीको बच्चाको बाउ खोज्दै हिड्ने दाजुको समस्या महिलाको मात्र समस्या हो र ? होइन होला नि ! देशको आधा जनसंख्याका समस्या पर्नु र ती समस्याले ल्याउने नकारात्मक परिणामले महिलालाई मात्रै त पक्कै सताउँदैन, पुरुषलाई पनि सताउँछन् |  

तपाईंहरूलाई तल्लो तहमा रहेका महिलाको दुख्खले साच्चिकै मन पोल्छ भने लान्छना लगाउने भन्दा समाधान पनि खोज्ने हो कि ? नारीवादीहरू डलर खान्छन् भन्ने भन्दा म पनि एक नारीवादी हुँ, म पनि समानताको पक्षमा छु भन्ने हो कि पुरुषहरूले ?

 (गत वर्ष (२०७३साल) भदौमा नेपाल खबरमा प्रकाशित यो लेख अब नेपाल खबरमा छैन | गत वर्ष लेखिएको हुँदा धेरै कुरा गत वर्ष कै घटना वरपर छन् | तर, घटनाका प्रवृतिमा कुनै परिवर्तन आएको हुँदा आज पनि सान्दर्भिक छ भन्ने मेरो विश्वाश छ |)