रारा तिमीलाई देख्दा खेरि
यस्तो मोह जाग्यो
मिल्ने भए आँखाबाट निलौं
जस्तो लाग्यो
स्कुल पढ्दै हो कवि रमेश
पौडेलले रारा तालमाथि लेखेको माथीको गीत सुनेर रारा घुम्ने रोमान्चक सपना देखेको |
काठमाडौं आए पछि पत्रिकाहरूका विचार पेजमा ध्यान जान थाल्यो | १५ वर्ष अगाडीका
मोदनाथ प्रश्रित मेरालागि राम्रा लेखक थिए | धेरै थरि ज्ञान बटुल्न | कान्तिपुरका
स्तम्भकार थिए उनि | उनले रारा घुमेर फर्के पछि लेखेको लेखमा रारा ताल वरपर
सल्लोको जङ्गल भएको कारण आगामी (२०६१ साल देखिको) २५ वर्षमा ताल सुक्न सक्ने
अनुमान गरेका थिए | उक्त लेख पढे पछि मन नै चिसो भएको थियो | तै पनि रारा जाने रहर
थियो |
एउटा अनुसन्धानको
क्रममा कालिकोट जाने अवसर मिले पछि मेरा एक गुरुले 'एक पटक
रारा पनि पुगेर आउनु है' भनेर पटक पटक भन्नु भएको थियो | कालिकोटको मान्मबाट
मुगुको रारा ताल कति टाढा पर्छ भन्ने थाहा नभएकी मेरो मन रारा पुगिसकेको थियो |
कालिकोट पुग्दा रारा जाने उपयुक्त मौसम भनेर धेरैले भन्दै थिए | मान्मको ह्वाईट
गेस्टहाउसमा हामी दश दिने पाहुना थियौं | जहाँ हरेक दिन रारा जाने र फर्कने
आन्तरिक पर्यटकले मेरो मन भड्काई रहेका हुन्थे | चार दिन मान्ममा बसे पछि मेरो मनमा
रारा जाने हुटहुटी बास गर्न थालेको थियो | त्यहि बेला काठमाडौंबाट गएको लेखकहरूको
टोलीले रारा गएर आएको सुनाए पछि त त्यो हुटहुटी झन् बढ्न थाल्यो | बजारमा गएर बुझ्दा
मान्मबाट रारा गाडी लिएर जाँदा एक तर्फी बाटोको रेट बिस हजार रहेछ | खल्तीमा पकेट
खर्च भनेर दश हजार रूपया मात्रै थियो |
नेपाल इन्भेस्टमेन्ट बैकको एटिएम खल्तीमा थियो तर पैसा झिक्ने ठाउँ थिएन | मुगुमा
पनि राष्ट्रिय बाणिज्य बैंकको चेक चल्ने थाहा भयो | बाणिज्यबैकमा आफ्नो खाता थिएन
|
चार जना अट्ने फोर ह्विलरमा अन्य यात्री पाए आफुँले ५ हजार तिरे पुग्ने थियो | मान्ममा
हरेक दिन बिहान र बेलुका म गाडीवालाको स्टेसनरी पसलमा जान्थें र रारा जाने अरू
प्यासेन्जर पाए कि भनेर सोध्थें | तर, सधैं एकै उत्तर पाउँथे, 'अहिले सम्म त कोही
आउनु भएको छैन | आउनु भयो भने तपाईंलाइ खबर गर्छु |' कालिकोटबाट फर्कने दिनको
बिहान सम्म पनि मलाई रारा जाने अरु यात्री पाईने छ भन्ने आशा थियो | तर बिहानै
गाडी लिएर आएको भाईले हिस्स पारेर भने, 'रारा जाने त पाइएन सुर्खेत जाने
प्यासेन्जर पाइयो' | बिहान ८ बजे मान्मबाट गाडी सुर्खेत तर्फ झर्दै थियो | मेरो मन
रारा जाने रहरले पिलितिर (पिली भन्दा पर त म गएकै थिईन नि त) लाग्दै थियो |
म कालिकोट पुगेर पनि
रारा नपुगी आएँ | बाटो भरि मन पिली तिरै थियो | काठमाडौं आएको भोलि पल्ट रारा जान
नपाएको तोडमा फोन एकातिर फालेर छोरोसँग खेलेर बिताएँ | बेलुका काम परेर फोन खोज्दा
नयाँ नम्बरबाट फोन आएको रहेछ | कलब्याक गरें, सम्राट कटवाल भन्ने साथीले फोन गरेका
रहेछन | कर्णाली फेलोशिप दिने भनेर | सानोमा आमाले भन्नु हुन्थ्यो, 'भगवानले तँ
आँट म पुर्याउँछु भन्छन् रे' आमाका यस्तै कुराले हो मलाई कैयौं असम्भव लाग्ने
कुरामा आँट आउने | आफुँले भगवानमा विश्वास नगर्ने भए पनि सम्राटसँगको कुराकानी
पछि, मनले चाहिं आँटनु पर्ने जस्तो लाग्यो |
फेलोशिप अन्तर्गत हामीलाई
आफुँ जाने जिल्ला छान्न लगाईएको थियो | मेरो मन रारा हेर्न जाने रहरले उचालिएको
थियो | तर रारा मुगु जिल्लामा पर्छ भन्ने बाहेक धेरै जानकारी थिएन | फेलोशिप पाउने
शोभा दाहाल र मैले मुगु जाने भयौं | म मुगु जाने भने पछि धेरैले एक पटक रारा जानु
है भन्ने सल्लाह दिए | मेरा अर्का गुरु घनश्याम भूषालले आफुँले जहाजबाट देखेको
राराको बयान रोमान्चित हुँदै गर्नु भयो, 'प्रकृतिको अनुपम छटा भन्छन् नि बहिनि,
रारा चाहिं अनुपम छटा हो के |'
सामान्यतया काठमाडौं
देखी गमगढी सम्म सार्वजानिक गाडीमा (सार्वजनिक यातायात ठाउँ ठाउँमा रोक्दै
बिस्तारै लाने हुँदा बढी समय लाग्छ) पुग्न ३४ घण्टा लाग्छ भनिन्छ | तर, मुक्लिन
नारायणगढ सडक खण्डको जाम, कालिकोटको दहि खोलाको पहिरोको कारण हामी काठमाडौंबाट बस
चढेको ५२ घन्टामा मात्रै गमगढी पुग्यौं | मुगुको सदरमुकाम गमगढी देखी रारा सम्म
पुग्नको लागि स्थानीय बासिन्दालाई २ घण्टा लाग्छ भन्छन् | हामीले ४ घण्टा लगायौं |
रारालाई एक फेर घुम्न लगभग चार घण्टा लाग्छ रे स्थानीय बासिन्दालाई | हामी
जस्तालाई फुलको सुगन्ध पनि सुग्नु पर्ने, फोटो पनि खिच्नु पर्नेलाई एक दिन पुरै
लाग्ने रहेछ | बिहानै हिंडेका हामी तालको एक छेउ हिड्दै भोकले आतिएका थियौं |
गमगढी तर्फको रारा छेउबाट जाँदा राराको एकमात्र होटल डाफें बाटामा पर्ने रहेछ |
दिउसोको एक बजे डाँफेमा खाना खायौं |
गत वर्ष कर्णाली
राजमार्ग भनिने जुम्ला सुर्खेत सडक खण्ड पिच भएको कारण यो वर्ष रारा घुम्ने पर्यटक
धेरै आएको हामीलाई मान्म, नाग्म, गोठीज्युलाका होटलवालाहरूले बताएका थिए | तर,
यतिनै पर्यटकले रारा घुमे भन्ने तथ्यांक पाउन मुस्किल रहेछ | रारा आउने पर्यटक एकै
बाटोबाट आउँदैनन् कोही सरमुकाम गमगढी, कोही ताल्चा बिमानस्थल, कोही गोठिज्युला वा
भुल्भुलेको लेकको बाटो पैदल रारा पुग्छन | मुगुको खत्याड भेगबाट सदरमुकाम गमगढी
जाने आउने स्थानीय बासिन्दाको बाटो पनि राराको किनारै किनार पर्ने रहेछ | वारपार
गर्नेको सबैको अनिवार्य रूपमा सामान्य विवरण राख्ने काम निकुन्जको सुरक्षामा रहेको
सेनाको राखे पनि उदेश्यगत विवरण न राख्ने हुँदा कति कति मान्छे रारा घुम्न आए
भन्ने थाहा हुँदैन |
रारा छेउको एक मात्र
होटेल डाँफेमा कति मान्छे बस्ने गरि आए त ? भनेर सोद्दा म्यानेजर जगत थापा फागुनको
पहिलो हप्ताबाट जेठ १३ गते सम्म दुई दिन बाहेक संधै होटेल प्याक भएको बताउँथे | उनलाई
होटलमा रात बस्ने, दिनमा खाना खान आउने देखी एक कप चिया राराको छेउमा खाने सम्मलाई
सेवा गर्दा गर्दै कुनै रेकर्ड राख्ने फुर्सद थिएन |
हामी राराको छेउमा
पुग्दा वरपर बुट्यानमा सेता गुलाफ, पहेंला फुल र भुईं भरि पनि बैजनी, पहेंला, सेता
फुल फुलेका थिए | म हुर्केको ठाउँमा जेठमा गुएली खाने बेला हुन्छ | राराको छेउमा
जेठमा गुएँलीको फुल फुल्ने रहेछ | जताततै गुएँलीको बोट र फुल देखे पछि केटाकेटी
बेलाको याद आयो | ताल छेउ छेउ हिंड्दा भुन भुन मौरीको भुन भुनाहट एक प्रकारको
सङ्गीत जस्तो लाग्थ्यो | काठे पुलहरूले अर्कै आनन्द दिन्थे . तालमा पानीको सतह
केहि घटेको रहेछ | पानीको सतह घटेको देखे पछि मोदनाथ प्रश्रितको पुरानो लेखको याद
आयो | हाम्रो साथमा खत्याड भेगको कुनै विधालयका शिक्षक थिए | पानीको सतह घट्ने
क्रम अघिल्ला वर्षमा पनि थियो कि यो वर्ष मात्रै घटेको हो भनेर उनलाई सोध्दा यो
वर्ष खडेरीले गर्दा सतह घटेको गत वर्ष सम्म नघटेको बताए |
हामीले खाना खाने
बेलामा पानी आयो | खाना खाएर केहि बेर के सुस्ताएका थियौं राराको पनि बझ्न थाल्यो
छत्ल्याक छात्ल्याक गर्दै | होटलमा रहेका रारा हेर्न आउनेहरू किनार तर्फ दौडिए |
स्थानीयले बताए अनुसार दिउसो १२ बजे पछि रारामा हावा चल्ने र तालका छाल आउने रहेछ
| रारामा अहिले एउटा बोट चल्छ | तर हावा चलेको समयमा बोट नचल्ने हुनाले बिहानै जान
पर्ने हुन्छ |
रारालाई एक फन्को
लगाउन सरासर हिड्नेलाई लगभग चार घण्टा लाग्छ | तर, पानी खानु पर्यो, पिसाब गर्नु
पर्यो भने फर्केर डाफें होटल नै आउनु पर्छ | राराको छेउमा धेरैले पाल
गाडेर बसेको बताउँछन् जगत थापा | आगामी वर्षहरूमा अझै पर्यटक बढ्ने सम्भावना छ |
त्यसको लागि राराको छेउमा अझै होटल खोल्न जरुरी रहेछ भन्ने लाग्यो | अहिले खुल्दै
गरेको अर्को होटल पनि डाफें होटेलकै छेउमा छ | अर्को होटलको लागि टेन्डर खोल्ने
तयारी चल्दै गरेको पनि थाहा भयो | अब खुल्ने होटलहरू अहिले होटेल भएको ठाउँ भन्दा
अल्ली पर भए घुम्ने मानिसलाई केहि सुविधा हुन्थ्यो कि भन्ने लाग्यो ?
दिउँसो दुई बजे पछि
चिसो हिमाली हावा सहित स्याठ चल्न सुरु भयो | हावामा राराको छाल हेर्न जुन मज्जा
थियो, होटलमा ठाउँ नभएको र आफ्नो बाक्लो लुगा गमगढीमा छोडेको कारण हामी गमगढी
फर्कियौं | गमगढीको होटेलमा फर्के पछि अघिल्लो दिन देखिका पाहुनाहरूले रारा कस्तो
मान्यौ भनेर सोधे | मैले अब वर्षा लाग्ला भदौंमा परिवार लिएर रारामा नै दुईरात
बस्ने गरि आउंछु भने पछि होटलका साहुले यत्रो फोटो खिचेछौ यहि देखाए हुँदैन भनेर
जिस्काए | मैले पनि जिस्कने मेलोमा भने, 'राराको जङ्गलको ओस र कुहिएका रूखको गन्ध,
थरिथरिका फूलले ढाकेका भुई र बुट्यान, मौरीको भुन्भुनाहट, दिउसो चल्ने चिसो हावा र
त्यो हावा सँगै बज्ने तालको छालबाट आउने सङ्गीत यहीं नआई कसरी महसुश हुन्छ र ?'
साँच्चै मलाई यस्तै लाग्यो |
(यो लेख ७३ सालमा लेखिएको हो)