सर, तुमी पुन छोट्टी खेल्न्या हौ ?

on Monday, October 21, 2019


बैशाखको पहिलो साता कालिकोट जाँदा हाम्रो समूहको नेतृत्व दुई दशक अगाडी कर्णालीका जिल्लाहरूमा बिकासे (आइएनजीओको) काम गर्नुभएका, तर पछिल्लो समय त्यता नघुम्नु भएका अल्ली पाका सरले गर्नु भएको थियो | कालिकोटको गेला गाविस अन्तर्गत पर्ने गणेशकोटको उकालोमा उहाँले 'यता तिर अहिले पनि छोट्टी खेल्छन् ?' भनेर स्थानीय स्रोत व्यक्ति प्रेम शाही दाईलाई सोधे पछि प्रेम दाईले अहिले त्यति धेरै नभएको तर आफुँले किशोर अवस्थाको हुँदा दाई र काकासँग मिलेर कसरी छोट्टी खेल्न जाने गरिन्थ्यो भन्ने बारेमा बताउनु भएको थियो | दुई गाउँलाई छुट्याउने पाखोमा पुगे पछि प्रेम दाईले भन्नु भयो, 'हामीले यताबाट लाईट बाल्ने, उता बाट पनि लाइट बल्यो भने छोट्टी खेल्ने कुरा पक्का हुन्थ्यो' | प्रेम दाई त्यो बेला छोट्टी खेल्न आउने महिलाको बारेमा भन्थे, 'प्राय: माईत आएका महिलाहरू हुन्थे' | कुनै पनि खेलमा खास रुची नभएकी मलाई उनीहरूको कुरा सुन्दा छोट्टी खेल्ने भनेको कहिले दोहोरी खेल्ने पो हो कि जस्तो लाग्थ्यो, कहिले तास/जुवा खेल्ने पो हो कि जस्तो लाग्थ्यो | ठाउँ अनुसारको खेल हुन्छ, त्यो ठाउँको पनि खेल होला | अलिकति आफुँ भन्दा सिनियरसँग सोध्ने हिम्मत नभएर, धेरै चाहिं चासो नभएर कालिकोटमा मैले छोट्टी खेल्ने चलनको बारेमा खोजीनीति गरिन |
कालिकोट बाट फर्के लगत्तै मुगु जाने मेसो पर्यो | केड नामक गैर सरकारी संस्थाको सहकार्यमा काम गर्नु पर्ने थियो | मुगुको गमगढी स्थित केडको कार्यालयमा 'मुगुमा हुने बालविवाहको कारण माथी' आफ्नो अनुसन्धान केन्द्रित हुने बताए पछि केडका कर्मचारी प्रमोद दाहालले भन्नु भयो, 'अरु त देश भरिका उस्तै कारण हुन्छन् | यताको एउटा कारण छोट्टी खेल्ने पनि हो, महिलासँग कुरा गर्दा त्यो बारेमा पनि कुरा गर्नु होला है' | प्रमोदजीको कुरा सुने पछि कालिकोटमा 'छोट्टी खल्ने' बिषयमा चासो नराखिएकोमा थकथक लाग्यो | जे भए पनि यो (छोट्टी खेल्ने) खेल मुगुका किशोरीहरूको सानै उमेरमा बिहे गर्ने एउटा कारण पनि रहेछ | मैले यो छोट्टी खेल्ने भनेको के हो भनेर सोधे पछि प्रमोदजीले, 'त्यो बारेमा स्थानीय महिलाले नै राम्ररी बताउने' भनेर टार्नु भयो |
गमगढीबाट सोरूकोट जाने बाटोमा पूर्ण भाईले सोधे, 'छोट्टी खेल्ने कुरा पनि लेख्ने हो दिदि ?' | मैले अझै कुरा राम्ररी बुझेकी छैन | के लेख्ने, के नलेख्ने ? कालिकोट देखि खुलस्त रूपमा कसैले पनि नबुझाएको र आफुँले पनि नसोधेको एउटा खेल यो भेगमा मेरो लागि नयाँ छ जसले सानैमा बिहे गराउँछ भन्ने कुरा मनमा राखें | यत्ति थाहा भयो कि, यो खेल बोलीचालीमा व्यक्त गरिने र सार्वजनिक रूपमा खेलिने खेल चाहिं होइन | मैले पूर्ण भाईलाई 'हेरम' भनें | सोरूकोट पुगे पछि केडको फिल्ड कार्यालयमा खाने बस्ने व्यवस्था थियो | कार्यालयमा हुनु हुन्थ्यो कास्की हंसपुरका रामचन्द्र न्यौपाने सर | बेलुका खाना खाए पछि बालविवाहका कारण केके हुन सक्छन् भन्दा उहाँले भन्नु भयो, 'बाल बिवाह, यौन स्वास्थ्य, पढाई छोड्ने प्रवृतिको एउटा कारण चाहिं छोट्टी खेल्ने पनि हो |' छोट्टी खेल्ने अर्थात केटी खेल्ने/केटीसँग खेल्ने/केटीलाई खेलाउने भन्ने अर्थ रहेछ | राम राम ! गणेश कोटको उकालोमा प्रेम दाई र हेडसरले गरेका पाल्सी पाल्सी गफ त यस्तो बिषयमा पो रहेछ | रामचन्द्र सर र पूर्ण भाईका कुरा सुनेर मा ट्वा परें | रामचन्द्र सरले केड र जिल्ला स्वास्थ्य कार्यालयले एउटा गाउँमा गरेको स्वास्थ्य सिविरमा २०० जना मध्ये १९९ जनालाई यौन जन्य रोग भएको पाईएको बताउनु भयो |
छोट्टी सहमतिमा खेलिने सामुहिक खेल हो | छोटी खेल्ने र छोट्टी बस्ने भन्ने कुराले फरक फरक अर्थ राख्दो रहेछ | छोट्टी बस्ने भन्ने कुराले गैर यौन जन्य र छोट्टी खेल्ने भन्ने कुराले यौन जन्य क्रियाकलापलाई जनाउँछ | साथीसाथीमा उक्त बिषयमा पहिले नै कुरा हुने रहेछ, बस्ने कि खेल्ने भनेर ! पहिले नै सल्लाह भए अनुसार चार/पाँच युवती र चार/पाँच जना युवाहरू अल्ली सुनसान/कोल्टे पर्ने गोठमा भेला हुने रहेछन | त्यसरी भेला हुनेमा विवाहित महिलाले आफ्ना बाल्यकालका साथी बहिनी, भतिजी र वयस्क पुरुषले पनि साथी, भाई, भतिज लिएर छोट्टी बस्न/खेल्न जाने चलन हुने रहेछ | मनमा लागेका कुरा आफ्नो प्रेमी/प्रेमिकालाई देउडा गीतको माध्यम बाट व्यक्त गरिने रहेछ | यदि गीत सरासर गाईन्छ भने त्यो छोट्टी बसेको हो | जहाँ बाल्यकालका साथी, माईत आएकी चेली बसेर आफ्ना दुख्ख सुख्खका कुरा गरेको भनेर बुझ्न सकिन्छ | यदि गीत बीच बिचमा गाउन बन्द गरिन्छ भने त्यहाँ यौन जन्य क्रियाकलाप पनि भएको अनुमान गरिने रहेछ | आफ्नो आफ्नो समूह र गोप्य रूपमा बस्ने हुनाले अन्य सदस्यलाई त्यसमा सहभागी गराईंदैन | प्राय: महिलाहरू माईतीमा गएको समयमा छोट्टी खेल्ने काम हुन्छ | मुगुका महिलालाई पनि माईती जाने भनेको कुनै चाड पर्वमा हो | बैशाख पुर्णिमा, जनै पुर्निमामा त्यहाँ ठूलो मेला लाग्छ | छोट्टी बस्दा/खेल्दा प्रेम भएर बिवाह गरेका महिलालाई, 'मईती जाँदा तपाईं छोट्टी खेल्न जानुहुन्छ ?' भनेर सोधेकी थिएँ | त्यति प्रश्न सोध्नको लागि मैले खुब भूमिका बाध्नु पर्यो | आफ्नी श्रीमती अर्को मान्छेसँग यौन सम्बन्धमा रहेको कुरा कुन पुरुषलाई मन पर्दो हो ? आफुँ श्रीमाती माईती गएको समयमा छोट्टी खेल्न जाने गरेको भए पनि !
छोट्टी खेलिने चलनलाई कतिले उदार यौन जीवनको रूपमा पनि लिन सक्छन् | तर त्यति उदार नै चाहिं रहेनछ | श्रीमाती अर्कैसँग लागेको थाहा पाएको श्रीमान रंगेहात समाउने समयको प्रतिक्षामा हुन्छ र छोट्टी खेल्ने समयमा समातिएमा जारी तिर्न सक्ने आँट भएको मानिसले विवाहित महिलासँग छोट्टी खेल्ने हिम्मत राख्छ | विवाहित भन्दा अविवाहित/एकल महिलासँग छोट्टी खेल्न मन पराउँछन् रे पुरुषहरू ! कसैलाई मन पराउनुको पनि सामाजिक आर्थिक अवस्था हुने रहेछ | अविवाहितसँग छोट्टी खेल्दा जारी तिर्नु पर्ने, महिलाका पोईली (श्रीमान) पट्टिका कसैले भेटे खानु पर्ने कुटाईको कारण पनि केटाको रोजाईमा अविवाहित केटि पर्छन् रे !
मैले महिलाहरूसँग छोट्टी खेल्ने बिषयमा खुब नीदिखोजी गरेकोले होला एउटीले मलाई सोधिन्, 'सर तुमि पुन छोट्टी खेल्न्या हौ ?' उत्तरमा मैले 'मेरो श्रीमानलाई लिएर आउँछु अनि मलाई पनि लैजाउ है' भनें | मेरो कुरा सुनेर महिलाहरू खुब हासें र श्रीमानसँग छोट्टी खेल्न के को स्वाद भन्ने पारामा कुरा गरे |
एकदिन कागे (नाम) बहिनीको चिया पसलमा गफ गरेर बसिरहेका थियौं | मुगुमा महिलाको ३५ र पुरुषको ४० वर्ष सरदार आयु हो | अत्याधिक बाल मृत्युदरको कारण सरदार आयुमा केहि फरक पर्ने हुन्छ | तर, ६० काटेको स्थानीय मानिस मुगुमा सिला खोजे झैँ खोज्नु पर्छ | गाउँमा एक जना शाही बुवा हुनुहुन्थ्यो ७२ वर्षको उमेरको | म गाउँ आएको समय देखिनै कुरा गर्न खोज्नु भएको थियो | तर समय मिलेको थिएन | मेरै बाको उमेरका भएको कारण मलाई पनि अब बुढा मान्छेहरूको कुरा सुन्न मन पर्छ | उहाँ हामी बसेको ठाउँमा आएर मलाई सोध्नु भयो, 'के के सोध्यौ त महिला कन ?' | मैले छोट्टी खेल्ने बारेमा सोधेको भने पछि उहाँले भन्नु भयो, 'अहिलेकाले के छोट्टी खेल्छन् र ? हाम्रो जमानामा पो खेलिन्थ्यो !' उहाँले आफ्नो जमानाको कुरा झिके पछि हामीलाई पनि स्वाभाविक चासो हुने कुरा भयो | मैले मेरो मोबाईलको भिडियो खोलें | मोबाईल झिके पछि उहाँले, 'पख राम्रा लुगा लगाउँछु र खिचौली' भन्नु भयो | मैलो लुगा (उहाँ संधैं सफा लुगा लगाएर हिड्नु हुन्थ्यो, त्यहि पनि सायद नयाँ लुगा लगाउने विचार थियो कि) मा खिचेको भिडियो काठमाडौंका कसैलाई नदेखाउने सर्तमा उहाँले कुरा गर्नु भयो | मैले काठमाडौं आए पछि उहाँको सर्त उल्लङ्घन गरेर केहि साथीलाई उक्त भिडियो देखाएँ | साथीहरूलाई देखाएको भन्दा मैले नै बढी हेरें |
शाही बाले ११ वर्षको उमेरमा पहिलो पटक छोट्टी खेलेका रहेछन | अहिले २० वर्ष भयो रे उहाँले छोट्टी नखेलेको | ११ वर्षको उमेर देखी ५२ वर्षको उमेर सम्म लगभग चार सय महिला सँग उहाँले छोट्टी खेल्नु भएको बताउनु भयो | छोट्टी खेल्दा खेल्दै ३ महिलासँग बिवाह भएको रहेछ | 'घरै त ३ भईगाए बुन (बन/घरबाहिर) कत्ति भए कत्ति कसले हिसाब गर्ने ?' भनेर भन्नु भएको रहेछ | घरबाहिर छोट्टी खेलेका महिलाहरूको पेटमा आफ्नो बच्चा पनि थियो होला भन्दै उहाँले भन्नु भयो, 'बच्चाकी आमा जहाँ गयो उहींका भैगए' | गफै गफमा आफुँले खेलेका छोट्टीहरू र तीनको पेटमा हुर्केका बच्चाको याद आउने बताउँदै, 'याद आएर पनि के र ? म उता नजाने उनीहरू यता आउने नही' |
छोट्टी सहमतिमा नै बस्ने/खेल्ने भए पछि त्यसलाई किन छोट्टा खेल्ने नभनेको होला ? भन्ने प्रश्न मेरो मनमा उठिरहे | पछि थाहा भयो त्यो पनि शक्ति सम्बन्धित हुने रहेछ | छोट्टी खेल्ने काम सहमतिमा भए पनि बिवाह गर्ने/सँगै जीवन बिताउने बिन्दुमा पुग्ने हो भने केटाको घरमा नै जाने हुनाले छोट्टा खेल्ने नभनेर छोट्टी खेल्ने भनेको होला जस्तो लाग्यो |

म जान चाहन्छु

on Wednesday, October 16, 2019

म जान चाहन्छु कुनै अनकन्टार जंगल वा मरुभूमि
जहाँ कसैले नसोधुन् के के हुँदै छ मेरो प्रगति ?
नसोधुन् मेरो कमाईको मात्रा,
नसोधुन् मेरो राजनीतिक सिद्धान्त र जिवनको सम्बन्ध
जहाँ कहिल्यै नमिलेको भुगर्वका प्लेट झै टकराव भईरहन्छ

कसैले नदोओस कुनै सुझाब पनि
जसरी म सुनिरहेकि छु ।
छिट्टै नामको अगाडी डाक्टर लेख्न
छिट्टै लेखिरहेको किताब सक्न
छिट्टै विश्वविधालयमा स्थायी हुन
छिट्टै काठमाडौमा घर बनाउन
छिट्टै सरकारको कुनै अंगमा काम गर्न

कसैले नगरोस् गुनासो पनि
मेरो फेसबुकका फोटो हेरेर
तिमीले त्यतिका नेता चिनेकि छौ,
दुईचार ठाउँमा जागिर लगाईदिन त सक्छेउ नि
तिमीले त्यतिका पत्रिकार चिनेकि छेउ
मेरो यत्ति लेख छपाई दिन त सक्छेउ नि
तिमिले त्यत्तिका मान्छे भेट्छेउ
मलाई नि भेट्न सक्छेउ नि

कसैले पढाएको समाचार पनि नआओस्
त्यो महान योद्धाका पतनका कुरा
त्यो आदर्शवादीको शोषणको कुरा
त्यो विकासवादीका भ्रष्टचारका कुरा
वा कयौ वादीका कुरा

यि सबै सबै भन्द पर
एक्लै एक्लै हिड्न छ मन मलाई
जहाँ अपरिचितले सोधोस्
निद्रा पर्यो कि परेन
अनि म सुनाउन सकुँ
आफैँ मेरेको त्यो डरलाग्दो सपनाको कुरा
हिड्दा हिड्दै चौतारीमा थकाई मार्दा
कसैले निधार छामेर भनोस्
तिमीलाई थकाईले त ज्वारो आएछ बसौ यतै
बेलुका आगोको छेउमा खुट्टा सेकाउँदै गर्दा
कसैले कर गरेर भनोस्
आँखा चिम्म गरेर यत्ति घुटुक्क पार बिहान उहठ्दा ठिक हुन्छ
राती सुत्ने बेलामा कोहि बताई देआस सिरानीको दिशा
जसले रोक्छ डरलाग्दा सपनालाई कतै

बाटोमा भेटिएको मान्छेले नाम नसोधी
सोधोस् पानीको प्यासको कुरा
गलेको शरिरको कुरा
सुनिएका खुट्टाको कुरा
लागेको लेक उतार्न खानु पर्ने जंगली झारको कुरा
दम बढ्न नदिन चापिरहनु पर्ने पातको कुरा
र छुट्ने बेलामा भनोस्
जिवन लामो बाँच्नको लागि
थोरै आफ्नो पनि ख्याल गर्नु होला

मुगाली सपना

on Tuesday, October 15, 2019

भनिन्छ, ‘खुला आाखाले देखिने सपनाले मानिसलाई निदाउन दिंदैन रे’ ! निद्रै हरण गर्ने–नगर्ने हामी सबैका धेरै सपना हुन्छन् । जुन फेरिइरहन्छन्, बेला–बेला सामाजिक सञ्जालमा मानिसहरू आफू टोलाइरहेको फोटो हालेर भक्तराज आचार्यको ‘हजार सपनाहरूको माया लागेर आउँछ’ भन्ने गीतको लाइन लेखिरहन्छन् ।

कतै नलेख्नेहरूलाई पनि आफ्ना हजार सपनाको माया लागिहाल्दो हो । हरेक रात मान्छेले सरदर कति सपना देख्छ ? खुला आँखाले कति सपना देख्छजस्ता तथ्यांक र मिथ्यांकको बारेमा मलाई धेरै थाहा छैन । आफ्नाबाहेक अरूको सपानामा खास रुचि नभएको कारण मैले कसैको सपनाबारे त्यति धेरै खोतलखातल गर्न पनि सक्दिनँ । तर, गएको जेठमा मुगुमा भेटिएका केही मानिसले सुनाएका सपनाले मलाई बेला–बेलामा झस्काइरहन्छ । 

दिनेश सरको फोन 
मुगुमा म रारा हेर्ने मुख्य सपनाको फेर समाउँदै गएकी थिएँ । रारातालको किनारमा भेट भएको थियो सिरहा घर भएका मुगुमा पढाउने सरकारी शिक्षक दिनेश साहसँग जो ४८ सालदेखि मुगुका विभिन्न गाउँमा बसेर सरकारी विद्यालयमा पढाइरहेका थिए । जेठ दोस्रो साता सरकारले विद्यार्थीलाई पठाएको किताब लिन गमगढी हिंडेका । ‘जंगलको बाटो छ, साँझ फर्कनुपरे दुई जना मात्रै नफर्किनुहोला’ बिहानै पर्वत बलेवा घर भएका आर्मी भाइले हामीलाई भने । त्यही कारण गमगढी हिँडेका दिनेश सरलाई एक छिन कुराएर साथी बनाएका थियौं म र शोभा दाहालले । पच्चीस वर्षदेखि मुगुमा पढाएको उनको कुरा सुन्नेबित्तिकै हाम्रो स्वाभाविक प्रश्न थियो, ‘यति लामो समय एकै जिल्लामा किन नि ?’ २५ वर्ष कुनै शिक्षकले आफू जन्मे हुर्केको परिवेशभन्दा पर पुगेर किन पढाएको होला ? 

‘पछाडि परेको कर्णालीको शिक्षामा आफ्नो योगदान होस् भनेर’, वा अरु ? हाम्रो प्रश्नको उत्तर जे पनि हुन सक्थ्यो ! तर, ‘यहाँबाट सरुवा हुन आफ्नो मान्छे नाइँ’ उनले मुगाली लवजमा भने । ठाउँमा आफ्नो
मान्छे नभएको वा ठाउँमा भएका मान्छे आफ्नो नभएका तराईको पातलो ‘साह’ थर भएका एक पुरुष, हुर्कंदै गरेका तीन छोरीका बा, जसले हरेक दिन बिहान रेडियोमा कलिला किशोरीको बलात्कारका समाचार सुन्छन् । सायद त्यसैले होला पछिल्लो समय दिनेश सरले घर पायक जागिर चाहेका रहेछन् । त्यसका लागि एक पटक जिल्ला शिक्षा कार्यालय र आफ्नो समुदायको नेता धर्मनाथ साह सामान्य प्रशासन राज्यमन्त्री भएका बेलामा उनी आफ्नो बढुवाका लागि भन्न गएका पनि रहेछन् । ‘पटक–पटक भन्न जानुभयो त ?’ मैले सोधें । ‘आफ्नो समय पनि नाइँ’ भने दिनेश सरले ।

उनको कुरा सुनेपछि साथी शोभाले भनिन् ‘यस्तो पनि हुन्छ ?’ शोभाले आफ्ना टाढाका नातेदार तत्कालीन शिक्षामन्त्रीसाग भनसुन गरेर भए पनि दिनेश सरको सरुवा गराइछाड्ने कसम खाइन् । सरुवा, जागिर, बढुवाजस्ता कुरा आउँदा म एमालेको सरकारमा हुँदा झापा आन्दोलनका योद्धाले आफ्ना छोरालाई सामान्य जागिर पार्टीले व्यवस्था गरिदिन नसकेको भनेर एमाले केन्द्रीय कार्यालयमा आत्महत्या गरेको घटना सम्झिरहन्छु । मैले शोभालाई भने, ‘त्यसो नभनिहाल गाह्रो हुन्छ सरुवा गर्ने काम, त्यसका नियम हुन्छन् ।’ तर, उनले प्रतिक्रिया दिइन्, ‘तपाईंले चाहने हो भने कुनै समस्या हुादैन ।’ शोभाको कुरा सुनेपछि दिनेश सरले मेरो अनुहारमा हेरें । मानौं कि म भने उनको समस्या समाधान भइहाल्ने स्तरकी मान्छे हुँ । 

कुनै दिन मान्छे भेटेछु वा लेख्ने जाँगर चलेछ भने काम लाग्ला भनेर मैले थकाइ मार्न बसेको बेलामा दिनेश सरको बारेमा सामान्य जानकारी टिपें । उनले पनि हाम्रो फोन नम्बर आफ्नो मोबाइलमा टिपे । मैले पनि कुनै दिन उनको सरुवा गरिदिने मानिस भेटिएला कि भनेर उनको मोबाइल नम्बर टिपें । गमगढी फर्केको भोलिपल्ट म सीप भन्ने गाउँमा महिलाहरूको हूलमा सुतिरहेकी थिएँ । थाकेर लोद परेकी ! मस्त निद्रामा घुर–घुर फोन बज्यो, यस्सो घडी हेरेको बिहानको चार बज्दै थियो । दिनेश सरले फोन गरेका ! फोन काटेर सुतें । फेरि एक छिनपछि उनले फोन गरे । खास कुरा केही थिएन यसै सन्चो–विसन्चो सोध्न भने । त्यसपछि धेरै दिन बिहानै उनका फोन आए । खास कुरा केही भनेनन् । म बुझ्थें, ‘मेरो सिरहामा सरुवा भए छोरीहरूको पीरले मलाई औडाह हुँदैन’ भन्ने उनको कुरा ! उनले यसै गरी–गरी शोभालाई पनि फोन गर्थे, उसको फोन नउठेपछि फेरि मलाई गर्थे ।

म आफ्नै काममा व्यस्त थिएँ । उनको फोन आउँदा सम्झन्थें अनि बिर्सन्थें । मोबाइल फेरे पछि उनको नम्बर पनि हरायो । एक दिन बिहानको ३ बजे फोन आयो । नम्बर नहेरी फोन उठाएँ । कसैले भोजपुरी लवजमा भन्यो, ‘दाइलाई सर्पले टोक्यो !’ धेरै भयो मैले मेरा बाका सहयोगीको बोली नसुनेको ! मेरा हातखुट्टा काम्न थाले । आत्तिएको स्वरमा सोधें, ‘अहिले कहाँ हुनुहुन्छ ?’ नचिनेको ठाउँको नाम भने । ‘किन त्यता लागेको ?’ भनेपछि उनले भने, ‘घरनजिकै यही अस्पताल छ ।’ त्यसपछि पो मैले फोन आएको नम्बर हेरें । ९८४८ वाला ! उफ दिनेश सर थिए । मैले मोबाइल अफ गरेर सुतें । मोबाइल अन गरेपछि फेरि फोन बज्यो दिनेश सरको । मैले उनका दाइको स्वास्थ्यस्थिति सोधें । सामान्य रहेछ । अनि भनें, ‘सर अब मलाई फोन नगर्नू है !’ उनले सोधे, ‘किन ?’ । मैले ‘किन गर्नुहुन्छ त मलाई फोन ?’ भनेपछि ‘ए’ भनेर उनले फोन राखे । मलाई सरुवा—बढुवा गर्ने काममा आफ्नो क्षमता नभएकोमा यस्तो बेलामा ग्लानि हुन्छ । 


पूर्ण लावडका सपना 
मलाई गमगढीबाट दुई दिन परको सोरु भेग लैजान गमगढी आएका थिए जिम गाविसका भाइ पूर्ण लावड ! गमगढीबाट केही बेर ओरालो झरेपछि आफ्नो परिचय दिंदै भने, ‘जे भए पनि आफूलाई देखेर गर्व लाग्छ दिदी !’ मलाई उत्सुकता लाग्यो सत्र वर्षको केटाको आफैंप्रति गर्व गर्नलायक कुरा के हुँदो रहेछ भनेर । उनले भने, ‘पोहोर हाम्रो स्कुलबाट दुई विषय मात्रै लागेर फेल हुने विद्यार्थी म मात्रै हुा ।’ उनले पढेको विद्यालयबाट दलितहरू अहिलेसम्म कि त दस कक्षासम्म पुगेकै रहेनछन्, पुगेका पनि त्यति थोरै विषय लागेका छैनन् । अर्थात् सबका सब विषयमा फेल हुँदा रहेछन् । काठमाडौंमा साठी प्रतिशत ल्याएका छोराछोरीमाथी कति बा आमाले गुनासो गर्छन् राम्ररी नपढेको भनेर ! उनलाई भने दुई विषय लागेकोमा पनि गर्व रहेछ । पछि गाउँ गएपछि थाहा भयो, पूर्णले मात्रै आफैंमा गर्व गर्ने रहेनछन् । उनका परिवार र गाउँलेले पनि गर्व गर्ने रहेछन् । उनीसँग १० दिन उकालो–ओरालो, भात–भान्सा गरियो । कट्टर ब्राह्मणहरूको नेतृत्व भएको ठाउँमा एउटा दलित परिवारमा जन्मिएको १७ वर्षीय गरिब किशोरको छटपटी र कुदाइ देखेर म बेला–बेला आत्तिन्थें ।

१३ वर्षको उमेरदेखि नै उनी गाउँमा चर्चित रहेछन्, विद्यालयमा बााडिने हलुवा खाने बेलामा बाहुन बच्चाको लाइनमा दलित बस्यो भनेर प्राध्यनाध्यापकले कुटपिट गरेपछि । उक्त कुटाइको मानसिक पीडा र शरीरभरि सुम्ला बोकेर दुई दिन परको गमगढीमा रहेको पुलिस थानामा गएछन् पूर्ण । उनको त्यो साहसलाई गमगढीबाट गएका प्रहरीले त साथ दियो नै, दलितको क्षेत्रमा काम गरिरहेको केड नामक गैरसरकारी संस्थाले आफ्नो फिल्ड कार्यालय उनकै गाविसमा सारेछ । कार्यालयमा आएका कास्की हंसपुरका रामचन्द्र न्यौपानेले उनैलाई सहयोगी बनाएछन् । बिहान–बेलुका खाना पकाउने, पानी ल्याइदिने (उनको गाउँमा पानीको सधैं अनिकाल पर्छ, एक खेप पानी भरेर ल्याउन लगभग एक घण्टा लाग्छ) र दिउँसो विद्यालयमा नियमित पढ्न जाने सर्तमा । उनले न्यौपाने सरको सर्त माने, अनि कार्यालय उनको ससुराली गाउँमा बस्ने भयो । पढ्ने र कार्यालयमा सहयोगीको रूपमा काम गर्ने भएपछि उनले घर र ससुराली घरमा काम (मुगुमा ज्वाइँलाई खेत जोताउने, दाउरा कटाउने र गाई–बाख्रा हेर्न लगाइन्छ) गर्न भने पाएनन् । ससुराली घरमा परेको बेलामा काम गर्न नजाने भएपछि ससुरा रिसाएर गाली गर्दा रहेछन्, ‘... संस्थाको पिउन’ भनेर । 

ससुरालीको घरछेउबाट हिँड्दै गर्दा पूर्ण भन्थे, ‘यिनको अगाडि साँच्चिकै हाकिम हुने हो दिदी, तर कसरी भन्ने थाहा छैन ।’ हाकिम कसरी भइन्छ भन्ने मेलो नभएका उनले अमर न्यौपानेको ‘करोडौं कस्तुरी’ भन्ने पढेका रहेछन् । करोडौं कस्तुरीको र त्यसको व्यापारको चर्चा उनको कार्यालयसम्म पुगेको रहेछ । यत्तिको लेखेपछि धेरै चर्चित भइने रहेछ भनेर उनले पनि लेखेका रहेछन् एउटा डायरी । एक रात खाना खाएपछि, ‘दिदी मेरो उपन्यास पनि पढ्नु न’ भन्दै उनले उक्त डायरी मलाई दिएका थिए । गएको साउनमा हाकिम बन्ने सपना बोकेर उनी एक्लै काठमाडौंमा आए । अनेक हन्डरपछि अहिले एक डकुमेन्ट्री बनाउने पत्रकारको सहयोगी बनेर भूकम्पले भत्काएका गाउँहरूमा डुलिरहेका छन् । हेरौं उनका सपना कसरी सकार होलान् ?


कागेका सपना 
सोरुकोटमा तीनवटा मात्रै पसल छन् । एउटा पसलकी साहुनी हुन् कागे विश्वकर्मा । होची–होची हाासिरहनुपर्ने युवती । एक दिन उनको पसलमा चिया खाँदै गर्दा मैले हिम्मत जुटाएर सोधें, ‘तपाईंलाई किन कागे भनेका ?’ मेरो प्रश्नको जवाफमा ‘पहिला त सबैले माया गरेर काली–काली भने, भन्दाभन्दै कागे भने, अब त बानी भयो,’ उनले सुनाइन् । कागे २१ वर्षकी भइ्न । सात वर्षको छोरो छ । श्रीमान्ले अर्कै श्रीमती लिएर अन्तै बस्छन् रे । ‘तपाईंले बहुविवाहको मुद्दा हाल्नुभएन त ?’ मैले सोधेंकी थिएँ । ‘केटाले अर्काकी जोई लगेको भए पो जारी हुन्थ्यो, केटीले अर्काको पोइ लागेकोमा केको मुद्दा ?’ एउटा भाइले भने । मैले ‘एउटी जोई हुादाहुँदै पोइ (मुगुमा श्रीमान्, श्रीमतीलाई बोलीचालीमा जोई–पोइ भन्ने चलन छ) ले अर्की जोई ल्याए मुद्दा लाग्छ’ भनेपछि कागे खुसी भइन् । तर, मुद्दा हाल्न चार दिन (दुई दिन जान दुई दिन आउन) को बाटो को गमगढी गइरहोस् ? उनलाई झ्याउ लाग्यो । 

एक हप्ता उनको गाउँमा बस्ता साथीजस्तै भइन । नाताले उनी पूर्ण भाइकी जेठी सासू पर्थिन् । म फर्कने अघिल्लो दिन पूर्णकी जोई पिउली र कागे आएर दुई घन्टा गफ गरे । धेरै कुरा पूर्ण र पिउलीको राम्ररी अगाडि जान नसकेको दाम्पत्यमा केन्द्रित थियो । तर, कागेले पनि आफ्ना सपना सुनाउन भ्याइन्, ‘पसल राम्ररी चल्ने रे, धेरै पैसा कमाउने रे, गमगढीका जस्ता ठूला घर बनाउने रे मैले, त्यही बेला हाम्रो पोइलाई छोडेर जानेरे उसकी जोईले, मलाई उसले खोज्दै आउने रे, म भने कालो चस्मा लगाएर उसलाई देखेको नदेख्यै गर्ने रे !’ श्रीमान्को घरमा आफ्नो जिम्मेवारीबाहेक कुनै अधिकारको बारेमा नसोचेकी कागेको सपना सायाद गमगढीदेखि कोल्टीसम्म पुग्ने सडकमार्ग बनेपछि पूरा होला कि ?

रामचन्द्र सरको मौरीको घार 

सोरुकोट पुगेपछि केडको फिल्ड कार्यालय पस्दै गर्दा रामचन्द्र न्यौपानेले बाटो, खाना कस्तो भयो भन्नेबारेमा सोधे । जेठको चर्को घाममा दुई दिन मरुभूमिजस्तो बाटो हिंडेर पुगेकी मलाई कर्णालीका डाँडामा रूख जोगाउन सकिन्छ होलाजस्तो लागिरहेको थियो । त्यसैले भनें, ‘यति सारै बस्तुभाउ नछोड्ने हो भने डााडाहरू हरिया हुन्थे होलान्, बरु चुत्रोकै झाडी भए पनि आँखालाई शीतल त हुन्थ्यो ।’ मेरो कुरा सुनेपछि रामचन्द्र सरले ‘त्यो चुत्रोको जंगलमा कति राम्रो मह बन्दो हो ?’ भने । मौरीपालनमा दक्षता भएका रामचन्द्र सर बडो सरल थिए । केडको काम कृषि, महिला स्वास्थ्य र दलितजस्ता मुख्य विषयमा केन्द्रित थियो । सोरुकोटका बासिन्दालाई रामचन्द्र सरले मौरीपालन सिकाएका थिए । भेटिएका मान्छेलाई बेला बेलामा सोध्थे, ‘मौरी क्या गर्दा छन् ?’ मानिसहरू ‘भित्र बाहिर गर्दा’ भनेर उत्तर दिन्थे । 

मुस्ताङ गएको समयमा कागजी बदाम (अल्मोन्ड)को बिरुवा देखेपछि ५० बिरुवा मुस्ताङदेखि मुगुसम्म पुर्‍याएर गाउँलेलाई बाँडेका रहेछन् उनले । गाउँमा जाने काठमाडौंका मान्छेलाई उनी ती बिरुवा पनि देखाउँथे । काठमाडौंबाट आएको भनेपछि गाउँका मान्छेहरू मलाई ‘रारा पुन गई हौ ?’ भन्थे । मानौं रारा काठमाडौंको ताल हो । सोरुकोटका धेरैले रारा देखेका थिएनन् । म भर्खर पुगेको त्यो स्वर्गको कुरा नगरी कसरी रहन सक्थें र ? ‘राराको फूल र त्यहाँका मौरीको सङ्गीत ।’ 




एक दिन कुरै कुरामा ‘रारामा रहेको आर्मीले रारा वरिपरि मौरीको घार राखे हुने नि !’ भनेर मैले भनेपछि रामचन्द्र सर बहुत उत्साहित भएर भने ‘त्यसको क्वालिटी कति राम्रो हुँदो हो ? बरु मै गएर दुई वर्ष त्यसमा काम गर्थें ।’ बेला–बेलामा रामचन्द्र सर राराको जंगलमा सरकारले मौरीपालन गर्ने हो वा अरूलाई ठेक्का दिने हो भने महिनामै लाखौं मह उत्पादन हुने हिसाब निकाल्थे । काठमाडौं फर्केपछि सरकारले ल्याउन लागेको भूमि प्रयोग नीति, खाद्य सम्प्रभुता वा भूमिसुधारजस्ता विषयका कार्यक्रममा जाादा वा फूलले ढाकेका जंगल र चौर पुग्दा म रामचन्द्र सरको मौरी सपना सम्झिरहन्छु । नेपाल जंगलमा मौरी पालेर मह बेच्ने देश कहिले बन्ला हाम्रो ?
@फोटो: शोभा दाहाल