आमाको नाममा

on Sunday, January 20, 2019


हरेक पल्ट
मेरो नामसँगै
नसोध्नु मेरो बाबुको नाम
मलाई विश्वास छैन
मेरो नागरिकतामा
बाबु भनेर लेखिएको पुरुष
साँच्चिकै मेरो बाबु हो भन्न

तपाईँ सोध्न सक्नुहुन्छ
मेरी आमाको नाम
जसको मैले दूध खाएर बाँचे
ठूली हुँदासम्म
जसले मेरो हर आवस्यकतामा साथ दिइन्
रुँदा
फरियाको सप्कोले तिनैले आँसु पुछेकी हुन्
कृपया
सोध्दै नसोध्नु बाबुको नाम

हो
मेरो रगतले उसैकी छोरी भन्ला
के मेरी आमालाई
बलात्कार गर्दैमा मेरो बाबु हुन्छ ?
आमालाई पशु सम्झने संस्कारमा
 बाँच्नका लागि पनि लेख्नै परिरहेको छ 
कसैला बाबु भनेर

त्यसैले
जसले आफ्नो ज्यान बाजी लगाएर
जन्म दिन्छ
ममताले भिजाएर जसले हुर्काउँछ
उसैको नाम लेखिनु पर्छ
अरुले लेखुन् वा नलेखुन्
मैले लेख्न पाउनुपर्छ
त्यसैले
हरेक पल्ट
फारम भर्दा, परिचय माग्दा 
नसोध्नु मेरो बाबुको नाम
मान्दिन
मेरी आमालाई बैधानिक बलात्कार गर्ने पुरुष
मेरो बुवा हुनै पर्छ भनेर !