प्रेम कसरी ब्यक्तिगत हुन्छ ?

on Wednesday, February 13, 2019


भनिन्छ, संसारमा सबै भन्दा बढी लेखिएको बिषय प्रेम हो । ती अनगिन्ती गीत, कवित, कथा, निवन्ध वा उपन्यासमा हरेक लेखकले प्रेमलाई छुट्टाछुट्टै रुपमा प्रश्तुत गरेका हुन्छन् । हामीले हेर्दै आएका नेपाली र हिन्दि फिल्महरूको पहिलो र मुख्य बिषय बस्तु पनि प्रेम नै देखिन्छ । नेपाली भाषामा गाईने गीतको सानो अंश मात्रैमा प्रेमले प्रवेश नपाएको होला । नत्र पुरा का पुरा गीत प्रेममय छन् । भनिन्छ, हेरक मानिसलाई आफ्नो प्रेम महान लाग्छ र त्यहि महान लागेको प्रेमको पुष्टिलागि मानिस निरन्तर लेखिरहेको छ महाभारत, रामायण देखि स्वस्थानी कथा सम्म, रोमियो जुलिएट देखी समर लाभ—साया सम्मका कथा ।

मेरो समयका नेपाली महिला लेखकहरू खुलेर प्रेमका विषयमा लेख्न र बोल्न थालेका छन् । बैचारिक रुपमा प्रेमको विषयका सायद पुरुष लेखकको चासोको विषय होइन । गत वर्ष सितल दाहालले ‘प्रेम त हर समय घटित हुने कुरा हो’ भनेर लेखेकि थिईन । सितलको लेख भन्दा केहि समय अगाडी लेखक मनिषा गौचनले प्रेम भनेको शारीरिक वा यौन सम्बन्ध मात्रै होइन भनेर एउटा सार्वजानिक कार्यक्रममा भनेकि थिईन । प्रेमका बारेमा लेखक सरला गौतमले केहि वर्ष अगाडी मनै हल्लाउने गरि कान्तिपुरमा लेख लेखेकि थिईन । बजारमा प्रेम दिवसको पूर्व तयारी चलिरहेको बेला मेरो एक कक्षा पढ्ने छोरो भन्छ, ‘प्रेम भनेको कोहि मानिस वा कुनै कुरा प्रतिको गहिरो भावनात्मक सम्बन्ध हो’ । एक कक्षाको नैतिक शिक्षा देखि वर्तमान समयका लेखकहरुले मानिस प्रेम गर्न अर्थात् कसैलाई मन पराउन, मनमा गहिरो भावनात्मक सम्बन्ध बिकशित गर्नुलाई प्रेम मान्दछन् ।

प्रेम र बिवाह
किन कुनै साहित्यकार प्रेमको विषयमा लेख्छ ? वा फिल्मको मुख्य विषय किन प्रेम हुन्छ ? वा प्रेमको थिममा लेखेको साहित्य बढी पढिन्छ, प्रेमका विषयमा बनेका फिल्म हेरिन्छ ? किन यतिका गीतले प्रेमको राग अलापी गरिरहेका छन् ? दशकौं अगाडी प्रेम बिवाह त्यो पनि अन्तरजातीय गरेका शल्य चिकित्सक सरोज धिताल भन्छन् ‘प्रेम सबै भन्दा बढी अपब्याख्या गरिएको कुरा हो ।’ प्रेमका अनगिन्ती ब्याख्याहरूमा त्यसलाई विवाहसँग जोडेर हेर्ने मुख्य ब्याख्या होला । दुनियामा धेरैले प्रेमलाई ‘केहि वा कोही प्रतिको गहिरो सकारात्कम भावना’ मात्रै भनेर स्वीकार गर्दैनन् । बरु प्रेम सँगै जोडिएर आउने प्रायः कथामा यौनको मसला अनिवार्य हुन्छ । भावना बढेर सम्बन्ध यौन अर्थात् शारीरसँग जोडिन्छ भने त्यसलाई बैधानिक बनाउनु पर्ने ‘डिमाण्ड’ समाजको हुँदै आएको छ । अहिले सम्म संसार भर यौन जीवनको बैधानिकता विवाहमा गएर ‘म्यनिफेस्ट’ गर्नै पर्ने बाध्यता धेरैलाई छ । प्रेम बिवाह वा जिवन भरको सम्बन्धको रुपमा लिएका हुनाले सायद मानिस यस बारेमा सोच्छन्, लेख्छन्, गाउँछन्, पढ्छन् ।

प्रेम, प्रेमका आधार टेकेर गरिएको बिवाह, बिवाह पछिका सकारात्मक नकारात्मक परिणामको वरपर रहेर मैले
सन् २०१६को वर्ष भरि नेपालका ६ जिल्लाका १२ ग्रामिण बस्तीमा घुमेर मानिसका कुरा सुन्ने मौका पाएकि थिएँ । सानो उमेरमा बिवाह गरेका किशोर किशोरीहरु, उनीहरुका अभिभावक, विधालयका शिक्षक र स्थानीय नेतासँग पनि कुरा भयो । वर्ष दिन घुमे पछि थाहा भयो, नेपालमा छोरीहरूलाई कलिलो उमेरमा जवरजस्ती रुपमा अभिभावकले बिवाह गरिदिने चलन नेपालमा घट्दै गएको रहेछ । तर, त्यसको बदलामा कलिलो उमेरका छोरीहरू भाग्ने वा कलिला छोराहरूले केटी भगाउने चलन सुरु भएछ । चौध पन्द्र वर्षमा प्रेम बिवाह गरेका ती बहिनी भाईहरूका कथा त्यती सुखद थिएनन् । कति पयका किशोर किशोरीका कथा सुन्दै गर्दा मेरो मनमा नारायण गोपालले गाएको लौ सुन म भन्छु भन्ने गितको ‘त्यो एक दिनको घाम, सयौ दिनको पानी’ वाला अन्तरा बजिरहन्थ्यो । पन्द्र वर्ष नपुग्दै छोरीहरू किन भाग्छन् वा के सोचेर छोराहरु आफ्नै साथीलाई भगाउँछन् ? भन्ने कुराले जो कसैलाई पोलिरहनु स्वाभाविक हो । यो अस्वाभाविक बिषय माथि स्वाभाविक रूपमा ंसँगै भएका साथीहरूसँग कहिल्यै टुंगोमा नपुग्ने गफ धेरै भए । ती गफको सार थियो, प्रेमको अमुर्त व्याख्या र बुझाई ।
मैले सुनेका ६० जना किशोर किशोरी सबैका ‘प्रेम बिवाह’का कथामा र प्रेमको परिभाषा भित्र यौन सम्बन्ध र एक पटक भएको शारीरिक सम्बन्ध विवाहमा गएर टुंगिएको थियो । धेरैको प्रेम विवाह गरेर एउटा बच्चा जन्माए पछि कयौ जिम्मेवारीमा पुरिएको थियो । त्यो जिम्मेवारी मध्ये एउटा यस्तो जिम्मेवारी पनि थियो, मन लागे पनि नलागे पनि यौन सम्बन्ध राख्नु पर्ने बाध्यात्मक जिम्मेवारी । नेपालमा बैवाहिक बलात्कारको डरलाग्दो अवस्था रहेको भनेर गरिने अनुमानलाई किशोरीहरुका ती कथाले सहि बताउँथे ।

प्रेम ब्यक्तिगत कि सामाजिक
प्रेम सबै भन्दा अपब्याख्या गरिएको विषय हो भन्ने डा. सरोज धितालको भनाईमा म सहमत छु । नेपालमा त विचारधारा र साहित्यमा रुचि राख्नेहरुको लागि यौ झनै घनचक्करको विषय हो । हामी मध्ये धेरैलाई प्रेम वा बिवाह भन्ने कुरा सामान्य र व्यक्तिगत घटना लाग्छन् । प्रेमको विषय अल्लारे केटा केटीले गर्ने विषय हो भन्ने लाग्छ । प्रेमका नाममा १० कक्षा पढ्दै गरेकी छोरी गर्भवती हुने र नेपालको कानुनले २० वर्ष नपुगि विवाह दर्ता गर्न पनि रोक लगाएका कारण पर्ने अफ्ठेरो उक्त किशोरीको मात्रै अफ्ठेरो होईन । नेपालको कानुन, समाज र ब्यक्ति सबैलाई पर्ने अफ्ठेरो विषय हो । गत वर्षको समाज शास्त्र विभागमा भएको प्रेमको समाजशास्त्र विषयक छलफल कार्यक्रम पछि एक जना साथीले भने, ‘प्रेम पनि बहस गर्ने बिषय हो ? यो त महशुस गर्ने बिषय हो ।’ यो महसुस मात्रै गर्ने विषय होईन भन्ने कुरा समाज विज्ञानमा सामान्य चासो राख्ने मान्छेले बुझ्नु पर्ने विषयको । जब प्रेम एक जनाको मन बाट निस्केर अर्को ब्यक्ति कहा प्रस्ताव बनेर पुग्छ त्यस पछि प्रेम ब्यक्तिगत रहन्न । अझै अगाडी बढेर प्रेम कसै प्रतिको सकरात्मक भावना विवाहको तहमा पुग्छ त्यो दुई आत्मको मिलन मात्रै बन्दैन । दुई परिवार, दुई समाज र दुई संंस्कार बिचको विषय बन्न पुग्छ ।

बजारको कुरा
हरेक वर्ष प्रेम दिवास आउँदै गर्दा काठमान्डौमा मात्रै लाखौँको फुलाफ र करोडौंका कार्ड बिक्रि हुने गरेको कुरा संचार माध्यममा आउँछन् । यसैसँगै केहि बुज्रुकका, बजारले अहिलेका ‘केटाकेटी’ विगारिरहेको विश्लेषण सार्वाजानिक हुन्छ । उहाँहरुको विश्लेषण पनि सहि हो । तर अर्को विश्लेषण के हो भने, बजारले आफ्नो फाईदा बाहेक केहि पनि हेर्दैन । के व्यापारले कुनै ‘डे’ लाई छोडेको छ र भ्यालेन्टाइन डेलाई छोड्छ ? बजार निर्देशित अहिलेको सामाजिक—आर्थिक अवस्था नै यस्तो छ कि चन्द्रगीरिको डाँडाको सुन्दरता हेर्न मात्रै मान्छे आउँदैनन् भनेर केबरकार चलाउने ब्यापारीले डाडाँमा मन्दिर बनाएका छन् । त्यसैले बजारका पसल चमक धमक हुनु कुनै नयाँ कुरा होईन ।

समग्रमा भन्नु पर्दा, केहि अपवाद छोडेर भन्ने हो भने अहिले सम्म हामीले जेलाई प्रेम भन्दै आएका छौँ, त्यसमा प्रेम कम यौन र विवाहको स्वार्थ बढी जोडिएको हुन्छ । प्रणय दिवस भन्ने भ्यालेन्टाईन दिवसको सुरुवात पनि यौन र विवाहमा नै केन्द्रित भएर भएको हो र धेरैले बुझ्ने प्रेम भित्र यौन वा विवाह अनिवार्य सर्त रहँदै आएका तन् । अहिले सम्म मैले प्रेम गरेको बदलामा मलाई पनि प्रेम चाहिन्छ भन्ने कुराले प्रेम कम प्रेमको मोलमोलाई बढी गर्दै आएका छन् । जसलाई बर्तमान बजार अर्थतन्त्रले बढाई चढाई रंगिन बनाईरहेको छ । मानिस प्रेम गर्न स्वतन्त्र छ । प्रेम अर्थात् कसै प्रति गहिरो सकरात्मक भावना मनमा उमार्न स्वतन्त्र छ । आफुँले मन पराएको मानिसबाट मायाको अपेक्षा गर्न पनि स्वतन्त्र छ । म तिमीलाई मन पराउँछु भन्न पनि स्वतन्त्र छ । तर, म तिमीलाई प्रेम गर्छु भन्दैमा मलाई पनि तिमीले माया गर्नु पर्छ भन्न, अझ प्रेम गरेको भन्दै कसै माथि हक जताउन, विवाहको नाममा जबरजस्ती गर्न (अझै नेपालका कतिपय ठाउँमा किशोरीलाई तानेर सिन्दुर हाल्ने वा आफ्नो घरमा भित्राउने गरिन्छ, जसलाई प्रेम र विवाहको नाम दिईन्छ) वा प्रेमको नाममा उसको स्वतन्त्र अस्तित्व सिध्याउन कसैलाई छुट हुनु हुन्न । समाजमा आफुँलाई मन परेको मानिसलाई पराउँछु भनेर भन्न पाउने बातावरण हुनु जरूरी छ । उसले व्यक्त गरेको प्रेमको सम्मान गर्न जरूरी छ । तर, प्रेम गर्छु भन्न सक्नेले म त प्रेम गर्न सक्दिन भन्ने उत्तर पनि सम्मान पूर्वक नै सुन्न सक्ने हिम्मत हुन जरुरी छ ।
(सन् २०१८ मा कान्तिपुरमा प्रकाशित)