'समाजशास्त्रीहरू समाजका दुख्ख देखेर रुँदैनन्' भनेर दुई हप्ता अगाडी एम एका
विधार्थीलाई पढाएका चैतन्य मिश्रलाई 'कहर'को बिमोचनमा राम्ररी बोल्न पनि सकस भयो |
कार्यक्रम सकिए पछि हामी (चैतन्य सरका
पछिल्ला एम ए बिधार्थी)ले 'सर किताब पढेर धेरै भाबुक हुनु भएछ' भनेर कुरा गर्यौं |
यसै पनि नेपाली साहित्यको पछिल्लो केन्द्र आशुले भरिएको छ | पत्रकार जनकराज
सापकोटाले आफ्नो दोश्रो कृतिमा पनि त्यहि प्रवृतिलाई पछ्याएका छन् |
पछिल्लो समयमा
लेखिएका आख्यान पढे पछि यस्तो लाग्छ, अहिलेका नेपालीको दुख्ख लेख्न कुनै कल्पना नै
गर्नु पर्दैन | जे-जे छ त्यहि लेखे हुन्छ | मैले सोचे जस्तै जनक राज सापकोटाले
'कहर'मा हामीले हरेक दिन पाईला पाईलामा देखेका, सुनेका र भोगेका घटना/कथा लेखेका छन्
| देखे, सुने र भोगेका कुरा जस्ताको तस्तै लेख्नुको अर्को राम्रो पाटो हो, हामीले
भोग्ने समस्याको समाधान हुने बाटो वा स्थानको पनि कुरा गरिदिनु |
'कहर' पढ्दा मैले कयौं ठाउँमा आफुँ/आफ्नो परिवारलाई राखेर पढें, कति ठाउँमा
आफ्ना आफन्तलाई राखेर हेरें | आफ्नै साथीहरू जो राती राती फेसबुकमा 'तँलाई पो तेरा
बाले पढाए' भनेर भन्छन्, तिनीहरूले भनेका कुरा सम्झिएँ | 'नेपाल मै तीस चालिस हजार
नियमित आम्दानीको ग्यारेन्टी भएका भए, विदेश किन आउँथे र ?' भन्ने विज्ञ भई सकेर
पनि विदेश भासिएकाहरूको अन्तर्वार्ताहरू सम्झिएँ | सबै भन्दा बढी लाहुरे प्रथाका
कारण बा र आमासँग एक साथ बाल्य काल बिताउन नपाएकी आफैं र आफ्नो परिवारलाई सम्झें |
२५ वर्षको उमेर सम्म बा र आमासँग एक साथ नबसेकी मैले मेरो छोरो जन्मे पछि केहि
समय सँगै बस्ने मौका पाएँ | जब शरद मुस्कुराएर आखाँ-आँखाले बात मार्न थाल्थ्यो
सरदलाई देखाउँदै मेरा बा भन्नुहुन्थ्यो 'ए बुढिया (बुवा खुसी हुनुभयो भने आमालाई बुढिया
भन्नु हुन्छ) तैले मलाई केटा केटी यति राम्रा हुन्छन् भनेर किन भनिनस् ? बच्चा यति राम्रा हुन्छन् भन्ने थाहा पाएको भए म ज्यान जाला इन्डिया जाने थिईन
।'
मेरा बुबा, जो ५ वटा
छाराछोरीको बुवा हुनुहुन्छ । बच्चा हुर्कदै गर्दा दिनदिनमा कसरी ठूला
हुन्छन् भन्ने विषयमा थाहा थिएन । उहाँ हरेक सन्तान जन्मँदा न्वारान गर्न घरमा
आउनु हुन्थ्यो । दुई महिना घरमा बस्नुहुन्थ्यो र फेरी जानुहुन्थ्यो । अर्को पल्ट
घरमा आउँदा न्वारान गरेर गएको बच्चाले सबैलाई साईनो लगाएर बोलाउने भएको त हुन्थ्यो
। तर, बाबाको साईनो जानेको
हुँदैन्थ्यो । बाबा भन्न अगाडी नै उ काका मामा भन्न जान्ने हुन्थ्यो ।
सबै आफन्त भन्छन्, हामीले बालाई चिन्दैन्थ्यौँ । किन कि हामीलाई बाबा भनेको के हो थाहा थिएन । बाबाको माया
कस्तो हुन्छ थाहा थिएन । हाम्रै लागि परदेशमा मरिमरि काम
गर्ने बाको मूल्य हामीलाई थाहा थिएन । बुबा भन्नुहुन्छ, हामी स्कुलबाट
घरमा आउदा जसै पिढीमा बसेका बलाई देख्थ्यौ, आमा घरबाहिरै भए आमाको सारीको फेरमा लुक्थ्यौँ । आमा
घरबाहिर नभए हामी आगनको डिलबाट फर्केर साथीहरुको घर तिर भागथ्यौं । आगनको डिलबाट फर्केर गएका हामीहरु साथीहरु बटुलेर तगारोको छेउबाट लुकि लुकि
आफ्नो घरमा आएको नयाँ
नयाँ मान्छे हेरेर बस्थ्यौँ ।
हामी सबैको काखमा बस्थ्यौ । तर बुवाले बोलाए रुन्थ्यौ । काखमा गएर बस्ने त परको
कुरा ।
थाहा पाउँद सम्म हामीले बुवालाई मामा भन्ने गथ्र्यौ । किनकि बा मामा जस्तै सुकिला कपडा लगाएर आउनुहुन्थ्यो । हामीलाई खाने
र लगाउने कुराहरुको पोको बोकेर आउनु हुन्थ्यो | अनि फेरि अनुहार
विर्सने बेला सम्म आउनु हुँदैन्थ्यो । पाँचै सन्तान कसरी हुर्के, कसरी कोल्टे फर्कन नसकेर रोए । भरखर कोल्टो फर्कने बेलामा छाति अँठिएर कति
रोए, कसरी आफ्नो दिसासँग घिन नमानी
बसीरहे र कति कोसिस गरे पछि बल्ल बाबा भन्न सिके बुवालाई थाहा भएन ।
नत हामीलाई नै थाहा भयो, बुवाको छातीका रौ
उप्काउनुको मज्जा । बुबाको दारिमा आफ्ना कलिला गालामा रगड्दा उठ्ने रिस, आमाले हप्काउँदा कुद्दै गएर लुक्ने छातीको तातो
। सान्दाईले र मैले आमाले गाली गर्दा, पिट्दा कहिल्यै आशु झारेनौ । किनकी हामीले
झारेको आशु पुछ्दै ‘तेरी आमा छुच्ची’
भन्दै गाली गर्ने हाम्रो बुवा हाम्रो साथमा
हुनुहुन्नथ्यो । कसैले होच्याए भने पनि हामीले कहिल्यै कसैलाई भनेनौ | हामीले भन्न सक्ने आमा हुनुहुन्थ्यो । तर हामीलाई थाहा थियो आमालाई पनि त
मानिसहरु हेप्थे । हामीलाई धेरैले हेप्थे, सबै भन्दा बढी आफ्नैले हेप्थे | किनकी ‘मेरा जहान केटाकेटीलाई हेप्छस्’ भन्दै पाखुरा सुर्कदैँ लड्न, भिड्न जाने हाम्रो साथमा कोही थिएन ।
विस वर्ष पहिला र अहिले पनि समाजको हेपाहा चरित्रमा खासै फरक आएको छैन । अहिले
पनि विदेशमा काम गर्न जाने पुरुषकी श्रिमतीलाई समाजले सहयोग गर्दैन । केहि समय अगाडी म गाउँ गएको समयमा दुई दिमेकीको विचमा झगडा भयो, काम गर्ने मजदुरको विषयलाई लिएर । मेरै उमेरकी एक महिला जसका श्रिमान साउदीमा काम गर्न गएका
छन् र एक वृद्धा जसका छोरा बुहारी साथमै थिए ।
वृद्धा महिलाले युवती महिलालाई मन लाग्दी
भनिन् । नेपाली समाजमा महिलालाई गरिने गालि जति सबै गरिन् । र थपमा भनिन्,
‘थारुसँग पल्केकी, फलानोसँगै सुत, ... थारु तेरो पोई हो ।’
सुन्ने गाउँ भरिका मान्छे थिए । युवती महिलाले समाज जोड्न चाहिन | तर, गाउँ तहका कुनै पनि पार्टीका मानिसले आउँछु भनेनन्, नत कुनै आमा वा बाउ समुह (उक्त गाउँमा टोल
नै पिच्छे आमा समूह र बाउ समूह छन्) का मानिसले सहभागिता जनाए । ती महिलाले जसजसलाई सहयोग माग्न गईन ति सबैको एउटै उत्तर थियो ‘त्यो बुढी त्यस्तै हो । समाज जोडेर के हुन्छ ?’ उनले अन्तमा प्रहरीमा गाली बेईज्जतीको उजुरी दिईन ।
प्रहरी गाउँमा आए । गाउँलेसँगको सोध पुछ सुरु भयो ।
साँक्षी नम्बर एकले भनिन्, ‘मत बच्चालाई
बोर्डिङ पठाउँदै थिए । हल्ला सुनेको त हो । बाझाबाझ गरेको झ्यालबाट देखेको त हो ।
कसले कसलाई के भनेका हुन् थाहा पाईन ।’
साँक्षी नम्बर दुईले भनिन्, ‘म त बुढी हुँदै
आए बाबै ! झगडा त देखेको हो
। केके भयो थाहा भएन ।’
साक्षी नम्बर तीन नेता ज्यूले भने, 'यस्तो जाबो सानातिना झगडाको लागि पनि प्रहरीहरु
गाउँमा आउने हो ? यस्सो बुढी
मान्छेले बुहारी सम्झेर हप्काएकी हुन् ।’
साँक्षी नम्बर चार शिक्षकले भने, 'ह्यानोस् बुढीमाउको थुतुनै त्यस्तो । क्यार्नि
सबैलाई चिडाउँछिन् । तर, जे पायो त्यहि
भनेको त सुनिन है ।’
वृद्धालाई सामान्य माफी मगाएर प्रहरी गाउँबाट फर्के । ति महिलाकी सात वर्षकी
छोरी मेरै छेउमा थिई, आखा भरी आशु
पारेकी, चुपचाप ! उसलाई देखेर खुब माया
लागेको थियो | 'कहर' पढ्दा ती महिला र गाउँलेले गरेको व्यवहार धेरै पल्ट सम्झें |
ती महिलाका त श्रीमान् अल्ली वर्ष घर फर्के | कहरमा धेरै महिलाका श्रीमान कहिल्यै
घर आउन नसक्ने अवस्थामा छन् | तीनीहरुलाई
समाजले कस्तो व्यवहार देखाउला ?
'कहर' बढी नीति केन्द्रित छ | त्यसैले सरकारको कम्जोर नीतिले मानिसले भोगेका
कष्टको बारेमा उनले लेखेका छन् | हुन त मानिसको ज्यान भन्दा, मान्छे परदेशमा मरे-बाँचेको
पत्तो परिवारका सदस्यलाई नहुनु भन्दा ठूलो कुरा अर्को हुँदैन | तर, यहि बिषयमा कुनै
समाजशास्त्रीले लेखेको भए, सायद छोरो विदेश गए पछि बुहारीले बेहोर्ने बुहार्तनको
कुरा आउंथ्यो होला | समाजले कसरी विदेश गएका युवाकी श्रीमतीलाई अरु कुनै युवासँग
जोडेर चर्चा गर्छ, अहिले जुनै गाउँमा जाँदा पनि 'लोग्नेले बिदेशमा कमाउँछ, उसले
मस्ती गरेकी छे' भनेको सुन्न पाइन्छ | तर, पठाईएको पैसाको महिलाले कसरी पाइपाई
हिसाब आफ्नो लोग्नेलाई बुझाउनु पर्छ भन्ने कुरा तिनै महिलाले जान्दछन्, जसका
श्रीमान बिदेशमा गएका हुन्छन् | घरमा गाई-बाख्रा र छोराछोरी छोडेर बजार गएका
महिलाहरू फर्किंदा ढिलो भयो र चिनेको कुनै गाउँलेको बाईकमा लिफ्ट पाइयो भने पनि
बाईकको पछि बसेर घर फर्कन सक्दैनन् | यदि फर्के भने पनि उनले अन्य कुरामा सहयोग
नगर्ने आफन्तलाई कैयौं प्रश्नका जवाफ दिनु पर्ने हुन्छ | चित्त बुझ्दो जवाफ
नपाएमा, 'तेरी स्वास्नी अन्तै लागेकी छे है' भनेर फोन गरिदिने आफन्त प्रसस्तै
हुन्छन् | समाजमा पढे लेखेका भनिने मानिस पनि एक दुई महिला पोइला गएको बिषयलाई
लिएर, आम एक्लै खट्ने महिला माथी विदेश जानेकी श्रीमती पोइला जान्छे भनेर
सामान्यकारण गरिदिन्छन् |
'कहर'ले रेमिट्यान्सको अँधेरो पाटोको कुरा गर्छ | गरिवीले पिल्सिएर विदेश
जानेको कथा बताउँछ | यहि अँध्यारो पाटोको कुरा अल्ली धेरै मानिस सम्म पुग्न सके विदेश
जाने क्रममा मानिस सचेत हुन्थे कि ?