सुसिलाहरुको कक्षा, जहाँ दृष्टिकोणलाई मलजल गरिन्छ

on Monday, May 4, 2020

दश वर्ष अगाडी देखी एउटा ठूलो सपना थियो, कुनै दिन किर्तिपुर गएर मास्टर्स पढ्ने । कुन विषयमा भन्ने थिएन । कुनै  प्रतिशतको आशा थिएन । बस, किर्तिपुर गएर पढ्ने एउटा प्यारो सपना थियो । काठमाण्डौको विधार्थी राजनीतिमा रत्तिँदै गए पछि मलाई आफुले समाजशास्त्र पढ्नुपर्ने रहेछ भन्ने महशुस भयो । त्यस महशुसको कारण मेरा साथीहरु थिए । जो समाजशास्त्र पढेका थिए, उनीहरुको बैचारिक जग बलियो थियो । जो अन्य विषयबाट आएका थियौँ हाम्रो बैचारिक जग नै थिएन । बेला बेलामा मेरा गुरु घनश्याम भूषालले ‘तपाईले त समाजशास्त्र पढ्नु पर्ने हो’ भन्ने बाक्यले पनि मलाई मास्टर्समा समाजशास्त्र पढ्न धकेलिरहेको थियो ।
६९ सालमा मात्रै म सपनाहरुलाई पछ्याउँदै किर्तिपुर क्याम्पस जाने मौका पाए । र, ६९ सालको असोजमा सुरुभएको कक्षामा बसेँ । कक्षामा जान अगाडी चैतन्य मिश्र र सुरेश ढकाल सरको लेखनी खुब मन पथ्र्यो । मेरो लागि चैतन्य सर एउटा आदर्श हुनुहुन्छ । पछिल्ला ५ वर्ष देखि । उहाका पत्रपत्रिकामा छापिएका लेखहरु महिनौसम्म मेरा महत्वपूर्ण किताबहरुको साथमा हुन्छन् । कृष्ण भट्टचनले पढाउँछन् भन्ने र उनको पढाईका चुट्किलाहरुको विषयमा पनि बहुत सुनिन्थ्यो चिया गफहरुमा ।
तर, साच्चैको कृष्ण भट्टचनलाई मैले भेटेकी थिईन  । कृष्ण भट्टचनले, ‘गाजलु ति ठूला ठूला आखा’ बोलको गित जनजातिले लेखेको भए ‘गाजलु ति चिम्सा चिम्सा आखा’ भनेर लेख्थे भन्छन् रे, घरमा सर्प र बाहुन एकसाथ पसे पहिला बाहुनलाई धपाउनु अनि सर्पलाई भन्छन् रे, एकपटक मण्डला बुक्सबाट नेपालमा दश प्रति मात्र आएको कुनै किताब भट्टचनले सबै उठाएछन् रे, किन सबै किताब किन्नुभएको भनेर कसैले सोध्दा बाहुनले पढ्लान् भनेर किनेको भने रे, एकल जातिए पहिचान हुनै पर्ने भनेर पढाउँछन् रे, कक्षामा नस्लवादी विचारको बढी ब्याख्या गर्छन् रे । भट्टचन सरको बारेमा मैले धेरै नै हल्लाहरु सुनेकि थिए, हल्लैहल्लाको काठमाण्डौमा ।

समाजशास्त्र विभागको विषयमा  जति सकारात्मक सोचाई छ समाजमा त्यतिनै नकारात्मक सोचाई पनि छ । पास गर्न अरु विषय भन्दा सजिलो, महिला त्यो पनि विवाहित महिलाहरुले पढ्ने विषय आदी इत्यादी । समाजशास्त्र मानवशास्त्र विभागकै प्राध्यापकहरुले पनि विद्यार्थीहरुलाई "सुसिला जी" भन्छन् भन्ने कुरा प्राध्यापक सुरेश ढकालले उल्लेख गर्नु भएको थियो चार पाँच वर्ष अगाडी । सुरेश ढकाल सरको लेख कान्तिपुरको कोसेलीमा छापिने बेलैमा हुनु पर्छ, मलाई समाजशास्त्र पढ्न जाने भुत सवार भएको ।

भट्टचन सरको पहिलो कक्षामा गएपछि थाहा भयो समाजशास्त्रको नाम अर्को पनि रहेछ सुसुलोजी । भट्टचन सरका अनुसार पिसाब गरे जस्तै किस्ता किस्तामा पास गरे हुने भएको कारण यसलाई सुसुलोजी भनेका अरे । एक वर्ष पढे पछि मलाई लाग्यो अत्यन्तै गहिरा विषयहरु, त्यो पनि संसारभरका लेखकले लेखेकै भाषा अंग्रेजीमा पढ्नु पर्ने, नेपाली किताबको कन्तविजोक र जति लेखेपनि कम नम्बर आउने कारणले समाजशास्त्रलाई सुसुलोजी भनेका होलान् ।

हरेक हप्ता एक जना सरको एक दिन दुई घण्टाको कक्षा हुन्थ्यो । आईतवारको दिन चैतन्य सरले माक्र्सिस्ट दृष्टिकोण पढाउनु हुन्थ्योे । उहाकै विचार हो कि जसरी । धेरै विधार्थी चैतन्यसरले पढाएको कुरा चैतन्य सरकै दृष्टिकोणको रुपमा बुझ्थे । त्यहि आधारमा कक्षामा बहस हुन्थ्यो । कम्युनिष्ट पार्टीमा आस्था राख्ने विद्यार्थी सरलाई (खासमा सरलाई होईन सरले पढाएको विषयलाई) समर्थन गर्थे, अरु त्यसको खण्डन गर्थे । चैतन्य सरले पढाएको दिन हामीहरु जताततै वर्ग रहेको देख्थ्यौँ । समाज आदी काल देखि आर्थिक आधारमा विभाजन भएको देख्थ्यौँ । समाजमा भएको असमानताको कारण  आर्थिक मात्रै हो भन्ने हामीलाई लाग्थ्यो ।
दोस्रो दिन डा. युवराज लुईटेलले संरचनात्मक प्रकार्यवादी दृष्टिकोण पढाउनु हुन्थ्यो आफ्नै विचार झै । कक्षा सकिए पछि कुनै विधार्थीहरुले युवराज सरलाई पुरातनवादी मान्थे । कोहि विधार्थी युवराज सर सोहै्र आना सहि भएको तर्क गर्थे, उनिहरु इमाइल दुर्खाइम (संरचनात्मक प्रकार्यवादी समाजशास्त्री)लाई आफ्नै हजुरबा हुन् जस्तो गर्थे । कक्षामा बहस हुन्थ्यो मानिसलाई कसरी संरचनाले बाँधेको हुन्छ भन्ने बारेमा । डा. लुईटेलको कक्षाबाट निस्कँदै गर्दा लाग्थ्यो मानिसका हरेक क्रियाकलाप संरचनाले पो निर्धारण गर्छन् त  । हामी दुर्खाइमको ब्याख्यामा आफ्नो जिवनलाई दाँजेर हेथ्यौँ । दुर्खाइमको कुरा सहि लाग्थ्यो ।
तेस्रो दिन कृष्ण भट्टचनले पढाउनु हुन्थ्यो कर्ता प्रधान दृष्टिकोण । कर्ताप्रधान दृष्टिकोणले चैतन्य सरले पढाउने आर्थिक कुराले मानिसको हैसियत निर्धारण गर्ने माक्र्सवादी विचारको खण्डन गथ्र्याे र साथ साथै युवराज सरको सामाजिक संरचनाले मानिसको हैसियत निर्धारण गर्ने कुराको पनि खण्डन गथ्र्यो । बरु, मानिसले नै आफ्नो हैसियत निर्धारण गर्छ । उसका हरेक दिनका कामहरु, उसको बोलाई, कपडा लगाई, हिडाइको तरिकाले आफ्नो हैसियत निर्धारण गर्छ भन्ने पढाउनु हुन्थ्यो । कक्षामा बहस हुन्थ्यो, कसरी एउटा रिसाह मानिसले समाजमा सम्मान जनक पद पाउन सक्दैन । कसरी एउटा तार्किक मानिसले समाजको नेतृत्व गर्छ । कसरी एउटा मानिस परिवर्तनको सम्वाहक बन्छ । भट्टचन सरको कक्षामा हामी सबै व्यक्तिवादी हुन्थ्याँै । भट्टचन सरको कक्षा पछाडी केहि साथीहरु भट्टचनसरलाई कस्तो व्यक्तिवादी मान्छे है भनेर कमेन्ट गथ्र्यौँ । केहि साथीहरु समाजको गति निर्धारण गर्ने व्यक्ति नै हो भन्थे । जे होस् धेरै जसो दिन भट्टचन सरको कक्षाबाट निस्कँदा हामी व्यक्तिवादी भएर निस्कन्थ्याँै ।

चौथो दिन जात व्यवस्थाको विषयमा पढ्नु पथ्र्यो । कहिले जात ब्यवस्था भित्रको वर्णाश्रम ब्यवस्था ठिकै थियो, बैज्ञानिक नै थियो भन्ने लाग्थ्यो । कहिले जात व्यवस्था एकदम अनावस्यक थियो भन्ने लाग्थ्यो, अवैज्ञानिक थियो भन्ने लाग्थ्यो ।
पाचौँ दिन जनजातीको विषयमा पढ्नु पथ्र्यो । कहिले जातिय मुद्धा एकदमै जायज छन्, आत्मनिर्णयको अधिकार, जातिय पहिचानको आन्दोलन, समानुपातिक प्रतिनिधित्व जरुरी छन् भन्ने लाग्थ्यो । त्यहि कक्षामा कहिले जातिय आन्दोलन ठिक होईन, राज्य एउटा नभईनहुने कुरा हो, समानुपातिक प्रतिनिधित्वले नकरात्मक विभेद गर्छ, भन्ने लाग्थ्यो ।
छैटौँ दिन नारीवाद पढ्यो, कहिले महिला आर्थिक कारणले गर्दा पछाडी परेका हुन् भन्ने लाग्थ्यो । कहिले पुरुषहरुले महिलालाई विभिन्न धर्म र संस्कारको विकास गरि घर भित्र आफ्नो वासनाको पूर्ति गर्ने साधन बनाएका हुन् भन्ने लाग्थ्यो ।  कहिले महिला आफै पनि त आनन्दले छोराछोरी  र बुढा बुढीको स्याहार गर्ने, धेरै श्रम गर्न नपर्ने काम गर्न थालेकाले पछाडी परेका हुन् भन्ने लाग्थ्यो ।
यसरी पढिरहँदा पहिलो महिना म भएंकर आत्तिएँ । एउटा सरले एउटा कुरा गर्छन् । अर्को सरले अर्को कुरा दुरुस्तै पारेर गर्छन् । तेस्रो दिन झन अर्को सरले अर्कै कुरा दुरुस्तै पारेर पढाउँछन् । अति नै आत्तिए पछि मैले मेरा पहिल्यैबाट समाजशास्त्र पढेका साथीहरुलाई म कक्षामा अलमलिएको बताँए । एकजना साथीले धैर्य गर्नुको विकल्प नभएको बताईन । छ महिना पछि जब समाजशास्त्रका मुख्य विचारधाराहरुको पढाई सकियो तब मलाई समाजशास्त्रको दुनियामा घाम लागेको जस्तो लाग्यो ।
समाजलाई व्याख्या गर्ने फरक फरक विचारधाराहरु ठडिएका छन् । कुनै स्वयम्भु जस्ता, कुनै पार्टी अफिस जस्ता त कुनै संविधान सभा जस्ता । मानिसहरुको लाम छ त्यस्तै, पशुपतिको भिड जस्तो, पार्टी कार्यलय वा नेताको निवास जस्तो वा सिंहदरवार जस्तो । आफ्ना आफ्नै विचारका पर्वतहरु छन् । त्यत्तिकै सुन्दर, त्यत्तिकै आत्मीय । इलामको मानिसलाई इलामबजार मन परे जस्तो । कालिकोटको मान्छेलाई मान्माबजार मन परे जस्तो । कसैलाई इमाइल दुर्खाइम आफ्नै हजुरवा जस्तो लाग्छ, कसैलाई कार्लमाक्र्स वा कसैलाई जी एच मिड ।
मावन स्तरिकरणको फरक विचारधाराहरु पनि हामी आफ्नो विचारको निकटता अनुसारका ब्याख्याहरुलाई ग्रहण गर्छौ । जातिय आन्दोलनमा लागेका साथीहरुलाई जातिय भेदभाव समाजको सबै भन्दा ठूलो कलंक हो भन्ने लाग्छ । उनीहरुको विचारलाई बल्लियो बनाउन संसारका विद्धानहरुका विचारहरु उपलब्ध छन् । कति ग्रहण गर्ने र कहाँसम्मको यात्रा तय गर्ने आफ्नो खुसीको कुरा ।
वर्गिय विचारधारालाई आत्मसाथ गर्ने विद्यार्थीलाई समाजको वर्गिकरण आर्थिक आधारमा नै भएको हो भन्ने लाग्छ । त्यसलाई फरक फरक कोणबाट व्याख्या गर्ने कयौँ माक्र्सवादी व्याख्याता छन् । कुन विद्यार्थीले कति पढ्छ, र कस्को निकट आफुलाई उभ्याउँछ उसलाई छुट छ । उ समुद्रको निकट छ पानी कति झिक्ने निर्णय गर्न उ स्वतन्त्र छ ।
पहिलो वर्षको कक्षा सकिँदै गर्दा हामीहरु वैचारीक रुपमा विभाजित छौँ, हाम्रा दैनिक जिवनका अनुभवहरुले र हाम्रो भविश्यको गन्तब्यले हामीलाई फरक फरक कित्तामा उभ्याएको छ । एमएको पढाई सके पछि माक्र्सवादमा झुकाव भएको कुनै साथी उग्र माक्र्सवादी भएर निस्कने छ । जसले भट्टचन सरलाई गालि गर्ने छ, उग्र जातिवादी र व्यक्तिवादी आरोप लगाउनेछ । युवराज सरलाई पुरातनपन्थी यथास्थीतिवादी देख्ने छ  । उसको विचारलाई पाईन लगाउन लेनिन देखी वालेस्टाईन र पाउलान्तास सम्मका विचारहरु तयार छन् । माक्र्सवादमा झुकाव भएको अर्को सार्थीले कार्लमाक्र्सको पनि खण्डन गर्ने भएर निस्कनेछ । तर, कार्लमाक्र्सका आधारभूत मान्यताहरुबाट टाढा जान सक्नेछैन । उसको विचारलाई पाईन लगाउन फ्रेंकफर्ट स्कुलले सहयोग गर्नेछ । रोजा लग्जेम्वर्ग देखि हावर्मास सम्मका विचारमा उ डुब्नेछ ।
पन्द्र सय विद्यार्थी भर्ना भएको  कक्षामा थोरै विद्यार्थीले मात्रै सबै विषयमा परिक्षा दिएका छन् । कक्षा टप गर्ने र प्रथम डिभिजन ल्याउने विद्यार्थीले कुनै एक विचारधारासँग आफुलाई जोडेर हेर्ने छैन । तत्काल समाजको कुनै प्रकारको आन्दोलनमा आफुलाई उभ्याउने पनि छैन भन्ने मलाई लागेको छ । मैले यसो किन भनेको भने, उसले सबै विचारधारालाई समान रुपमा पढेको हुन्छ । झुकाव हुनु अर्को कुरा हो, तत्काल उसलाई राम्रो प्रतिशत भएको एउटा सर्टिफिकेटको जरुरी हुनेछ । र लगत्तै एउटा राम्रो कामको ।
जुन विद्यार्थीले आफुलाई एउटा विचारमा रंगाएका छन्, उनीहरु आफ्ना विचारहरुलाई मलजल गर्ने धेरै किताब पढ्न जनवरीको जाडोमा पनि खाना नखाई लाईव्रेरीमा बसेर पढे । पन्द्र सय विद्यार्थीमा पाँच जना आफ्नो समुदाय र झुकाव अनुसारको दृष्टिकोणलाई तिखारेर समाजमा हस्तक्षेपकारी भएर निस्कनेछन् । परिक्षा दिनु नदिनु पास हुनु नहुनु  उनीहरुको चासोको विषय होईन ।
समाजशास्त्रमा भर्ना भएको एक वर्ष पछाडी मलाई लागिरहेको छ, प्राध्यापकहरु कक्षामा आफ्नो विचार पढाउँदा रहेनछन् । चाहे चैतन्य मिश्र हुन् चाहे कृष्ण भट्टचन । विद्यार्थीहरुमा नचाहिँदो भ्रम हुँदो रहेछ फलानो सरले यो पढायो तीलाना सरले त्यो पढायो भन्ने । प्राध्यापकहरुको कोशिष हुँदो रहेछ आफुले पढाएको दृष्टिकोण आफ्नै विचार झै मनै देखि पढाउने । तर, ती विचार उनिहरुका होईनन् अरु नै कसैका हुन् भन्ने कुरा धेरै विद्यार्थीले बुझ्नै भ्याउँदैनन् । प्राध्यापकहरु त माध्यम मात्रै हुँदा रहेछन् विद्यार्थीलाई विचारसम्म पु¥याउने । एउटा बटुवालाई पारीको गाउँसम्म पुराउने पुल जस्तै । उनीहरुको झुकाव कुनै दृष्टिकोणमा  हुनु अर्कै कुरा हो ।

कर्णाली कस्तो छ ?

on Saturday, March 28, 2020



बैसाख महिनाको दोश्रो साता म कालिकोटबाट काठमाडौं फर्के पछि एक जना साथीले मलाई गरेको पहिलो प्रश्न थियो, 'कालिकोट भोकमरी कै ठाउँ हो रैछ ?' उनको प्रश्नमा मेरो जवाफ के थियो भन्ने कुरामा पछि आउँछु | पहिला हामीले कर्णालीको बारेमा के बुझेका छौं भन्ने कुरा हो | कालिकोट जान भन्दा अगाडी मेरो धारणा के थियो ? सायद झाडापखाला, भोकमरी, खाद्य संस्थानमा लागेको लामो लाईन र डरलाग्दो मोटर बाटो, स्थानीय बासिन्दाको कुरा नसुन्ने, मर्का नबुझ्ने बाहिरिया लुटेरा जस्ता सरकारी कर्मचारी भएको ठाउँ यस्तै सोच्थे मैले पनि | गएको चैत महिना भरि देश भर खडेरीले खेति हुन नसकेको, पानीका मुहान सुकेको समाचार आईरहेका थिए | बैसाख ३ गते बिहान कालिकोटको मान्म बजारमा आँखा खोल्दा मेरो अगाडिको भिरालो पहाडमा गहुँ हुनु पर्छ पहेंलपुर भएको थियो | मान्म बजार भन्दा तलको भाग पनि पुरै खेतीले भरिएको थियो | र, राती हामी आएको बाटो पिच थियो |

सहकर्मीहरूले तपाईंलाई कस्तो छ भनेर सोध्दा मेरो उत्तर थियो, 'आज सम्म मैले सुनेको कालिकोट झुटो रहेछ |' मेरो ध्यान नेपालगंजको राँझा एअरपोर्ट देखि कालिकोटको मान्म सम्म आउँदा गलेको मेरो ज्यानको भन्दा टुटेको भ्रममा थियो | दिउसो कान्तिपुरका पत्रकार तुलाराम पाण्डे दाईसँग भेट भयो | उहाँसँग पनि त्यस्तै कुरा भयो, बुझेको र देखेको कालिकोटको फरकको बिषयमा | उहाँले कर्णालीमा आएको फरकको बारेमा कान्तिपुरमा लामो समाचार पठाएको बताउनु भयो (जुन एक दुई दिन पछि हुनुपर्छ कान्तिपुरको प्रमुख समाचार पनि बनायो) | झाडा पखाला पछिल्ला वर्षहरूमा महामारीको रुपमा नरहेको र खाध्यानको कुरा गर्दा खाद्य संस्थानको चामल नबिकेको बुझियो | दिउसो सरकारी कार्यलयका हाकिमहरूलाई भेट्दा सबै हाकिमहरू केहि गरौँ भन्ने उसाहले भरिएका भेटिए |

तर पनि बेलुका लाग्यो, यहाँ पो मोटर बाटो छ, सुबिधाको कुरा छ अन्य जिल्लामा त हालत उस्तै होला नि ? मान्ममा नै काठमाडौं बसेर लेख्ने पत्रकार लेखकहरूको एउटा टोलीसँग भेट भयो, उहाँहरू जुम्ला र मुगु पनि पुगेर फर्कनु भएको थियो | हतार हतारको भेटमा भएको हाम्रो गफको बिषय एकै थियो कर्णाली प्रतिको हाम्रो बुझाई गलत रहेछ | उहाँहरूले मलाई एक पटक जुम्ला र मुगु(रारा) पनि पुगेर फर्कने सल्लाह दिएर हिड्नु भयो | जुम्ला र मुगु जान नसके पनि मेरो दिमागमा मैले कर्णालीलाई गतल बुझेकी रहिछु भन्ने लागिरह्यो |  

कुनै पनि बिषयमा मानिसले कसरी धारणा बनाउँछन् भन्ने बारेमा तानाशाह हिटलरको भनिने एक लाईन 'झुट पनि हजार बार सुने/पढे पछि साँचो जस्तो लाग्छ' भन्ने कतै सुनेकी वा पढेकी थिएँ | त्यस्तै कुनै पनि समाजको बारेमा ज्ञान कसरी निर्माण हुन्छ भन्ने बारेमा बेनेड्रिक्ट एन्डरसनको ईम्यजिन कम्युनिटी भन्ने लेख छ | जसले ज्ञान निर्माणमा लिखित साहित्य (समाज विज्ञानमा साहित्य भन्नाले रुमानी कथा, कविता र उपन्यास मात्रै पर्दैन, गहन खोज अनुसन्धान मुलक वा धार्मिक लेख, किताब पनि पर्छ)को ठूलो भूमिका हुने र जुन भाषाको माध्यम बाट निर्माण हुनेमा जोड दिन्छ | 

कर्णालीको बारेमा म जे सोच्थें पक्कै पनि सुनेको र पढेको आधारमा मेरो धारणा विकास भएको हुनु पर्छ भन्ने मलाई लाग्छ | मैले कर्णालीको बारे कहाँ पढेकी थिए ? कसले सुनाएको थियो कर्णालीको कुरूप चित्र ? मेरो दिमाग घुमिरहेको थियो | कर्णालीका बारेमा पहिला पढेका सुनेका श्रोतहरुको कुरा लेख्न चाहन्न | कालिकोट जान योजना बने पछि मैले समृद्ध कर्णालीका दु:ख नामक किताब किनेकी थिएँ | पढ्छु भन्दा किताबका सम्पादकहरूको बयान पढ्दा भेटेका केहि आक्रोशित लाईन पढे पछि मलाई त्यो किताब पढ्ने जागर मारेर बन्द गरेकी थिएँ | कालिकोटबाट काठमाडौं फर्के पछि उक्त किताब फेरि जबर जस्ती भए पनि पढ्छु भएर जाँगर चलाएँ |

किताबमा ९ जना लेखकका लेख समावेश गरिएको छ | जसले सके सम्म कर्णालीका फरक फरक बिषयलाई लिएर कलम चलाएका छन् | झलक सुवेदीको लेख कर्णालीको सीमान्तीकरण: एतिहासिक प्रक्रियाबाट नियाल्दा, सोमत घिमिरेको अनिकालले जेलिएको कर्णाली, डा. कृष्ण प्रसाद पौडेल/धन ब. कठायत/ सुजाता तामाङको लेख कर्णालीको कृषिका सम्भाव्यता ले कर्णालीको भोकमरी बाहिर (सरकार)बाट  थोपरिएको, जसले कर्णालीलाई परनिर्भर बनाएको, कर्णाली आफैं भने आत्म निर्भर भएको बिषयमा कोण कोणबाट स्पष्ट पार्ने प्रयास गरेका छन् | कुनै कुनै ठाउँमा फरक लेखकका भनाई एक आपसमा बाझिने खालका पनि छन् | कर्णालीलाई परनिर्भर बनाउने क्रम कहिलेबाट सुरु भएको भन्ने बिषयमा झलक सुवेदी गोरखा राज्यको बिजय पछि सुरु भएको मान्छन् भने सोमत घिमिरे भोकमरी चलेको नाममा जहिलेबाट कर्णालीमा चामल वितरण गर्न थालियो त्यहि समयबाट कर्णाली परनिर्भर बन्दै गएको मान्छन् | ईतिहासका विविध काल खण्डमा सरकार द्वारा चालिएका कदमहरूले कर्णालीलाई कसरी परनिर्भर बनाएको हो भन्ने कुरामा लेखकहरू सहमत देखिन्छन् | तीनै लेखलाई छोटोमा भन्दा कर्णाली आफै चाहिँ आत्म निर्भर हुने क्षमता राख्छ, बाह्य कारणहरूले उसलाई परनिर्भर बनाएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ | डा. कृष्ण प्रसाद पौडेल लगाएतले लेखेको, "कर्णालीको खाधान्न न्यून वितरणको अवस्थाले एक किसिमको भोकमरी चित्रित गरे तापनि अहिलेकै अवस्थामा जडिबुटी सङ्कलन, पशुपालन र अन्य मौसमी रोजगारी (भारत र जिल्ला भित्र)बाट हुने आम्दानीबाट चामलको उपभोग तथा अन्य घरायसी व्यवहार चलाएको पाईन्छ |" भन्ने भनाई बाट पनि कर्णाली परनिर्भर होईन भनेर बुझ्न सकिन्छ | लेखहरूमा कसरी कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिछ भन्ने बारेमा सबैका गहन तर्कहरू छन् |

लेखक हरि रोका र लक्ष्मी कार्कीका लेखले कर्णालीको बारेमा भिजेर लेखेको जस्तो लाग्दैन | रोकाले कर्णाली एक संघीय प्रान्तकोरूपमा मा देश सङ्घीयतामा गए पछि कर्णालीले कसरी फाईदा लिन सक्छ भन्ने बारेमा लेख्ने कोसिस गरेका छन् | तर, उनको लेख आम स्थानले संघीयतामा गए पछि लिन सक्ने लाभका बारेमा लेखिएको जस्तो लाग्छ | लक्ष्मी कार्कीको कर्णालीका महिला लेख पनि केहि मानिससँग गरिएका कुराकानी र सतही रूपमा खोजिएका तथ्यांकमा आधारित हुनाले कुनै एनजीओको सेमिनारमा प्रस्तुत गरेको पावर पोइन्ट भन्दा फरक लाग्दैन |

कर्णाली शिक्षा : केहि चिन्ता, केहि चिन्तनमा लेखक टिका भट्टराई कसरी कर्णाली शिक्षामा पछाडी परेको छ भन्ने बिषयमा प्रकास परेका छन् | जसमा कर्णालीका पाँचै जिल्लाको शिक्षा रहेका समस्या, भईरहेको प्रगति र कोसिसको बारेमा गहन रुपमा लेखेका छन् | कर्णालीमा दलितको अवस्था लेखमा रण बहादुर रम्तेलले मन छुने लेख लेखेका छन् | एउटा दलित भएर नेपालि समाजमा बाच्न कति गाह्रो छ भन्ने बिषयमा उनले आफ्नै अनुभवबाट लेखको सुरुवात गरेका छन् | र कर्णालीसँग जोडेर लेख्दा, स्थानीय जन जीवन नबुझेर सरकारले बनाउने योजना र सहयोग कति निकम्मा हुन्छन् भन्ने उदाहरणको रुपमा उनले कर्णालीका दलितको आयु र सरकारले दिने बृद्ध भत्ता सहयोगको बिषयमा प्रष्टाएका छन् | कर्णालीका दलितको आयु सरदार ३८ देखी ४० वर्ष रहेको कारण सरकारले ७५ (पछि कर्णालीका मानिसलाई ६०वर्ष उमेर पुगे पछि ) वर्ष पुगे पछि दिने बृद्ध भत्ता प्राय कर्णालीका दलितले नपाउने तथ्य उनले उजागर गरेका छन् |

कर्णालीका जनजाति र तिनको वास्तविकता नामक लेखमा छक्क लामा  र दिपेन्द्र रोकाया गोरखा राज्यले गरेको एकीकरण अभियान देखी राजा महेन्द्र सम्मले लिएका नीति कसरी कर्णालीका जनजातिको बिरुद्ध थियो भन्ने स्पष्ट परेका छन् | कर्णाली प्रतिको गलत धारणा म भित्र कसरी विकास भएको थियो होला भन्ने मेरो प्रश्नको उत्तर मैले किताबको अन्तिम लेखको रुपमा पत्रकार नवराज महताराको लेख "कर्णालीमा पत्रकारिताको अवस्था" मा केहि हद सम्म भेटें | काठमाडौंमा रहेका संचार माध्यमले कर्णालीको बारेमा कस्तो चित्र बनाएका छन् भन्ने बारेमा उनि आफ्नो लेख मा लेखेका छन् "पत्रिकाहरूमा प्रकाशित अधिकांश समाचारका विषयहरू कर्णालीमा चामलको अभाव, अस्पतालमा औषधीको नभएको, हवाईजहाज र गाडी दुर्घटना देखी झाडापखालामा मृत्यु भएको, यार्सागुम्बाको संकलनमा ज्यान गएको, बिधालयमा पढाई नभएको, एक सचिवले  १४ वटा सम्म गाविस हेरेको जस्ता विषयले मात्रै प्राथमिकता पाएका छन् | काठमाडौंमा २ दिन बन्द हुँदा बजारमा तत्कालै उपभोग्य वस्तु देखि हरेक क्षेत्रमा अभाव र हाहाकार भए पनि कर्णालीका जति गाडी र जहाज बन्द भए पनि हाहाकार नभई आफ्नै स्रोतमा निर्भर भएको, कृषि क्षेत्र, ठूला-ठूला स्याउ, सुन्तला फारमहरू एकजना व्यक्तिले मात्रै संचालन गरेको खबरले कहिल्यै प्राथमिकता पाएका देखिएनन् |" कर्णालीका पत्रकारले लेखेका सकारात्मक समाचारलाई काठमाडौंका संचार माध्यमले महत्व नदिने गरेको आकोश महताराको लेखमा भेटिन्छ |

किताबको सुरूमा नेपालको एकीकरणको बिरोध गर्ने लेखहरूको संगालो पो हो कि जस्तो लागे पनि पढ्दै जाँदा किताबले कर्णालीका पत्र पत्र खोतल्ने कोशिस गरेको पाइन्छ | जता बाट जुन पत्र उप्काएर हेरे पनि हरेक लेखमा काठमाडौंका हर्ताकर्ता बिरुद्ध ठाउँ ठाउँमा आक्रोश भेटिन्छ र जुन स्वाभाविक लाग्दै जान्छ | एउटा खासै अध्ययन नगरिएको समाजको बारेमा २७३ पेज भएको किताबमा कति कुरा समेट्न सकिछ र ? किताब पढिसकेपछि सके सम्म सबै बिषय समेट्न कोशिस गरिएको रहेछ भन्ने महशुस हुन्छ | अन्त्यमा समाजमा आफुँ पढ्ने लेख्ने, नीति निर्माणमा सहभागी हुने मान्छे हुँ भनेर दावी गर्नेले र मेरो जस्तै कर्णालीका बारेमा कुरूप चित्र बोकेर हिड्नेहरूले यो किताब एक पटक पढ्नै पर्ने खालको छ | कर्णाली प्रतिको भ्रमबाट माथि उठ्न यो किताबले थोरै भए पनि सहयोग गर्छ |

(यो समिक्षा २०१६ मा कान्तिपुरको कोसेलीमा प्रकाशित भएको थियो)

पहिचानको खोजी: जानजातीय आन्दोलनको लैङ्गिक पाटो

on Friday, March 27, 2020



दुई वर्ष अगाडिको कुरा हो, सोसल साईन्स बहा:ले हरेक वर्ष गर्ने अन्तराष्ट्रिय सेमिनारको अन्तिम कार्यक्रममा नेपालका एक नाम चलेका विज्ञ नेपाली महिला माथी बोलिरहेका थिए | प्राय: विज्ञहरूले बोल्ने कुरा पनि त्यस्तै हुन्छ, जे हामीले दिनदिनै सुन्दै आएका हुन्छौं | ती वक्ताले 'आदिवासी महिला आर्थिक, सामाजिक, संस्कृतिक वा हरेक क्षेत्रमा पुरुष बराबर हैसियत राख्छन्' भन्ने लामो बिवरण पेश गरे | उनको प्रस्तुति सुन्दै गर्दा मेरो मनमा प्रश्न उठिरहेको थियो, 'त्यसो भए यो देशै आदिवासी महिलाले चलाएको हुनु पर्ने ? त्यति सम्पन्न र समानता भएर पनि किन छैन त समाजका हरेक क्षेत्रमा जनजाती महिलाको बल्लियो उपस्थिति ?' मेरो दिमागमा यस्ता 'किन'का किरा हरेक ठाउँ, हरेक कार्यक्रममा सल्बलाउँछन् | कतै सोधिहाल्छु, कतै सोध्न सक्दिन | नेपाली समाज बुझेका देश बिदेशका कपाल फुल्दै गरेका विज्ञहरूले भरिएको उक्त हलमा मैले मनमा उठेको प्रश्न गर्न सकिन | तर, दुई प्रश्न कर्ता पछि ठ्याक्कै मेरो मनमा उठेको प्रश्न एक जना साथीले सोधिन् | उक्त प्रश्नमा विज्ञको उत्तर सदाबहार 'बाहुन क्षेत्रि महिला माथीको दासता र जनजाती महिलाको स्वतन्त्रता' थियो | मलाई चित्त बुझेन | प्रश्न सोध्ने साथीको चित्त बुझ्यो कि बुझेन थाहा भएन |

यस्तो प्राय: हुने गर्छ, जब जनजाति महिलाका सवालमा पुरुष जनजातिहरूले बोल्न थाल्छन् | उनीहरू जनजाती महिला आर्थिक रूपमा सम्पन्न र सामाजिक-सांस्कृतिक रूपमा समान भएको लामो बिवरण प्रश्तुत गर्छन् | सुन्दा सहि नै लाग्छ किनकि पश्चिम नेपालका बाहुन/क्षेत्रि र दलित महिलाहरू महिनावारी जस्तो प्राकृतिक कुरामा पनि छाउगोठमा बस्छन, त्यहाँ सर्प-बिच्छी देखी मान्छे सम्मले ती महिलालाई सिकार बनाउँछन् | अन्य तिर पनि नेपाल भर महिनावारी बर्ने, त्यसको पाप कटानी गर्ने चलन छन् | त्यस्तो देशमा महिनावारी बार्नु नपर्ने महिलाहरू पुरुषसँग बढी समान लाग्नु स्वाभाविक हो | महिनावारी मात्रै किन र ? श्रीमानको खुट्टामा ढोग्नु पर्ने, खुट्टाको पानी खानु पर्ने, श्रीमानलाई सधैं आदर गरेर बोल्नु पर्ने तर श्रीमानले आदर गर्नु नपर्ने लगाएत विभेदको गहिरो खाडल भएका ब्राह्मण क्षेत्री समाज भन्दा त्यसो गर्न नपर्ने जनजाती समाज र महिला बढी समान र आफ्नै आर्थिक उपार्जन भएका महिला सम्पन्न छन् भन्नु स्वाभाविक हो |

तर, समानता र सम्पन्नताको डिग्री नाप्ने आधार के के हुन् ? कुन कुन हद सम्म जनजाति महिला समान र सम्पन्न छन् ? छन् भने किन बेचिन्छन त बम्बैको कोठीमा तामाङ महिलाहरू ? किन कुनै जनजातीय संगठनका अध्यक्ष महिला छैनन् ? किन कुनै जनजाती महिला कुनै राजनीतिक दलको प्रभावशाली पदमा छैनन् ? सायद यस्ता प्रश्न हामी जस्ता (बाहुन क्षेत्रि समुदायमा हुर्के बढेका) धेरै युवाहरूको मनमा उठ्नु स्वाभाविक हो |
भर्खरै बजारमा आएको कैलाश राई द्वारा सम्पादित 'पहिचानको खोजि: आदिवासी जनजाति महिलाका सामाजिक सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६-२०७३)' कृतिले माथीका प्रश्नहरूको केहि हद सम्म जवाफ दिन्छन् | यो किताबले मुख्य गरेर दुई बिषयलाई दह्रो सँग उठाएको छ | पहिलो, महिला भन्दैमा सबै महिला एकै हुँदैनन्, उनीहरूका जीवन, समस्या र मुद्दा एकै हुँदैनन् | नेपालका हिन्दु महिला र आदिवासी महिलाका सबै समस्या एकै प्रकारका छैनन् | केहि समस्या समान छन् केहि समस्या फरक छन् | दोश्रो, जनजाति समाजमा पनि महिला र पुरुषको बिचमा विभेदको खाडल गहिरो छ | जरुर बाहुन-क्षेत्रि समुदायको तुलनामा जनजाती महिला बढी समान, आत्मनिर्भर र स्वतन्त्र छन् | तर जनजाती समुदाय भित्रै, जनजाती संघ संगठनमा, जनजाती पुरुषका तुलनामा ? यसको उत्तर अल्ली फरक आउँछ | जुन आदिवासी जनजाती महिलाको संगठन गर्दाको समय देखी मगर बिधार्थी संघको अध्यक्षमा महिला उठ्दा सम्म जनजाती पुरुषहरूले गरेको असहयोगका उदाहरणहरूले पुष्टि गर्छन् |

सात खण्डमा विभाजित कृतिमा २3 लेखकका २५ लेख समावेश छन् | २३ जनाले लेखेको भए पनि अनुसन्धान मूलक लेखहरू पनि समावेश भएको कारण कृति भित्र एंगेल्स देखि मगर बिधार्थी संघकी अध्यक्ष रेनुका काउछा सम्मका मानिसका विचार र अनुभव संगालिएका छन् | किताबको पहिलो खण्ड 'सांस्कृतिक चिनारी' र थारूमहिला माथीको लेखलाई छोड्ने हो भने यो किताब 'इन्साईडर' हरूको संघर्षको अनुभव, दृष्टिकोण र विश्लेषणहरूको सँगालो हो | पहिलो खण्ड, जसलाई संस्कृतिक चिनारी नाम दिईएको छ | त्यहाँ छ जनजाति महिला समुदायको बारेमा चार जना बाहुन, २ जना नेवार र एक जनाले जनजाति महिलाको जीवन, समानता, स्वतन्त्रताका कुरा उठाएका छन् | खण्ड दुईलाई 'संगठन' नाम दिईएको छ | जसमा लामो समय देखि महिला, जनजाति र दलितको पक्षमा प्राज्ञिक आधारमा टेकेर पैरवी गर्दै आएका प्राध्यापक कृष्ण भट्टचनको लेखले आदिवासी महिलाको छुट्टै संगठनको जरुरी किन छ भन्ने भन्ने बिषयमा केन्द्रित छ | त्यसै खण्डको अर्को लेखमा किताबकि सम्पादक पनि रहेकि कैलाश राईले राष्ट्रिय आदिवासी जनजाती महिला संगठन किन, कसरी, कुन उदेश्यले गठन भएको थियो ? त्यसले के के काम गरिरहेको छ ? कुन कुन मुद्दा उठाएको छ ? र यो महासंघको औचित्य के छ भन्ने बिषयमा मिहिन रूपमा लेखेकी छन् |

तेस्रो खण्डले जनजाति महिलाका समस्या, ती समस्याको जगमा उठेको आन्दोलन र त्यो आन्दोलनका क्रममा भोग्नु परेका समस्याहरूमा केन्द्रित रहेका छन् | चौथो खण्ड संबिधान/राज्य पुनर्संरचनामा रहेका लेखहरूले संबिधानसभा मार्फत समेटिनु पर्ने मुद्दाको फेहसिस्त छ | तर, संबिधान निर्माणकार्य सकिएको झन्डै ७ महिना पछि निस्केको किताबले संबिधानमा ति मुद्दा समेटिए कि समेटिएनन् वा कसरी समेटिए, किन समेटिएनन् भन्ने कुनै लेख समावेश छैन |

खण्ड पाँचमा विवेचना/विश्लेषण नाम मा छ लेख समावेश गरिएको छ | अनुसन्धानका जगमा लेखिएका यिलेख धेरैलाई मन पर्ने खालका छन् | यो खण्डमा राजनीतिक नेतृत्वमा जनजाती महिलाको उपस्थिति, आदिबासी जनजाती महिलाका सामाजिक आन्दोलन, पहिचान र अधिकारका लागि लडिरहेका आदिवासी जनजाति महिला, कम्लारी र उनीहरूको शिक्षाको अवस्था, मगर जाति (जो भूगोल र समाज अनुसार फरक फरक छन्) हरू भित्र महिलाको अवस्था कस्तो छ, सबै ठाउँका मगर महिलाहरू उस्तै छन् कि फरक छन् ? तामाङ महिलाको अवस्थाको बारेका मिहिन रूपमा लेखिएका छन् | खण्ड छमा बैदेशिक रोजगार र जनजाति महिलाको अवस्थामाथी दुई लेख छन् | दुवै लेखले शिक्षाको कमि, कम्जोर आर्थिक अवस्था र सरकारको विभेदकारी नीतिले कसरी जनजाती महिलालाई जानी नजानी बैदेशिक रोजगारमा जान बाध्य पारेका छन् भन्ने बिषयमा प्रकाश पारेका छन् |

बिक्रम सम्बत् २०१६ साल देखी २०७३ साल सम्मको काल खण्डमा प्रकाशित भएका लेखहरूको संगाल्ने क्रममा सम्पादकले गरेको मेहनत निक्कै सर्हानिय छ | समग्रमा भन्नु पर्दा जनजाती पुरुषहरूले 'हाम्रो समुदायमा महिलाहरू हरेक क्षेत्रमा समान छन्' भन्ने भनाईको र मुलधारको नेपाली नारीवादी आन्दोलनले 'सबै महिला एकै' भनेर गरिरहेको ब्याख्या पनि गलत भएको कुरालाई किताब भित्रका लेखहरूले खण्डन गरेको छ | त्यसरी खण्डन गर्ने आधारहरू कृतिमा प्रशस्त भेटिन्छन् | आदिवासी जनजाति महिलाका कुरा नत मुलधारको नारी वादले बोकेर हिंडेको छ, नत आदिवासी जनजाति आन्दोलनले नै बोकेको छ | आदिवासी जनजाती, तिनको आन्दोलन र नेपालको महिलावादी आन्दोलनको बारेमा चासो राख्ने जो कसैले एक पटक पढ्नै पर्ने किताबको रूपमा यसलाई लिन सकिन्छ |
(२६ नोभेम्बर २०१६ मा कान्तिपुर कोसेलीमा प्रकाशित) फोटो : कैलाश राईको फेसबुकबाट !

द्वापर युगका रानी महारानीहरूको कथा

on Thursday, March 26, 2020

ऋषि ब्यासले लेखेको भनिने एकलाख श्लोक रहेको महाभारतको कथा माथि धेरै उपकथा र पटकथाहरू लेख्नेको ताँतीमा नेपाली लेखिका निलम कार्की निहारिकाले पनि महिला पत्रका नजरबाट उपन्यास लेख्ने जमर्को गरेकी छन् । उपन्यासको नाम पनि ‘चिरहरण’ दिएर ! उपन्यासको नाम नै तर्साउने खालको छ । जुन बिषय माथि लेखिएको भए पनि पाँच सय छब्बीस पेजको मोटो उपन्यासमा समाजको कुरूपतालाई चित्रित गरिएको हुनु पर्छ भन्ने जो कोहीको अनुमान हुन्छ । उपन्यास पढी सक्दा पाठकको उक्त अनुमान खेर जान्दैन । 

उपन्यासको पाना पल्टाउँदै गर्दा समर्पण खण्डमा लेखिकाले यो उपन्यास महाभारतको कथामा लेखिएको भन्दा फरक प्रकारले लेख्न चाहेको तर अहिलेको नेपाली समाजमा रहेको विसंगति महाभारत कालिन समयमा भन्दा फरक नरहेको स्पष्टिकरण दिएकी छन् । उनको उक्त स्पष्टिकरण पढे पछि लामो समय सशस्त्र द्वन्द्ध भोगेको नेपालली समाजको अहिलेको विसंगतीलाई महाभारत कालिन पत्रहरूसँग जोडेर लेखेकी होलान् भन्ने स्वाभाविक अनुमान रहन्छ । जुन किताबको सुरुवात खण्डमा मै टुट्छ । जहाँ महाभारत कृति भित्रका महिला पात्रको सम्मेलन र उनीहरूले आ—आफ्ना कुरा राख्ने भनिन्छ । तर पनि कतै उपन्यासको अन्त तिर अहिलेको नेपाली समाजको बीभत्सता र महाभारतको कथा कतै जोडिन्छ कि भन्ने आस रहन्छ । जुन कहीं गएर जोडिन्न ।
किताबको समिक्षा सुरु गर्न भन्दा अगाडी म आफ्ना केहि गन्थन लेख्न चाहन्छु, नेपालमा पछिल्लो समयमा प्रकाशित आख्यानका किताब पढे पछि मैले गरेका टिप्पणी सुन्ने मेरा आख्यान पारखी साथीहरूले मलाई बेला बेला सल्लाह दिन्छन्, ‘आख्यान भनेको मन सहित पढ्ने कुरा हो, विचार सहित कुरा पढ्ने होइन’ अर्थात् आख्यान मज्जाको लागि वा समय कटाउन पढ्ने हो भन्ने उनीहरूको आग्रह हुन्छ । मात्रै मनको आनन्दको लागि आख्यान पढिन्छ भन्ने कुरा कति हद सम्म ठिक हो वा होईन म जान्दिन । त्यसमाथि धेरै तर्क कुतर्क गर्न सकिन्छ । नेपाली साहित्य बाजारमा आख्यान आख्यान जस्तो हुनुपर्छ, पार्टीको दस्ताबेज जस्तो हुनुहुन्न भन्ने धारणा एकातिर छ भने आख्यान पनि विचार सहित लेखिन्छ पढिन्छ भन्ने धारणा पनि बल्लियो रहेको पाईन्छ । म साहित्य विचार बिहिन हुन्न भन्ने मान्छु र त्यसलाई समाजसँग जोडेर हेर्छु । मेरो राम्रो पक्ष पनि यहि हो र नराम्रो पक्ष पनि यहि हो ।

मैले यो उपन्यास सके सम्म मात्र एक पाठक भएर पढ्छु भनेर कोशिस गरें । तर पनि पढिरहँदा, म भित्रको महिलावादी सोच र समाजशास्त्रको बिधार्थीले खुब हल्ला गरिरहे । मेरो मात्र पाठक हुने कोशिसले किताबको शुरुवात देखी नै हावा खायो । त्यसैले मैले यो उपन्यास तीन थरी (मज्जाको लागि पढ्ने आम पाठक, नारीवादी र समाजशास्त्रको बिधार्थी) पाठक भएर पढ्दा उपन्यास कस्तो लाग्यो भन्ने बारेमा लेख्ने छु  ।

सामान्य पाठक भएर पढ्दा उपन्यास निक्कै रमाईलो खालको छ । साना साना वाक्य र ति वाक्यले बोक्ने अर्थ स्पष्ट छ । प्रसङ्गहरूको सिलसिला निकै राम्ररी मिलाईएको छ जुन किताबको सुरु देखी अन्त्य सम्म छुट्दैन । नेपालमा धेरै आमा र हजुरआमाले केटाकेटीलाई कथा सुनाउने प्रचलन रहेको छ । बाहुन क्षेत्री परिवारमा हुर्केका कैयौं बालबालिकाले महाभारतको कथा धेर थोर पहिल्यै सुनेका हुन्छन् । त्यस्तो पारिवारिक व्यवस्थामा महाभारतका कथा सुनेकाहरूलाई उपन्यास पढ्दा आमा हजुरआमाले सुनाएका कथा नै दोहोर्याएर पढे जस्तो लाग्छ । फरक के छ भने बाल्यकालमा सुनेका टुक्रा टाक्रे कथाहरूलाई एउटा धागोमा उनेर लेखिकाले उपन्यास पूर्ण कथा बनाईएकि छन् । बाल्यकालमा महाभारत नपढेका मानिसहरूलाई महाभारतको मोटामोटी ज्ञान हासिल गर्न र के भएको थियो त महाभारतमा भन्ने चासो भएकाहरूलाई उपन्यास केहि सहयोगी हुन्छ । उपन्यासमा महिला पत्रहरूलाई भेला गराएर महिलाको मुखबाट भन्न लगाईएको भए पनि महाभारतको सारांश जस्तो छ । उपन्यास आनन्दको लागि पढ्ने हो भन्न पाठकलाई यो उपन्यासले आनन्द दिन्छ । बिचमा पढ्नै झर्को लाग्ने अवस्था आउँदैन । पत्र र घटनालाई कलात्मक हिसाबले प्रस्तुत गरिएको छ । द्वापर युगको कथा भएको कारण हो वा रानी महारानीको कथा भएर हो बोलीचालीको भाषा परम्परागत राजशी खस भाषाको प्रयोग गरिएको छ । उपन्यासको वातावरण प्राचिन लाग्ने गरि कल्पना गरिएको छ, जसले गर्दा पाठकले द्वापर युगमा नै पुगेको महशुस गर्न सक्छन् । 

अब एक नारीवादिको नजरबाट हेर्दा किताब कस्तो देखिन्छ त ? किताबको बाहिरी गातामा लेखिकाको बारेमा लेखिए अनुसार लेखिका नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने लेखक हुन् रे । सायद घुमाएर उनि नारीवादी लेखक हुन् भन्न खोजिएको होला । सोझै नारीवादी भन्ने आँट नआएर यस्तो लेखिएको पनि होला (कतै नारीवादी भएर आफ्नो घर बिगार्न चाहन्न भन्ने शिर्षकको लेखिकाको अन्तर्वार्ता पनि आएको थियो) । उपन्यास द्वापर युगमा भएको भनिने भारतको कुरू क्षेत्रको युद्ध विवरण कृति महाभारतका नारी पात्रहरूको भेला र ती नारी पात्रको मन्तव्यमा केन्द्रित गरेर लेखिएको हुनाले सायद यो नारीवादी कोणबाट लेखिएको भनेर लेबल लाग्ने छ ।

जब लिंग, जात, धर्म वा अरु थोक एकै भएको कारण समान भन्ने कुरा आउँछ, मलाई कबड्डी कबड्डी फिल्ममा कुखुराको भालेको रगतले चिठ्ठी लेख्दै गरेका पात्रहरूले गर्ने संवादको झल्को आउँछ । जहाँ चिठ्ठी लेख्नेले भन्छ, ‘यो त कुखुराको रगत भयो’ । अनि लेखाउनेले भन्छ, ‘लेख रगत सबैको रातै हुन्छ’ । कहिले काहिँ म सोच्छु ‘के रगत सबैको रातै हुने भए हरेक जनावर र मानिस एकै हुन् त ?’ रातै रगत भित्र कति धेरै कुरा फरक हुन्छ भन्ने कुरा ल्याबमा लगेर जाँचे पछि थाहा हुन्छ सतही हेराईमा कसरी थाहा हुन्छ ? एउटा डाक्टरले कसैको रगत ल्याबमा हेरेर भन्न सक्छ त्यो रगत धनीको हो कि गरिवको हो । दिनरात मजदुरी गरेर पसिना बगाउने को हो कि, शारीरबाट पसिनाको थोपै नखास्नेको हो ? 

नारीवादी कुरा पनि त्यस्तै हुन् । महिलाका कुरा आउने बित्तिकै नारीवादी कुरा भनिन्छ । नारीवाद भित्र पनि धेरै फरक कुराहरू छन् । महिलाका कुरामा पनि कुन आर्थिक—सामाजिक हैसियतकि महिला भन्ने हुन्छ । महिलाका कुरा भन्दैमा तिनले आम महिलाका कुरा समेटेका नै हुँदैनन् वा हुन्छन् भन्ने हुँदैन । चिरहरण उपन्यासले पनि रानी महारानी र तीनका वरपरका केहि महिलाका कुरा गर्छ अर्थात एलिटका महिलाका कुरा गर्छ । बेला बेलामा द्रौपदीले ‘पाँच वीर पति, पाँच वीर पुत्र, वीर पिता र दाजु, श्रीकृष्ण जस्तो महानपुरुषकी साथीको त यो हालत छ भने आम महिलाको के हालत होला ?’ भनेर गर्ने प्रश्न र रातको समयमा एक सर्वसाधारण सासु—बुहारीले गरेको कुराकानी बाहेक आम महिलाको कुरा उपन्यासमा कतै आउँदैन ।

अहिलेका नेपाली महिलाको अवस्था र द्वापर युगका रानीमहारानीको कसरी तुलना हुन सक्छ ? बरु अहिलेका रानी महारानी बन्ने महिलाको कुरा भनेको भए हुन्थ्यो । न त द्वापर युगका रानी महारानी र आम महिलाको दुख्ख एकै थिए न त अहिलेका एलिट महिला र आम महिला एकै दुख्ख भोग्छन् । उपन्यासका हरेक महिला पात्रलाई जसरी महाभारतमा अवला देखाईको थियो त्यसै पारामा अबला देखाईएको छ । भनिन्छ, ‘साहित्य लेखनमा लेखकले बढी आफ्नै स्वभाव लेख्छ’, यस उपन्यासमा सायद लेखकको स्वभावको छाया होला हरेक महिला पात्र बढो रुन्चे, मिलनसार, समझदार रूपमा प्रश्तुत गरिएको छ । सौता सौता, देउरानी—जेठानी, सासु—बुहारी बिचको प्रेम धेरै ठाउँमा अमिल्दो लाग्छ ।

उपन्यासको आधा हिस्सा केन्द्रीय पात्र द्रौपदीको लागि खर्च गरिएको छ । उपन्यासमा लेखकका कुरामा उनले बिधालय पढ्ने उमेरमा ‘द्रौपदीको हाँसोको कारण महाभारतको युद्ध भएको’ भन्ने भनाई सुनेकी लेखिकाले द्रौपदीको कारण महाभारतको युद्ध नभएको पुष्टि गर्न कोशिस गरेको जस्तो पनि लाग्छ । महाभारतको युद्ध पाण्डव पक्षले नचाहेको, द्रौपदी र भीमले आफ्नो प्रतिज्ञा पनि भुल्न चाहेको तर कौरब पक्षको कारण युद्ध भएको भन्ने छनक आउँछ ।

यति धेरै निरिह त द्वापर युगका रानीहरू पनि पक्कै थिएनन् होला, न त अहिलेका नेपाली महिला छन्  । पाईला पाईलामा समाजले उठाउने प्रश्नका पर्खाल भत्काउँदै अगाडी बढ्न खोजिरहेका छन् । के तिनीहरू रुन्चे छन् ? द्रौपदी झैँ एउटा परिवारका सासु बुहारीको कुरा सुन्दैमा आफ्नो प्रतिज्ञा बिर्सन्छन् ? यो उपन्यासको समिक्षा लेख्दै गर्दा नेपालमा पहिलो पटक प्रधान न्यायाधीशको पदको सपथ महिलाले लिँदै थिईन र सपथ गराउने पनि महिला नै थिईन । यो न उपन्यासले न द्वापर युगका आम महिलाको कथा भन्छ, न अहिले नेपाली समाजका महिलाको कथा भन्छ । विचार सहित पढ्ने पाठकलाई यो किताब महाभारतका महिला पात्रको कथा कपि पेस्ट गरेको जस्तो वा कुनै टेलिफिल्मको लागि लेखिएको पठकथा जस्तो मात्रै लाग्छ ।
उपन्यासको सुरुको समर्पण र अन्तको आफ्नो भनाईमा लेखिकाले महाभारतका महिला पात्रले भोगेका समस्या र अहिलेको हाम्रो समाज उस्तै हुनाले यो उपन्यास लेखिएको भनेर दावी गर्नु भन्दा बरु महाभारत कालिन समयका महिला पात्रले अहिलेका महिला पत्रको जस्तो सभा सम्मेलनमा भाग लिन पाउने भए कस्तो कुरा गर्थे होलान् वा उनीहरूसँग कसैले सोधे के भन्दा हुन् भनेर मैले यसरी कल्पना गरेर उतारें भनेको भए हुन्थ्यो कि भन्ने लाग्यो ।

समाजशास्त्रीय नजरबाट हेर्दा मानव ईतिहासको लामो समय सम्म इतिहास लेखन जितेका राजाको स्वस्ति गान गर्न उसलाई हिरो बनाएर लेखिन्थ्यो । भने, हारेका राजाहरूलाई भिलेन बनाएर लेखिन्थ्यो । ती बाहेको ईतिहास सायदै लेखियो होला भनिन्छ । त्यो नलेखिएको इतिहास लोक कथाहरू, गीत मार्फत समाजमा रहिरहेका हुन्छन् । पुस्तान्तरणको क्रममा ती कति सम्पादित हुदै आएका होलान् । महाभारतको कथा पनि इतिहास लेखनको त्यहि पुरानै धारमा थियो । त्यसलाई लेखिकाले कलात्मक रूपमा लेखेकी भए पनि समग्रमा महाभारतको कथामा मुनि व्यासले जुनजुन पत्रलाई जुन रूपमा प्रस्तुत गरेका छन् लेखिकाले ति पात्रहरूलाई त्यहि रूपमा प्रस्तुत गरेकी छन् । वा फरक कोणबाट हेर्ने झन्झट गरेकी छैन । महाभारतको कथामा भएका केहि अबैज्ञानिक लाग्ने कुराहरू उपन्यासमा पनि जस्ताको त्यस्तै दोहोर्याईएको छ । जस्तो कि द्रौपदीलाई नंग्याउन गरिएको कोशिस रोक्न कृष्णले उनको लुगाको कहिल्यै अन्त्य नहुने गरि गरेको सहयोग, एकै पटकको गर्भबाट गान्धारी एकसय छोरा र एक छोरी जन्माएको, मत्यगन्धा सत्यवतीले जन्माएका ब्यास जन्मेकै दिन पिता (बा) परासरसँग यज्ञमा सामेल भएको भन्ने कुरा वा कुन्तीले कल्पना गर्दैमा देवता प्रकट भएको र तिनीहरूबाटै सन्तान जन्मेको भन्ने कुरा पत्याउने खालको छैन । 

अन्तमा भन्नु पर्दा लेखिकाले भाषामा निकै मेहनत गरेको देखिन्छ, उपन्यासलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा । पत्रहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा लेखकको स्वतन्त्रताको कुरा हो । त्यसलाई कसरी स्वीकार्ने वा प्रतिक्रिया व्यक्त गर्ने भन्ने कुरामा पनि पाठक स्वतन्त्र रहन्छन् । सुरुमा भनिए जस्तै मात्र रमाईलोको लागि पढ्ने सिकारू पाठकलाई यो उपन्यास राम्रो लाग्ने छ । आख्यानमा कला सर्वोपरी हो विचार होइन भन्नेहरूलाई कलाको हिसाबले हेर्दा यो एक उत्कृष्ट उपन्यास लाग्नेछ । महिलाको कोणबाट लेखिएको कारण कतिलाई यो महाभारतको नारीवादी ब्याख्या जस्तो लाग्ने छ । तर, केहि गम्भीर पाठक जसले महाभारत माथी लेखिएका हिन्दि र अंग्रेजी किताब पनि पढेका छन् तिनलाई यो असली महाभारतको सारांश मात्रै लाग्ने छ ।

(यो समिक्षा २०१५ मा लेखिएको भए पनि बिबिध कारणले प्रकाशित भएको थिएन )

प्रश्नहरुको कारखानाः निर्मम कविताहरुको सँगालो

on Wednesday, March 25, 2020


तीन वर्ष अगाडी सरिता तिवारीको ‘दैनिकी’ नामक कविता पढे मलाई लागेको थियो, नेपाली साहित्यमा अब एउटा दमदार लेखकको आगमन हुने भयो । पछिल्लो दशकको नेपाली साहित्य बजारमा कविता, कथा वा निबन्धमा अलि कति चर्चा पाए पछि उपन्यास लेख्ने र लेखक नामले चिनिने चलन बढ्दो छ । सरिताका कविता, निबन्ध पढे पछि र केहि ठाउँमा उनका कुरा सुने पछि लाग्यो, उनि कविरलेखक हुन कम र परिवर्तन कि सम्बाहक बढी हुन चाहने मानिस हुन् ।

उनै सरिता तिवारीको पछिल्लो कविता कृति ‘प्रश्न हरुको कारखाना’ भर्खरै बजारमा आएको छ । किताब भित्र पाँच खण्ड छन्, ‘बिजेता’, ‘आदिवासी’, ‘के तिमीले मलाई आविष्कार गर्यौं ?’, ‘युद्दको सौन्दर्य’ र ‘कारखाना जो चलिरहेको छ’’ नाममा ।
बिजेता खण्डमा उनको एउटा मात्रै कविता छ, जुन कुनै साना केटाकेटी, आफ्ना छोरा छोरी वा विधार्थीलाई लेखिएको जस्तो लाग्छ ।
आदिवासी शिर्षकमा रहेका पाँच कविताहरुले बिशेष गरी चितवन, त्यहाँका आदिवासी, गरिवी, पर्यावरण, अगाडी बढ्न चाहने छोरीको चाहना र त्यहाँ बोलिने थारु भाषालाई समेटेर लेखेकी छन् । आदिवासी नामक कवितामा उनि लेख्छिन्,
‘खालि छन् जमिन्दारको बहिखाताका धमिला पृष्ठ
त्यहाँ भेटिन्न कुनै हिसाब
कुन कुन महाराजको सवारीमा 
मैले मुटु फुट्ने गरी बाटो खानें 
कति हाल जोतें चौधरीको खेत 
कति दिन फरुवा चलाएँ 
एक धारो लगौंटीले कति वर्ष(महिना र दिनको लाज ढाकें
तर राखेको छु मैले एक(एक हिसाब’

आदिवासी खण्ड अन्तर्गतका अन्य कविताले तराइमा हुने औलो, हैजारबिफर जस्ता महामारी र जङ्गली जनबारसँग लड्दै समाजका पत्रपत्र बनेर बसेका मालीकको काम गर्ने मानिस, असमयमा नै जीवन गुमाएका अभिभावक र तिनका बेनाम सन्तान, दिनरात काम गर्दा पनि एउटा गम्छा फेर्न नसक्ने किसान, बढ्दो विषादीको प्रयोगले हराउँदै गएको पर्यावरणीय सन्तुलन र त्यसले आदिवासीमा पारेको प्रभावको कहानी बताउन्छन् ।
‘तिमीले मलाई अविष्कार गर्यौ ?’ नाम दिएको खण्डमा उनले महिलाका बिषयमा लेखेकी छन् । किताबको बिमोचनमा समिक्षक आहुतिले ‘हे देवी’ नामक कविता त्यति उपयुक्त छैन भनेर टिप्पणी गरेका थिए । तर, सोहि कार्यक्रममा सरिताले केहि कविता छानेर पढ्दा ‘हे देवी’ पनि पढेकी थिईन ।  माक्र्सवादी बिचारको गन्द आउने काविताको बिचमा सरिताले अलौकिक देवीको बिषयमा किन लेखेकी होलिन् भन्ने जो कोहीलाई लाग्नु स्वाभाविक हो । जब ‘हे देवि’ नामक कविता पुरै पढी सकिन्छ, आधा नारीवाद त उनले एउटा कवितामा समेटेर लेखेकी छन् भन्ने थाहा हुन्छ । के संसार भर देवीको पुजा यत्तिकै भएको हो ? देवि पुजन फगत एक धर्म मात्रै हो कि, त्यसमा समाजिक कारणहरु छन् ? समाजको नेतृत्व पुरुषको हातमा गए पछि समाज अहिले कहाँ पुगेको छ भन्ने हेर्न त हाम्रै देश उपयुक्त छ । एक दशक सम्म बिदुर राष्ट्रप्रमुखले टेकेर पबित्र बनेका मठ मन्दिर बिधवा राष्ट्र प्रमुखले टेक्नासाथ एकाएक अपवित्र बने । ‘हे देवी’ नामक कविताको एक लाईन यस्तो लेख्छिन्,
‘थाहा छ ?
तिमी निदाईरहेको बेला 
उनीहरुले तिमीलाई बोक्सी बनाए 
र बलात् ख्वाए रछ्यान 
बलजफ्ती थुनेर कोठी भित्र गरिदिए “बेश्या” करार 
र नैतिकताको सफेद पोश भिरेर 
लेखे धर्मका नाममा पापका मन्त्र ’

सरिताले लेखेको कुनै लेख पढ्दा उनका बा सानैमा बितेका थिए भन्ने थाहा पाए पछि मलाई निक्कै नमज्जा लागेको थियो । सानैमा बा आमा गुमाएका प्रायः मानिसहरुले बा—आमाको निकटताको अभाव जीवन भर महसुश गर्छन् । धेरै लेखकको लेखनमा पनि गुमाएका आमा—बाको अभाव झल्कन्छ । ‘बा’ शिर्षकको कविता देख्दा त्यस्तै अभावको रोईलो हो कि जस्तो लागेको थियो । तर जब कविता पुरै पढी सकियो, मलाई लाग्यो यति निर्मम भएर कविता नलेखेको भए हुन्थ्यो कि ? भनिन्छ नेपालमा हरेक दश जना किशोरी मध्ये ७ जना यौन हिंसाको सिकार हुन्छन् । त्यस्ता हिंसा आफ्नै नजिकका मानिसबाट हुन्छ, अनि ति नजिकका मानिस मध्ये बा पनि एक हुन् । बा शिर्षकको कवितामा उनि भन्छिन्, 
‘अठ्याएर दुवै हातले मेरा साना नाडीहरु
च्यापेर बलिया तिघ्राहरुले मेरो कमलो जिउ
चिथ्रा चिथ्रा पारेर सिकार लुछिरहेको कुनै बाज जस्तो
त्यो कुनै दन्त्यकथाको अजङ्ग दैत्य जस्तो 
अध्यारो कुरूप छाया
किन तपाईंको अनुहर सित दुरुस्त मिल्छ ?’ 

‘ठेगाना’ र ‘दैनिक’ नेपाली आम बिबाहित महिलाको भोगाईका बिषयमा लेखिएका बुलन्द कविता हुन् । जीवनसाथीसँगै बसेर दुई सन्तान हुर्काई रहेकी महिलाले यस्तो कविता लेख्न सक्छन् भनेर स्वीकार गर्न गाह्रो हुने गरी लेखेकी छन् यी कविता । ‘भाग्दा भाग्दै नीला आखाँहरुसित’ कवितामा पछिल्ला वर्षहरुमा भएका महिला हिंसाका प्रतिनिधि घटना र त्यसले जो कोहिलाई पारेको प्रभावको बारेमा छ । उक्त कवितामा उनि लेख्छिन्,

‘मेरो अगाडी 
एकोहोरो अट्टहास गरिरहेकी थिई 
एउटी कुरूप स्वास्नीमान्छे 

त्यसको कपाल 
मेरी स्कुले साथी 
निरमाया मगरको जस्तै बिछट्टै सुन्दर थियो 
त्यसको जिउ 
मैना सुनारको जस्तै असाध्यै कलिलो थियो 
हातमा गोदना खोपाएको 
निलो बुट्टा थियो ढेगनीदेवीको जस्तै 
जिउमा थियो कालो गाउन
नजराना खातुनको जस्तै 
तर, अंगार भरिएको अंगेनु जस्तै थियो उसको अनुहार
र अनुहारमा टाँसीएक थिए 
डरलाग्दा नीला नीला आँखा ’

नीला आँखाको प्रतीकात्मक अर्थ थाहा नभएर हो कि डर लाग्दा आँखा प्रायः राता राता हुनु पर्ने र नीला आँखा प्रेमिल भनिने भन्दा फरक उनले डरलाग्दा नीला आँखा भनेर लेखेकी छन् ।
युद्दको सौन्दर्य नामक भागमा उनले मुटुको धड्कन बढाउने कविता लेखेकी छन् । पुरातन समाजमा ब्याप्त शान्तिको अर्थ, आफैंले गरेको क्रान्ति बोझ मानिरहेका नेता, असक्षम घोषणा गरिएका योद्दा, बिदेशी भूमिमा रहेर काम गरिरहेकी महिला, काठमाडौंका र त्यहाँका हर्ताकर्ता, बजार र बजारले निर्माण गरेका मानिस, प्रतिक्रिया बिहिन मानिसहरु, स्वयम् कवि र भारतको रवैया सबैका प्रति उनले आलोचनात्मक कविता लेखेकी छन् । 
यतिबेला नेपालको तराई आन्दोलनमा छ, यसैको सन्दर्भमा लेखिएको हो कि झैँ लाग्छ, युद्दको सौन्दर्य नामक कविता । उनि लेख्छिन्,
‘मित्रहरु !
मौन उभिरहनु, नबोल्नु, नचल्मलाउनु र नदिनु कुनै 
प्रतिक्रिया 
लगातार खापिरहनु प्रहार वा सहनु जुका र सर्पहरुको दंश
यहि नै हुन्छ यदि शान्तिको अर्थ भने 
शान्ति भन्दा कैयौं(कैयौं गुणा मन पराउंछु म 
बाँच्नुको कलाले रंगिएको 
युद्दको रक्तिम सौन्दर्य !’

सरिता चितावनमा बस्छिन् । प्रायः काठमाडौं बाहिर बस्ने मानिसको काठमाडौं प्रति सकारात्मक धारणा पाईन्दैन । काठमाडौंको भिड भाड, फोहोरले चुलिएका चोक, ढलले भरिएका नदि नाला जस्ता बिषयमा टिप्पणी हुन्छ आम मान्छेको । उनले पनि काठमाडौंको बारेमा लेखेकी छन् । तर, अल्ली फरक तरिकाले । काठमाडौं नामक कवितामा भन्छिन्,
‘श्री ३ जङ्गबहादुर राणाद्वारा जारी
मुलुकी ऐनको महल घोकी घोकी तयार भएको 
पट्टु छ प्रशासक 
मास्टरको घुच्चुक र सहपाठीको खप्पर कुच्याएर 
राजनीतिको रोमान्च सिकेको 
गुण्डा नाईके छ नेता 
सत्ताको कलो पर्खेर 
हरदम ढोकाबाहिर रुंगीबसेजस्तो 
श्रीहीन छ पत्रकार 
जदौ मुद्रामा निहुरिंदा निहुरिन्दै 
उभिनै बिर्सिसकेको 
हुक्के जस्तो छ लेखेक’

अन्त्यको खण्डमा उनले ‘कारखाना जो चलिरहेको छ’ शिर्षकमा आफ्नो बारेमा आफैं लेखेकी छन् । माया ऐन्जेलोको कविताको हरफबाट सुरु गरेर उनि लेख्छिन् कविता नलेखेको भए के हुन्थे होला भन्ने आफ्नो कल्पना देखी के गर्ने भन्ने सम्मको ३४ पेज लामो लेखमा उनले ५० को दशकको पोखराको साहित्यिक परिवेश, महिलाको पक्षमा आफुँले किन लेख्छु, आफुँलाई एक्स्ट्रिमिस्ट वा राष्ट्रिय स्तरमा पुगे पछि तिमी पुरुष भयौ भन्ने सम्मका बिषयमा आलोचनात्मक भएर लेखेकी छन् । 
आफ्नो भनाईमा एक ठाउँमा उनि भन्छिन्, ‘आफ्नै विवेक र छटपटी खप्न नसकेर म लेख्छु ।’ पुरै किताब पढिसकेपछि उनको यो भनाई सहि लाग्छ । विवेकको दवाव र छटपटी पनि खपेर दुनिया हेर्न सक्ने मानिसले यस्ता कविता लेख्नै सक्दैन ।

(यो समिक्षा २०१५ तिर कान्तिपुर कोसेलीमा प्रकाशित भएको थियो |)

नथियाः आउट साईडरको बयान

on Tuesday, March 24, 2020

गहनालाई बन्धन पनि मानिन्छ, रुचि पनि मानिन्छ, समाजमा पनि महिला आन्दोलन भित्र पनि । सरस्वती प्रतिक्षाले आफ्नो किताबको नाम ‘नथिया’ भनेर सार्वजानिक गर्दै गर्दा अर्कि लेखक हरिमाया भेटवालको उपन्यास कल्ली भर्खरै बजारमा आएको थियो । हरिमाया भेटवालले महिलालाई बाध्ने बन्धनहरुलाई समेटेर ‘कल्लि’ लेखेकि छन् । त्यहि समयमा ‘नथिया’को नाम सार्वजानिक भए पछि महिलाका गहनालाई बन्धनको रुपमा ब्याख्या गरिएको होला भन्ने मेरो स्वभाविक जिग्यासा थियो नथिया प्रति ।
बिस्तारै नथिया वादी महिलाको कथामा केन्द्रीत किताब भने पछि म कहिले बजारमा आउला र पढौँला भनेर पर्खिरहेकि थिएँ । नथियाको सार्वजानिक समारोहको केहि हप्ता अगाडी वादी आन्दोलनकि एक जोदाहा दिदि उमा वादीलाई नेपाली कांग्रेसले प्रदेश सभाको सभाषद बनाए पछि महिला र सिमान्तकृत समुदाय प्रति सम्बेदनशिलहरुले एक पटक फेरि ६४ सालमा भएको वादी आन्दोलनको चर्चा सामाजिक सञ्जाल र संचार माध्यममा गरे । त्यो भन्दा फरक रुपमा कवि अभयले उमा वादीको नाममा लेखेको कविता थुप्रै ठाउँमा वाचन गर्दै आएका छन् । उक्त कविता वाचन पछि केहि कविहरुको विचमा वादी समुदायको संघर्ष र अहिलेको उपलब्धीको बारेमा कुरा हुने गरेको छ ।

त्यो बाहेक वादी समुदायमा गरिएका केहि अनुसन्धान बाहेक धेरैको ध्यान तान्ने गरि लेखिएको थिएन । नथिया ठूलो संख्याका पाठकलाई केन्द्रमा राखेर अहिले सम्म नलेखिएको एउटा जातिको कथामा केन्द्रीत छ । किताब पढ्न थाले पछि थाहा हुन्छ, नथिया एउटा गहना मात्रै होईन । वादी महिलाका लागि नथिया लगाउनु र नलगाउनुले उ यौन व्यवसायी हो कि होईन भन्ने पहिचान पनि हो । भनिन्छ, महिलाको प्रेम मुटुमा हुन्छ र पुरुषको प्रेम यौनअंगमा हुन्छ । नथियामा रहेका उप कथाका पात्रहरुले यो भनाईलाई निरन्तर पुष्टि गरिरहेको हुन्छ । हरेक युवतीको नथिया उतार्दाका सुस्केराहरु, एकै परिवारका दुई वाबु छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुबैको नथिया उतार्नु र उक्त छोरी उसैको भएका उप कथाले मन नै चिसो बनाउछ ।

नथिया शरीरको बजारमा एउटी रुपवान युवती र खासै रुप नभएका युवतीहरुको यौन ब्यापारको कथा हो । वादी महिलाका कथासँग थुप्रै कुन्ठित÷पिडित पुरुषहरुका कथाहरु पनि सँगसँगै जोडिएर आउँछन् । कथा र उपकथा मिलेको कारण कथा सरासर अगाडी बढ्ने हुँदा पाठकले झर्को मान्नु पर्दैन । उपन्यासमा वादी जातीको जानकारी मुलक तथ्यहरुले उपन्यासलाई अझै बल्लियो बनाएका छन् र यसरी साभार गरिएका तथ्यका स्रोतहरु लेखकले खुलाएकि छन् । जुन काम नेपालका धेरै लेखकले गर्दैनन् ।
बिहानको ३ बजे नथिया पढेर सक्दा लाग्यो, मैले खोजेको महत्वपूर्ण कुरा लेखकको कलममा परेनछन् । पहिलो कुरा, नथिया वादी महिलामा केन्द्रीत हुनु नै म पाठकको प्राथमिकतामा परेको हो । नेपालमा भएका महिला आन्दोलन माथि एकदमै कम लेखिएको कुरा एम एमा समाजशास्त्र पढ्दा थाहा पाए पछि यसमा मेरो गहिरो चासो छ । मेरो चासोको महिला आन्दोलनमा वादी आन्दोलन स्वभाविक र गाढा रुपमा आउँछ ।
शरीरको बजारमा सुन्दर रुप र शरीर भएका बादी महिलाले धेरै कमाएको कुरा पटक पटक लेखिएको छ । त्यसरी कमाएको पैसाले कसै कसैले सहरमा घर किनेका कथाहरु जोडिएको छ । मानौ वादी समुदायको लागि जग्गा वा घर किन्नु आम मानिसले जग्गा किन्नुमा कुनै फरक थिएन । यहिँ निर यस्ता उपकथाहरु लेखकले जानेर वा नजानेर छोडेकि छन् । अलि अलि आक्रोसका कथा लेख्न कोशिस गरे पनि वादीहरुको संघर्ष ब्यक्तिगत तहमा सिमित भएको छ ।

समग्रमा भन्नु पर्दा नथिया एउटा गम्भिर विषयमा गम्भिर भएरै लेख्ने प्रयास गरिएको छ । जसले एउटा पुरै समुदाय यौन ब्यापार गरेर विताउन विवस भएको र उक्त विवसता भित्रका मनै कुँड्याउने कथा बताउँछन् । तर, त्यो विवसताको आधार परम्परा र गरिबी भन्दा पर गएर कारण खोज्ने लेठो उपन्यासले गरेको छैन । त्यो सम्म त ठिकै नै थियो, स्रोत माथिको पहुँचका लागि वादी समुदायले गरेको संघर्ष एउटा कुवामा पानी भर्न नदिएको घटना भन्दा बढी कुरा गर्दैन । बिक्रम सम्बत् २०६४ सालको वादी आन्दोलन टेलिभिजनको पर्दामा हेरेर वादी समुदाय माथि उपन्यास लेख्न सुरुवात गरेकि भएपनि लेखकले वादी समुदायले गरेका सामुहिक संघर्षका कथाहरुमा पुरै आँखा चिम्लिएको उपन्यासले देखाउँछ । वादी समुदायका मानिसले आफ्ना छोराछोरी पढाउन, सानो जग्गा किन्नको लागि गर्नु परेको सामुहिक संघर्षका कथाहरु नभेट्दा, वादी महिलाले २०६४ सालमा काठमाडौमा ४८ दिन सम्म गरेको आन्दोलनको अवधारणापत्र मात्रै लेखकले पढेको भए, किताब यो भन्दा धेरै फरक आउँथ्यो होला कि ।
(२०६४ साल फागुनमा नेपाल खबरमा प्रकाशित)

लाहुरेकी छोरीले 'कहर' पढ्दा

on Monday, February 3, 2020


'समाजशास्त्रीहरू समाजका दुख्ख देखेर रुँदैनन्' भनेर दुई हप्ता अगाडी एम एका विधार्थीलाई पढाएका चैतन्य मिश्रलाई 'कहर'को बिमोचनमा राम्ररी बोल्न पनि सकस भयो | कार्यक्रम सकिए पछि हामी (चैतन्य सरका पछिल्ला एम ए बिधार्थी)ले 'सर किताब पढेर धेरै भाबुक हुनु भएछ' भनेर कुरा गर्यौं | यसै पनि नेपाली साहित्यको पछिल्लो केन्द्र आशुले भरिएको छ | पत्रकार जनकराज सापकोटाले आफ्नो दोश्रो कृतिमा पनि त्यहि प्रवृतिलाई पछ्याएका छन् | 
पछिल्लो समयमा लेखिएका आख्यान पढे पछि यस्तो लाग्छ, अहिलेका नेपालीको दुख्ख लेख्न कुनै कल्पना नै गर्नु पर्दैन | जे-जे छ त्यहि लेखे हुन्छ | मैले सोचे जस्तै जनक राज सापकोटाले 'कहर'मा हामीले हरेक दिन पाईला पाईलामा देखेका, सुनेका र भोगेका घटना/कथा लेखेका छन् | देखे, सुने र भोगेका कुरा जस्ताको तस्तै लेख्नुको अर्को राम्रो पाटो हो, हामीले भोग्ने समस्याको समाधान हुने बाटो वा स्थानको पनि कुरा गरिदिनु |
'कहर' पढ्दा मैले कयौं ठाउँमा आफुँ/आफ्नो परिवारलाई राखेर पढें, कति ठाउँमा आफ्ना आफन्तलाई राखेर हेरें | आफ्नै साथीहरू जो राती राती फेसबुकमा 'तँलाई पो तेरा बाले पढाए' भनेर भन्छन्, तिनीहरूले भनेका कुरा सम्झिएँ | 'नेपाल मै तीस चालिस हजार नियमित आम्दानीको ग्यारेन्टी भएका भए, विदेश किन आउँथे र ?' भन्ने विज्ञ भई सकेर पनि विदेश भासिएकाहरूको अन्तर्वार्ताहरू सम्झिएँ | सबै भन्दा बढी लाहुरे प्रथाका कारण बा र आमासँग एक साथ बाल्य काल बिताउन नपाएकी आफैं र आफ्नो परिवारलाई सम्झें |

२५ वर्षको उमेर सम्म बा र आमासँग एक साथ नबसेकी मैले मेरो छोरो जन्मे पछि केहि समय सँगै बस्ने मौका पाएँ | जब शरद मुस्कुराएर आखाँ-आँखाले बात मार्न थाल्थ्यो सरदलाई देखाउँदै मेरा बा भन्नुहुन्थ्यो 'ए बुढिया (बुवा खुसी हुनुभयो भने आमालाई बुढिया भन्नु हुन्छ) तैले मलाई केटा केटी यति राम्रा हुन्छन् भनेर किन भनिनस् ? बच्चा यति राम्रा हुन्छन् भन्ने थाहा पाएको भए म ज्यान जाला इन्डिया जाने थिईन ।'

मेरा बुबा, जो ५ वटा छाराछोरीको बुवा हुनुहुन्छ । बच्चा हुर्कदै गर्दा दिनदिनमा कसरी ठूला हुन्छन् भन्ने विषयमा थाहा थिएन । उहाँ हरेक सन्तान जन्मँदा न्वारान गर्न घरमा आउनु हुन्थ्यो । दुई महिना घरमा बस्नुहुन्थ्यो र फेरी जानुहुन्थ्यो । अर्को पल्ट घरमा आउँदा न्वारान गरेर गएको बच्चाले सबैलाई साईनो लगाएर बोलाउने भएको त हुन्थ्यो । तर, बाबाको साईनो जानेको हुँदैन्थ्यो । बाबा भन्न अगाडी नै उ काका मामा भन्न जान्ने हुन्थ्यो ।

सबै आफन्त भन्छन्, हामीले बालाई चिन्दैन्थ्यौँ । किन कि हामीलाई बाबा भनेको के हो थाहा थिएन । बाबाको माया कस्तो हुन्छ थाहा थिएन । हाम्रै लागि परदेशमा मरिमरि काम गर्ने बाको मूल्य हामीलाई थाहा थिएन । बुबा भन्नुहुन्छ,  हामी स्कुलबाट घरमा आउदा जसै पिढीमा बसेका बलाई देख्थ्यौ, आमा घरबाहिरै भए आमाको सारीको फेरमा लुक्थ्यौँ । आमा घरबाहिर नभए हामी आगनको डिलबाट फर्केर साथीहरुको घर तिर भागथ्यौं । आगनको डिलबाट फर्केर गएका हामीहरु साथीहरु बटुलेर तगारोको छेउबाट लुकि लुकि आफ्नो घरमा आएको नयाँ नयाँ मान्छे हेरेर बस्थ्यौँ । हामी सबैको काखमा बस्थ्यौ । तर बुवाले बोलाए रुन्थ्यौ । काखमा गएर बस्ने त परको कुरा । 
थाहा पाउँद सम्म हामीले बुवालाई मामा भन्ने गथ्र्यौ । किनकि बा मामा जस्तै सुकिला कपडा लगाएर आउनुहुन्थ्यो । हामीलाई खाने र लगाउने कुराहरुको पोको बोकेर आउनु हुन्थ्यो | अनि फेरि अनुहार विर्सने बेला सम्म आउनु हुँदैन्थ्यो । पाँचै सन्तान कसरी हुर्के, कसरी कोल्टे फर्कन नसकेर रोए । भरखर कोल्टो फर्कने बेलामा छाति अँठिएर कति रोए, कसरी आफ्नो दिसासँग घिन नमानी बसीरहे र कति कोसिस गरे पछि बल्ल बाबा भन्न सिके बुवालाई थाहा भएन ।
नत हामीलाई नै थाहा भयो, बुवाको छातीका रौ उप्काउनुको मज्जा । बुबाको दारिमा आफ्ना कलिला गालामा रगड्दा उठ्ने रिस, आमाले हप्काउँदा कुद्दै गएर लुक्ने छातीको तातो । सान्दाईले र मैले आमाले गाली गर्दा, पिट्दा कहिल्यै आशु झारेनौ । किनकी हामीले झारेको आशु पुछ्दै तेरी आमा छुच्चीभन्दै गाली गर्ने हाम्रो बुवा हाम्रो साथमा हुनुहुन्नथ्यो । कसैले होच्याए भने पनि हामीले कहिल्यै कसैलाई भनेनौ | हामीले भन्न सक्ने आमा हुनुहुन्थ्यो । तर हामीलाई थाहा थियो आमालाई पनि त मानिसहरु हेप्थे । हामीलाई धेरैले हेप्थे, सबै भन्दा बढी आफ्नैले हेप्थे | किनकी मेरा जहान केटाकेटीलाई हेप्छस्भन्दै पाखुरा सुर्कदैँ लड्न, भिड्न जाने हाम्रो साथमा कोही थिएन ।
विस वर्ष पहिला र अहिले पनि समाजको हेपाहा चरित्रमा खासै फरक आएको छैन । अहिले पनि विदेशमा काम गर्न जाने पुरुषकी श्रिमतीलाई समाजले सहयोग गर्दैन । केहि समय अगाडी म गाउँ गएको समयमा दुई दिमेकीको विचमा झगडा भयो, काम गर्ने मजदुरको विषयलाई लिएर मेरै उमेरकी एक महिला जसका श्रिमान साउदीमा काम गर्न गएका छन् र एक वृद्धा जसका छोरा बुहारी साथमै थिए
वृद्धा महिलाले युवती महिलालाई मन लाग्दी भनिन् । नेपाली समाजमा महिलालाई गरिने गालि जति सबै गरिन् ।थपमा भनिन्, ‘थारुसँग पल्केकी, फलानोसँगै सुत, ... थारु तेरो पोई हो ।सुन्ने गाउँ भरिका मान्छे थिए युवती महिलाले समाज जोड्न चाहिन | तर,  गाउँ तहका कुनै पनि पार्टीका मानिसले आउँछु भनेनन्, नत कुनै आमा वा बाउ समुह (उक्त गाउँमा टोल  नै पिच्छे आमा समूह र बाउ समूह छन्) का मानिसले सहभागिता जनाए । ती महिलाले जसजसलाई सहयोग माग्न गईन ति सबैको एउटै उत्तर थियो त्यो बुढी त्यस्तै हो । समाज जोडेर के हुन्छ ?उनले अन्तमा प्रहरीमा गाली बेईज्जतीको उजुरी दिईन ।
प्रहरी गाउँमा आए । गाउँलेसँगको सोध पुछ सुरु भयो ।
साँक्षी नम्बर एकले भनिन्, ‘मत बच्चालाई बोर्डिङ पठाउँदै थिए । हल्ला सुनेको त हो । बाझाबाझ गरेको झ्यालबाट देखेको त हो । कसले कसलाई के भनेका हुन् थाहा पाईन ।
साँक्षी नम्बर दुईले भनिन्, ‘म त बुढी हुँदै आए बाबै !  झगडा त देखेको हो । केके भयो थाहा भएन ।
साक्षी नम्बर तीन नेता ज्यूले भने, 'यस्तो जाबो सानातिना झगडाको लागि पनि प्रहरीहरु गाउँमा आउने हो ? यस्सो बुढी मान्छेले बुहारी सम्झेर हप्काएकी हुन् ।
साँक्षी नम्बर चार शिक्षकले भने, 'ह्यानोस् बुढीमाउको थुतुनै त्यस्तो । क्यार्नि सबैलाई चिडाउँछिन् । तर, जे पायो त्यहि भनेको त सुनिन है ।
वृद्धालाई सामान्य माफी मगाएर प्रहरी गाउँबाट फर्के । ति महिलाकी सात वर्षकी छोरी मेरै छेउमा थिई, आखा भरी आशु पारेकी, चुपचाप ! उसलाई देखेर खुब माया लागेको थियो | 'कहर' पढ्दा ती महिला र गाउँलेले गरेको व्यवहार धेरै पल्ट सम्झें | ती महिलाका त श्रीमान् अल्ली वर्ष घर फर्के | कहरमा धेरै महिलाका श्रीमान कहिल्यै घर आउन नसक्ने अवस्थामा छन् | तीनीहरुलाई  समाजले कस्तो व्यवहार देखाउला ?
'कहर' बढी नीति केन्द्रित छ | त्यसैले सरकारको कम्जोर नीतिले मानिसले भोगेका कष्टको बारेमा उनले लेखेका छन् | हुन त मानिसको ज्यान भन्दा, मान्छे परदेशमा मरे-बाँचेको पत्तो परिवारका सदस्यलाई नहुनु भन्दा ठूलो कुरा अर्को हुँदैन | तर, यहि बिषयमा कुनै समाजशास्त्रीले लेखेको भए, सायद छोरो विदेश गए पछि बुहारीले बेहोर्ने बुहार्तनको कुरा आउंथ्यो होला | समाजले कसरी विदेश गएका युवाकी श्रीमतीलाई अरु कुनै युवासँग जोडेर चर्चा गर्छ, अहिले जुनै गाउँमा जाँदा पनि 'लोग्नेले बिदेशमा कमाउँछ, उसले मस्ती गरेकी छे' भनेको सुन्न पाइन्छ | तर, पठाईएको पैसाको महिलाले कसरी पाइपाई हिसाब आफ्नो लोग्नेलाई बुझाउनु पर्छ भन्ने कुरा तिनै महिलाले जान्दछन्, जसका श्रीमान बिदेशमा गएका हुन्छन् | घरमा गाई-बाख्रा र छोराछोरी छोडेर बजार गएका महिलाहरू फर्किंदा ढिलो भयो र चिनेको कुनै गाउँलेको बाईकमा लिफ्ट पाइयो भने पनि बाईकको पछि बसेर घर फर्कन सक्दैनन् | यदि फर्के भने पनि उनले अन्य कुरामा सहयोग नगर्ने आफन्तलाई कैयौं प्रश्नका जवाफ दिनु पर्ने हुन्छ | चित्त बुझ्दो जवाफ नपाएमा, 'तेरी स्वास्नी अन्तै लागेकी छे है' भनेर फोन गरिदिने आफन्त प्रसस्तै हुन्छन् | समाजमा पढे लेखेका भनिने मानिस पनि एक दुई महिला पोइला गएको बिषयलाई लिएर, आम एक्लै खट्ने महिला माथी विदेश जानेकी श्रीमती पोइला जान्छे भनेर सामान्यकारण गरिदिन्छन् |
'कहर'ले रेमिट्यान्सको अँधेरो पाटोको कुरा गर्छ | गरिवीले पिल्सिएर विदेश जानेको कथा बताउँछ | यहि अँध्यारो पाटोको कुरा अल्ली धेरै मानिस सम्म पुग्न सके विदेश जाने क्रममा मानिस सचेत हुन्थे कि ?

Date :8 May 2016