पहिचानको खोजी: जानजातीय आन्दोलनको लैङ्गिक पाटो

on Friday, March 27, 2020



दुई वर्ष अगाडिको कुरा हो, सोसल साईन्स बहा:ले हरेक वर्ष गर्ने अन्तराष्ट्रिय सेमिनारको अन्तिम कार्यक्रममा नेपालका एक नाम चलेका विज्ञ नेपाली महिला माथी बोलिरहेका थिए | प्राय: विज्ञहरूले बोल्ने कुरा पनि त्यस्तै हुन्छ, जे हामीले दिनदिनै सुन्दै आएका हुन्छौं | ती वक्ताले 'आदिवासी महिला आर्थिक, सामाजिक, संस्कृतिक वा हरेक क्षेत्रमा पुरुष बराबर हैसियत राख्छन्' भन्ने लामो बिवरण पेश गरे | उनको प्रस्तुति सुन्दै गर्दा मेरो मनमा प्रश्न उठिरहेको थियो, 'त्यसो भए यो देशै आदिवासी महिलाले चलाएको हुनु पर्ने ? त्यति सम्पन्न र समानता भएर पनि किन छैन त समाजका हरेक क्षेत्रमा जनजाती महिलाको बल्लियो उपस्थिति ?' मेरो दिमागमा यस्ता 'किन'का किरा हरेक ठाउँ, हरेक कार्यक्रममा सल्बलाउँछन् | कतै सोधिहाल्छु, कतै सोध्न सक्दिन | नेपाली समाज बुझेका देश बिदेशका कपाल फुल्दै गरेका विज्ञहरूले भरिएको उक्त हलमा मैले मनमा उठेको प्रश्न गर्न सकिन | तर, दुई प्रश्न कर्ता पछि ठ्याक्कै मेरो मनमा उठेको प्रश्न एक जना साथीले सोधिन् | उक्त प्रश्नमा विज्ञको उत्तर सदाबहार 'बाहुन क्षेत्रि महिला माथीको दासता र जनजाती महिलाको स्वतन्त्रता' थियो | मलाई चित्त बुझेन | प्रश्न सोध्ने साथीको चित्त बुझ्यो कि बुझेन थाहा भएन |

यस्तो प्राय: हुने गर्छ, जब जनजाति महिलाका सवालमा पुरुष जनजातिहरूले बोल्न थाल्छन् | उनीहरू जनजाती महिला आर्थिक रूपमा सम्पन्न र सामाजिक-सांस्कृतिक रूपमा समान भएको लामो बिवरण प्रश्तुत गर्छन् | सुन्दा सहि नै लाग्छ किनकि पश्चिम नेपालका बाहुन/क्षेत्रि र दलित महिलाहरू महिनावारी जस्तो प्राकृतिक कुरामा पनि छाउगोठमा बस्छन, त्यहाँ सर्प-बिच्छी देखी मान्छे सम्मले ती महिलालाई सिकार बनाउँछन् | अन्य तिर पनि नेपाल भर महिनावारी बर्ने, त्यसको पाप कटानी गर्ने चलन छन् | त्यस्तो देशमा महिनावारी बार्नु नपर्ने महिलाहरू पुरुषसँग बढी समान लाग्नु स्वाभाविक हो | महिनावारी मात्रै किन र ? श्रीमानको खुट्टामा ढोग्नु पर्ने, खुट्टाको पानी खानु पर्ने, श्रीमानलाई सधैं आदर गरेर बोल्नु पर्ने तर श्रीमानले आदर गर्नु नपर्ने लगाएत विभेदको गहिरो खाडल भएका ब्राह्मण क्षेत्री समाज भन्दा त्यसो गर्न नपर्ने जनजाती समाज र महिला बढी समान र आफ्नै आर्थिक उपार्जन भएका महिला सम्पन्न छन् भन्नु स्वाभाविक हो |

तर, समानता र सम्पन्नताको डिग्री नाप्ने आधार के के हुन् ? कुन कुन हद सम्म जनजाति महिला समान र सम्पन्न छन् ? छन् भने किन बेचिन्छन त बम्बैको कोठीमा तामाङ महिलाहरू ? किन कुनै जनजातीय संगठनका अध्यक्ष महिला छैनन् ? किन कुनै जनजाती महिला कुनै राजनीतिक दलको प्रभावशाली पदमा छैनन् ? सायद यस्ता प्रश्न हामी जस्ता (बाहुन क्षेत्रि समुदायमा हुर्के बढेका) धेरै युवाहरूको मनमा उठ्नु स्वाभाविक हो |
भर्खरै बजारमा आएको कैलाश राई द्वारा सम्पादित 'पहिचानको खोजि: आदिवासी जनजाति महिलाका सामाजिक सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६-२०७३)' कृतिले माथीका प्रश्नहरूको केहि हद सम्म जवाफ दिन्छन् | यो किताबले मुख्य गरेर दुई बिषयलाई दह्रो सँग उठाएको छ | पहिलो, महिला भन्दैमा सबै महिला एकै हुँदैनन्, उनीहरूका जीवन, समस्या र मुद्दा एकै हुँदैनन् | नेपालका हिन्दु महिला र आदिवासी महिलाका सबै समस्या एकै प्रकारका छैनन् | केहि समस्या समान छन् केहि समस्या फरक छन् | दोश्रो, जनजाति समाजमा पनि महिला र पुरुषको बिचमा विभेदको खाडल गहिरो छ | जरुर बाहुन-क्षेत्रि समुदायको तुलनामा जनजाती महिला बढी समान, आत्मनिर्भर र स्वतन्त्र छन् | तर जनजाती समुदाय भित्रै, जनजाती संघ संगठनमा, जनजाती पुरुषका तुलनामा ? यसको उत्तर अल्ली फरक आउँछ | जुन आदिवासी जनजाती महिलाको संगठन गर्दाको समय देखी मगर बिधार्थी संघको अध्यक्षमा महिला उठ्दा सम्म जनजाती पुरुषहरूले गरेको असहयोगका उदाहरणहरूले पुष्टि गर्छन् |

सात खण्डमा विभाजित कृतिमा २3 लेखकका २५ लेख समावेश छन् | २३ जनाले लेखेको भए पनि अनुसन्धान मूलक लेखहरू पनि समावेश भएको कारण कृति भित्र एंगेल्स देखि मगर बिधार्थी संघकी अध्यक्ष रेनुका काउछा सम्मका मानिसका विचार र अनुभव संगालिएका छन् | किताबको पहिलो खण्ड 'सांस्कृतिक चिनारी' र थारूमहिला माथीको लेखलाई छोड्ने हो भने यो किताब 'इन्साईडर' हरूको संघर्षको अनुभव, दृष्टिकोण र विश्लेषणहरूको सँगालो हो | पहिलो खण्ड, जसलाई संस्कृतिक चिनारी नाम दिईएको छ | त्यहाँ छ जनजाति महिला समुदायको बारेमा चार जना बाहुन, २ जना नेवार र एक जनाले जनजाति महिलाको जीवन, समानता, स्वतन्त्रताका कुरा उठाएका छन् | खण्ड दुईलाई 'संगठन' नाम दिईएको छ | जसमा लामो समय देखि महिला, जनजाति र दलितको पक्षमा प्राज्ञिक आधारमा टेकेर पैरवी गर्दै आएका प्राध्यापक कृष्ण भट्टचनको लेखले आदिवासी महिलाको छुट्टै संगठनको जरुरी किन छ भन्ने भन्ने बिषयमा केन्द्रित छ | त्यसै खण्डको अर्को लेखमा किताबकि सम्पादक पनि रहेकि कैलाश राईले राष्ट्रिय आदिवासी जनजाती महिला संगठन किन, कसरी, कुन उदेश्यले गठन भएको थियो ? त्यसले के के काम गरिरहेको छ ? कुन कुन मुद्दा उठाएको छ ? र यो महासंघको औचित्य के छ भन्ने बिषयमा मिहिन रूपमा लेखेकी छन् |

तेस्रो खण्डले जनजाति महिलाका समस्या, ती समस्याको जगमा उठेको आन्दोलन र त्यो आन्दोलनका क्रममा भोग्नु परेका समस्याहरूमा केन्द्रित रहेका छन् | चौथो खण्ड संबिधान/राज्य पुनर्संरचनामा रहेका लेखहरूले संबिधानसभा मार्फत समेटिनु पर्ने मुद्दाको फेहसिस्त छ | तर, संबिधान निर्माणकार्य सकिएको झन्डै ७ महिना पछि निस्केको किताबले संबिधानमा ति मुद्दा समेटिए कि समेटिएनन् वा कसरी समेटिए, किन समेटिएनन् भन्ने कुनै लेख समावेश छैन |

खण्ड पाँचमा विवेचना/विश्लेषण नाम मा छ लेख समावेश गरिएको छ | अनुसन्धानका जगमा लेखिएका यिलेख धेरैलाई मन पर्ने खालका छन् | यो खण्डमा राजनीतिक नेतृत्वमा जनजाती महिलाको उपस्थिति, आदिबासी जनजाती महिलाका सामाजिक आन्दोलन, पहिचान र अधिकारका लागि लडिरहेका आदिवासी जनजाति महिला, कम्लारी र उनीहरूको शिक्षाको अवस्था, मगर जाति (जो भूगोल र समाज अनुसार फरक फरक छन्) हरू भित्र महिलाको अवस्था कस्तो छ, सबै ठाउँका मगर महिलाहरू उस्तै छन् कि फरक छन् ? तामाङ महिलाको अवस्थाको बारेका मिहिन रूपमा लेखिएका छन् | खण्ड छमा बैदेशिक रोजगार र जनजाति महिलाको अवस्थामाथी दुई लेख छन् | दुवै लेखले शिक्षाको कमि, कम्जोर आर्थिक अवस्था र सरकारको विभेदकारी नीतिले कसरी जनजाती महिलालाई जानी नजानी बैदेशिक रोजगारमा जान बाध्य पारेका छन् भन्ने बिषयमा प्रकाश पारेका छन् |

बिक्रम सम्बत् २०१६ साल देखी २०७३ साल सम्मको काल खण्डमा प्रकाशित भएका लेखहरूको संगाल्ने क्रममा सम्पादकले गरेको मेहनत निक्कै सर्हानिय छ | समग्रमा भन्नु पर्दा जनजाती पुरुषहरूले 'हाम्रो समुदायमा महिलाहरू हरेक क्षेत्रमा समान छन्' भन्ने भनाईको र मुलधारको नेपाली नारीवादी आन्दोलनले 'सबै महिला एकै' भनेर गरिरहेको ब्याख्या पनि गलत भएको कुरालाई किताब भित्रका लेखहरूले खण्डन गरेको छ | त्यसरी खण्डन गर्ने आधारहरू कृतिमा प्रशस्त भेटिन्छन् | आदिवासी जनजाति महिलाका कुरा नत मुलधारको नारी वादले बोकेर हिंडेको छ, नत आदिवासी जनजाति आन्दोलनले नै बोकेको छ | आदिवासी जनजाती, तिनको आन्दोलन र नेपालको महिलावादी आन्दोलनको बारेमा चासो राख्ने जो कसैले एक पटक पढ्नै पर्ने किताबको रूपमा यसलाई लिन सकिन्छ |
(२६ नोभेम्बर २०१६ मा कान्तिपुर कोसेलीमा प्रकाशित) फोटो : कैलाश राईको फेसबुकबाट !

1 comments:

ङोर said...

कमरेड! आदिवासी पुरुषहरूले आदिवासी भित्र मातृसत्ता थियो । त्यसको अवशेषहरू आदिवासी भित्र अझै पाइन्छ भन्ने अरू तर्क पनि गर्छन् है । त्यो पनि राख्न पाए गज्जब हुन्थ्यो । #कुरो नि ।

Post a Comment