द्वापर युगका रानी महारानीहरूको कथा

on Thursday, March 26, 2020

ऋषि ब्यासले लेखेको भनिने एकलाख श्लोक रहेको महाभारतको कथा माथि धेरै उपकथा र पटकथाहरू लेख्नेको ताँतीमा नेपाली लेखिका निलम कार्की निहारिकाले पनि महिला पत्रका नजरबाट उपन्यास लेख्ने जमर्को गरेकी छन् । उपन्यासको नाम पनि ‘चिरहरण’ दिएर ! उपन्यासको नाम नै तर्साउने खालको छ । जुन बिषय माथि लेखिएको भए पनि पाँच सय छब्बीस पेजको मोटो उपन्यासमा समाजको कुरूपतालाई चित्रित गरिएको हुनु पर्छ भन्ने जो कोहीको अनुमान हुन्छ । उपन्यास पढी सक्दा पाठकको उक्त अनुमान खेर जान्दैन । 

उपन्यासको पाना पल्टाउँदै गर्दा समर्पण खण्डमा लेखिकाले यो उपन्यास महाभारतको कथामा लेखिएको भन्दा फरक प्रकारले लेख्न चाहेको तर अहिलेको नेपाली समाजमा रहेको विसंगति महाभारत कालिन समयमा भन्दा फरक नरहेको स्पष्टिकरण दिएकी छन् । उनको उक्त स्पष्टिकरण पढे पछि लामो समय सशस्त्र द्वन्द्ध भोगेको नेपालली समाजको अहिलेको विसंगतीलाई महाभारत कालिन पत्रहरूसँग जोडेर लेखेकी होलान् भन्ने स्वाभाविक अनुमान रहन्छ । जुन किताबको सुरुवात खण्डमा मै टुट्छ । जहाँ महाभारत कृति भित्रका महिला पात्रको सम्मेलन र उनीहरूले आ—आफ्ना कुरा राख्ने भनिन्छ । तर पनि कतै उपन्यासको अन्त तिर अहिलेको नेपाली समाजको बीभत्सता र महाभारतको कथा कतै जोडिन्छ कि भन्ने आस रहन्छ । जुन कहीं गएर जोडिन्न ।
किताबको समिक्षा सुरु गर्न भन्दा अगाडी म आफ्ना केहि गन्थन लेख्न चाहन्छु, नेपालमा पछिल्लो समयमा प्रकाशित आख्यानका किताब पढे पछि मैले गरेका टिप्पणी सुन्ने मेरा आख्यान पारखी साथीहरूले मलाई बेला बेला सल्लाह दिन्छन्, ‘आख्यान भनेको मन सहित पढ्ने कुरा हो, विचार सहित कुरा पढ्ने होइन’ अर्थात् आख्यान मज्जाको लागि वा समय कटाउन पढ्ने हो भन्ने उनीहरूको आग्रह हुन्छ । मात्रै मनको आनन्दको लागि आख्यान पढिन्छ भन्ने कुरा कति हद सम्म ठिक हो वा होईन म जान्दिन । त्यसमाथि धेरै तर्क कुतर्क गर्न सकिन्छ । नेपाली साहित्य बाजारमा आख्यान आख्यान जस्तो हुनुपर्छ, पार्टीको दस्ताबेज जस्तो हुनुहुन्न भन्ने धारणा एकातिर छ भने आख्यान पनि विचार सहित लेखिन्छ पढिन्छ भन्ने धारणा पनि बल्लियो रहेको पाईन्छ । म साहित्य विचार बिहिन हुन्न भन्ने मान्छु र त्यसलाई समाजसँग जोडेर हेर्छु । मेरो राम्रो पक्ष पनि यहि हो र नराम्रो पक्ष पनि यहि हो ।

मैले यो उपन्यास सके सम्म मात्र एक पाठक भएर पढ्छु भनेर कोशिस गरें । तर पनि पढिरहँदा, म भित्रको महिलावादी सोच र समाजशास्त्रको बिधार्थीले खुब हल्ला गरिरहे । मेरो मात्र पाठक हुने कोशिसले किताबको शुरुवात देखी नै हावा खायो । त्यसैले मैले यो उपन्यास तीन थरी (मज्जाको लागि पढ्ने आम पाठक, नारीवादी र समाजशास्त्रको बिधार्थी) पाठक भएर पढ्दा उपन्यास कस्तो लाग्यो भन्ने बारेमा लेख्ने छु  ।

सामान्य पाठक भएर पढ्दा उपन्यास निक्कै रमाईलो खालको छ । साना साना वाक्य र ति वाक्यले बोक्ने अर्थ स्पष्ट छ । प्रसङ्गहरूको सिलसिला निकै राम्ररी मिलाईएको छ जुन किताबको सुरु देखी अन्त्य सम्म छुट्दैन । नेपालमा धेरै आमा र हजुरआमाले केटाकेटीलाई कथा सुनाउने प्रचलन रहेको छ । बाहुन क्षेत्री परिवारमा हुर्केका कैयौं बालबालिकाले महाभारतको कथा धेर थोर पहिल्यै सुनेका हुन्छन् । त्यस्तो पारिवारिक व्यवस्थामा महाभारतका कथा सुनेकाहरूलाई उपन्यास पढ्दा आमा हजुरआमाले सुनाएका कथा नै दोहोर्याएर पढे जस्तो लाग्छ । फरक के छ भने बाल्यकालमा सुनेका टुक्रा टाक्रे कथाहरूलाई एउटा धागोमा उनेर लेखिकाले उपन्यास पूर्ण कथा बनाईएकि छन् । बाल्यकालमा महाभारत नपढेका मानिसहरूलाई महाभारतको मोटामोटी ज्ञान हासिल गर्न र के भएको थियो त महाभारतमा भन्ने चासो भएकाहरूलाई उपन्यास केहि सहयोगी हुन्छ । उपन्यासमा महिला पत्रहरूलाई भेला गराएर महिलाको मुखबाट भन्न लगाईएको भए पनि महाभारतको सारांश जस्तो छ । उपन्यास आनन्दको लागि पढ्ने हो भन्न पाठकलाई यो उपन्यासले आनन्द दिन्छ । बिचमा पढ्नै झर्को लाग्ने अवस्था आउँदैन । पत्र र घटनालाई कलात्मक हिसाबले प्रस्तुत गरिएको छ । द्वापर युगको कथा भएको कारण हो वा रानी महारानीको कथा भएर हो बोलीचालीको भाषा परम्परागत राजशी खस भाषाको प्रयोग गरिएको छ । उपन्यासको वातावरण प्राचिन लाग्ने गरि कल्पना गरिएको छ, जसले गर्दा पाठकले द्वापर युगमा नै पुगेको महशुस गर्न सक्छन् । 

अब एक नारीवादिको नजरबाट हेर्दा किताब कस्तो देखिन्छ त ? किताबको बाहिरी गातामा लेखिकाको बारेमा लेखिए अनुसार लेखिका नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने लेखक हुन् रे । सायद घुमाएर उनि नारीवादी लेखक हुन् भन्न खोजिएको होला । सोझै नारीवादी भन्ने आँट नआएर यस्तो लेखिएको पनि होला (कतै नारीवादी भएर आफ्नो घर बिगार्न चाहन्न भन्ने शिर्षकको लेखिकाको अन्तर्वार्ता पनि आएको थियो) । उपन्यास द्वापर युगमा भएको भनिने भारतको कुरू क्षेत्रको युद्ध विवरण कृति महाभारतका नारी पात्रहरूको भेला र ती नारी पात्रको मन्तव्यमा केन्द्रित गरेर लेखिएको हुनाले सायद यो नारीवादी कोणबाट लेखिएको भनेर लेबल लाग्ने छ ।

जब लिंग, जात, धर्म वा अरु थोक एकै भएको कारण समान भन्ने कुरा आउँछ, मलाई कबड्डी कबड्डी फिल्ममा कुखुराको भालेको रगतले चिठ्ठी लेख्दै गरेका पात्रहरूले गर्ने संवादको झल्को आउँछ । जहाँ चिठ्ठी लेख्नेले भन्छ, ‘यो त कुखुराको रगत भयो’ । अनि लेखाउनेले भन्छ, ‘लेख रगत सबैको रातै हुन्छ’ । कहिले काहिँ म सोच्छु ‘के रगत सबैको रातै हुने भए हरेक जनावर र मानिस एकै हुन् त ?’ रातै रगत भित्र कति धेरै कुरा फरक हुन्छ भन्ने कुरा ल्याबमा लगेर जाँचे पछि थाहा हुन्छ सतही हेराईमा कसरी थाहा हुन्छ ? एउटा डाक्टरले कसैको रगत ल्याबमा हेरेर भन्न सक्छ त्यो रगत धनीको हो कि गरिवको हो । दिनरात मजदुरी गरेर पसिना बगाउने को हो कि, शारीरबाट पसिनाको थोपै नखास्नेको हो ? 

नारीवादी कुरा पनि त्यस्तै हुन् । महिलाका कुरा आउने बित्तिकै नारीवादी कुरा भनिन्छ । नारीवाद भित्र पनि धेरै फरक कुराहरू छन् । महिलाका कुरामा पनि कुन आर्थिक—सामाजिक हैसियतकि महिला भन्ने हुन्छ । महिलाका कुरा भन्दैमा तिनले आम महिलाका कुरा समेटेका नै हुँदैनन् वा हुन्छन् भन्ने हुँदैन । चिरहरण उपन्यासले पनि रानी महारानी र तीनका वरपरका केहि महिलाका कुरा गर्छ अर्थात एलिटका महिलाका कुरा गर्छ । बेला बेलामा द्रौपदीले ‘पाँच वीर पति, पाँच वीर पुत्र, वीर पिता र दाजु, श्रीकृष्ण जस्तो महानपुरुषकी साथीको त यो हालत छ भने आम महिलाको के हालत होला ?’ भनेर गर्ने प्रश्न र रातको समयमा एक सर्वसाधारण सासु—बुहारीले गरेको कुराकानी बाहेक आम महिलाको कुरा उपन्यासमा कतै आउँदैन ।

अहिलेका नेपाली महिलाको अवस्था र द्वापर युगका रानीमहारानीको कसरी तुलना हुन सक्छ ? बरु अहिलेका रानी महारानी बन्ने महिलाको कुरा भनेको भए हुन्थ्यो । न त द्वापर युगका रानी महारानी र आम महिलाको दुख्ख एकै थिए न त अहिलेका एलिट महिला र आम महिला एकै दुख्ख भोग्छन् । उपन्यासका हरेक महिला पात्रलाई जसरी महाभारतमा अवला देखाईको थियो त्यसै पारामा अबला देखाईएको छ । भनिन्छ, ‘साहित्य लेखनमा लेखकले बढी आफ्नै स्वभाव लेख्छ’, यस उपन्यासमा सायद लेखकको स्वभावको छाया होला हरेक महिला पात्र बढो रुन्चे, मिलनसार, समझदार रूपमा प्रश्तुत गरिएको छ । सौता सौता, देउरानी—जेठानी, सासु—बुहारी बिचको प्रेम धेरै ठाउँमा अमिल्दो लाग्छ ।

उपन्यासको आधा हिस्सा केन्द्रीय पात्र द्रौपदीको लागि खर्च गरिएको छ । उपन्यासमा लेखकका कुरामा उनले बिधालय पढ्ने उमेरमा ‘द्रौपदीको हाँसोको कारण महाभारतको युद्ध भएको’ भन्ने भनाई सुनेकी लेखिकाले द्रौपदीको कारण महाभारतको युद्ध नभएको पुष्टि गर्न कोशिस गरेको जस्तो पनि लाग्छ । महाभारतको युद्ध पाण्डव पक्षले नचाहेको, द्रौपदी र भीमले आफ्नो प्रतिज्ञा पनि भुल्न चाहेको तर कौरब पक्षको कारण युद्ध भएको भन्ने छनक आउँछ ।

यति धेरै निरिह त द्वापर युगका रानीहरू पनि पक्कै थिएनन् होला, न त अहिलेका नेपाली महिला छन्  । पाईला पाईलामा समाजले उठाउने प्रश्नका पर्खाल भत्काउँदै अगाडी बढ्न खोजिरहेका छन् । के तिनीहरू रुन्चे छन् ? द्रौपदी झैँ एउटा परिवारका सासु बुहारीको कुरा सुन्दैमा आफ्नो प्रतिज्ञा बिर्सन्छन् ? यो उपन्यासको समिक्षा लेख्दै गर्दा नेपालमा पहिलो पटक प्रधान न्यायाधीशको पदको सपथ महिलाले लिँदै थिईन र सपथ गराउने पनि महिला नै थिईन । यो न उपन्यासले न द्वापर युगका आम महिलाको कथा भन्छ, न अहिले नेपाली समाजका महिलाको कथा भन्छ । विचार सहित पढ्ने पाठकलाई यो किताब महाभारतका महिला पात्रको कथा कपि पेस्ट गरेको जस्तो वा कुनै टेलिफिल्मको लागि लेखिएको पठकथा जस्तो मात्रै लाग्छ ।
उपन्यासको सुरुको समर्पण र अन्तको आफ्नो भनाईमा लेखिकाले महाभारतका महिला पात्रले भोगेका समस्या र अहिलेको हाम्रो समाज उस्तै हुनाले यो उपन्यास लेखिएको भनेर दावी गर्नु भन्दा बरु महाभारत कालिन समयका महिला पात्रले अहिलेका महिला पत्रको जस्तो सभा सम्मेलनमा भाग लिन पाउने भए कस्तो कुरा गर्थे होलान् वा उनीहरूसँग कसैले सोधे के भन्दा हुन् भनेर मैले यसरी कल्पना गरेर उतारें भनेको भए हुन्थ्यो कि भन्ने लाग्यो ।

समाजशास्त्रीय नजरबाट हेर्दा मानव ईतिहासको लामो समय सम्म इतिहास लेखन जितेका राजाको स्वस्ति गान गर्न उसलाई हिरो बनाएर लेखिन्थ्यो । भने, हारेका राजाहरूलाई भिलेन बनाएर लेखिन्थ्यो । ती बाहेको ईतिहास सायदै लेखियो होला भनिन्छ । त्यो नलेखिएको इतिहास लोक कथाहरू, गीत मार्फत समाजमा रहिरहेका हुन्छन् । पुस्तान्तरणको क्रममा ती कति सम्पादित हुदै आएका होलान् । महाभारतको कथा पनि इतिहास लेखनको त्यहि पुरानै धारमा थियो । त्यसलाई लेखिकाले कलात्मक रूपमा लेखेकी भए पनि समग्रमा महाभारतको कथामा मुनि व्यासले जुनजुन पत्रलाई जुन रूपमा प्रस्तुत गरेका छन् लेखिकाले ति पात्रहरूलाई त्यहि रूपमा प्रस्तुत गरेकी छन् । वा फरक कोणबाट हेर्ने झन्झट गरेकी छैन । महाभारतको कथामा भएका केहि अबैज्ञानिक लाग्ने कुराहरू उपन्यासमा पनि जस्ताको त्यस्तै दोहोर्याईएको छ । जस्तो कि द्रौपदीलाई नंग्याउन गरिएको कोशिस रोक्न कृष्णले उनको लुगाको कहिल्यै अन्त्य नहुने गरि गरेको सहयोग, एकै पटकको गर्भबाट गान्धारी एकसय छोरा र एक छोरी जन्माएको, मत्यगन्धा सत्यवतीले जन्माएका ब्यास जन्मेकै दिन पिता (बा) परासरसँग यज्ञमा सामेल भएको भन्ने कुरा वा कुन्तीले कल्पना गर्दैमा देवता प्रकट भएको र तिनीहरूबाटै सन्तान जन्मेको भन्ने कुरा पत्याउने खालको छैन । 

अन्तमा भन्नु पर्दा लेखिकाले भाषामा निकै मेहनत गरेको देखिन्छ, उपन्यासलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा । पत्रहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा लेखकको स्वतन्त्रताको कुरा हो । त्यसलाई कसरी स्वीकार्ने वा प्रतिक्रिया व्यक्त गर्ने भन्ने कुरामा पनि पाठक स्वतन्त्र रहन्छन् । सुरुमा भनिए जस्तै मात्र रमाईलोको लागि पढ्ने सिकारू पाठकलाई यो उपन्यास राम्रो लाग्ने छ । आख्यानमा कला सर्वोपरी हो विचार होइन भन्नेहरूलाई कलाको हिसाबले हेर्दा यो एक उत्कृष्ट उपन्यास लाग्नेछ । महिलाको कोणबाट लेखिएको कारण कतिलाई यो महाभारतको नारीवादी ब्याख्या जस्तो लाग्ने छ । तर, केहि गम्भीर पाठक जसले महाभारत माथी लेखिएका हिन्दि र अंग्रेजी किताब पनि पढेका छन् तिनलाई यो असली महाभारतको सारांश मात्रै लाग्ने छ ।

(यो समिक्षा २०१५ मा लेखिएको भए पनि बिबिध कारणले प्रकाशित भएको थिएन )

0 comments:

Post a Comment