नथियाः आउट साईडरको बयान

on Tuesday, March 24, 2020

गहनालाई बन्धन पनि मानिन्छ, रुचि पनि मानिन्छ, समाजमा पनि महिला आन्दोलन भित्र पनि । सरस्वती प्रतिक्षाले आफ्नो किताबको नाम ‘नथिया’ भनेर सार्वजानिक गर्दै गर्दा अर्कि लेखक हरिमाया भेटवालको उपन्यास कल्ली भर्खरै बजारमा आएको थियो । हरिमाया भेटवालले महिलालाई बाध्ने बन्धनहरुलाई समेटेर ‘कल्लि’ लेखेकि छन् । त्यहि समयमा ‘नथिया’को नाम सार्वजानिक भए पछि महिलाका गहनालाई बन्धनको रुपमा ब्याख्या गरिएको होला भन्ने मेरो स्वभाविक जिग्यासा थियो नथिया प्रति ।
बिस्तारै नथिया वादी महिलाको कथामा केन्द्रीत किताब भने पछि म कहिले बजारमा आउला र पढौँला भनेर पर्खिरहेकि थिएँ । नथियाको सार्वजानिक समारोहको केहि हप्ता अगाडी वादी आन्दोलनकि एक जोदाहा दिदि उमा वादीलाई नेपाली कांग्रेसले प्रदेश सभाको सभाषद बनाए पछि महिला र सिमान्तकृत समुदाय प्रति सम्बेदनशिलहरुले एक पटक फेरि ६४ सालमा भएको वादी आन्दोलनको चर्चा सामाजिक सञ्जाल र संचार माध्यममा गरे । त्यो भन्दा फरक रुपमा कवि अभयले उमा वादीको नाममा लेखेको कविता थुप्रै ठाउँमा वाचन गर्दै आएका छन् । उक्त कविता वाचन पछि केहि कविहरुको विचमा वादी समुदायको संघर्ष र अहिलेको उपलब्धीको बारेमा कुरा हुने गरेको छ ।

त्यो बाहेक वादी समुदायमा गरिएका केहि अनुसन्धान बाहेक धेरैको ध्यान तान्ने गरि लेखिएको थिएन । नथिया ठूलो संख्याका पाठकलाई केन्द्रमा राखेर अहिले सम्म नलेखिएको एउटा जातिको कथामा केन्द्रीत छ । किताब पढ्न थाले पछि थाहा हुन्छ, नथिया एउटा गहना मात्रै होईन । वादी महिलाका लागि नथिया लगाउनु र नलगाउनुले उ यौन व्यवसायी हो कि होईन भन्ने पहिचान पनि हो । भनिन्छ, महिलाको प्रेम मुटुमा हुन्छ र पुरुषको प्रेम यौनअंगमा हुन्छ । नथियामा रहेका उप कथाका पात्रहरुले यो भनाईलाई निरन्तर पुष्टि गरिरहेको हुन्छ । हरेक युवतीको नथिया उतार्दाका सुस्केराहरु, एकै परिवारका दुई वाबु छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुबैको नथिया उतार्नु र उक्त छोरी उसैको भएका उप कथाले मन नै चिसो बनाउछ ।

नथिया शरीरको बजारमा एउटी रुपवान युवती र खासै रुप नभएका युवतीहरुको यौन ब्यापारको कथा हो । वादी महिलाका कथासँग थुप्रै कुन्ठित÷पिडित पुरुषहरुका कथाहरु पनि सँगसँगै जोडिएर आउँछन् । कथा र उपकथा मिलेको कारण कथा सरासर अगाडी बढ्ने हुँदा पाठकले झर्को मान्नु पर्दैन । उपन्यासमा वादी जातीको जानकारी मुलक तथ्यहरुले उपन्यासलाई अझै बल्लियो बनाएका छन् र यसरी साभार गरिएका तथ्यका स्रोतहरु लेखकले खुलाएकि छन् । जुन काम नेपालका धेरै लेखकले गर्दैनन् ।
बिहानको ३ बजे नथिया पढेर सक्दा लाग्यो, मैले खोजेको महत्वपूर्ण कुरा लेखकको कलममा परेनछन् । पहिलो कुरा, नथिया वादी महिलामा केन्द्रीत हुनु नै म पाठकको प्राथमिकतामा परेको हो । नेपालमा भएका महिला आन्दोलन माथि एकदमै कम लेखिएको कुरा एम एमा समाजशास्त्र पढ्दा थाहा पाए पछि यसमा मेरो गहिरो चासो छ । मेरो चासोको महिला आन्दोलनमा वादी आन्दोलन स्वभाविक र गाढा रुपमा आउँछ ।
शरीरको बजारमा सुन्दर रुप र शरीर भएका बादी महिलाले धेरै कमाएको कुरा पटक पटक लेखिएको छ । त्यसरी कमाएको पैसाले कसै कसैले सहरमा घर किनेका कथाहरु जोडिएको छ । मानौ वादी समुदायको लागि जग्गा वा घर किन्नु आम मानिसले जग्गा किन्नुमा कुनै फरक थिएन । यहिँ निर यस्ता उपकथाहरु लेखकले जानेर वा नजानेर छोडेकि छन् । अलि अलि आक्रोसका कथा लेख्न कोशिस गरे पनि वादीहरुको संघर्ष ब्यक्तिगत तहमा सिमित भएको छ ।

समग्रमा भन्नु पर्दा नथिया एउटा गम्भिर विषयमा गम्भिर भएरै लेख्ने प्रयास गरिएको छ । जसले एउटा पुरै समुदाय यौन ब्यापार गरेर विताउन विवस भएको र उक्त विवसता भित्रका मनै कुँड्याउने कथा बताउँछन् । तर, त्यो विवसताको आधार परम्परा र गरिबी भन्दा पर गएर कारण खोज्ने लेठो उपन्यासले गरेको छैन । त्यो सम्म त ठिकै नै थियो, स्रोत माथिको पहुँचका लागि वादी समुदायले गरेको संघर्ष एउटा कुवामा पानी भर्न नदिएको घटना भन्दा बढी कुरा गर्दैन । बिक्रम सम्बत् २०६४ सालको वादी आन्दोलन टेलिभिजनको पर्दामा हेरेर वादी समुदाय माथि उपन्यास लेख्न सुरुवात गरेकि भएपनि लेखकले वादी समुदायले गरेका सामुहिक संघर्षका कथाहरुमा पुरै आँखा चिम्लिएको उपन्यासले देखाउँछ । वादी समुदायका मानिसले आफ्ना छोराछोरी पढाउन, सानो जग्गा किन्नको लागि गर्नु परेको सामुहिक संघर्षका कथाहरु नभेट्दा, वादी महिलाले २०६४ सालमा काठमाडौमा ४८ दिन सम्म गरेको आन्दोलनको अवधारणापत्र मात्रै लेखकले पढेको भए, किताब यो भन्दा धेरै फरक आउँथ्यो होला कि ।
(२०६४ साल फागुनमा नेपाल खबरमा प्रकाशित)

0 comments:

Post a Comment