प्रश्नहरुको कारखानाः निर्मम कविताहरुको सँगालो

on Wednesday, March 25, 2020


तीन वर्ष अगाडी सरिता तिवारीको ‘दैनिकी’ नामक कविता पढे मलाई लागेको थियो, नेपाली साहित्यमा अब एउटा दमदार लेखकको आगमन हुने भयो । पछिल्लो दशकको नेपाली साहित्य बजारमा कविता, कथा वा निबन्धमा अलि कति चर्चा पाए पछि उपन्यास लेख्ने र लेखक नामले चिनिने चलन बढ्दो छ । सरिताका कविता, निबन्ध पढे पछि र केहि ठाउँमा उनका कुरा सुने पछि लाग्यो, उनि कविरलेखक हुन कम र परिवर्तन कि सम्बाहक बढी हुन चाहने मानिस हुन् ।

उनै सरिता तिवारीको पछिल्लो कविता कृति ‘प्रश्न हरुको कारखाना’ भर्खरै बजारमा आएको छ । किताब भित्र पाँच खण्ड छन्, ‘बिजेता’, ‘आदिवासी’, ‘के तिमीले मलाई आविष्कार गर्यौं ?’, ‘युद्दको सौन्दर्य’ र ‘कारखाना जो चलिरहेको छ’’ नाममा ।
बिजेता खण्डमा उनको एउटा मात्रै कविता छ, जुन कुनै साना केटाकेटी, आफ्ना छोरा छोरी वा विधार्थीलाई लेखिएको जस्तो लाग्छ ।
आदिवासी शिर्षकमा रहेका पाँच कविताहरुले बिशेष गरी चितवन, त्यहाँका आदिवासी, गरिवी, पर्यावरण, अगाडी बढ्न चाहने छोरीको चाहना र त्यहाँ बोलिने थारु भाषालाई समेटेर लेखेकी छन् । आदिवासी नामक कवितामा उनि लेख्छिन्,
‘खालि छन् जमिन्दारको बहिखाताका धमिला पृष्ठ
त्यहाँ भेटिन्न कुनै हिसाब
कुन कुन महाराजको सवारीमा 
मैले मुटु फुट्ने गरी बाटो खानें 
कति हाल जोतें चौधरीको खेत 
कति दिन फरुवा चलाएँ 
एक धारो लगौंटीले कति वर्ष(महिना र दिनको लाज ढाकें
तर राखेको छु मैले एक(एक हिसाब’

आदिवासी खण्ड अन्तर्गतका अन्य कविताले तराइमा हुने औलो, हैजारबिफर जस्ता महामारी र जङ्गली जनबारसँग लड्दै समाजका पत्रपत्र बनेर बसेका मालीकको काम गर्ने मानिस, असमयमा नै जीवन गुमाएका अभिभावक र तिनका बेनाम सन्तान, दिनरात काम गर्दा पनि एउटा गम्छा फेर्न नसक्ने किसान, बढ्दो विषादीको प्रयोगले हराउँदै गएको पर्यावरणीय सन्तुलन र त्यसले आदिवासीमा पारेको प्रभावको कहानी बताउन्छन् ।
‘तिमीले मलाई अविष्कार गर्यौ ?’ नाम दिएको खण्डमा उनले महिलाका बिषयमा लेखेकी छन् । किताबको बिमोचनमा समिक्षक आहुतिले ‘हे देवी’ नामक कविता त्यति उपयुक्त छैन भनेर टिप्पणी गरेका थिए । तर, सोहि कार्यक्रममा सरिताले केहि कविता छानेर पढ्दा ‘हे देवी’ पनि पढेकी थिईन ।  माक्र्सवादी बिचारको गन्द आउने काविताको बिचमा सरिताले अलौकिक देवीको बिषयमा किन लेखेकी होलिन् भन्ने जो कोहीलाई लाग्नु स्वाभाविक हो । जब ‘हे देवि’ नामक कविता पुरै पढी सकिन्छ, आधा नारीवाद त उनले एउटा कवितामा समेटेर लेखेकी छन् भन्ने थाहा हुन्छ । के संसार भर देवीको पुजा यत्तिकै भएको हो ? देवि पुजन फगत एक धर्म मात्रै हो कि, त्यसमा समाजिक कारणहरु छन् ? समाजको नेतृत्व पुरुषको हातमा गए पछि समाज अहिले कहाँ पुगेको छ भन्ने हेर्न त हाम्रै देश उपयुक्त छ । एक दशक सम्म बिदुर राष्ट्रप्रमुखले टेकेर पबित्र बनेका मठ मन्दिर बिधवा राष्ट्र प्रमुखले टेक्नासाथ एकाएक अपवित्र बने । ‘हे देवी’ नामक कविताको एक लाईन यस्तो लेख्छिन्,
‘थाहा छ ?
तिमी निदाईरहेको बेला 
उनीहरुले तिमीलाई बोक्सी बनाए 
र बलात् ख्वाए रछ्यान 
बलजफ्ती थुनेर कोठी भित्र गरिदिए “बेश्या” करार 
र नैतिकताको सफेद पोश भिरेर 
लेखे धर्मका नाममा पापका मन्त्र ’

सरिताले लेखेको कुनै लेख पढ्दा उनका बा सानैमा बितेका थिए भन्ने थाहा पाए पछि मलाई निक्कै नमज्जा लागेको थियो । सानैमा बा आमा गुमाएका प्रायः मानिसहरुले बा—आमाको निकटताको अभाव जीवन भर महसुश गर्छन् । धेरै लेखकको लेखनमा पनि गुमाएका आमा—बाको अभाव झल्कन्छ । ‘बा’ शिर्षकको कविता देख्दा त्यस्तै अभावको रोईलो हो कि जस्तो लागेको थियो । तर जब कविता पुरै पढी सकियो, मलाई लाग्यो यति निर्मम भएर कविता नलेखेको भए हुन्थ्यो कि ? भनिन्छ नेपालमा हरेक दश जना किशोरी मध्ये ७ जना यौन हिंसाको सिकार हुन्छन् । त्यस्ता हिंसा आफ्नै नजिकका मानिसबाट हुन्छ, अनि ति नजिकका मानिस मध्ये बा पनि एक हुन् । बा शिर्षकको कवितामा उनि भन्छिन्, 
‘अठ्याएर दुवै हातले मेरा साना नाडीहरु
च्यापेर बलिया तिघ्राहरुले मेरो कमलो जिउ
चिथ्रा चिथ्रा पारेर सिकार लुछिरहेको कुनै बाज जस्तो
त्यो कुनै दन्त्यकथाको अजङ्ग दैत्य जस्तो 
अध्यारो कुरूप छाया
किन तपाईंको अनुहर सित दुरुस्त मिल्छ ?’ 

‘ठेगाना’ र ‘दैनिक’ नेपाली आम बिबाहित महिलाको भोगाईका बिषयमा लेखिएका बुलन्द कविता हुन् । जीवनसाथीसँगै बसेर दुई सन्तान हुर्काई रहेकी महिलाले यस्तो कविता लेख्न सक्छन् भनेर स्वीकार गर्न गाह्रो हुने गरी लेखेकी छन् यी कविता । ‘भाग्दा भाग्दै नीला आखाँहरुसित’ कवितामा पछिल्ला वर्षहरुमा भएका महिला हिंसाका प्रतिनिधि घटना र त्यसले जो कोहिलाई पारेको प्रभावको बारेमा छ । उक्त कवितामा उनि लेख्छिन्,

‘मेरो अगाडी 
एकोहोरो अट्टहास गरिरहेकी थिई 
एउटी कुरूप स्वास्नीमान्छे 

त्यसको कपाल 
मेरी स्कुले साथी 
निरमाया मगरको जस्तै बिछट्टै सुन्दर थियो 
त्यसको जिउ 
मैना सुनारको जस्तै असाध्यै कलिलो थियो 
हातमा गोदना खोपाएको 
निलो बुट्टा थियो ढेगनीदेवीको जस्तै 
जिउमा थियो कालो गाउन
नजराना खातुनको जस्तै 
तर, अंगार भरिएको अंगेनु जस्तै थियो उसको अनुहार
र अनुहारमा टाँसीएक थिए 
डरलाग्दा नीला नीला आँखा ’

नीला आँखाको प्रतीकात्मक अर्थ थाहा नभएर हो कि डर लाग्दा आँखा प्रायः राता राता हुनु पर्ने र नीला आँखा प्रेमिल भनिने भन्दा फरक उनले डरलाग्दा नीला आँखा भनेर लेखेकी छन् ।
युद्दको सौन्दर्य नामक भागमा उनले मुटुको धड्कन बढाउने कविता लेखेकी छन् । पुरातन समाजमा ब्याप्त शान्तिको अर्थ, आफैंले गरेको क्रान्ति बोझ मानिरहेका नेता, असक्षम घोषणा गरिएका योद्दा, बिदेशी भूमिमा रहेर काम गरिरहेकी महिला, काठमाडौंका र त्यहाँका हर्ताकर्ता, बजार र बजारले निर्माण गरेका मानिस, प्रतिक्रिया बिहिन मानिसहरु, स्वयम् कवि र भारतको रवैया सबैका प्रति उनले आलोचनात्मक कविता लेखेकी छन् । 
यतिबेला नेपालको तराई आन्दोलनमा छ, यसैको सन्दर्भमा लेखिएको हो कि झैँ लाग्छ, युद्दको सौन्दर्य नामक कविता । उनि लेख्छिन्,
‘मित्रहरु !
मौन उभिरहनु, नबोल्नु, नचल्मलाउनु र नदिनु कुनै 
प्रतिक्रिया 
लगातार खापिरहनु प्रहार वा सहनु जुका र सर्पहरुको दंश
यहि नै हुन्छ यदि शान्तिको अर्थ भने 
शान्ति भन्दा कैयौं(कैयौं गुणा मन पराउंछु म 
बाँच्नुको कलाले रंगिएको 
युद्दको रक्तिम सौन्दर्य !’

सरिता चितावनमा बस्छिन् । प्रायः काठमाडौं बाहिर बस्ने मानिसको काठमाडौं प्रति सकारात्मक धारणा पाईन्दैन । काठमाडौंको भिड भाड, फोहोरले चुलिएका चोक, ढलले भरिएका नदि नाला जस्ता बिषयमा टिप्पणी हुन्छ आम मान्छेको । उनले पनि काठमाडौंको बारेमा लेखेकी छन् । तर, अल्ली फरक तरिकाले । काठमाडौं नामक कवितामा भन्छिन्,
‘श्री ३ जङ्गबहादुर राणाद्वारा जारी
मुलुकी ऐनको महल घोकी घोकी तयार भएको 
पट्टु छ प्रशासक 
मास्टरको घुच्चुक र सहपाठीको खप्पर कुच्याएर 
राजनीतिको रोमान्च सिकेको 
गुण्डा नाईके छ नेता 
सत्ताको कलो पर्खेर 
हरदम ढोकाबाहिर रुंगीबसेजस्तो 
श्रीहीन छ पत्रकार 
जदौ मुद्रामा निहुरिंदा निहुरिन्दै 
उभिनै बिर्सिसकेको 
हुक्के जस्तो छ लेखेक’

अन्त्यको खण्डमा उनले ‘कारखाना जो चलिरहेको छ’ शिर्षकमा आफ्नो बारेमा आफैं लेखेकी छन् । माया ऐन्जेलोको कविताको हरफबाट सुरु गरेर उनि लेख्छिन् कविता नलेखेको भए के हुन्थे होला भन्ने आफ्नो कल्पना देखी के गर्ने भन्ने सम्मको ३४ पेज लामो लेखमा उनले ५० को दशकको पोखराको साहित्यिक परिवेश, महिलाको पक्षमा आफुँले किन लेख्छु, आफुँलाई एक्स्ट्रिमिस्ट वा राष्ट्रिय स्तरमा पुगे पछि तिमी पुरुष भयौ भन्ने सम्मका बिषयमा आलोचनात्मक भएर लेखेकी छन् । 
आफ्नो भनाईमा एक ठाउँमा उनि भन्छिन्, ‘आफ्नै विवेक र छटपटी खप्न नसकेर म लेख्छु ।’ पुरै किताब पढिसकेपछि उनको यो भनाई सहि लाग्छ । विवेकको दवाव र छटपटी पनि खपेर दुनिया हेर्न सक्ने मानिसले यस्ता कविता लेख्नै सक्दैन ।

(यो समिक्षा २०१५ तिर कान्तिपुर कोसेलीमा प्रकाशित भएको थियो |)

0 comments:

Post a Comment