किन हामीलाई कहिल्यै मान्छे मानिएन ?

on Monday, January 4, 2016


त्रि वि केन्द्रिय क्याम्पस क्रितिपुरमा समाजशास्त्र विभाग र मनोविज्ञान(साईकोलोजी) विभाग एउटै भवनमा छ । कहिले काही मनोविज्ञान विभाग अगाडीबाट हिड्दै गर्दा हाम्रा साथीहरु भन्छन्, ‘साईकोलोजी पढ्ने मानिसहरु आफै पनि साईको साईको हुन्छन् है ?’ हामी समाजशास्त्रका विद्यार्थीहरु आफै पनि प्रोफेशनल गफाडी हौ भन्छाँै । मनोविज्ञानका विद्यार्थीले पनि हामीहरुलाई कस्ता बाह्रमासे गफाडी छन् है समाजशास्त्रका विद्यार्थीहरु भन्दा हुन् । 


चालिसको दशकमा नेपालको समाजशास्त्रका दुईवटा गुरुहरु चैतन्य मिश्र र डोर बहादुर विष्टले नेपाली समाज किन विकास भएन भनेर दुई छुट्टा छुट्टै किताब लेख्नु भयो । चैेतन्य मिश्रले नेपाली समाज विकसित नहुनुको कारण लगातार भारतसँगको असमान व्यापार हो भनेर ब्याख्या गरेर लेख्नु भयो भने, डोर बहादुर विष्टले नेपालीहरु आफै भाग्यवादमा विश्वास गर्ने हुनाले नेपालमा विकास भएन भनेर लेख्नु भयो । दुवै सरहरु समाजशास्त्र पढेका विद्यार्थीका आदरणिय गुरु हुनुहुन्छ । नेपाली समाज  विकसित छैन भन्नेमा पनि उहाहरु एक मत हुनुहुन्छ । तर, किन विकास भएन भन्ने कुरामा उहाहरुका धारणा एक अर्कामा विपरित छन् ।

कुनै पनि विषयको कसरी व्याख्या गर्ने भन्ने आफ्ना आफ्ना तरिका हुन्छन् । त्यसलाई सिद्धान्तसँग जोडेर हेर्ने हो भने त्यहि प्रकारका वादहरुले साथ दिन्छन् । संरचनात्मक प्रकार्यवाद अन्तर्गत गोपाल सिंह नेपालीले आफ्ने पिएचडिको थेसिस नेवारहरुमाथी गरेका छन् । ‘द नेवार’ नामक उक्त थेसिसमा नेपाली भन्छन्, ‘नेवार समुदायमा सबै जातको, परिवारका सबै सदस्यको, घरका सबै कोठाको, सबै चाडवाडहरुको आफ्ना आफ्नै काम छन् ।’ उनको किताब पढ्दा नेवारी समुदाय एकदमै मिलेको आहा ! यस्तो पो समाज जस्तो लाग्छ । 
तर, त्रिवि समाजशास्त्रको कक्षामा हाम्रा साथीहरु भन्छन्, ‘द्धन्दवादमा अर्को द नेवार लेख्ने हो भने पनि त्यसका लागि गोपाल सिंह नेपालीको किताव मै आधारित भएर लेख्न सकिन्छ ।’ समथर भुभागबाट आएका चुच्चा नाक भएकाहरुले कसरी काठमाण्डौका किरातहरुलाई हराए र ज्यापु बनाए ? र आफुलाई असली नेवारको रुपमा प्रचार गरे ? कसरी किरातहरुलाई इतिहासको लामो समय सम्म अछुत बनाए ? कसरी आफ्नै भुमीमा किरातहरुले आफ्नो लागि जमिन राख्न नपाउने र अरुकै जमिनमा काम गर्नु पर्ने किसान भए ? कसरी ज्यापुहरुलाई सुनका गाहना लगाएकै भरमा यातना दिईयो वा सुनका गहना लगाउन नपाउने हुकुम जाहेर गरियो भनेर अनुसन्धान गर्ने थुप्रै आधारहरु छन् ।

यी लम्बेतान कुरा किन लेखेको भने, हरेक विषय वस्तुलाई हामी आफ्नै जीवन परिवेश, आफै हुर्केको वातावरण, पाएको शिक्षा, राखिएका आस्था अनुसार ब्याख्या गर्छौ । भर्खरै एक जना कविले महिलाहरुको लेखाई र क्षमता माथी प्रश्न गर्दै लेख लेख्नु भयो, ‘पहिला मान्छे अनि स्वास्नी मान्छे’ । उहाँको सम्पूर्ण लेखको सार हो, नेपाली साहित्यमा महिलाहरुको हस्तक्षेपकारी भूमिका छैन । केहि अपवाद छोडेर धेरै महिलाहरु औसत लेख्छन् । आफुचाहि औसत लेख्छन् र ठाउँ पाईएन भनेर रोनाधोनामा समय ब्यतित गर्छन् ।
यो कविजीको दृष्टिकोण हो । उहाँको लेख अनुसार महिला लेखकहरु आफ्ना कुन्ठा, अल्छीपना र गनगने बानीका कारण पछि परेका हुन् । खुवी हुने, हिम्मत हुने महिला त आएकै छन् नि, गार्गि(उहाले यो नाम छुटाउनु भएको छ) देखी पारिजात सम्म, म्याडम क्युरी देखी मलाला सम्म, मार्गरेड थ्याचर देखी इन्दिरा गान्धी सम्मले गरिरहेकै छन् नि । चर्चामा पनि आईरहेकै छन् नि ? खै हामीले पनि लेखिरहेका छौ, ठाउँ पनि पाईरहेका छौ भन्ने तर्क उहाँको छ । हजारौ वर्षको मानव इतिहासमा नजाने कति लाख पुरुषका नाम होलान् चर्चित र महान भनेर । तीनमा छन् नि केहि हातका औलामा गन्न सकिने महिलाका नाम । ती महिलाका सहास र संघर्षका प्रति मेरो पनि सम्मान  छ । 

र, होस सम्हाले देखी आज सम्म मलाई एउटा प्रश्नले लखेटिरहेको छ । तपाईकै लेखबाट सुरु गरुँ, किन छैनन् त उत्कृष्ट महिला लेखक ? किन पोखराको लेखनीमा धेरै सम्राट छन् तर कुनै सम्राज्ञी छैनन् ? किन कुनै विश्वविद्यालयका उपकुलपति कुनै महिला छैनन् ? किन हाम्रो देशमा आज सम्म कुनै महिला प्रधानमन्त्री हुन सकेनन् ? किन सर्बोच्च अदालतको प्रधान न्यायादिश महिला हुन सकेनन् ? हाम्रो मात्रै हैन किन संसार भरि राजनीति महिलाको पेशा बन्न सकेन ? किन अपवाद बाहेक संसार भर प्रमुख पत्रिकाका सम्पादक महिला छैनन् ? किन कुनै पनि वादलाई स्थापित गर्ने महिला छैनन् ? उत्कृष्ट वैदिक लेखकहरुको विचमा किन गार्गिको मात्रै नाम लिईन्छ ? सेक्सपियरको उचाईमा किन कुनै महिला साहित्यकारको नाम छैन ? किन भ्यान गर्ग जत्तिको चर्चित महिला कलाकार छैन ? मानव सभ्यताका हजारौ वर्षको लिखित इतिहासबाट किन हातको औलामा गन्न सकिने सफलता चुमेका महिला मात्रै छन् ? यो किन अझै लामो छ । 

महिला पछी पर्नुको कारण उनीहरुले अल्छी गरेर हो कि महिलाको मनोविज्ञान नै पुरुषसँग प्रतिस्प्रर्धा गर्न नसक्ने खालको हुन्छ ? पुरुषहरुले त महिलाको देर्वे गिदिको डल्लो सानो हुने भएको कारण सोच्न सक्दैनन् भनेर विज्ञानको ल्यावमा टेष्ट गरेर पुष्टि गरेका पनि छन् । तर पनि लागिरहन्छ, महिला आफ्नै कारणले सबै प्रकारका इतिहासमा (नेपाली साहित्यमा मात्रै होईन) पछि परेका हुन् कि यसका सामाजिक कारण छन् ? हो, यहिँ निर दृष्टिकोणको अर्थ छ । महिला किन पछि परे भन्नेमा आज सम्म केहि अपवादलाई छोडेर पुरुषहरुले महिला कै कारण, उनीहरुकै असक्षमताका कारण, उनीहरुकै शरिरको बनोटका कारण पछि परेका हुन् भनिरहे  । जति नै लामो लेख भए पनि कविजीको यो भन्दा फरक दृष्टिकोण होईन भन्ने मलाई लाग्यो । 

तर, मेरो दृष्टिकोण फरक छ । सामाजिक वातावरण, संस्कृति, नियम कानुन र धर्मले महिलालाई बाँधेर राखेको विषयमा कुनै थप ब्याख्या गर्नु पर्छ भन्ने लाग्दैन । राखेको थियो, राखेको हो, राखेकै छ । कविजी स्वयंले पनि लेखमा यो कुरा स्वीकार्नु भएको छ । हाम्रा काकी वा दिदि पुस्ता सम्मका महिलाहरुलाई समाजले नै निस्कन दिएन, उनीहरुका कुरा सुनेन भन्ने कुरामा कविजीको पनि विमती छैन भन्ने लाग्यो ।
अब आजका महिलाका कुरा गरौ । कविजी भन्नु हुन्छ, ‘आजकि छोरी स्क्रन टच मोवाईलमा खेल्छे, गुगलमा गएर डाउनलोड गर्छे, स्काईपमा गएर होमवर्कको डिस्कसन गर्छे ।’ यो कुन वर्गका छोरीको कुरा हो ? वा कति प्रतिशत नेपालका अहिले छ देखी तीस वर्ष उमेर समुहका नातिनीहरु त्यो हैसियत राख्छन् ? त्रिवि किर्तिपुरमा समाजशास्त्र पढ्ने मास्टर्स लेभलका अधिकांश युवतिहरुसँग त पढ्नु पर्ने पाठ्य सामाग्री गुगलमा डाउनलोड गर्ने हैसियत छैन त ? केहि सहरिया उच्चवर्गका छोरीहरुको कुरा गरेर आम छोरीहरुको कसरी मुल्यांकन हुन्छ ? आम छोरीहरुको अबस्था त्यस्तो छैन भन्ने मेरो तर्क छ । त्यसको उदाहरणको लागि गत वर्ष एसएलसीमा दुईतिहाई छोरीहरु फेल भएको एउटा समाचार नै काफि हो । 

अझै थप्ने हो भने, अहिलेका छोरीहरु परिवारको लागि(पिताको वंश विकासको लागि) भाई पाईदिनु पर्ने बाध्यतामा रहेकि आमाले हरेक छ महिनामा बाह हप्ताको रगतकि डल्ली बहिनीलाई मारेर आएको थाहा पाउँछे । जन्मेको घर उसको होईन उ कसैकोमा जानु पर्नेछ भन्ने डर लिएर हुर्कन्छे । गाउँमा हो भने, बोर्डिङ पढेर आएको दाई वा भाईको ब्यक्तिगत कामहरु (उनीहरुलाई खाजा बनाई दिने, उनीहरुका लुगा धोईदिने) गरिदिन्छे र आफै भने सरकारी स्कुलमा पढ्न जान्छे । अल्लि ठुली भए पछि दाईभाई विज्ञान विषय लिएर पढ्छन्, उ नर्स वा सामान्य विषय पढ्छे । घरमा पैतृक सम्पत्ती भाग लगाउँदा उसको कुनै भाग छुट्टाईदैन सिवाय विहेको खर्च । छोरीले कमाएर बाआमालाई यदि पठाइ भने छोरीको कमाई खानु हुँदैन भनेर बाआमाले लिन मान्दैनन् । दाईभाईकोमा बाआमाले दुःख पाए म पाल्छु भनेर छोरीले भन्दा ‘हुन्छ नि तँ पनि त हाम्रै सन्तान होस्’ भनेर विवाहित छोरीसँग बाआमा आएर बसिदिँदैनन् । यस्तो वातावरणमा हुर्केकी युवती के दाईभाई जत्तीको, दाईभाई कै हैसियतकी, दाईभाई कै योग्यताकी दाईभाई जस्तै मान्छे हो ? कविजी हो भन्नु होला म होईन भन्छु । 

जहाँसम्म महिला लेखकले ठाउँ नपाउने भन्ने विषयको कुरा छ । यो हावा नलागि पात हल्लेको विषय पक्कै होईन । कविले पाठकले पनि मन पराउन पाउनु प¥यो, उत्कृष्ट पनि हुुनु प¥यो भन्ने कुरा उठाउनु भएको छ । उत्कृष्टताको मापन गर्ने कुरा के हो ? के कान्तिपुर पत्रिकाका सबै लेख सबै प्रकारका पाठकले उत्तिकै मन पराएर पढेका हुन्छन् ? हुँदैनन्, कुनै पनि लेख आफ्नो रुचि अनुसार पढिन्छ भन्ने मेरो तर्क छ । पचासको दशक भरमा एक नंबरमा रहेको कान्तिपुर पत्रिकामा समाजशास्त्री चैतन्य मिश्रका कुनै लेख छापिएका थिएनन् त । उहाको लेख नछापिनुको कारण उहाँको खुबी नभएर पक्कै होइन । अर्को कुरा जसका लेख रचना नै छापिँदैनन् उसले कस्तो लेख्छ भनेर कसरी पाठकले थाहा पाउँछन् ? नेपालमा किशोर नेपाल जस्तापनि सम्पादक छन्, जसले महिलाको कुनै वौद्धिकता हुँदैन भनेर पत्रिकामा अन्तवार्ता दिने हिम्मत राख्छन् । किशोर नेपाल जस्ता सम्पादक भएका पत्रिकामा महिला लेखकले पुरुष लेखक बराबर समान अवसर पाउँछन् भनेर कसरी विश्वास गर्न सकिन्छ ?

कविजीले नारीवादीहरु (उहाले नारीवादी भनेपनि नेपाली महिलाहरु) मान्छे नभएको मान्नु हुन्छ । यो महिलाको कमजोरी हो वा उनीहरुलाई कहिल्यै मान्छे नै नमानिएको हो ? समाज (आफ्नै बाआमा, दाजुभाई, घर परिवार) ले महिलालाई मान्छेको दर्जामा कत्तिको राखेको छ ? अरबबाट बा आउँदा जिन्को पेन्ट ल्याइदिए भन्दैमा छोरा छोरी बराबर हुने होईनन् । महिला आफैले म स्वास्नी मान्छे भन्दै हिडेका पनि होईनन् बरु, आमाको पेटमा बाह्र हप्ताको भ्रुण भएर लिङ्ग छुट्टिँदा देखि चौरासी वर्षको उमेरमा छोराको हुकुम मान्नु पर्दा सम्म समाजले महिलालाई कहिल्यै मान्छे बन्न नदिएको हो । 

(यो लेख कवि सरस्वती प्रतिक्षाको' पहिला मान्छे अनि स्वास्नी मान्छे' शीर्षकको लेखको प्रतिक्रियाको रुपमा लेखिएको हो | आज एक वर्ष पछि यो लेख पढ्दा लेखिरहँदाको समय याद आएको छ | मेरा पाठकको सहजता र लेखको संकलन हुने हेतुले यो ब्लगमा राखेकि हुँ |) 

0 comments:

Post a Comment