कुन महिला ? कुन नारीवाद ?

on Friday, February 19, 2016
(यो लेख गत वर्ष कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो | घटनाका सन्धर्भहरुमा कुनै परिवर्तन गरिएको छैन | पढ्न नपाउनु भएका साथीहरुको लागि भनेर यहाँ राखेकी छु |) 

केहि महिना अगाडी एउटा साहित्यिक पत्रिकाले उत्कृष्ट लेखकहरु एक देखि दश नम्बर सम्म को–को हुन् भनेर लेखकहरुलाई नै लेख्न लगाउँदा कुनै पनि महिला लेखकले अर्कि महिला लेखकको नाम लेखेनन् रे । मलाई एक जना साहित्यिक पत्रकारले बढो आग्रहका साथ यो कुरा बताउँदै भनेका थिए, ‘महिला लेखक भित्रै एकले अर्कोलाई नमान्ने चलन छ ।’
पहिलो संविधानसभामा सदस्य भएर आएकी पूर्व कम्लरी शान्ता चौधरीका थोत्रा कपडा देखेर संविधानसभा कै अर्कि सदस्यले उनलाइ खिस्याउँछै भनिछन्, ‘यस्ता पनि सभासद भएर आएका छन् !’ शान्ता चौधरीको ‘कम्लरी देखि सभासद सम्म’ किताबमा उनले थुप्रै ठाउँमा महिलाहरुले आफुलाई दुख्ख दिएको र महिला भएर महिलाको समस्या नबुझिदिएको गुनासो गरेकी छन् । 
विद्यार्थी आन्दोलनको साठी वर्ष भन्दा बढी लामो इतिहासमा कुनै पनि विद्यार्थी संगठनमा रामकुमारी  झाँक्री बाहेक अर्की महिला अध्यक्ष हुन सकेका छैनन् । रामकुमारी झाँक्री अनेरास्ववियुको अध्यक्ष उठ्दा अनेरास्ववियु भित्र, अनेमसंघ भित्र, एमाले भित्रका महिलाहरुको ठूलो हिस्सा उनलाई अध्यक्ष बन्न दिनु हुँदैन भन्नेमा थियो । पोहोर साल संविधानसभामा उनलाई सदस्यमा मनोनयन नगरी एमाले भन्ने कुन मसला हालेको दालमोठ हो भन्ने पनि थाहा नभएकि राज्यलक्ष्मी गोल्छालाई मनोनयन ग¥यो एमालेले । रामकुमारी झाँक्रीलाई मनोनयन नगरेर राज्यलक्ष्मीलाई मनोनयन गरेकोमा एमालेको चौतर्फि विरोध भए पछि मान्छेहरुले भने, ‘महिलाको ठाउँमा महिला नै त भएको हो नि ! महिला भएर महिला कै विरोध गर्ने ?’
भरखरै महिलालाई मात्रै चढाउने भनेर काठमाण्डौमा बसहरु चल्न थाले पछि त्यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ, बसका सिट देखि महिला समुहका बैठक सम्म, फेसबुक देखि दैनिक पत्रिकाहरु सम्म । छुट्टै बसको ब्यवस्था ठिक होईन भन्ने महिलालाई अर्कि महिलाले कस्ती महिला भएर महिला मैत्रि बसको विरोध गर्ने रहिछ भनेर प्रतिक्रिया दिईरहेका भटिन्छन् ।  
हाम्रो(नेपाली) समाजमा कहिँ कतै कुनै महिलाको बारेमा अर्कि महिलाले कुरा काटेको, विरोेध गरेको देख्ने–सुन्ने वित्तिकै मानिसहरु महिला भएर महिलाको विरोध गर्ने ? आफुलाई त खुब नारीवादी भन्छे हेर त अर्को महिलाको विरोध गरेकी ? भन्ने गरेको सुनिन्छ । महिला वा नारीवादी भएर महिलाका गलत कुराको विरुद्धमा बोल्न निक्कै गाह्रो छ । कि त आफुलाई नारीवादी भन्नै भएन । आफुलाई नारीवादी भन्ने हो भने, महिलाका जस्ता सुकै कुराको पनि विरोध गर्न मिल्दैन भन्ने आम मान्यता स्थापित भएका छ ।
नेपालमा प्राय स्थापित महिला आफुलाई नारीवादी भन्न रुचाउँदैनन् । किनकि नारीवादी हुनु भनेको पुरुषको दुस्मन हुनु हो, नारीवादी हुनु भनेको पुरुषसँग प्रेममा नपर्नु हो (दुस्मनसँग पनि कसैको प्रेम हुन सक्छ ?), प्रेम नै नभए पछि विवाह हुने कुरा पनि भएन । बा–आमाले दबाबमा गरिएको विवाह रहेछ भने सम्बन्ध विच्छेद गर्ने, पुरुषसँग प्रेम नै नभए पछि वा विवाह नै नभए पछि सन्तान जन्माउने कुरा पनि भएन । हाम्रो समाजमा आम रुपमा यस्तो धारणा छ । नारीवादीले प्रेम गर्दैैनन्, विवाह गर्दैनन् वा गरेका भए पनि सम्बन्ध विच्छेद गर्छन् ।
नेपालको प्राज्ञिक क्षेत्रमा नारीवादको विषयमा नेपाली भाषामा खासै राम्रा लेख हातका औलामा गन्न पनि नपुग्ने छन् । त्रिविको समाजशास्त्र विभाग जसले हरेक साल वादीहरु(माक्र्सवादी, जातिवादी, नारीवादी, पुरातनवादी) उत्पादन गर्छ । त्यहाँ महिला अध्ययन एउटा विषय छ । तर, त्रिवि पढ्ने धेरै विद्यार्थीको काम अग्रेजीका गहन लेख पढेर, बुझेर अरुलाई बुझाउने गरि लेख्ने हुन सकेको छैन । बरु कसरी बढी नम्बर ल्याएर पास गर्न सकिन्छ भनेर गेस पेपर घोक्नेमा सिमित भएको कुरा प्राध्यापकहरु स्वीकार गर्छन् । 
यसरी नै पास भएका विद्यार्थीहरु जो आज विभिन्न एनजिओ र राजनीतिक दलमा आवद्ध छन् । जसले नारीवाद भनेको पुरुषका हरेक पाईलामा विरोध गर्नु र महिलाका जस्तासुकै कुरामा पनि आँखा चिम्लनु हो भन्ने मानक बनाएका छन् । सामाजिक अध्यता सेरा तामाङ नेपालमा भईरहेको यस्तो प्रकारको नारीवादी ब्याख्यालाई विकासे नारीवाद भन्छिन् । 
त्यसो भए के हो त नारीवाद ?
महिला भए कै कारण उसलाई कुनै पनि कुरामा भेदभाव गरिनु हुन्न, मानव सभ्यताको लामो समय सम्म शारिरको बनावट फरक भएकै कारण विभिन्न वाहनामा महिलालाई घरभित्रै सिमित पारियो र उनिहरुलाई पुरुष सरह हुन दिईएन भन्ने कुरामा सबै नारीवादीहरुको ब्याख्या एउटै भए पनि नारी र पुरुष किन असमान भए त ? वा कसरी समान हुन सक्छन् भन्ने विषयमा विभिन्न नारीवादीहरुको फरक फरक मान्यता छ । 
नारीवादको विकासलाई पनि समाजशास्त्रिय दृष्टिकोणबाट हेर्ने गरिन्छ । समाज र सिद्धान्तको ब्याख्या गर्दा समय र ठाउँको महत्वपूर्ण स्थान रहन्छ । महिलावादको ब्याख्या पनि कहाँको, कुन समयको महिलावाद भनेर ब्याख्या गर्ने गरिन्छ । 
सत्रौँ सताब्दीमा अमेरिका र युरोपका मुलुकमा जब महिलाहरु पढाई लेखाई र समाजको विषयमा बोल्न थाले तब महिला र पुरुषहरुका हकहरु समान हुनु पर्छ भन्ने धारण विकास हुन थालेको पाईन्छ । त्यति बेला नै गोरा साहेबहरुले कालाहरुलाई, जनजातीहरुलाई मान्छे नै हैनन् भन्ने मान्यता समाजमा रहेको हुनाले गोरा महिला (महिलावादी) जसले पुरुषको बराबर हकको कुरा त गरे । तर, उनीहरुले काला र जनजाती महिलाहरुको अधिकारका विषयमा कुरा गरेनन् । 
गोरा महिलाहरुले सुरु गरेको महिला समानताको आन्दोलनमा महिला किन पछाडी परे त भन्ने विषयमा नै पनि फरक फरक धारणाहरुको विकास भयो । कसैले महिलाहरुको शरिर पुरुषको भन्दा फरक भएको कारण महिलाहरु पछाडी परेका हुन् र यसै अनुसारको समाधान खोजिनु पर्छ भन्ने मान्यता अगाडी सारे । कसैले हैन महिलाहरु समाजको धर्म, कानुन, राजनीति, रितिथिति जस्ता कुराहरुले पछाडी पारेका हुन् यी कुराहरुमा परिवर्तन हुनु पर्छ भन्ने मान्यता अगाडी सारे । त्यसै गरि अर्का थरि महिलाहरुले छोराछोरीलाई जन्मेको समय देखिनै फरक ब्यवहार गरिने हुनाले समस्या भएको हो । जन्मेको समय देखि नै एकै प्रकारको ब्यवहार छोराछोरीलाई गरियो भने असमानता हटेर जान्छ भन्ने मान्यता अगाडी सारे ।
यसरी सत्रौँ सताब्दी देखी विसौँ सताब्दीको विच सम्ममा महिलाहरु किन पछाडी परे ? किन असमान भए भन्ने सन्दर्भमा नारीवादीहरुले लैङ्गिक भिन्नता कारण, कतै शारिरिक फरकको कारण, कतै सामाजिक संरचनाको कारण, कतै हुर्काइमा गरिने फरक ब्यवहारको कारण महिलाहरु पछाडी परेका हुन् भन्ने  ब्याख्या गरे । यस प्रकारक विचारलाई लैङ्गिक भिन्नता अवधारणा भनिन्छ । 
विसौँ सताब्दीको सुरुताकाबाट, महिलालाई पनि पुरुषको बराबर अधिकार पाउनु पर्छ भन्ने आन्दोलनहरुको विकास भयो । विशेष गरि चुनावमा भोट हाल्न पाउनु पर्छ, चुनावमा महिला पनि उठ्न पाउनु पर्छ र समान काममा महिलालाई पुरुष समान ज्याला दिनु पर्छ भन्ने भन्ने मागहरु बढ्न थाले । यो आन्दोलन पनि अमेरिका र युरोपका देशहरुबाट सुरु भयो । जुन देशहरुमा चुनावी क्रियाकलाप हुन्थे र ज्यालादारी श्रमको विकास भएको थियो, तिनै देशमा भोट हाल्न पाउनु पर्ने र समान ज्यालाका कुरा उठे । 
यो आन्दोलन भित्र पनि स्पष्ट देखिने दुईधारमा महिलाहरु विभाजित भए । एक थरि महिला महिला र पुरुषलाई हरेक क्षेत्रमा समान अबसर दिईनु पर्छ, अबसर पाउने हो भने जो पनि अगाडी आउन सक्छ भन्ने मान्यता अगाडी सारे र त्यसै अनुरुपका कार्यक्रमहरुको विकास हुनुपर्छ भन्नेमा लागे । यसरी गरिएको ब्याख्यालाई उदारवादी नारीवाद मानिन्छ ।
अर्का थरि महिलाहरु महिला पछाडी पर्नुको मुख्य कारण सम्पतिको निजकरण हुनु हो । हरेक  प्रकारका भेदभाव आर्थिक आधारमा भएकाछन् र वर्गिय समाजको अन्त्यबाट नै महिला माथि हुने असमन ब्यवहारको अन्त्य गर्न सकिन्छ भन्ने धारणा अगाडी सारे । यसलाई माक्र्सवादी नारीवादको रुपमा बुझिन्छ ।
यसरी महिला र पुरुषहरुलाई साधनस्रोत, निर्णय प्रक्रिया, जिवन अबसरमा फरक ब्यवहार गरिएको कारण महिला पछि परेका हुन् भनेर अमेरिकि र युरोपेली महिलाले गरेको आन्दोलन र विचारकलाई असमानता अबधारणाको रुपमा बुझ्ने गरिन्छ । 
१९६०को दशकबाट महिलाहरुको एउटा समुह पुरुषहरुले विभिन्न प्रकारले शोषण गरेका कारण महिला र पुरुष समान हुन नसकेका हुुन् । त्यसैले पुरुषसँग कुनै प्रकारको सम्बन्ध हुनुहुँदैन, परिवारनै शोषणको आधार भएको कारण विवाह पनि गर्नु हुँदैन र पुरुषसँग बिवाहको बदलामा समलिंगि सम्बन्धको बाटोबाट जानु पर्छ भन्ने विचार र आन्दोलनको विकास भयो । जसलाई हामी आदर्शवादी नारीवाद भनेर भन्छाँै ।
दोस्रो विश्व युद्ध पछि साम्राज्यहरु पतन हुँदै गए पछि साम्राज्य पछिका देशहरु, अफ्रिकि र तेस्रो विश्वका महिलालाहरुले पनि आफ्ना विषयमा बोल्न लेख्न सुरु  गरे । उनीहरुलाई पश्चिमा महिलाहरुले उठाएको विषय काला, उपनिवेश बनाइएका ठाउँका, गरिब मुलुकका महिलाहरुका लागि उठाईएको होईन बरु गोरा महिलाहरुका लागि मात्रै उठाइएको हो भन्ने महशुस भयो । यहि महशुसको कारण सन् १९८० पछि काला महिलाहरुले छुट्टै, उपनिवेशबाट मुक्त भएका देशका महिलाले छुट्टै, गरिब मुलुकका महिलाहरुले छुट्टै प्रकारका आन्दोलन र विचारहरु अगाडी सारे । जसलाई काला महिलावाद, साम्राज्यवादी महिलावाद, तेस्रो विश्व केन्द्रित महिलावाद भन्ने गरिन्छ । 

0 comments:

Post a Comment