आमाको नाममा

on Wednesday, December 30, 2015


हरेक पल्ट
मेरो नामसँगै
नसोध्नु मेरो बाको नाम
म मान्दिन हरेक ठाउँमा
आफ्नो नामसँगै बाको नाम  
भन्नु पर्ने कानुन  

सोध्न सक्नुहुन्छ
मेरी आमाको नाम
जसको मैले दूध खाएर बाँचे
ठूली हुँदासम्म
जसले मेरो हर आवस्यकतामा साथ दिइन्
म रुँदा
फरियाको सप्कोले तिनैले आँसु पुछेकी हुन्
कृपया
मसँग सोध्दै नसोध्नु बाको नाम
हो
मेरो रगतले कसैकी सन्तान भन्ला
के मेरी आमालाई
बैधानिक बलात्कार गर्दैमा कोहि मेरो बा हुन्छ ?
हो धेरैका बा मायाको लागि हुन्छन्
तर,
कसै कसैका बा लेख्न लागि मात्र हुन्छन्
आमालाई पशु सम्झने संस्कारमा
बाँच्नका लागि पनि
लेख्नै पर्थ्यो कसैलाई बा भनेर

तर,
के कालो कानून फेर्न भएको होइन त्यो सङ्घर्ष ?
आमाको आँशु रोक्न बगाएका होईनन् कैयौंले रगत ?
र गुमाएका होइनन् जीवन
यत्रो सङ्घर्ष पछि पनि
भन्न नपाउने आमाको नाम ?

अरुले लेखुन वा नालेखुन्
मैले लेख्न/भन्न चाहन्छु आमाको नाम
त्यसैले
हरेक पल्ट
मेरो नामसँगै नसोध्नु मेरा बाको नाम

 ( यो कविता ६३ सालमा आमाको नामबाट नागरिकता पाउनु पर्ने माग संसदमा पेश भए पछि लेखिएको हो | मेरा मित्र बिभोर बरालले तन्नेरी डट कममा यसलाई पोष्ट गरेका थिए |  पछि कविता कर्ममा जाँगर चलेन | केहि हद सम्म बाले के भन्नु होला भन्ने पनि लाग्यो | यो कविता बदमास बाको कारण नागरिकता पनि नपाउने अवस्थामा रहेकाहरुको  पक्षमा लेखिएको हो | आम बाको लागि होइन |)

0 comments:

Post a Comment