म जान चाहन्छु

on Wednesday, October 16, 2019

म जान चाहन्छु कुनै अनकन्टार जंगल वा मरुभूमि
जहाँ कसैले नसोधुन् के के हुँदै छ मेरो प्रगति ?
नसोधुन् मेरो कमाईको मात्रा,
नसोधुन् मेरो राजनीतिक सिद्धान्त र जिवनको सम्बन्ध
जहाँ कहिल्यै नमिलेको भुगर्वका प्लेट झै टकराव भईरहन्छ

कसैले नदोओस कुनै सुझाब पनि
जसरी म सुनिरहेकि छु ।
छिट्टै नामको अगाडी डाक्टर लेख्न
छिट्टै लेखिरहेको किताब सक्न
छिट्टै विश्वविधालयमा स्थायी हुन
छिट्टै काठमाडौमा घर बनाउन
छिट्टै सरकारको कुनै अंगमा काम गर्न

कसैले नगरोस् गुनासो पनि
मेरो फेसबुकका फोटो हेरेर
तिमीले त्यतिका नेता चिनेकि छौ,
दुईचार ठाउँमा जागिर लगाईदिन त सक्छेउ नि
तिमीले त्यतिका पत्रिकार चिनेकि छेउ
मेरो यत्ति लेख छपाई दिन त सक्छेउ नि
तिमिले त्यत्तिका मान्छे भेट्छेउ
मलाई नि भेट्न सक्छेउ नि

कसैले पढाएको समाचार पनि नआओस्
त्यो महान योद्धाका पतनका कुरा
त्यो आदर्शवादीको शोषणको कुरा
त्यो विकासवादीका भ्रष्टचारका कुरा
वा कयौ वादीका कुरा

यि सबै सबै भन्द पर
एक्लै एक्लै हिड्न छ मन मलाई
जहाँ अपरिचितले सोधोस्
निद्रा पर्यो कि परेन
अनि म सुनाउन सकुँ
आफैँ मेरेको त्यो डरलाग्दो सपनाको कुरा
हिड्दा हिड्दै चौतारीमा थकाई मार्दा
कसैले निधार छामेर भनोस्
तिमीलाई थकाईले त ज्वारो आएछ बसौ यतै
बेलुका आगोको छेउमा खुट्टा सेकाउँदै गर्दा
कसैले कर गरेर भनोस्
आँखा चिम्म गरेर यत्ति घुटुक्क पार बिहान उहठ्दा ठिक हुन्छ
राती सुत्ने बेलामा कोहि बताई देआस सिरानीको दिशा
जसले रोक्छ डरलाग्दा सपनालाई कतै

बाटोमा भेटिएको मान्छेले नाम नसोधी
सोधोस् पानीको प्यासको कुरा
गलेको शरिरको कुरा
सुनिएका खुट्टाको कुरा
लागेको लेक उतार्न खानु पर्ने जंगली झारको कुरा
दम बढ्न नदिन चापिरहनु पर्ने पातको कुरा
र छुट्ने बेलामा भनोस्
जिवन लामो बाँच्नको लागि
थोरै आफ्नो पनि ख्याल गर्नु होला

2 comments:

Atmaram said...

अत्यन्तै सुन्दर सिर्जना नारायणी म्याम,
तर समाजशास्त्रीय दृष्टिकाेणले हेर्दा सामाजिक सम्बन्ध, संरचना, प्रकार्य, क्रिया, प्रतिकृया र अन्तरक्रिया नभएकाे संसार कतिकाे सम्भव हाेला??

ksarbahari said...

maja ba

Post a Comment