साली नदीको किनारमा

on Tuesday, February 7, 2017
केहि दिन अगाडी संचारिका समुहकि अध्यक्ष दिदि निर्मला शर्माको फोन आयो | 'स्वथानीमा महिला' बिषयमा समकोण टिभी कार्यक्रममा वक्ताको रुपमा आउनु पर्यो भनेर | कार्यक्रम साँखुमा रहेको सालिनादी (जहाँ यति बेला एक महिना लामो स्वस्थानी व्रत बस्ने गरिन्छ) मा सुटिंग हुने रहेछ | मूल वक्तामा हुने रहेछन् स्थानिय संसद र मन्दिरका मूल पुजारी | पुजारी र सांसदको बिचमा बसेर बोल्नु पर्ने रहेछ मैले | 
अनि सहभागीमा हुने रहेछन् स्थानीय बासिन्दा र व्रतालु महिला | जीवनमा पहिलो पटक टेलिभिजनको कार्यक्रममा मुख्य वक्ता बनाएर बोलाउनु भएको थियो, त्यो पनि निर्मला दिदीले | जान्न भन्ने त कुरा थिएन | तर उहाँको एउटा सर्त थियो, अल्ली कडा कुरा गर्न नमिल्ला कि भनेर | उहाँको कुरा सुनेर मनमा झट्ट उठ्यो संस्थागत आवाज उठाउने ठाउँमा अध्यक्ष पदमा रहनु भएको उहाँले त यस्तो भन्नु भयो | हामी जस्तो कुनै संस्थाको सहारा नलिएर लेख्ने लेखकले कति दिन सवाल उठाउने होला ? मनमा जे भए पनि कार्यक्रममा बोल्न पाएको मौका गुमाउन मन थिएन | त्यसैले उहाँको सल्लाहमा मैले थापें 'समाजशास्त्रीय कुरा गरौंला नि त' | उहाँले हुन्छ भन्नु भयो |

बाटोमा थाहा भयो व्रत गरिरहेका महिलाहरू कुर्सीमा बस्दैनौं, हामीलाई पराल ओछ्याउन दिनु पर्छ भनेछन् (आफ्नो आफ्नो आस्था र बिश्वाशको कुरा) | निर्मला दिदीले पराल किन्ने पैसा त दिन्न भन्नु भएको रहेछ |बिहान दश बजे साँखु पुग्दा साँखुको बस पार्क देखी नै पुजा सामग्रीका पसलले बाटोका छेउ ढाकिएका थिएँ | बिस दिन अगाडी सिन्धुपाल्चोकको बरुवा गाविसबाट हामी यहि बाटो भएर फर्केका थियौं | त्यो बेला साँखु सुनसान थियो | हरेक कुरा समय र परिस्थिती अनुसार फरक हुनसक्छन् भन्ने मान्यता राखिन्छ समाजशास्त्रमा | झन्डै दुई वर्ष अगाडी भूकम्पले ध्वस्त भएको साँखु यति बेला गुल्जार थियो | पुजा सामग्रीका बेच्ने बसेका हरेक जसो महिला (प्राय जस्तो पसलमा महिला ब्यापारी थिए) हामीहरूले आफ्नोमा पुजासामग्री किनिदिउन भन्ने चाहन्थे | उनीहरूको आग्रह देख्दा लाग्थ्यो त्यहाँ पुजा गर्न जाने बाहेक मानिस अरु कामले जाँदैनन् | म भने स्वस्थानी व्रत कथाले महिलालाई हेपेको छ भनेर भन्न हिडेका थिए | फुल लिन आग्रह गर्ने महिलालाई पछि आउँछौं है भन्दै अगाडी बढ्यौं |

उक्त कार्यक्रमको लागि समकोणको टीमले तीन दिन देखी काम गरिरहेको रहेछ साँखुमा | स्थानीय मानिस, मन्दिर सरोकारवाला, पुजारी र व्रतालुहरूलाई भेट्न कार्यक्रम बारेमा सम्झाउन र कार्यक्रममा सहभागी गराउन | सालिनदी किनारमा कार्यक्रम स्थल पुग्ने बित्तिकै पत्रकार प्रतिमा सिलवाल बहिनीले फेरि सम्झाउने पाराले भनिन्, 'धेरै 'कृटिसाईज' गर्न नमिल्ला है दिदि !' यस्सो हेरें, बाईस तेईस वर्षकी प्रतिमाले कार्यक्रममा बोल्न आउन त्यहाँका पुजारी र स्थानीयलाई कति कुरा गरेर कन्भिन्स गरिन होला ? मान्छे भेला गराउनु, कार्यक्रमको उदेश्य मिल्दो कुरा बकाउनु कति गाह्रो काम हुन्छ भन्ने म पनि बुझ्छु | टिभीमा काम नगरे पनि मान्छे भेला परेर चाहेको कुरा बकाउन मैले पनि धेरै पटक पापड पेलेकी छु | कहिले ईभेन्ट म्यानेजर भएर त कहिले अनुसन्धाता भएर | मैले आफुँ गरेका केहि सुपर फ्लप भेला सम्झँदै प्रतिमालाई 'हुन्छ' भने |

कार्यक्रममा जानु भन्दा अगाडी मैले चार वर्ष पुरानो आफ्नै लेख र त्यस पछि स्वथानी माथी लेखिएका अरुका लेखहरू पढेकी थिएँ | स्वस्थानी कथामा महिलाको अपमान गरिएको बिषयमा कुनै पुरुष लेखकले लेखेको थाहा हुन् सकेन त्यसैले ती सबै लेख महिलाहरूद्वारा लेखिएका थिए | चार वर्ष अगाडी समाजशास्त्रमा भर्ना हुँदाको समयमा जस्तो प्रश्नका चांग मसँग कम हुँदै गएका छन् | 'हरेक कुरा जस्तै धर्मशास्त्र र कथाहरू पनि समय र परिस्थिति अनुसार बधलिंदै जान्छन्' भन्ने एकलाईनको वाक्यको लामो ब्याख्या गर्न सकिन्छ | यहि एक लाईनमा बसेर सताब्दियौ अगाडी लेखिएका धर्म शास्त्रका कथा र अहिलेको बौद्धिक वर्गको तुलना गरेर हेर्छु | हेर्दै जाँदा अहिलेको समाजको नेतृत्व वर्गसँग अब प्रश्न भन्दा गुनासा र आवेग बढ्दो भएर आउँछ | मेरो लेखनको आधार पनि त्यहि आवेग हो | मानिसहरू बेलाबेला आबेगमा नलेख भनेर सल्लाह पनि दिन्छन् | लेखेकै आधारमा 'कडा' भन्ने छबी बनेको रहेछ क्यारे जुन कुरा निर्मला दिदि र प्रतिमा बहिनी दुवैको आग्रहमा झल्कन्थ्यो | यहि आवेगलाई सफ्ट बनाएर उत्तर दिनु थियो |

अघिल्लो दिन भने जस्तै गरि व्रतालु महिलाहरू कुर्सीमा बस्न मानेनन् | कसले व्यवस्थापन गरे थाहा भएन तर, परालका सानासाना मुठा ल्याएर महिलाहरू बसे | धर्मलाई कार्ल मार्क्सले अफिम हो भनेर व्याख्या गरेका छन् भनेर पढियो लामो समय देखि | मार्क्सले भने पनि नभने पनि धर्म अन्धताले त्यस्तो भनाईलाई पुष्टि गरिरहेको छ | व्रत गरेका महिलालाई मुख्य दुई कारणले आकर्षित गरेको रहेछ, छोराको अपेक्षा र मनको शान्ति | एक जना आमाले बढो गर्वका साथ व्रतको प्रभावले आफ्ना पनि छोरा भएको र छोरीका पनि छोरो भएको अनुभव सुनाउनु भयो | उहाँको कुरा सुने पछि समाजले छोराको अपेक्षा किन गर्छ ? वा महिलालाई अपमानित गर्ने कुरा अहिले पनि धर्मको नाममा किन सुनाईन्छ भन्ने प्रश्नमा मूल पुजारीले भने, 'सँगै जीवन बिताउने भए पछि उसलाई नराम्रो व्यवहार गर्न त भएन नि' | भन्न त मन थियो, 'महिलालाई (वृन्दा)लाई बलात्कार गरे बापत आज पनि कुस, पिपल र तुलसी जस्ता औषधि जन्य बनास्पतिलाई नारायणको नाममा पुजा गर्ने गरिन्छ |' तर त्यसलाई सफ्ट भाषामा जब छोरीले बा आमा पाल्न थाल्लन त्यस पछि समाजमा छोराको अपेक्षा घट्ला भनेर उत्तर दिएँ |

व्रतालु महिला साच्चिकै धर्म नामको अफिममा लट्ठ थिए | बोलि पिच्छे 'माधवनारायण' (स्वस्थानी व्रत कसरी गर्ने भनेर सुरुमा नारायणले पार्वतीलाई सिकाएको हुनाले गुरुको रुपमा नारायणलाई बिशेष पुजा गरिने रहेछ सालिनदिमा) भनेर उच्चारण गर्थे | तर अन्य सहभागी पनि थिए जसमध्ये कतिलाई स्वस्थानी कथामा महिलालाई हेपेको मन परेको थिएन, कतिलाई सालिनदिमा मानव मानव बिचमा गरिएको छुवाछुतको कुरा मन परेको थिएन | स्वस्थानी कथामा प्रसाद श्रीमान्, छोरा, मित छोरालाई दिनु वा नदीमा बगाई दिनु भन्ने उल्लेख छ | एक जना दिदीले प्रसाद आफ्नी छोरीलाई दिएको कुरा सुनाईन |

स्वस्थानी किन यस्तो लेखियो होला भन्ने प्रश्नमा 'यो महिलालाई मानिस नासंझिने, जे गरे पनि हुन्छ भन्ने मान्यता राख्ने युगमा कुनै पुरुष द्वारा लेखिएको भएर यस्तो भयो होला' भनेर मैले भने पछि एकजना दिदीले प्रश्न गर्नु भयो 'अब त हामी पनि सबल भएका छौं | अब महिला लेखक पनि हुनुहुन्छ तपाईंहरूले महिलाको पक्षमा हुने स्वस्थानी लेख्नु पर्दैन ?' भनेर प्रश्न गरिन | उनको प्रश्नको ठ्याक्कै उत्तर मसँग थिएन | तर, धर्मशास्त्रको पुनर्व्याख्या नेपालमा पनि सुरु भएको लामो समय भयो | महिलाले नै त्यसमा पुनर्लेखन गर्न पनि थाल्नु भएको छ | चिरहरण त्यसको उदाहरण हो | पुनर्व्याख्या कस्तो छ त्यो फरक पाटोको कुरा हो | नारी शक्तिको राम्ररी इतिहासलेख्ने हो भने यति बेलाको नेपालको राजनीतिक नेतृत्वको कथा गज्जब हुन् सक्छ वा प्रधान न्यायाधीशले जुन साहसका साथ काम गर्नु भएको छ त्यो पनि राम्रो विषय हुन्छ होला | यो बारेमा हाम्रो पुस्ताका लेखक (महिला वा पुरुष)ले लेख्लान कि नलेख्लान् ? त्यसको लागि केहि समय कुर्नु पर्ला | 


कार्यक्रमको सुटिंग सकिए पछि व्रतालु बाहेकका दिदीहरूसँग गफ भयो | दुई जना दिदिहरू तसलिमा नसरीनका ठूला फ्यान रहेछन् | नेपाली साहित्यमा त्यस प्रकारले लेख्ने लेखक नभएको भन्दै मलाई त्यस्तै लेख्नुस न भनेर निशुल्क सल्लाह पनि दिए | चिया खाँदै गर्दा समाज परिवर्तन हुँदै गएको र धर्म नाम मात्रको हुँदै गएको कुरा भयो | स्वस्थानी मेला व्यवस्थापनका समितिका एक सदस्यले 'तपाईं दुई महिला हाम्रो नेता र गुरुका बिचमा बसेर स्वस्थानी कथाका नराम्रा पाटाको बिरोध गर्नु भयो | तपाईंले त यो धर्म शास्त्र नै होईन भन्नु भयो | कम आँटको कुरा हो ?' भनेर प्रश्न गरे | उनका कुरा सुन्दा दुईदिन अघि कडा कुरा गर्न नमिल्ले सर्त सम्झंदै मनमा लाग्यो, 'धर्मशास्त्र नामका ग्रन्थ कुनै समयमा लेखिएका कसैका रचना मात्र हुन्' भन्ने कुरा गर्न पनि ठूलो आँट मानिने समाजमा हामीलाई कडा बोल्लान् भनेर डर मानिनु पनि के नौलो कुरा भयो र ?

0 comments:

Post a Comment