इतिहासमा हर स्टोरीको सुरुवात

on Monday, November 7, 2016


 नारीवादी ज्ञान शास्त्र भन्छ, 'मानव समाजको अहिले सम्मको इतिहास हिज स्टोरी हो अर्थात् पुरुषहरुको कथाको संग्रह हो | किन कि इतिहासका हरेक पाना पुरुषका दुख्ख, संघर्ष र विजयका कथाले भरिएका छन् | कतै महिलाका छन् भने अपवाद छन् |' राजनीतिक इतिहासको मात्र कुरा होईन, हरेक क्षेत्रका इतिहास हिस स्टोरी नै रहेका छन् | सामान्य ज्ञानमा एउटा शिर्षक नै छ, 'फादर हरु' | उक्त शिर्षकमा हरेक क्षेत्रका फादरहरुका नाम छन् | तर, समाजको कुनै त्यस्तो क्षेत्र छैन जहाँ कुनै मदरको नाम होस् | साहित्यको कविता विधामा आदिकवी, महाकवि, आँसुकवि, राष्ट्रकवि सबै पुरुष भेटिन्छन | समाजको नेतृत्व गर्ने क्षेत्रहरुमा सेनापति, राष्ट्रपति, कुलपति, सभापति सबैमा पतिहरु मात्रै छन् | अहिले सम्मको मानव इतिहासमा आमाहरुको भाग नै छैन | संसारभरका मदर, महिला वा पत्नीको नाम गुमनाम छ ? त्यहि गुमनामीसँग हजारौं वर्षको मानव सभ्यतामा अहिले छोरी हरुलाई आमाको गर्भमा नै मार्न थालिएको छ | छोरी किन जन्माउने ? किन उसको राम्रो स्याहार गर्ने ? किन पढाउने ? किन महिलालाई साजनीतिक सामाजिक क्षेत्रमा अगाडी बढाउने ? भनेर अनेक प्रश्न स्थापित छन् हाम्रो समाजमा |  


अहिले पनि नेपाली समाजमा छोरी भनेको अर्काको घरमा जाने जात हो, खाना पकाउने, खुवाउने, अर्काको आदेश मान्ने जात हो वा अर्काको भाग्यमा रहने जात हो भन्ने मान्यता छ | गाउँ घरमा छोरीलाई पढाएर के हुन्छ र ? अर्काकै खुट्टा ढोग्ने हो केरे ! भन्ने कुरा हुँदो रहेछ अझै | छोरीलाई धेरै पढाए दाईजो पनि धेरै दिनु पर्ने हुन्छ भन्ने मानसिकता छ | पढेका बुहारीले सासुको खुट्टा ढोग्दैनन(अर्थात सम्मान गर्दैनन्) भन्ने गफ हुने रहेछ | यस्तै खिस्सी टिउरी सुन्दै, दाई भाई भन्दा कम स्रोत र साधनमा पढेका महिलाहरुले श्रीमान् भनेको साथी हो भन्ने कुरा बेला बेलामा भन्दै आएका छन् |

भर्खरै सकिएको दसैंमा मान्यजन स्वरूप श्रीमानको हातबाट महिलाले टिका थापेको बिषयमा पनि निक्कै चर्चा भयो | समानताको कुरा गर्ने हो भने श्रीमान कसरी मान्यजन हुन् सक्छन भन्ने र उमेरको आधारमा श्रीमान मान्यजन हुन् भन्ने बारेमा महिला लेखकहरुको फेसबुके बहस अझै जारि नै छ | यता देशको राजनीतिमा पछिल्लो एक महिनामा देशको दुई सर्बोच्च पदमा महिलाहरु निर्वाचित भएका छन् | पछिल्लो एक महिना सार्वजनिक संजालहरु दुई महिलाका फोटाहरुले रंगिन बने | नेपालको ईतिहासमा पहिलो पहिलो पटक दुई महिलाका दु:ख, संघर्ष र विजयका कथाले टिभीका स्क्रिन, पत्रिकाहरुका हेडलाईन बन्ने मौका पाए |

संसद भवन बानेश्वरमा राष्ट्रप्रमुखको निर्वाचन हुँदै गर्दा मेरा राजनीति बाहिरका साथीहरु कुरा गर्दै थिए, 'महिला निर्वाचित भएर के हुन्छ ?' उनीहरुको कुरोको चुरो थियो, रास्ट्रप्रमुख निर्वाचित हुँदै गरेकी बिद्या देबी भण्डारीले केहि महिना अगाडी महिला अधिकारको बारेमा सार्वजानिक गरेको अभिव्यक्ति | सन्तानले आमाको नामबाट बंशजको आधारमा नागरिकता पाउनु पर्छ भन्ने आन्दोलनमा गरेको असहयोग, एमालेकी अर्की नेतृ रामकुमारी झाँक्रीको राजनीतिक जीवनमा गरेको पटक पटकको असहयोग | उनिहरुले गरेको बहस रोचक नै थियो | तर, महिला हुँदैमा के हुन्छ ? भन्ने प्रश्न धेरैको मनमा उठेको प्रश्न हो भन्ने लाग्यो | मेरा साथीहरुको तर्क थियो, 'बिद्या भण्डारीले कुनै महिलालाई, महिलाका अधिकारलाई स्थापित हुन् त नदिने मान्छे राष्ट्रप्रमुख भएर के हुन्छ र ?'भन्ने |

अहिले राष्ट्रप्रमुख महिला भएर के हुन्छ र ? भनेर सोधिने, सोचिने प्रश्नको बिकास कसरी भएको होला | रामबरण यादव राष्ट्रप्रमुख हुँदा त कसैले, 'यिनी रास्ट्र प्रमुख भएर के हुन्छ र ?' भनेको सुनिएको थिएन | पक्कै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने हजारौं बर्ष देखि नपढेको नदेखेको हाम्रो समाजको अनुभवमा यस्तो प्रश्न विकास भएको हो | अहिले हाम्रो देश यस्तो मोडमा छ कि कुनै पनि राज नेताले देश भित्र बाहिरका समस्यालाई राम्ररी व्यवस्थापन गर्ने हो भने पनि जनताले सहज महसुस गर्न अझै १० पन्द्र वर्ष लाग्छ | विकास, व्यवस्थापन, सहकार्य जस्ता कुराको लामो प्रक्रिया हुन्छ | रातारात परिवर्तन सम्भव हुँदैन | यस्तोमा कुनै नेता सत्ता वा शक्तिमा आउंदैमा कायापलट हुने पनि होइन |

नेपालको देश्रो राष्ट्रप्रमुखको रुपमा बिद्या भण्डारी हुनु भएको छ | जरुर उहाँ राष्ट्रप्रमुख बन्दैमा रातारात कुनै परिवर्तन हुने छैन | किनकि त्यसरी परिवर्तन सम्भव हुने कुनै आधार छैनन् | यसै पनि नेपालको राष्ट्रपति हुने भनेको सर्वमान्य अभिभावकको पद हो, कार्यकारी पद होइन | देश जसरि अगाडी वा पछाडी गईरहेको छ त्यसरी नै जाने छ | केहि कुरामा उहाँको हात हुने छ | तर, कार्यकाल कत्तिको सहज हुनेछ ? कसरी उहाँले काम गर्नु हुनेछ ? उहाँका सल्लाहकारहरुले कस्ता सल्लाह दिनेछन भन्ने कुरामा भर पर्छ |

महिला राष्ट्रप्रमुख भए पनि पुरुष राष्ट्र प्रमुख भए पनि मानिसको दैनिक जीवनमा खासै परीवर्त न आउने भए किन मानिसहरु यसरी खुसी बनेका ? भन्ने प्रश्न पनि आउँछ | तत्काल राजनीतिक रुपमा देखिने परिवर्तन न आए पनि छोरा र छोरी बीच गरिने बिभेदहरु घट्ने क्रम तिब्र हुन्छ | बालबालिकाको हुर्काई मा गरिने विभेद कम हुन्छ | छोरी मान्छे भएर यसो गर्नु हुन्न उसो गर्नु हुन्न भन्ने भनाई बिस्तारै घट्दै जाने छ | कुन चाहिं महिलाले पढेर के गरेका छन् ? वा राजनीतिमा लाग्ने महिलाहरुलाई त्यहि कोसाध्यक्ष हुने त होला नि, वा महिला मन्त्रि हुने त होलानी भन्ने जस्ता कुराहरु कम हुँदै जाने छन् | यसरी गरिने प्रश्नमा अहिले सम्म जावफ थिएन | अब जवाफ तयार भयो, 'अगाडी सरे हुन्छन नि राष्ट्रप्रमुख हुन्छन्, सभामुख हुन्छन् |' भन्ने |


सबै भन्दा ठूलो कुरा सरकारले राम्रो नीति निर्माण गर्यो भने महिला पनि सर्बोच्च तहमा पुग्न सक्छन भन्ने उदाहरण बनेको छ | महिला पनि बन्न सक्छन भन्ने कुराले हरेक क्षेत्रमा अगाडी बढ्न चाहने महिलाहरुको लागि आत्मविश्वास प्रदान गर्ने छ राष्ट्र प्रमुख र सभामुखमा महिला निर्वाचित भएको कथाले | यो एक कोसे ढुङ्गो भएको छ इतिहास अब हिसको मात्रै होइन हरको पनि संघर्ष र सफलताको कथाको भन्ने | 

0 comments:

Post a Comment