एसएलसीमा फेल हुँदैमा आकास खस्दैन

on Friday, August 19, 2016


दुई महिना जति भयो होला नेपालको पश्चिम पहाडमा एकै हप्तामा दुई छुट्टा छुट्टै विधालयका चार चार जना बहिनिहरुले निमाविको परिक्षामा फेल भएको कारण सामुहिक रुपमा आत्मा हत्या गरेको | हरेक वर्ष एसएलसीको रिजल्टपछि केहि समाचार आउँछन् 'एसएलसी परिक्षामा फेल भएका कारण छात्राले आत्मा हत्या गरिन' भन्ने खालका | मेरो कामना छ यो वर्ष त्यस्तो कुनै घटना न होस् |


मैले १६ वर्षको उमेरमा ५८ सालमा एसएलसी परिक्षा दिँदा मेरो दुनिया सानो थियो | मेरो दुनिया(गाउँ, आफन्त, बिधालय)मा छोरीले एसएलसी पास गर्नु भनेको अपवादको कुरा थियो | मैले पढेको बिधालय, मेरा परिवार-आफन्त, गाउँले कसैले पनि हामीले एसएलसी पास गर्न हामीले पढेका हौँ भन्ने महशुस गरका थिएनन् | गराउन खोजेका थिए होलान, कम्तिमा मैले महशुस गरेकी थिईन |
हाम्रो एसएलसी परिक्षाको समयमा ६ दिन लामो माओवादीको नेपाल बन्द थियो | माओवादीको बन्दको कारण त एक निहु मात्रै थियो, खासमा मैले एसएलसीमा पास हुने गरि पढेकै थिइन् | परिक्षा दिन १५ दिन बजारमा बस्दा मलाई परिक्षाको पिर भन्दा, आफुँले फेरेको स्वतन्त्रताको स्वादले उद्देलित बनाएको थियो | मैले मेरो क्षमताले भ्याए सम्म उत्तर लेखेर दिएँ | तर पनि मलाई थाहा थियो, मैले पास गर्ने गरि उत्तर दिईएकि थिईन | त्यो वर्ष एसएलसीको रिजल्ट राती आएको थियो जस्तो लाग्छ | जेठको अन्तिम हप्तामा रिजल्ट आएको भोलि पल्टको बिहान हामी चैते धान काट्दै थियौं |
बिहान भरि धन काटेर घर आए पछि अघिल्लो दिन एसएलसीको रिजल्ट भएको कुरा हुनथाल्यो | खान खाए पछि म थाकेर लोद थिएँ, पिढिको बेन्चिमै निदाएछु | मेरा साथीहरु 'सहरबाट कसैले रिजल्ट भएको पत्रिका ल्याएको छ स्याउलीबजार जाम' भन्न आए | मलाई थाहा थियो, म पास हुन्न भन्ने | त्यहि पनि साथीहरुसँग गएँ | सबैले हेरेको देखे पछि हेर्न मन लाग्यो, मैले थर्ड डिभिजनमा हेरें | अरु डिभिजनमा पास हुन्छु भन्ने पनि थिएन | त्यहाँ पनि मेरो नम्बर थिएन |
मेरो मात्रै होइन स्याउली बजारको उक्त पत्रिका पढ्ने कोहि पनि पास भएका थिएनौं | बजार बाट फर्कंदा हामी हास्दै फर्किरहेका थियौं | कुनै मान्छेहरु भन्दै थिए, 'कस्ता सरम नभएकाहरु फेल भएको कुरा पनि हास्दै भन्छन' | कोहि भन्दै थिएँ, 'यो त राम्रो पढ्थी तो कसरी फेल भई ? यो एसएलसी पास हुन पनि भाग्यमा लेखेर ल्याउन पर्नीरच' | हुन् पनि सरहरू-दाईहरु भन्नु हुन्थ्यो, 'एसएलसीमा चान्स, आईएमा लेक्चर, बिएमा डान्स' | बिए पछि के हुन्छ भन्ने कुरा स्कुलमा-दईहरुका गफमा हुँदैनथे | उनीहरुको गफमै नभए पछि हाम्रो कान सम्म पुग्ने कुरा पनि भएन |
घरमा पुगे पछि पास भएको भए पो सुनाउने जरुरि हुन्थ्यो, फेल भएको कुरा बा-आमाले आफैं बुझ्नु भो होला | राती खाना खाने बेलामा आमा रुनु भयो | अघिल्ला दुई वर्ष सानोदाई फेल भए पछि यो वर्ष परिक्षा नै दिएका थिएनन | आमाले रुँदै भन्नु भयो, 'अबको जमानामा पनि एसएलसी फेल भएर के अर्नी हो ? भविष्य सोचेका छौं तिमीहरुले ?' आमाको कुरा सुनेर मलाई अचम्म लाग्यो | सोचें आमालाई यत्रो पिर रहेछ हाम्रो भविष्यको | मलाई त लाग्थ्यो मेरी आमा मेरो बिहे बाहेक केहि पनि सोच्दिनन होला |  मैले सोधें, 'म पास भएर के गर्छु र ?' मेरो प्रश्नमा बाले भन्नु भयो, 'यो ढोका हो नि दुनिया देख्नी, पास भए छाती फुलाउँदै हिड्ने, नभए पछि खुम्चाउँदै हिड्ने जिन्दकी भरि |' मैले फेरी सोधे, ' मैले कम्पार्टमा पास गरे फुल्छ तपाइको छाती ?' बाले भन्नु भो, ' तैले त्यत्ति गरिस भने मेरो नाक घिरौला जत्रो हुने थियो |'
त्यो राती मैले बा आमालाई भने, 'मलाई पढ्नै न आउने भएर फेल भएकी होइन, पास भए पछि पनि जाने ठाउँ कहिँ छैन भनेर मेहनत नगरेकी हो | मलाइ सबै बिषय लाग्ने पनि होइन अंग्रेजी र गणित लाग्ने त होला | अर्को पल्ट कम्पार्ड(पुरक परिक्षा)मा पास हुने गरि पढ्छु नि त |' मेरो कुरामा बा आमाले कुनै प्रतिक्रिया जनाउनु भएन | भोलि पल्ट ठूलो हिम्मत जुटाएर गणित पढाउने हरिसरलाई केहि साथी मिलेर पढ्न आउँछौं भन्न गयौं | जुन सरसंग म दूई वर्षमा पहिलो पटक बोलेकी थिएन | हरिसरले भोलि पल्टबाट औ भन्नु भयो अनि हामी पढ्न थाल्यौं |
असरको महिनामा पढ्न जान त्यति सहज थिएन | दिनभरी धन रोप्ने र काट्ने मेलो हुने हुँदा रात पर्ने बित्तिकै निद्रा लाग्थ्यो | त्यो बेला सम्ममा हाम्रो गाउँमा बिजुली थीएन | मौरी कराए झैं लामखुट्टे लाग्थे | बा भन्नु हुन्थ्यो, 'टुकी झुल बाहिर राखेर पढ |' झुल बाहिर टेबलमा बालेको टुकीको उज्यालो झुल भित्र राम्ररी पुग्दैनथ्यो | म झुल भित्रै टुकी बालेर पढ्थें बाले देख्नु भए भन्नु हुन्थ्यो, 'फेरी घरमा धुनी लगाउछेस के रे तैले |' न्वारानको दिनमा पण्डितले आगो भन्दा टाढा राख्नु भनेको र जन्मेको २२ दिनको बेलुका घरमा आगो लागेर श्री-सम्पति सक्किएको हुनाले बा म १६ वर्षकी हुँदा पनि बत्तीको नजिक देखे डराउनु हुन्थ्यो सायद | कैयौं पल्ट म झुल भित्र टुकी बालेर निदाएँ | त्यहि पनि पढ्ने कोसिश गरेर पास गरें |
काठमाडौंमा एक्लै बसेर पढ्न थाले पछि लाग्यो, 'एसएलसी पास गर्नु भनेको कुनै जीवन भरि छाती फुलाउदै हिड्ने ढोका होइन रहेछ | एसएलसी पछि पढाईकै कैयौं ढोका हुँदा रहेछन जसलाई फेरी त्यतिकै मेहनतले मात्र पार गर्न सकिने रहेछ | पढाई बाहिरका कैयौं यस्ता ढोका हुन्छन्, जसलाई पार गर्ने नसकेर जीवनभर छटपटाएर हिड्छ मान्छे |' प्रेम, परिवार, जागिर, स्वाथ्य जस्ता परिक्षा पार गर्ने नसकेर रुँदै हिन्छन मान्छे | काठमाडौं आएको १३ वर्ष पुग्नै लाग्दा सोच्छु, काठमाडौंमा यस्ता कैयौं परिक्षा दिईयो, जसका अगाडी एसएलसीको परिक्षा फिकाफिका लाग्छ |
कुनै अन्तर्वार्ता पढ्यो सुन्यो भने सुरुमै लेखिएको भनिएको हुन्छ, 'उहाँ त बिधार्थी जीवनमा सधैं पहिलो हुनुहुन्थ्यो |' आज पनि बढी बिधालयमा सधै फस्ट हुने भनिएका मानिसका अन्तर्वार्ताहरु छापिन्छन, प्रसारण हुन्छन | मिडिया र समाज मिलेर फस्ट हुने मात्र राम्रो हुन्छन भन्ने एक प्रकारको धारणा बिकास भएको छ | मलाई लाग्छ, ज्ञान हुनु र ज्ञानी हुनुमा आकाश पातालको फरक छ |

कान्तिपुर पत्रिकाको सनिबार आउने कोसेलीमा लामो समय पुस्तक बार्ता भन्ने एक कोलम थियो | त्यहाँ नेपालका पढेलेखेका भनिने सबैको अन्तर्वार्ता छापिएको हुनुपर्छ | त्यसमा एक प्रश्न थियो 'किताब नभए संसार कस्तो हुन्थ्यो होला ?' केहि अपवाद बाहेक धेरैको उत्तर हुन्थ्यो, 'संसारै अन्दकार हुन्थ्यो, गाह्रो हुन्थ्यो' भन्ने खालका | हाम्रो समाजको बैचारिक धरातल कस्तो छ भन्ने नमुना लाग्छ मलाइ यो प्रश्न |
एसएलसीको रिजल्टले धेरै कुरा निर्धारण गर्छ, जस्तो कि तपाईं के बान्ने ? कुन पेशा अपनाउने ? भन्ने कुरा यो रिजल्टले निर्धारण गर्छ | तर, तपाईं कस्तो बन्ने ? कति कमाउने(कमाउने कुराले अहिलेको जमानामा धेरै महत्व राख्छ), कस्तो बाटोबाट कमाउने ? भन्ने कुराको निर्धारण यो रिजल्टले निर्धारण गर्दैन | त्यसैले यो परिक्षाको ढोका एकदमै ठूलो हो र यो खुलेन भने जिन्दगी बर्वाद हुन्छ भन्ने कुरा बेकार हो |

  (२०७२ सालको एस एलसी परिक्षाको रिजल्ट पछि लेखिएको )


0 comments:

Post a Comment