श्रमिक परनिर्भर हुदैनन्

on Wednesday, July 20, 2016

हामी किशोर-किशोरी हुँदा नेपालमा माओवादीको कथित जनयुद्ध चलिरहेको थियो | जन युद्धका धेरै कुरा नजान्ने र केहि जानेका कुरामा पनि थोरै मन पर्ने मध्ये, सेतो चुना-कमेरो पोतेका घरमा लेखेको एक लाईन थियो, 'हार्नको लागि हत्कडी छ, जित्नको लागि संसार छ |'


बैसाख १२ गते गएको भूकम्प पछि आएको राहत र त्यो राहत लिने लाईनमा उभिने टाठाबाठाहरुको कारण भूकम्पले नेपालीलाई कतै परनिर्भरता तिर धकेल्ने त होइन भन्नेमा धेरै समाजशास्त्री र बिकसविद्को ध्यान गएको देखिन्छ | समाज बिकासको नव मार्क्सवादी सिद्धान्त 'परनिर्भरता'ले विकासका नाममा आउने बिदेसी वा अर्को स्थानका मानिसको सहयोगले अरु प्रति निर्भर बनाउछ र त्यसैका आधारमा शोषण बढाउछ भन्ने मान्यता राख्छ |

समाजशास्त्रका आदरणीय गुरु चैतन्य मिश्र परनिर्भता सिद्धान्त प्रति लामो समय गहिरो लगाव राख्नु हुन्थ्यो(अहिले उहाँको बैचारिक लगावमा धेरै परिवर्तन भईसकेको छ) | अहिले पनि 'विकास र अपविकास' नामक अंग्रेजी भाषामा लेखिएको लामो लेख उहाको बैचारिक चिनारीको एक मानकको रुपमा रहेको छ | जुन एम ए समाजशास्त्रमा पढाइन्छ | यसै पनि हरेक वर्ष त्रिवीबाट निस्कने सैयौं समाजशास्त्रीले उहाँलाई गुरु मानेर निस्कन्छन | समाजशास्त्र विभागबाट निस्कने धेरै बिधार्थीमा परनिर्भरता सिद्धान्तको लगाव रहन्छ |

भूकम्प पछि एक अनलाईनका पत्रकारसँग गरिएको कुराकानीमा चैतन्य सरले गाउँघरमा मानिसहरु आफ्ना झुप्रा बनाउन र दैनिक काम गर्न थाले, तर काठमाडौंका मानिस टुंडिखेलमा छन्, उनीहरु शरणार्थी हुने भए भन्ने चिन्ता ब्यक्त गर्नु भएको छ | उहाँको चिन्तामा चिन्ता थप्दै अब सहरी गरिबहरुमा परनिर्भरता बढ्छ भन्ने तरिकाले विचार निर्माण हुदै गईरहेको छ |  

पछिल्लो समय मेरो चासो सहरी समाजको बारेमा बढ्दै गएको छ | म त्यहि चासोको कारण गल्ली-गल्ली, मार्टिन चौतारी, एक्ट फर कुईक र बुकहलिक्सले संयुक्त रुपमा 'सामाजिक मूल्यांकन' गर्नको लागि छानिएका तीन स्थान मध्ये गोंगबुमा गएँ | गोंगबुलाई सहरी, त्यो पनि ट्रान्जिट पोइन्टको एक नमुना भनेर छानिएको थियो |

धेरै कुराले म मेरा गुरुहरुका लेखमा बहस गर्ने हैसियत राख्दिन | तर, अहिलेको सामाजिक दृश्य र सिद्धान्तकारका बिचारहरु हामीले पढेको २५ वर्ष पुरानो परनिर्भरता सिद्धान्तको कुरा भन्दा फरक छन् | यहाँ म एउटा दृश्यको कुरा लेख्न चाहन्छु |

बैसाख २९ गते ठूलो पराकम्पन गए पछि मानिसहरुमा ठूलो त्रास फैलियो | जेठ ३ गते हामी भर्खरै घोषणा गरिएको टोखा नगर पालिकाको कार्यालयमा गएका थियौं | रिंगरोड पारीको गोंगबु टोखा नगरपालिकाको १३ नम्बर वडामा पर्छ | टोखा नगरपालिकाका धेरै वडा कार्यालय र नगरपालिकाको भवन समेत भत्केको कारण टोखामा रहेको मंगलादेवी स्मृति भवनबाट दैनिक काम हुने गरेको छ | दिउसो १२ बजेको चर्को घाममा नगरपालिका कार्यालयमा जब मानिसहरु पातलिंदै थिए केहि नमुना (नमुना भन्दा उहाहरुलाई कुनै अफ्ठेरो परेको खण्डमा माफी चाहन्छु) महिलाहरु कार्यालयमा आउनु भयो |

स्थानीय निकायसँग कहिल्यै काम नपरेका, वर्षौंदेखि गोंगबु चोकमा सानातिना व्यापार गर्दै आउनु भएका ती महिलाहरुलाई नगरपालिकाको कार्यालय थाहा पाउन पनि तीनदिन लागेको थियो | सिमित संख्यामा आउने पाल स्थानीय निकाएका कर्मचारीले नागरिक वडा मन्चका मानिसको रोहवरमा वितरण गर्ने हुँदा उहाँहरुले पाउने सम्भावना सुन्य प्राय: थियो | त्यो दिन हामीले उहाँहरुलाई केहि नभनी फर्कियौं |

भोलिपल्ट गोंगबुको मिलनटोल जहाँ एकसाथ कयौं घर भत्केका छन र अझै केहि लास त्यहाँ पुरिएको आशंका गरिएको छ | त्यहाँ अघिल्लो दिन नगरपालिका कार्यालयमा भेटिएकी एक जना दिदिसँग भेट भो | हामीले सन्चै हुनुहुन्छ ? पाल पाउनु भो ? कहाँ बस्नुहुन्छ ? जस्ता प्रश्न सोध्यौं | ति दिदीले आफु बसेको ठाउँ देखाउन लैजानु भयो, केहि खुल्ला ठाउँमा एउटा ठूलो खाट जत्रो छाप्रो थियो | बोरा, फ्लेक्स ब्यानर ले छाएको र बार कुनै भत्केको मासु पसलको बोर्ड थियो | एउटा टेबल, जहाँ केहि बिस्कुट, पराग, चकलेट, चाउचाउ थिए | एउटा बाल्टिमा चिसोका बोतलहरु र दुईवटा थर्मसमा कालो चिया राखेर बस्नु भएको थियो |

कुरा गर्दै गए पछि थाहा भो गोरखाको बरापाकमा उहाँहरुको पुरानो घर थियो, त्यो पनि भात्केछ | उनका श्रीमान टुरिस्ट गाइडको काम गर्ने रहेछन | उनि पनि बेरोजगार रहेछन | भएको पसल भत्कन लागेका घरहरुको बिचमा धरापमा रहेछ | हामीले यी समान के पैसाले किन्नु भो त ? भनेर सोध्दा 'हामीलाई सरकारले पो चिन्दैन त यहींका हाम्रा साथीहरुले त चिन्नु हुन्छ नि' भनेर जवाफ दिईन | उनले आफ्नो पसल नजिकैका पसलेबाट सापट लिएर त्यो पसल थापेकी थिइन् | उनको अवस्थाले हामीलाई बढो दुखी बनायो |

तेश्रो दिन उनि बाँसहरु जम्मा पारेर अल्ली ठूलो टहरो निर्माण गर्दै थिईन | चौथो दिनमा उनको टहरो पसलमा आलु, चना, अन्डा जस्ता समान राखेकी थिईन | चौथो दिन उनको चिटिक्कको टहरोमा पुगे पछि मैले क्याथरिन एन रेन्किनको किताब 'द कल्चरल पोलिटिक्स अफ मार्केट' मा उल्लेख भएको जोरपाटी बजार र त्यसको निर्माणको कथाको याद आयो | क्याथरिनले उक्त किताबमा जोरपाटीमा बस्दै गरेको बजारको फाईदा साँखुका गरिब दलितहरुले कसरी उठाए, र साँखुका माथिल्लो जातका मानिसहरु भन्दा धनि भए भन्ने उल्लेख गरेकी छन् |    

अबको केहि बर्ष काठमाडौंमा भौतिक संरचना निर्माण र पुनर्निर्माणको काम अन्य वर्ष भन्दा धेरै हुने भएको छ | यसै पनि खाडीको चर्को घाममा काम गर्न जाने कामदार उत्पादन गर्ने देश हो हाम्रो | अब केहि वर्ष शारीरिक श्रम गर्ने मानिसको लागि काठमाडौं अबसरले भरिएको गन्तब्यको रुपमा रहने छ | सामान्य तया दैनिक ज्याला हजार रुपयाँमा काम लगाउनको लागि पनि काठमाडौंमा मजदुरहरु पाउन गाह्रो भएको छ |

धेरै मानिसको चासोको केन्द्रमा निम्न वर्गका मानिसहरु पर्ने गरेका छन् | जहाँ सम्म निम्न वर्गका मानिसको सवाल छ, उनीहरुका लागि नियमित काम पाउने हुनाले भूकम्प एक अवसर हुने देखिन्छ | अर्को तर्फ भूकम्पको डरले काठमाडौंमा सानोतिनो व्यापार व्यवसाय गर्ने मानिस जसको अन्य स्थानमा पनि घर खेत छ, उनीहरु आफ्नो गाउँ फर्कने क्रम बढ्दो छ | त्यसरी व्यापार व्यवसाय छोडेर बाहिर जाने व्यवसायीको ठाउँ पनि खाली हुने देखिन्छ | त्यो पनि एक अवसर हो |

सहरी गरिबी त्यस्तो कुरा हो, जो सँग भ्याकुर खनेर खानको लागि न जंगल हुन्छ, न कर्कलोको पातले उबाएर खान मूल, कुवा वा खोलाको पानी हुन्छ, न त स्याउलाले छाउनको लागि चार मिटरको जग्गा, नत खर स्याउला | उनिहरुका लागी जे चाहे पनि रुपयाँ चाहिन्छ | यसरी चाहिने रुपयाँको लागि काम गर्न यो वर्गले लाज मान्दैन | यहि हरेक श्रममा पसिना बगाउन लाज नमान्ने समुहले नै निर्माण गर्ने हुन् संसार भरिका सहरहरु | यी कसरी परनिर्भर हुन् सक्छन र ?


बैसाख १२ गते अगाडी पनि सरकारले सहर बाहिरबाट आएर काठमाडौंमा दुख गरेर जीवन गुजारा गर्नेहरुको लागि कुनै प्रकारको सहयोग हुने काम गरेको थिएन | अहिले पनि धेरै स्थानमा(केहि अपवाद छोडेर) भूकम्पले डेराबिहिन भएका र फर्केर जाने ठाउँ नभएका मानिसहरुको लागि खासै राहतको काम भएको छैन | उनीहरुले आफ्नो व्यवस्था जस्तो तस्तो आफै गर्ने कोसिस गरेका छन् | राहतको कुरा जहाँ सबैलाई बाडिएको छ, जरुर त्यहाँ गएर थाल थापेर खाएका छन् | तर, उनीहरु बिनाकाम बसेका छैनन् | हरेक दिन मेहनत गर्ने र सकेसम्म आफ्नो जोहो आफै गर्ने मानिस कहिल्यै परनिर्भर हुदैनन् | जब ठाउँ ठाउँमा मजदुरहरु चर्को घाममा काम गरिरहेका देखिन्छ्न, मलाई लेखको सुरुमा उल्लेख गरेको माओवादीले लेखेको नारा खुब याद आउँछ | 
(यो लेख २०७२ जेठ महिनामा कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो )

0 comments:

Post a Comment