स्वस्थानी कथा विभेदको सुरुवाती कथा

on Monday, August 5, 2013
यति बेला हिन्दुहरुको एकमहिना लामो स्वस्थानी वर्तकथा टोलटोलमा वाचन सुरु भएको छ । अस्ति भर्खर काभ्रेमा एक सामाजिक अभियन्तालाई बोक्सीको नाममा पासविक हत्या गरियो | दिनदिनै कतै कतैबाट समाजमा महिला हिंसाका घटना दिन दिनै संचार माध्यममा आएका छन् । अनि घरघरमा देवीको पुजा गरिँदै छ । 



स्वस्थानीको व्रत त्यस व्रतमा पढिने कथा झट्ट सुन्दा देवीको कथा र व्रत हो । तर, त्यहाँ न कतै स्वस्थानीनामकी देवीको कथा छ, न स्वस्थानीको पुजा नै गरिन्छ । त्यहाँ कथा पनि महादेवको छ र पुजा पनि महादेवको नै हुन्छ । समाजविज्ञान भन्छ, जब संसारमा महिला घर भित्र र पुरुष घरबाहिर काम गर्ने परिपाटीको सुरुवात भयो । तब महिलालाई देवीको रुपमा पुजा गर्न थालियो । विस्तारै पुरुषहरुले महिलालाई वाहिरका कामबाट अलग्याउँदै गए । बाहिरका कामबाट पुरुषले अलग्याउँदै र महिला आफै अलग्गीँदै गए पछि साधन स्रोतको पहुँचबाट पनि महिला टाढा हुन थाले । यसरी समाजका हरेक कुराबाट टाढा हुँदै गएका महिलाले धर्मको रित त पुराए, धर्मको काम त गरे | तर धर्मले के भन्छ भन्ने चासो राखेनन् । जसको कारण एकातिर महिलालाई देवी बनाएर अनेक वर्त र कथाको रचना भयो । अर्को तर्फ धर्मशास्त्रका कितावहरु महिलाले पढ्न नहुने नियम बनाईयो । 

जब संसारमा आमाहरूले घरबाहिरको काम बाट आफुलाई अलग गराए सायद त्यस पछि यो कथा लेखिएको होला भनेर अनुमान गर्न सकिन्छ। जसमा महिलाको व्रतको आवरणमा पुरुषको शक्तिको गुनगान लेखिएको छ । जुन लिङ्ग पुजाको असर आज पनि हाम्रो समाजमा जताततै देख्न बाध्य छौँ । हरेक धर्म र समाजमा महिलाको स्थीति कमजोर होला । त्यो अर्को पक्षको/बहसको अर्को पाटोको कुरा हो, यहाँ हामी महिला नै कसरी लिङ्गको पुजामा लिप्त छौँ भनेर मात्र लेख्न खोजेकी हुँ । अहिलेका नेपाली महिलालाई धर्म गर्न र वर्त बस्नै पर्छ भनेर कसैले दवाव दिँदैनन् । यस कारण पनि महिलाहरु आफ्नो रहरले वर्त बसेका हुन् । यसरी रहरले वर्त बस्नेहरुले कतै आफुँलाई कमजोर त बनाईरहेका छैनन् ? भनेर प्रश्न गर्न मन लाग्छ |
पुषको पुर्णिमा देखी धेरै महिलाहरु एक महिना लामो स्वस्थानी वर्त बसेका छन् । अब बिस्तारै काठमाडौंका मान्छेले सालिनदी गएका फोटाले फेसबुकको भित्ता रंगाउने छन् | जसमा पढेलेखेका महिलाको संख्या पनि प्रसस्त हुन्छ । हिन्दु समाजमा जन्मेका महिलालाई थाहा नभएको र कसैले भनेको नयाँ व्रत र पुजा होईन स्वस्थानीको । व्रत नबसेका घरहरुमा पनि स्वस्थानीको कथा बाचन गर्ने चलनले धेरैलाई यो कथा थाहा भएको हुन्छ । यो व्रत र कथाको नाम त स्वस्थानी परमेश्रीको भनिन्छ, तर त्यसमा पुजा र व्रत महादेव(शिव)को हुने गर्छ । यो वर्ष पनि साली नदीमा स्वस्थानीको वर्त बस्ने महिलाले स्वस्थानी नाम गरेकी कुनै देवीको फोटो वा मुर्तिको स्थापना गरेका छैनन् होला। त्यहाँ नदिको वालुवको शिवलिङ्ग बनाई पुजा थालिएको छ । अचम्म लाग्दो कुरा के छ भने, व्रत कस्को भन्दा देवीको । अनि पुजा गरिने मुर्ति र कथा कस्को भन्दा महादेवको । ३१ अध्यायको कथामा स्वस्थानी भनेकी कस्ती देवी हुन भन्ने विषयमा खासै केही लेखिएको छैन । तर महादेवको शक्तिको कथा बढो रोचक ढङ्गबाट लेखिएको छ । यो वर्तकथा लगभग महादेवको व्रत र कथा हो भन्दा कुनै फरक पर्दैन ।

देवीको वर्त भनिए पनि त्यस पुजाको प्रसाद महिलालाई दिइँदैन । बरु खोलामा बगाईन्छ । कथामा भनिएको छ, वर्त बस्नेको पति छन् भने, पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई र मित छोरा पनि नभए खोलामा बगाई दिनु । कस्सो खोलामा पनि पुरुष माछाले मात्रै खानु भनिएको छैन । वर्त बस्ने वा कथा सुन्ने नारीहरुले पंढीतलाई प्रशाद छोरा नभए छोरीलाई दिँदा के हुन्छ ? वा किन नदिने भनेर प्रश्न गर्न अब ढिलो भईसकेको जस्तो लाग्छ ।
देवीको भनेर गरिएको पुजामा किन पुरुष लिङ्गको पुजा हुन्छ भनेर हामीले हाम्रा धर्मशास्त्रका मानिसलाई अव पनि नसोधे कहिले सोध्ने ? स्वस्थानीको कथा भनेर  महादेवको शक्तिको कथा बताई रहँदा र त्यस्ता किताब छापिईरहँदा के हामी भित्र प्रश्न उठ्दैनन् ? केही केही विद्धानहरुले शिवलिङ्गको पुजालाई प्रकृतिको निरन्तरताको पुजा भन्ने जवाफ दिन्छन् । के महिलाको योनीले प्रकृतिको निरन्तरतालाई साथ दिँदैन र ? लिङ्गको पुजा नै गर्नै पर्ने भए स्वस्थानीको पुजामा उनको योनीको पुजा गर्दा हुँदैन ? किन महादेवकै लिङ्गको पुजा गर्ने ? हाम्रो समाजमा अब यस्ता विषयमा कुरा गर्न जरुरी छैन र ? यस्ता प्रश्न उठाउन जरुरी छैन ?खासमा हामी नेपाली महिला हरेक विषयमा छलफल गर्न चाहँदैनौं । बोल्नै पनि चाहँदैनौँ । बरु चुपचाप सहन चाहन्छौँ । आफ्ना कुरो आफैँले विर्सन चाहन्छौं । किनकि हामी अबोला हौँ । हामी जतिनै आधुनिक भए पनि हाम्रो मानसिकता अबोला नै छ । हजुरआमाहरुको जस्तो । स्वस्थानीको कथा विभेदकारी छ, भन्ने लगभग स्वस्थानी कथा सुन्ने सबैलाई थाहा छ । तर हामी बोल्न चाहन्नौ । जब हामी हरेक विभेदको विषयमा बोल्दैनौं । 
तब आफु विभेद परे पनि बोल्दैनौं । किनकि हाम्रो बोल्ने बानी नै छैन । हो, यहिबाट हुन्छ हामीमाथी हिँसाको सुरुवात । हरेक घरमा वैवाहिक सम्बन्ध गासिए पछि पुरुष श्रेष्ठ हुन्छ । महिलाका परिवारले उसको खुट्टाको पानी खान्छन्, उसलाई ढोक्छन् र विष्णुको रुप भएको हुँनाले भगवान सम्झेर पुजा गर्छन् । भन्न त महिलालाई पनि पुरुषको घरमा लक्ष्मीका नाम दिईन्छ । तर त्यहाँ उसलाई लक्ष्मीको ब्यवहार गरिँदैन । बरु महिलाले पुरुषका घरका सबैलाई पुजा गर्नु पर्छ । मानौकी पुरुष र उसको परिवार देवताको परिवार हो । अनि महिला र उसको परिवार मानिसको परिवार हो । यस्ता विषयमा पनि हामी बोल्दैनौँ । यो त्यहि लिङ्गको पुजाको एक निरन्तरता हो । लिङ्गको पुजा अर्थात शक्तिको पुजा । मानौँ महिलाको त कुनै शक्ति नै हुँदैन । विवाहमा भन्ने गरिन्छ पाले पुन्य मारे पाप । के महिला अरुले पालीदिनु पर्ने वा अरुले पाल्नुपर्ने असक्त जाति हो ? यो विषयमा हामीले किन बहस गर्दैनौ ?  हाम्रो समाजमा रहेको धार्मिक विभेदको विषयमा पनि कुरा गर्ने कि ? शालीनदीको किनारमा स्वस्थानी मेला हेर्न जाने युवाहरुले यो त देवीको व्रत हैन र ? किन शिवलिङ्गको पुजा गर्नुभएको भनेर वर्तालुलाई पनि यस्सो प्रश्न पनि सोध्नेकी ? कथा बाचन गरिरहेका ब्रामणलाई तपाईले त महादेवको कथा पो भन्नुभयो स्वस्थानी देवीकै कथा भन्नोस्न  भनेर आग्रह पनि गर्ने कि ? 


0 comments:

Post a Comment