दिल्लीवाला यार

on Saturday, December 20, 2014

युनिभर्सिटिमा परिक्षा सकिएको थियो । म थेसिस लेखिरहेकी थिएँ । लेख्न त म अरु पनि लेख्थेँ । तर मुख्य काम थेसिसकै थियो । थेसिस राम्रो लेख्नु थियो । जसलाई पछि पाठ्यक्रममा सरकारले राखोस् । मनमा नाना प्रकारका कुराहरु आउँथे जान्थे । सुर चलेको दिन पत्रिकामा लेख्थेँ ।

सुर एउटै कुरामा चल्दैन थियो । कहिले दिनको पाँचवटा फिलिम हेथेँ । कहिले दिनको अठार घण्टा सुत्थेँ । कहिले एउटै क्याफेमा बिहानदेखि बेलुका सम्म पढेर बस्थेँ । कहिले हप्तौ सम्म बिना काममा मान्छेहरुलाई भेटेर अनावश्यक चियामा समय र पैशा खर्च गर्थे । भने कहिले फुटपाथका पसलमा केटाकेटीको कपडाको मोलमोलाई गर्थे र पैसा झिक्ने बेलामा कसका छोराछोरीलाई दिनु र ? भन्ने लाग्थ्यो अनि चुपचाप हिँडिदिन्थे । कतिपय दिन पसलेहरु आधा भाउमा दिन्छु भन्दै वर सम्म आउथे । तर, मैले किन्दिनथेँ ।


कहिले कुनै केटीलाई लिएर रेड यरियामा जान्थे । रेड लाईट एरियाको चोकमा बसेर हामी पानीपुरी खान्थ्यौ । पानीपुरी खाईन्जेल बाटामा उभिएका यौन व्यवसायीहरूलाई एकोहोरो हेर्थे र सोच्थे् केटाहरु पनि बस्नुनि कम्तिमा म जत्तिकाहरुका लागि त काममा आउँथे । अनि आफ्नै मनमा लागेको कुरा सम्झेर मनमनै हास्थे ।

मलाई त्यसरी बेपर्बाह नहिड भन्नलाई कोही थिएन । कोही नभएकामा म एकदमै खुसी थिएँ । मेरा आफन्त एकदमै खुसी थिए मेरो पढाई र लेखाई देखेर । मेरा केहि साथि थिए जो समय नदिएकामा रिसाउँथे र उनिहरुलाई खुसी पार्न मैले पत्रिकाहरुमा लेख्नु पथ्र्यो  । लेख्ने कुराले म सधै नाफामा थिएँ । एक त लेखे पछि पारिश्रमिक आउथ्यो । अकोर्,  मेरा साथिहरुले कसैसँग चिनाउन परे मेरो बढाई चढाई गरेर चिनाउथे । जसका कारण विल परिचय गर्नेवालाले तिथ्र्याे । मेरा साथिहरुले भन्थे, "लेख्न आउनु भगवानको एक प्रकारको कृपा हो" । त्यसैले लेख्ने काम मेरो थियो । अनि लेखको साथी भएकोमा गर्व गर्ने र विल तिर्ने काम उनिहरुको थियो ।

गर्मि याम थियो क्यार ! म क्याफेमा पातलो टिसर्ट र चप्पल लगाएर बसेकि थिए । टाउकामा कसैले जोडले हान्यो र भोजपुरीमा भन्यो “रेडलाईट एरियामा के गर्न गएकि ?” मेरो काठमाण्डौको केटा साथी थियो । उसका आँखा कुन्नि किन हो राताराता भएका थिए । मैले उसलाई हान्न उठाएको हात तल झारेँ । उसको माया लागेर होईन । कोही नयाँ मानिस उसँगै उभिएको थियो । त्यस मानिसको उपस्थितीले मैले पहिलो पटक केटा माथी उठाएको हात झारेँ ।

उनीहरु मेरो अगाडीको कुर्सिमा बसे । मेरो साथीले आँखा मिच्यो र मलाई राता भएका आँखा ठूला पारेर हेर्यो । त्यहि बेला वेयटर आएर छेउमा उभियो । चिया वा कफि उसलाई चाहिएको उत्तर थियो । अरु त म के भन्थेँ र ?
‘अस्तिको तिम्रो लेख राम्रो थियो ।’ मेरो साथीले नेपालीमा भनेको थियो ।
‘अच्छा मेने तो देख भी नहि पाया ।’ अर्कोले बङ्गाली लबजमा हिन्दीमा भन्यो ।
मलाई यसै पनि त्यस मानिसको उपस्थिति मन परेको थिएन । त्यसैले मैले पनि भनि दिएँ ‘पढ्नी बात तो अच्छीबात हे हि नहि सर ।’
कफि आयो । मैले कुरा गर्ने मुड छैन भनिदिएँ । मेरो साथी फेरी आँखा राता बनाउँदै गयो । उसँग आएको बङ्गाली लबजवाला पनि गयो । म पढेर बसेँ । कफिको मग लिन नेपाली वेयटर आयो र भन्यो उनिहरुलाई चिन्नु हुन्छ ?
एउटा त नेपाली हो, मेरो साथी । अर्को कोही बङ्गाली होला ।
त्यो बङ्गाली तपाई जस्तै पढ्ने मान्छे हो ।
तिमीलाई कसरी थाहा भयो ?
यहि  आएर पढिरहन्छ । रंजन हो उसको नाम ।
हुनै देउ ! मैले कुरा सिधाएँ । उ पनि गयो आफ्नो काममा । म अधँेरो नहुन्जेल पढीरहेँ ।

अनि अध्यारो भएपछि रोटी खाएर कोठामा फर्केँ । मोबाईलमा म्यासेज आएको थियो । उहि नेपाली साथीको, “तिमीसँग कफि पिएको मानिस रन्जन हो । उ राजनैतिक वातावरणमा हुर्केको हो । नेपाली राजनीतिको बारेमा पनि ठूलो जानकारी राख्छ । भोली भारतको कुनै माथिल्लो तहमा हुने सम्भावना छ । अहिले चाही तिम्रो थेसिस लेख्न सघाउला भनेर  परिचय गराउन ल्याएको हुँ ।”

म्यासेज पढेर हाँसो लाग्यो । मेरो साथी काठमाण्डौमा हुँदा विधार्थी राजनीति गथ्र्यो । म मुड चलेका बेला जुलुसमा हिड्थेँ । कहिले भोट मागी हिड्थे उनिहरुका लागि, कहिले उनिहरुको आन्दोलनलाई सहयोग हुने लेख लेख्थेँ । लेख लेख्ने कुराले नै मलाई दिल्ली सम्म ल्याएको थियो । एउटा लेख मन परेको र उहि साथीको गफको भरमा उसको पार्टीका नेताले हामीलाई फ्रिसिप मिलाई दिएका थिए । सायद उसलाई अझै लागेको थियो होला मैले पढाई सके पछाडी साच्चिकै राजनीति गरुँला । त्यसैले होला भोलीका भारतिय नेताहरुसँग उ मलाई आजै देखि चिनाउन चाहन्थ्यो ।

मलाई त्यसको म्यासेजले केहि असर गरेन । म त्यसरी नै बेप्रवाह काम गरिरहन्थेँ । कहिले फिल्म हल ,कहिले रेडलाईट एरिया, कहिले फुटपाथका पसल, कहिले लाईब्रेरी, कहिले क्याफे । रन्जन नाम गरेको एउटा ठूलो शरीर र बङ्गाली लबज भएको मानिस क्याफेको अर्को छेउको टेबलमा ल्यापटपमा आँखा गडेर बसि रहेको हुन्थ्यो । मेरो ल्यापटप थिएन । त्यसैले म किताबमा आँखा गाडेर बस्थेँ । दिनमा एक दुई पटक रन्जन र मेरा आँखा जुध्थे । तर, त्यो जैरेसँग के गफ गर्नु भन्ने लाग्थ्यो मलाई ।

दिल्लीमा गर्मि बढेको थियो म पातला टिसर्ट र लामो जिन्स लगाउथेँ । त्यस दिन पनि म त्यस्तै कपडामा थिए र नोमचोम्स्कीको किताब हिन्दीमा पढीरहेकि थिएँ । “अच्छा नोमचोम्स्की पढ्ती हो । नोमचोम्स्कीका जैसा स्टोङ्ग हे आपका आर्टिकल ।”
मेरा आर्टीकल ?
यस, योर आर्टीकल  ।

उसको हातमा नेपाली पत्रिका थियो । मागेर हेरेँ । कतिको इडिट गरेछ भनेर । नेपाली वेयटरले मेरो हातबाट मागेर लग्यो । क्याफेमा ठूलो भिड थिएन पढ्यो होला सायद । एक छिन पछि चिया आयो । नेपाली केटाले सधँै जसो मेरो पत्रिकामा  नाम आए पछाडी उसको तर्फबाट चिया खुवाउथ्यो । कहिले काहि क्याफेमा भिड नहुदा घरका मान्छेका कुरा गरीरहन्थ्यो । रोल्पाको मगरले हिन्दीमा भन्यो “रन्जन साहब वो हामरी दिदि है ।”
हाम भि जान्ते, सी इज योर सिस्टर ।
रन्जनको अनुहारमा हेरेँ । सायद मैले पहिला उसलाई त हेरेकी थिएँ तर उसको अनुहारलाई हेरेकी थिईन । उसको साउथ एसियन रङ्गको अनुहारमा तिन भागको दुई भाग दाह्रीले ढाकेको थियो । चिया पिएर म उठेँ ।
आप किधर जा रहिहो ?
‘पढ्नेका मुड नहि हे आज ।’ खासमा मलाई नोमचोम्स्कीको त्यो किताब पढि सक्ने हतारो थियो । अब साथीहरु आउलान् र पढ्न नदेलान् भनेर हिडेकि थिएँ ।
‘लेट्स गो पुरानी दिल्ली !’ उसलाई मेरै साथीले बताएको हुनुपर्छ पुरानो दिल्ली घुम्ने मेरो बानी । मलाई पुरानो दिल्ली काठमाडाँैको असन जस्तो लाग्छ । भिडमा पेलिँदै एक्लै हिड्नु मेरो रहरको विषय नै त हो । मैले उसलाई आउ पनि भनिन नआउ पनि भनिन । उ मसगैँ हिड्यो । त्यो दिन म पहिलो पटक कोहिसँग फुटपाथमा हिडेँ चुपचाप बिना योजना । हो म फुटपाथमा धैरै केटाहरुसँग हिड्थेँ । साथीहरुसँग हिड्दा सधँै गफ र योजना हुन्थे । उसँग केका गफ, केका योजना ?

बिस्तारै क्याफेमा रन्जन र म पढाई कम गफ बढी गथौँ । उसले गफको सुरु गर्ने बाक्य थिए, “लौ बधाइ छ तिम्रो देशका दलहरु बिचमा सान्ती सम्झौता भएछ, लौ तपाईको पार्टी नेता दिल्लीमा छन् चिनाउन पर्दैन ? लौ मलाई बधाई दिनु  हिजो सपनामा तपाईसँग नाचेको देखेथेँ” । मैले गफ थाल्दा प्रायः गफ हुन्थे “एक दिन त राहुल गान्धीलाई म विश्व विधालयमा बालोलाए र निकोज पाउलान्तास, पावर व्लक र राहुल गान्धि नामक कार्यक्रम गर्न पाए मज्जा हुन्थ्यो, अमिर खान दिल्लीमा छन् रे मलाई भेटाउनुन, विश्वविधालयमा एस डी मुनि आउदै छन्, पक्का नेपालको बारेमा बोल्छन्, आज राहुल साँकृयत्यानको किताब पढेँ कस्तो राम्रो लेख्छन् है ?”

“मेरो घरबाट बिवाहका लागि जोड गरिरहेका छन् ।”कफि पिईरहेको बेला रन्जनले नेपालीमा भन्यो । म छक्क परेँ । मेरा गाला र कान ताता भएर आए । अनि बोल्न खोजेको कुरा मुखबाट निस्कन सकेन । मैले पक्क परेर रन्जनका बढीरहेका दाढी हेरिरहेँ । “कफि चिसो भयो ।” उसले फेरि पनि नेपालीमा नै भन्यो । म फेरि छक्क परेँ । मलाई उकुस मुकुस भयो र म बाथरुममा पसेँ । बाथरुममा मुख धुदै गर्दा मनमा थुप्रै प्रश्न एकै पटक आए । ति मध्ये मेरो अन्तस्कर हल्लाउने प्रश्न थियो, के उ मलाई बिवाहको प्रश्ताव राख्न चाहन्छ ?
 म कुर्सिमा बसे पछाडी उसले प्रश्ताव राख्ने पारामा भन्यो “बिवाहको विषयमा तपाईलाई के लाग्छ ?”
दक्षिण एसियामा बिवाह केटीलाई जीवन भर दास र केटालाई जीवन भर मालिक बनाउने एउटा कानूनी सस्कार हो ।
तपाई के गर्नुहन्छ ?
विवाह त गर्दिन ।
मतलब ?
यौन जरुरी छ र बच्चा जन्माउनु पनि जरुरी छ । डक्टर यहि सल्लाह दिन्छन् केटीहरुलाई ।

अब छक्क पर्ने पालो थियो रन्जनको । उसका ठूला आँखा झन ठूला भए र मुख आँ भयो ।
“तपाई विवाह नगरी बच्चा जन्माउने ताकमा हुनुहुन्छ ?”
मलाई उसग घट्नु थियन त्यसैले भनिदिए । ‘ताकमा त छैन तर यौन तपाईलाई जत्ती आवश्यक छ, मलाई पनि त्यत्ती आवश्यक छ । त्यहि एउटा आवश्यकताको लागि जीवन भरी दास बन्न मलाई मन्जुर छैन ।’ मैले यति भने पछाडी उ चुपचाप कुनै म्यागजिन पढेर बस्यो । म लेनीनको स्टेट एंड रिभोल्युसन भन्ने किताब पढेर बसेँ । साँझ परे पछि सँगै क्याफेबाट निस्क्यौँ अनि चोकमा पुगेर छुटियौँ ।

अब रन्जन र मेरो बोल्ने भाषा हिन्दी, अग्रेजीबाट नेपाली भएको थियो । रन्जन अबिवाहित थियो, म अबिवाहित थिएँ । मसँगै पढेका लगभग सबै साथीको बिवाह भएको थियो । रन्जनको पनि त्यस्तै थियो होला । रन्जनको घरबाट बिवाहको कुरा आएको दिन उ निक्कै भावुक हुन्थ्यो र भरखर चलेका फिल्मका भाबुक गित अथावा पूराना गित गाउँथ्यो । त्यस्ता बेलामा म पक्क परेर उसको अनुहारमा हेरिरहन्थेँ ।

मेरो त घरबाट बिहेको कुरा आउन भन्दा, कहिले काहिँ मेरा साथीहरु बिहेको कुरा चलाउन गए भने पनि बाले उल्टो जोगीको पनि बिहे हुन्छ ? भनेर पठाईदिन्थे । निकै अगाडी बाले मलाई नसोधी बिहेको पुरा तयारी गरेका थिए । मैले बिहे नै गर्दिन बरु मर्छु भनेर अड्डी कसेँ । ‘बरु मर्छु’ भन्नु ठूलो बार्गेनिङ्ग थियो मेरालागि । बालाई म बाच्नु ठूलो थियो । पछि बाले मलाई पटक पटक सोधे तेरो को छ ? मेरो कोहि थिएन  ।

बरु, कोहिको बदलामा केहि रहर थिए, जस्तो कि देशका ठूला नेताहरुसँग फोटो खिचाउने, कहिले काहिँ फोन गर्ने वा उनिहरुकहाँ चिया पिउन जाने, देशका ठूला ठूला पत्रिकाका बिचार पेजमा फोटो सहितको लेख छपाउने, टेलिभिजनका बहशमा नेतालाई प्रश्न गर्ने र कुनै पनि ठूला मान्छेका आँखामा आँखा गाडेर बात मार्ने ।

मेरा रहर पुरा हुन चार बर्ष पनि लागेन । कलेज भर्ना गरेको हप्ता दिनमा म विधार्थी संगठनमा सदस्य भईहाले । सबै रहर पुराहुने बाटो जुन थियो, मैले त्यहि बाटो समाएँ । बिस्तारै बाले यसको कोही रहेनछ भन्ने मान्न थाले । यता मेरो मनमा बिस्तारै जिन्दगीमा कोहि हुन पर्ने रहेछ भन्ने लाग्न थाल्यो र प्रेम हुन थाल्यो ।

मेरो प्रेमका बारेमा हल्ला हुन थाले पछाडी मेरा साथीहरु बालाई बिवाहको कुरा गर्न जान्थे र हिस्स परेर फर्किन्थे । अनि मेरो हरेक छ महिनामा प्रेम हुन्थ्यो र हरेक छ महिनामा बिछोड हुन्थ्यो । लेख छापिएको दिन अरुले झै बाले पनि फोन गर्नु हुन्थ्यो र राम्रो गरिस भन्नु हुन्थ्यो । कुन्नी किन हो बिस्तारै मेरा बा बा कम साथी बढीहुदै जानु भएको थियो ।

बि ए पढ्दा खर्च नपठाउने बाले दिल्ली आए पछाडी के के पठाई रहनु हुन्थ्यो । लामो समय लेख नछापिए किन नलेखेकि पनि भन्न थाल्नु भएको थियो । एक पटक मेरो कसैसँग राम्रैसँग प्रेम भयो र म आफै बिहे गर्छु भन्नलाई घर गएँ । मैले कुरा थाल्न भन्दा अगाडी नै बाले भन्नु भयो अब तिस पुगे पछि एउटा राम्रो छवी बनाएर बिहे गर्न पर्छ है । म त्यती बेला २४ वर्ष पनि भएकि थिईन तर तिन पटकको प्रेम छुटेर त्यो चौथो प्रेम थियो । घरबाट फर्के पछि मैले मेरो बहालवाला प्रेमिलाई भेटेर तिस बर्ष नपुगि बिवाह गर्दिन भनेँ । एक दुई महिनामा उसले बिहे गरे छ । त्यस पछाडी कसैसगँ प्रेम होला जस्तो भए पछि म आफँै तर्केर हिडिदिन्थे र आफैलाई सम्झाउँथें "मैले रोजेको बाटै यहि हो" भनेर ।

अब म कम सुत्थेँ, क्याफेमा कम पढ्थेँ, रेडलाईट एरिया जाने कुरा कथा जस्तै भएको थियो, पत्रिकामा लेख्नेकाम कहिले काही मात्र हुन्थ्यो । बढी काम त रन्जनको लेक्चर सुन्ने हुन्थ्यो । लेक्चर पछाडी साँझमा फुटपाथमा रन्जनसँग चुपचाप खुट्टा नदुखिन्जेल हिँड्नु हुन्थ्यो । राती उहि रन्जनसँग फोनमा ससाना कुरामा गफ गर्नु हुन्थ्यो । काठमाण्डाँैको साथी नेपालमा नै थियो । विश्वविधालयमा चिनेका साथीहरुसँग सम्पर्क थिएन । व्लगमा खासै केहि अपडेट हुँदैनथे । फोटो र पुराना गीत, कबिता अपडेट गर्थे । कुनै चिनजानकाले  कहाँ हरायौ भनेर सोध्दा उनिहरुलाई थेसिस लेख्दै छु भन्दा हुन्थ्यो ।
‘तपाईको कबिता पढेँ ।’ भनेर रन्जनले भन्दा म क्याफेमा पत्रिका पढेर बसेकि थिए । म छक्क परेँ । मैले काठमाण्डाँै छोडे पछि कबिता लेखेकी थिईन ।
कहाँ ?
“ब्लगमा ।” उसले मेरो ब्लग छ भन्ने पनि थाहा पाएछ । मेरो मनमा उ जासुसी संस्थामा काम पो गर्छ कि भन्ने लागेर चिसो भएर आयो । यसै पनि ‘र’ का एजेन्टहरुको विग्विगि थियो । “तर कबिता जस्तो भएन । भावना ठिक छ, लेखाई ठिक छैन ।”
मलाई रिस उठ्नु पर्ने हो तर उठेन । “लेख्नका लागि पढ्न जरुरी छ ।” उसले फेरी भन्यो । मलाई लाग्यो मेरा बा बाहेक मेरो पढाईका बारेमा पिर गर्ने अर्को मानिस थपियो ।

ससाना गफ पनि म रन्जनलाई नै सुनाउथँे । सुनाउनका लागि अर्को मानिस पनि थिएन । दिल्लीमा मात्र होईन, सन्सारमा नै कोही छ जस्तो लाग्दैन थियो । उ मलाई यस्तो अद्भुत मान्छ लाग्दै आएको थियो कि, सन्सारका हरेक कुरा ति ठूला आँखा र ठूलो सरिर भएको रन्जनलाई थाहा छ । र, मानिसको दुख प्रति उ संघर्ष गर्न चाहन्छ । मेरो भित्रभित्र अब उसँग लभ पर्ला भन्ने डर पलाउन लागेको थियो ।

थेसिस बुझाउन हप्ता दिनको म्याद बाँकी थियो । एक पटक थेसिस रन्जनले हेरोस भन्ने त मेरो मनमा लागेको थियो । तर, म लभ पर्ला भन्ने डरले केहि दिन देखि पुरानै दुनियामा थिएँ । कहिले फिल्म हल, कहिले सुताई, कहिले फुटपाथका पसल त कहिले रेडलाईट एरिया । हो म पटक पटक क्याफेको छेउछाउमा पुग्थेँ । फेरि सम्झन्थेँ, म प्रेममा पर्नु हुँदैन । फोन गर्दिन भन्ने मनमा हुन्थ्यो ।
दिल्लीमा चिसो बढेको रात रन्जनले फोन गर्यो । रन्जनले फोन गर्नु र मैले नउठाउनु ? म उसकै फोनको प्रतिक्षामा त हुन्थेँ ! लामो गफ पछि थेसिसको कपि बोकेर उसको कोठामा आउने निम्तो दिएर फोन राखेको थियो ।

पुसको चिसो बिहान हातमा थेसिसको फाईल बोकेर म रन्जनको कोठामा पुगेकी थिएँ । रन्जन सुतिरहेको थियो । मेरा खुट्टा जुत्ता भित्रै डल्लो परेका थिए । हात हिँउ जस्तै चिसा भएका थिए । रन्जन सिरकबाट निस्कन सकेन चिसोका कारण होला । मलाई पनि उठेर हिडिहाल्न मन लागेन । जाडोले काप्दै केहि बेर कुर्सिमा बसेँ । “आउनुस् पलङ्गमा बस्नोस्” म जे चाहन्थे त्यहि भनेको थियो रन्जनले । म पलङ्गमा बसेँ ।
‘जुत्ता खोलेर’ रन्जनले भन्यो ।
 भैरहोस्
‘कहाँ भैरहोस् ?’ रन्जन फतफताए झै उठ्यो र भुईमा झरेर मेरो जुत्ता खोलीदियो । मलाई फेरि लाग्यो सन्सारमा सबै भन्दा माया गर्ने मान्छे यहि हो । रन्जनले सिरानी उठायो र भित्तामा ठड्यायो । म खुट्टा तल झारेरै बसे । खुट्टा झारेको देखेर रन्जनले ठूला आँखा झन ठूला पार्दै भन्योे डर लाग्यो हो ?
हैन मैले अफ्ठेरो मान्दै भनेँ ।
“हेर त कामेकी । म के गछु र तपाईलाई ?”
उसले मेरा हात समायो र छोड्दै भन्यो “हिउँ हो कि हात हो ?” म सिरकमा खुट्टा छिराएर चुपचाप बसें “म हात तातो बनाई दिउँ ?”उसको वाक्य सगै मैले उसको आँखामा हेरेँ । उफ् म आजसम्म कुनै एक्लो पुरुषको यत्ती नजिक बसेकि पनि थिईन । त्यस क्षण म उसँग त्यस्तै केहि चाहन्थें । जस्तो एक युवती एक पुरुषसँग चाहन्छे । तर मैले न त केहि गर्न नै सकें न त केहि भन्न नै । बरु काठमाण्डौको एकजना साथी सम्झेँ । जो बलात्कारका घटनाहरुको बारेमा खुब कुरा गथ्र्यो । एक दिन उसले कुरा कुरामा भनेको थियो “केटीहरु अत्याधिक आफ्ना चाहना दवाउँछन् ।” अनि मैले भनेकि थिएँ “म त दवाउन सक्दिन ।” मैले त्यसो भनेको हप्तौँसम्म क्याम्पसमा मलाई जिस्काउने बाहाना भएको थियो साथीहरुलाई ।
म त्यहि क्षण सम्झेँ र मनमनै हाँसेँँ। मेरा हात उसका ठूला र बाक्ला हत्केलामा थिए । मेरा हात केहि ताता भएका थिए । उसले दाहिने हातका हत्केलामा कनाए जस्तै केहि गर्यो । मेरा मुखबाट अचानक फुत्कियो “सेक्स ?” उसका आखा झन ठूला भए र निधारमा तिन धर्का बसे । अब मेरा हात उसका हातमा थिएनन् । मलाई आफ्नो शब्द प्रति लाज लाग्यो र गाला र कान ताता भए । “क्या ?” रन्जनले निधारमा गाँठो पार्दै उहि बङ्गाली लवजमा हिन्दीमा सोध्यो । मैले पनि हिन्दीमा नै भनें “आपने सेक्सका प्रपोज किया न ?”
‘मलाई थाहा थिएन कसले भनेको ?’ उसले नेपालीमा भन्यो ।
‘मेरो ब्वाईफ्रेन्डले ।’ खासमा त मेरो विगत तिन वर्ष देखि कोहि ब्वाईफ्रन्ड नै थिएनन् । पहिलाका ब्वाईफ्रन्डहरु सबैका छोराछारी भई सकेका थिए र म उनिहरु मेरा ब्वाईफ्रेन्ड थिए भन्ने कुरा पनि सम्झन चाहन्नथें । किर्तिपुर क्याम्पस पढ्दा त्यसरीनै हात मिलाएको कारण एकजना विधार्थी नेताले मेरी साथीको चड्कन भेटेका थिए । र सब विधार्थीका अगाडी उनले सेक्स प्रपोज गरेका हुन् भनेकी थिई ।

तपाईको ब्वाईफ्रेण्ड छ ? रन्जनले तल्लो ओठ माथिल्ला दाँतले अठ्यायो ।
म उसँग घट्न चाहन्नथें । अझ उसको प्रेम छुटेको कुरा गरिरहन्थ्यो उ आँफै । त्यहि भएर भनें“मैले भने कै थिए नि यौन जरुरी छ । मलाई डक्टरले यहि सल्लाह दिएका थिए ।”
यौनका लागि मात्र हो ?
अँ, त्यस्तै हो ।
कति जना ?
एकजना ।
राम्रो काम, कस्तो हुनुहुन्छ ? उसलाई म हरेक पटक चिढाउनका लागि नचाहिदा नचाहिदा कुरा गर्थें । तर उ जे कुरालाई राम्रो काम भनेर थपथाप गरिदिन्थ्यो । “राम्रो हुनुहुन्न, तर मैले पढोस् भन्ने चाहनुहुन्छ ।” यो चाँहि मैले उसैलाई भनेकी थिएँ । रन्जन जो मेरा बा पछाडी मेरा कमि कमजारी भनिदिने र मैले पढ्नै पर्छ भन्ने मान्छे थियो ।

अब सहरमा घाम लागेको थियो । घाम लागेको कुरा झ्यालबाट छिरेको घामको किरणले बताउँथ्यो । अब यौनको प्रसँग सकिएको थियो । मेरो ब्वाईफ्रेण्ड नामक कोही काल्पनीक पात्रको विषयमा कुरा भईरहेको थियो । मलाई चिया खान मन लाग्न थालेको थियो ।  रन्जन उठेर नुहायो । कपडा लगाउने बेलामा म भित्तातिर फर्किएँ । उसले जुत्ता लगायो । म सिरक ओडेर बसिरहेकी थिएँ । रन्जन मेरो पारा देखेर अचम्म पर्दै थियो । "जुत्ता लगाउनुस्" उसले भन्यो ।
“तपाईले खोलेको जुत्ता तपाईले नै लगाई दिनुस् ।” म जान्न चाहन्थें श्रीमतीलाई ब्यक्तिगत दास सम्झने हिन्दु समाजमा हुर्केको एउटा पुरुष प्रेममा कति सम्म झुक्न सक्छ ?
मैले पलङ्ग माथिबाट खुट्टा झिकें । उसले पलङ्ग मुनिबाट जुत्ता झिक्यो । उसले जुत्ता लगाई दिए पछि हामी क्याफेमा गयौ । क्याफेमा रन्जनले मेरो थेसिस हर्यो रात्तै परेर । आफुँले लेखेको कुरा रात्तै पर्ने मान्छेसंग मा किर्तिपुरमा नै बाझेकी थिएँ | त्यसैले कुनै पत्रिका पढेका बाहाना बनाएर रन्जनलाई हेरिरहें । दिन भरि चुपचाप क्याफेमा बसे पछि साँझमा चुपचाप दुईजना फुटपाथमा हिडिरहयौ । बोल्नलाई थुप्रै कुराहरु थिए मनमा तर मैले छान्नै सकिन के बोल्नु पर्ने हो । ऊ किन बोलेन थाहा भएन । कुनै चोकमा पुगेपछि चुपचाप हात मिलायाँै र छुट्टियौँ ।

अब मैले थेसिस बुझाई सकेकी थिएँ । मेरो दिनचर्या उहि थियो, रेडलाईट एरिया, फिलिमहल, किताब, क्याफे र सुताई । एकदिन क्याफेमा कुनै नेताको अन्तरवार्ता पढ्दै थिएँ । मलाई पछिडीबाट कसैले जोडले अङ्गालो मार्यो र काठमाण्डौको साथीको लवजमा सुस्तरी भन्यो “नेपालबाट निम्तो आएको छ ।” उ रन्जन थियो । म छक्क परें । छक्क पर्ने दुईवटा कारण थिए । एउटा विदेशीले नेपालीलाई नेपालको निम्तो दिएको थियो, अर्को चिसो बिहान, उसको कोठाको एकान्तमा केहि नगर्ने उसले क्याफेमा जोडले अङ्गालो मारेको थियो ।

मेरा गाला र कान फेरि ताता भए । म चुपचाप नेप्किन च्यातेर बसें । खासमा त मैले केहि सोच्नै सकिन । रन्जनले चिया मगायो चिया खाए पछाडी बल्ल मेरो होस जस्तो केहि दिमागमा आयो र सम्झें नेपालबाट आएको निम्तो । “केको निम्तो थियो?” रन्जन मसँग डराएको थियो  । गल्ती गरें भन्ने सोच्यो सायद । चुपचाप खाम दियो । खामको एकापट्टि परराष्ट्र मन्त्रालय नेपाल थियो र अर्को पट्टि मेरो नाम र युनिभर्सिटीको ठेगाना थियो । चिठी खोलीएको थियो । खोल हेरेरै थाहा भयो । चिठी पढेपछी थाहा भयो एक हप्तामा नेपाल पुग्नु थियो र काम थाल्नु थियो। दिन साँझमा बदलिँदै थियो । उ र म चुपचाप फुटपाथमा हिडिरह्यौँ । कुनै चोकमा पुगेर अनकनाँदै रन्जनले भन्यो कहिले जाने ?
पर्सि ।
भाली के गर्नुहुन्छ ?
घुम्छु ।
अफ्ठेरो नलागे म पनि तपाईसँग घुम्छु  ।
हुन्छ भनेर हामी  छुट्टिन्छौँ । अचानक त्यसरी नेपाल आउनुपर्ला भन्ने मैले कल्पना पनि गरेकि थिईन । मलाई रन्जन मन पर्न थालेको थियो । रन्जन भन्दा अझै बढी मलाई उसको गफ र बानी मन पर्न थालेको थियो । दिल्लीबाट नेपालको राजनैतिक दृश्य अझ स्पष्ट देखिन्थ्यो । जसले गर्दा म जसरी बाँचे पनि एउटा लेखक बन्न सक्थेँ । तर लेखेरै भात खान पुग्दैन थियो । विश्वविधालयको सुविधा अब उपलब्ध हुदैन थियो । पाएको जागिर राम्रो थियो सम्मान, सुविधा र तलबका लागि ।

नेपाल आउने अघिल्लो दिन रन्जन र म दिनभर फुटपाथमा घुम्यौ र साँझ रेडलाईट एरिया । रेडलाईट एरिया घुमेर निस्कदै गर्दा अन्तिम चोकको पिपलको रुख मुनि आए पछि मेरो मुखबाट एत्तिकै फुत्कियो “केटाहरु किन नबसेका ?”

"यो समाजमा केटालाई पनि बस्नै पर्दैन" उसको भने पछी मसँग बोल्नलाई वाक्यै थिएन । ऊ पनि बोलेन । दुवै जना रात पदै गर्दा क्याफेमा आईपुग्यौ । चिया पिएको निक्कै बेर सम्म रन्जन चुपचाप बस्यो । मेरा मनमा भिन्न कुरा खेल्दै थिए । मलाई लाग्दै थियो रन्जनको कोठा नजिक थियो । उसले भन्ने छ ‘मिस मेरोमा नै बस्नोस् ।’ तर त्यसो भएन । रातको आठ बजेपछि हामी हिड्यौ । मेरो कोठाको छेउमा पुगे पछि रन्जनले भन्यो “टिकट मैले लिएको छु । बिहान आठ बजे ट्रेन छुट्ने छ ।”

"म जान्न रेलबाट" मलाई रेलबाटै आउनु थियो तर उसको टिकट किनाई मन परेको थिएन । “सरि मलाई तपाईले प्लेन टिकट लिनु भएन भन्ने लाग्यो ।” अब फेरि उसको सवालको जवाफ थिएन मसँग । त्यसैले भनेँ ‘साढे सात बजे स्टेसन आई पुग्छु ।’ हामीले हात मिलायौ र छुटियौँ ।

नेपाल फर्कने दिन मैले अनुहारमा बढी नै मेकअप गरेर, लिपिष्टी र कुर्ता सुरुवाल लगाएँ । कपाल छोडें र लेडिज ब्याग बोकेँ । मलाई लागेको थियो म निक्कै राम्री दखिएकी छु र रन्जनले प्रशंसा गर्ला । साढेसात बजे स्टेसनमा पुग्दा रन्जन मलाई नै पर्खिरहेको थियो । मलाई देखेपछि उसले अङ्गालो मारेन बरु निधार गाँठो पार्दै भन्यो  “यो पहिरन ठीक लाग्छ?” म चुप लागें । उसले फेरि भन्यो ‘आफैले आफैलाई कमजोर बनाउन हुन्न ।’ मलार्ई लाज लाग्यो । टे«न हिँडे पछि रन्जनले मुसुक्क हाँस्दै दह्रो गरि हात मिलायो र टे«नबाट ओर्लियो । झ्यालबाट हेर्दा ऊ रुमालले आखा मिच्दै थियो । मलाई थाहा भएन उसको आँखामा धुलो पर्यो कि अरु नै ?


यो कथा २०६४ सालमा लेखेकी थिएँ | थोत्रो ल्यापटप बनेर आउँदा यो कथा पनि आएछ |
समाप्त

2 comments:

Unknown said...

कथा धेरै राम्रो लाग्यो नारायणी जी

Basanta Subedi said...

समय ले कोल्टे फेरी सक्दा पनि जिबन को अर्थ बुझ्न नसकेको 'म' कथा पढ्छु ! गम्छु !! आफैले आफैलाई सोध्छु !!! जिबन के हो ????

Post a Comment