फस्ट लभः मेरो समयको प्रेम कथा

on Monday, February 17, 2014

फस्ट लभ, अक्षरको खेती पेशामा लागेका नेपालका दश जना युवाहरुको पहिलो प्रेमको संस्मरणहरुको संकलन हो । जसको सम्पादन अजित बरालले गरेका छन् । नेपाली युवायुवति अहिलेको समयमा कसरी प्रेम गर्छन्, भन्ने कुरा नियाल्न यो कृतिले सहयोग गर्छ । यसमा अहिलेका युवाहरुको प्रेम गर्ने तरिका, प्रेम प्रतिको समाजको धारणा र त्यस प्रतिको हाम्रो पुस्ताको बुझाईलाई नजिकबाट हेर्न सकिन्छ ।


लेखकहरु अहिले काठमाण्डौमा नै रहेका भए पनि प्रेमको परिवेश भने काठमाण्डौ मात्रै छैन । अजित बराल, कुमार नगरकोटी, सुविन भट्टराई, रिचा भट्टराई, कमल नेपाली र शिवानीसिंह थारुको प्रेमको परिवेश काठमाण्डौ हो भने, विमल आरोही, लेनिन वन्जाडे, रावत र शोभा शर्माको प्रेमको परिवेश  ग्रामिण छ ।

समय र परिवेशले हरेक कुरामा असर पार्ने कुरा प्रेमको अभिब्यक्ति र त्यसले निम्ताउने परिणाममा पनि लागु हुन्छ । ग्रामिण परिवेशमा भएको प्रेमका संस्मरणहरुमा अभिब्यक्तिको कठिनता पाइन्छ । अभिब्यक्त गर्न नसके कै कारण प्रेम सफल नभएका संस्मरणहरु छन् ।

 मन पराएका प्रेमी प्रेमिकालाई आफुले मन पराएको भन्न नपाएको र त्यसैको कारण कयौ रातहरु अनिदै विताएका कथाहरु छन् । प्रेम पत्रमा नाम लेख्न विर्सेका कारण पे्रमिकाले चिठि पुराउने साथीलाई प्रेमी ठानी प्रेमको प्रतिउत्तर पठाएको, प्रेमिकाको विहेको निम्तो आफ्नो भाई द्धारा पाएको वा आफुले मन पराएको प्रेमीले वाषौँ पछाडी अनलाईनमा भेटिँदा तिमी त मेरो आइडियल थियौ नि भनेका जस्ता मार्मिक कुरा संग्रहमा छन् । 

यता सहरी परिवेशमा भएको प्रेमका संस्मरणहरुमा अभिब्यक्तिको सहजपनका पाउन सकिन्छ । कक्षा कोठामा केटा केटी अगाडी पछाडी बेन्चमा बस्ने, डेटिङ जाने, फोनमा घण्टौ सम्म गफ गर्ने वा गिफ्ट लिने दिने जस्ता कुराले एक अर्काका भावनालाई बुझ्न सहयोग गरेको पाईन्छ । 

अजित बराल, कुमार नगरकोटी र कमल नेपाली बाहेक सबैका संस्मरणमा किशोर अबस्थाको ब्यवहारमा नफँसेका मानिसका प्रेमका कुरा छन् । कक्षामा सरले पढाईरहँदा विद्यार्थीको मनमा खेलिरहनेको प्रेमको विषय लगभग सबैको समान प्रकृतिको पाईन्छ । मनमा लागेको कुरा भन्न नसकेको, पहिलो भेटमा बोल्न नसकेको जस्ता समान कुरा संस्मरणमा छन् । 

आफ्ना साथीहरुको विचमा आफ्ना भई सकेका वा हुने क्रममा रहेका प्रेमी प्रेमिकाका बारेमा हुने गफलाई धेरैले उल्लेख गरेका छन् । ऋचा भट्टराई र सिवानीसिंह थारुले साथीहरुले आफ्नो प्रेमीको पक्षमा राम्रा कुरा गरेको, मन पराएको उल्लेख गरेका छन् । उनीहरुको प्रेम सम्बन्धका पछाडी साथीहरुको पनि महत्व रहेको तीनीहरुका संस्मरणमा छन् ।

अन्य आठ जनाको भन्दा अजित बराल र कमल नेपालीका संस्मरणमा गहिरो प्रेम भन्दा पनि इन्फ्याचुएसन जस्तो मात्रै देखिन्छ । अरु संस्मरणमा जस्तो यी दुईको संस्मरणमा प्रेममा हुने पागलपन पाईँदैन । अल्लि बनावटी कथा पो हुन कि जस्तो पनि लाग्छ । 

अजितको संस्मरणमा उनको प्रेमको सुरुवात पे्रमिकाकी आमालाई तपाईकी छोरीसँग विवाह गर्न चाहन्छु भनेर मेल गरे पछि हुन्छ । पछि उनकि प्रेमिकाले आफ्नी दिदिको बिहेको पार्टीमा बोलाउँछे । तर, दिदिको विवाहको पार्टीमा अजितलाई चिन्ने प्रेमिका मात्रै थिईन भन्ने कुराले प्रेमिकाकी आमासँग भएको परिचयको  बिषयमा संका लाग्छ । छोरीको विवाहको पार्टीमा आमाको उपस्थिति पाईँदैन । यी दुई जनाको  प्रेममा समाजको उपस्थिति त्यति पाइँदैन ।

कुमार नगरकोटी बाहेक सबैको प्रेमका अन्त्य हुनका कारणहरु छन् । लेनिन बन्जाडे, रावत र शोभा शर्माको प्रेम प्रस्ताव नै नराखी एक तर्फि रुपमा अन्त्य हुन्छन् । लेखक हुन लागेका सुविन भट्टराईको प्रेम नेपाली समाजले चाहने योग्य ज्वाईँ हुन नसकेका कारणले टुंगिन्छ । केटीका बाआमाले आफ्नी छोरी र उसको जिवन साथीबाट गरेको अपेक्षा पुरा नहुने अबस्थामा पुगे पछि उनीहरु छुट्टिन्छन् ।

प्रेमले सधैँ प्राप्ती मात्रै खोज्दैन अति प्रेमले सबैलाई राम्रै गर्छ भन्ने हुन्न । यसको उदारहणको रुपमा ऋचा भट्टराईको संस्मरण मार्मिक छ । प्रेमको अन्त्यलाई उनले मुक्तिको रुपमा लिएकि छन् । एक अर्कालाई सम्मान गर्न नसक्दा कसरी बन्दै गरेको प्रेमको महल टुक्रन्छ भन्ने शिवानी सिंहको संस्मरणमा पाईन्छ ।

लेखक कुमार नगरकोटीको प्रेम सबै कुराबाट मुक्त जोगीको प्रेम जस्तो छ । सबैले आफ्नो प्रेमको अन्त्य कसरी भयो भनेर उल्लेख गरेका छन् । तर, घरबाट माईत जान्छु भनेर गएकि श्रिमती घरमा किन फर्केर आईनन् भन्ने विषयमा कुमारले उल्लेख गरेका छैनन् । 

सबै भन्दा मार्मिक विमल आरोहीको संस्मरण छ । छोरीले कसैलाई प्रेम गरि भन्दैमा सानै उमेरमा विवाह गरिदिने नेपाली समाजको चित्र उनले टपक्क पारेर राखेका छन् । आफ्नो प्रेम असफल भएकी दिदिले बहिनीको प्रेमको विषयमा घरमा कुरा लगाउछे र छुटाउन आफैसँग लग्छे । आफ्नो भए राम्रो अरुको भए नराम्रो मान्ने हाम्रो समाजको चरित्र उनको संस्मरणमा लागु हुन्छ । 

समग्रमा भन्दा फस्ट लभ अहिलेको समाजको कथा हो । अहिलेको समयमा केटा केटी सँगै स्कुल जान्छन् । किशोर अवस्थामा एक अर्कालाई मन पराउँछन् । कतिले भन्न सक्छन्, कतिले सक्दैनन् । सक्नेका सहरमा हो भने सम्बन्ध अगाडी बढाउनको लागि धेरै अडचन हुँदैनन् । उनीहरु आफ्नो जिवनसाथी आफुले चाहेको जस्तै छ कि छैन जाच्छन् । आफु पनि प्रेमी प्रेमिकाको नजरमा उनीहरुले चाहेको जस्तो छु कि छैन भनेर जाचिन्छन् ।मन नपरे अयोग्य लागे छुट्टिन्छन् । गाउमा केहि असजिलाहरु छन् तर, उनीहरुलाई एकअर्काको विश्वास भए मिल्ने ठाउँहरु छन् । 

धेरै जसो संस्मरणमा फिल्म र पुस्तकका रोमान्टिक विषयहरुले युवायुवतिलाई प्रभाव पारेको, फिल्मका हिरो हिरोईनसँग आफु र आफ्ना प्रेमि प्रेमिकालाई दाजेको पाईन्छ । 

त्यसै गरि प्रेमि प्रेमिका अभिभावकलाई प्रभाव पार्ने तरिका प«नि ग्रामिण परिवेश र सहरी परिवेशमा फरक फरक हुँदोरहेछ । सल्यानका लेखक विमलकी प्रेमिकाले घरका काममा सहयोग गरेर प्रेमीका बा आमालाई प्रभावित गर्छिन् भने, काठमाण्डौका लेखक सुविनकि प्रेमिकाले आयल निगमका हाकिम बालाई नेपालमा कसरी पेट्रोलिय पदार्थ आउछ भन्ने राजनैतिक प्रश्न सोधेर प्रभावित पार्छिन  ।

नेपाली समाजमा प्रेमको सफलता र असफलता विवाहसँग जोडेर हेरिन्छ । त्यो अर्थमा यी प्रेम असफल प्रेमको रुपमा रहेका छन् । विवाहसँगै जोडेर होला प्रेमी प्रेमीका सहित उसका परिवारलाई पनि युवायुवतिले प्रभावित पार्ने कुरा यी संस्मरणहरुमा छन् । 

2 comments:

Niroj Paudel said...

great job continue this .......................

मेरो ब्लग said...

केहि समयअघि साथी सरोजसँग मागेर यो पुस्तक पढेकी थिए । पत्रपत्रिकामा आएका समिक्षा पढेर यो किताब पढ्न उत्सुक भएकी थिए । पढ्नकै लागि मात्र हो भने किताब ठिकै लाग्यो, पहिलो मायाका अनुभूतिहरु सबैका उत्कृष्ट छन्, प्रस्तुत गर्ने शैली र लेखन राम्रो छ । तर यसले आम मानिसलाई दिने के त ?? अजीत बराल जस्ता प्रकाशकले यस्तो सस्तो लोकप्रियताका किताबभन्दा ज्ञानले खँदिलो पुस्तकहरु निकाल्नु उचित हुने थियो भन्ने निष्कर्ष मेरो छ ।

Post a Comment