अरुनाभ सौरभको कविता ः तराई, विहार र दिल्ली

on Saturday, May 31, 2014


प्रोफेसनल गफाडी बन्ने धुनमा लागेका समाजशास्त्रका विद्यार्थीहरु किताबको थोरै कुरामा आफु रहेको समय र स्थानको विषय जोडेर धेरै गफ गर्छन् । फेर्डिक गेइजको ‘नेपालमा क्षेत्रियता र राष्ट्रिय एकता’ किताबको अन्तिम च्याप्टरहरुमाथी तराई मुलका साथी यशकुमार मिश्रले एक घण्टाभर तराईबासी कसरी हेपिएका छन्,  भन्ने विषयमा किताबका प्रसंग र आफुलाई दिन दिनै कस्तो ब्यवहार गर्छन् भन्ने जोडेर बताई रहँदा त्रिवि समाजशास्त्र दास्रो वर्षका सय भन्दा बढी विद्यार्थी चुपचाप थीए । अघिल्लो बेन्चमा रहेका मेरा दुई आँखा पालै पालो यसकुमारको प्रिजेन्टेसन र कृष्ण भट्टचन सरको अनुहारमा पर्ने त्यसको प्रभाव हेरिरहेका थिए ।  


समाजमा हुने घटनाहरु, कक्षामा गरिने वहसहरु, पत्रपत्रिकामा हुने विचार र राजनीतिमा हुने तीकडम सबै प्रति मेरा टिप्पणी छन् । साझ विहान छोरोसँग हिड्दा कहिले काहि मेरो छोरो मेरा बा उमेरका विहारीलाई भैया भन्छ । आफु भन्दा ठुलालाई भैया भन्दैनन् भनेर म तीन वर्ष पुग्न लागेको छोरालाई बुझाउने कोसिस गर्छु । एक दिन सुत्ने बेलामा छोराले सोध्यो ‘रोहन साथीको दारी आएको त छैन मम्मी, उसले पानीपुरी अंकललाई भैया भन्छ ।’ कहिले काहिँ पानीपुरी वाला विहारीलाई भैया भन्ने कि अंकल भन्ने विचमा परेर होला भैया अंकल भनेर बोलाउँछ उ । कहिले काहि आमालाई पनि कराउँछु तपाईले भैया भनेर यस्ले पनि भन्छ भनेर । आमा भन्नु हुन्छ भैया भनेको राम्रै त हो । भाईलाई उनीहरुको भाषामा भैया नै त भन्छन् । आमाको कुरामा म के काटु ? मैले आमालाई काठमाण्डौमा भैया भन्नु मधेश मुलका मानिसको मानहानीको विषय हो भनेर कसरी बुझाउने ?

भारतमा पनि विहारीलाई भैया नै भन्छन् भनेर मैले पहिलो पटक बाबाको मुखबाट सुनेकी थिएँ । सानामा मलाई लाग्थ्यो भारत भनेको भैयाहरुको देश हो । पछि विस्तारै थाहा हुँदै गयो भैया भनेर जसलाई भनिन्छ उनिहरु विहारका मात्रै हुन । भारतका अरु ठाउका मानिसलाई अरु नै भनेर चिन्दा रहेछन् । मधेशको विषयमा पढिरहँदा, हाम्रो मधेशसँगै जोडिएको भारतको विहार, जहाँका मानिसहरुसँग हरेक दिन भेट हुन्छ, उनीहरुलाई पनि जोडेर हेर्नु पर्छ भन्ने मेरो मनको अन्तर कुन्तरमा लागिरहन्छ । यसरी सोचिरहँदा भारतिय कवि, अरुनाभ सौरभको कविताको याद आउँछ ।

ओई तेरो गु.....
कल्दर पक्रेर तीन चार हान्दिन्छ मुखमा

यतिमात्र होइन
बिहारी मा..चि...
चोर, गाडुँ,....पकेटमार
गट्ठे.......

बिहान भयो 
चिया ले
तेरो बैनीको....
झाडु...घर पुछ्ने काम के आमाले गर्छरु

९जब पनि म आफ्ना मानिसहरूबिच हिँड्छु
सधैँ सुन्छु मन भत्काइदिने गाली०
।।।
साला बिहारी
हरेक ट्रेनको जनरल डब्बामा भीड बनेर चढेको थियो
भागलपुर, मुजफ्फर, दरभङ्गा। सहरसा कटिहारदेखि 
दिल्ली, मुम्बई, सुरत, अमृतसर, कोलकाता, गुवाहाटी 
जाने सबै ट्रेनहरूमा
आफ्नो गाउँ, देश छोडेर निस्कियो त्यो
मैलो एयरव्याग बोकेर
अलिकति रोटी, अलिकति नून
अलिकति तोरीको तेल, आधा टुक्रा प्याजको लागि
जो गाउँमा पाइएन
कटिहारदेखि पटनासम्म पाइएन।

जब निस्कियो त्यहॉंदेखि 
शौेचालयको गेटमा झाडन ओछ्याएर बस्यो
अनि गन्तव्यसम्म पुग्न अघि बिर्सियो
उ कता छ, कसको लागि छ।

सिक्न थाल्यो हरेक सहरको भाषा
तर साला बिहारी
मुख खोल्ने बित्तिकै थाहा पाउँछन् मानिसहरू।

देशका सबै ठूला सहरमा उसले झाडु लगाइरह्यो
भॉंडा माझिरह्यो
रिक्सा तानिरह्यो
ठेला तानिरह्यो
मैैला फ्यॉंकिरह्यो
हरेक दुःखलाई खैनीजस्तो चेपिरह्यो
अथवा बिँडीजस्तो जलाइरह्यो।

गाउँ पुगेपछि बोल्न थाल्यो उनेरको भाषा
‘तेरे को मेरे को’
तर हरेक ठाउँ जे भेट्यो सप स्विकार्यो
झाडु, कन्टेनर, भॉंडा, रिक्सा, ठेला अनि गालीहरू सप
लातघुस्सी सप
अनि यति पैसा कि उ उसको परिवार, उसको बिँडी, खैनी चलिबस्यो।

आफ्नो पसिनामा सिमेन्ट बालुवा घोलेर
उसले कलकत्ता बनाएको थियो
आफ्नो रगतमा अलकत्रा मिसाएर
उसले बनाएको थियो दिल्लीसम्म पुग्ने सप्पैै राजमार्ग
फलामजस्तो हड्डीको बल लगाएर उठाएका थिए बम्बईका सप्पै बिल्डिङहरू
फोक्सोमा धुलोहरू जम्मा गरेर खोक्दै खोक्दै
उसले बनाएको थियो सुरत।

कैयौं रात भोक्कै बसेर उसले देखेको थियो बिहानीको सपना
लुधियाना, चन्डिगड, हिसारदेखि लिएर
जमसेदपुर, रॉंची, बिलासपुर, दुर्गापुर राउरकेला अनि रुड्की, बङ्गोलरसम्मलाई 
सम्हाल्न, बनाउन उसले आफ्ना सप्पै खुइयहरू खर्चियो।

उसले कति मद्रासलाई चेन्नई र बम्बईलाई मुम्बई भएको देख्यो
उसलाई थाहा छ
उ बिना जाम हुन्छ हैदराबाददेखि लिएर सिलङसम्मका सप्पै नालीहरू।

उसलाई थाहा छ
कति पन्जाब कति हरियाना, मध्यप्रदेश, छत्तिसगढका बाली
उसैको हातबाट काटिन्छ
नाफा जसलाई पनि होस्।

घामले उसको छालामा कतिपल्ट लेख्यो कविता
पसिनाले उसको कमिजलाई अलकत्रा बनायो
फरुवाले उत्सव मनायो उसको निधारमा
भर्खर भर्खर मात्र
सपनाले सितार बजाउन थालेको थियो 
कि अचानक उसको स्वास्नीले फुटाउँछ हरिया(राता बाईँ 
पुच्छ सिन्दुर
कि ठेला पक्रिएको हात अझै ठेला नै पक्रिरहेको छ
तर गर्दनमा खुन जमिएको छ।

साला बिहारी
काटियो गाजरमूलाजस्तो सामुहिक बम्बई वा गुवाहटीमा
अनि फुटाइरहिन् स्वास्नीहरूले बॉंई।

तर साला बिहारी जतिदिन जिउँदो थियो जान्दथ्यो
यो देशको हिन्दुसमाजको लागि जति सन्देहस्पद छ मुसलमान हुनु
त्यति नै अभिशाप थियो भारतमा बिहारी हुनु

साला त्यसलाई यो पनि थाहा थियो कि
बिहानी हुनु अर्थात दिनरात मजदुरी गर्नु हो
उसलाई थाहा थियो कि
पक्रा खाइयोस् सानोतिनो झुट र चोरीमा
बचाउने छैनन् उसलाई तिनका जिल्लाका अफिसरले

बिहारको अर्थ 
त्यसलाई थाहा थियो कि अफसर, मन्त्री, महाजन हुनुहोइन
बिहारीको अर्थ फरुवा चलाउनु हो
ढुङ्गा फुटाउनु हो
नाली सफा गर्नु हो
चौकिदार गर्नु हो
।।।
आवाजमा छ निरन्तरता
ओई साला बिहारी
तेरो आमाको।।।
छिट्टो छिट्टो फरुवा चला
हरामी
युपी बाहिरका कुक्कुर
तेरो बैनीको मु।।।
तेरो आमाको पु।


हामीले पढ्नु पर्ने किताबहरुका विदेशी लेखक (ह्योमो, गेईज)ले तराईलाई नेपाल नेसन स्टेटले एउटा कोलोनी बनाएको भन्ने तरिकाले कुरा गर्छन् । कोलोनी के हो र के होईन, कसरी बन्छ वा भत्कन्छ भन्ने विषयमा म यहामा कुरा गर्न चाहन्न । तर, म तराईमा आन्दोलन चलाईरहेका पार्टी र तराईको आन्दोलन विरोधी दुई उग्र र विपरित प्रकार धार छन् भन्ने म २९ वर्षकी, समानताको पक्षमा पैरवी गर्ने समाजशास्त्रकी विधार्थीलाई भित्र भित्र लागि रहन्छ । 

मलाई यसरी लाग्नुका केही कुराहरु छन् । पहिलो पहिचानको आन्दोलन चलाईरहेका कुनै पनि जातीले आफ्नो भाषाको पैरवी गर्छ । मधेश आन्दोलनको सुरुबाट नै मधेशमा काम काजको भाषा हिन्दी हुनु पर्छ भन्ने माग नै गलत तरिकाले उठिरहेको छ जानी जानी वा नजानी नजानी । हिन्दी भाषाको कुरा आउँदा मलाई पुष्पलालले कतै लेखेको कुरा, ‘नेपाल कम्युनिष्ट पार्टीको पहिला मागहरुमा नेपालको राष्ट्र भाषा हिन्दी हुनु पर्छ भनेर भनेका थियौ । र, पछि भाषाको यो कुरा कति कमजोर धरातलमा निर्माण भएको थियो भनेर मलाई लाज लाग्छ’ भनेर लेखेको दिमागमा आईरहन्छ । 

उत्तर प्रदेशका बुद्धीजीवि मैथिली र भोजपुरी भाषाको भाषिक आन्दोलनमा छन् भन्ने मलाई लाग्छ, मैथिली भाषालाई भाषिक अनुसुचिमा राख्न मैथिली समुदायले ठुलै आन्दोलन गर्न परेको थियो रे भन्ने सुनिन्छ । भोजपुरी भाषालाई विकास गराउन भोजपुरी भाषिको पनि फरक आन्दोलन छ । भोजपुरी, फिल्म, गित मात्रै फिल्म र गित मात्रै हैनन् । आफ्नो भाषालाई बचाई राख्ने यो पनि यउटा आन्दोलन पनि हो । आन्दोलन थोरै हातमा भाटा बोकेर राजमार्ग बन्द गरेर मात्रै हुन्छ र ?

 दशगजा पारी र वारीको एउटै जाति, एउटै भाषा भएको, एउटै संस्कृती भएको समुदाय आफ्नो अधिकारको भाषा दुई देशमा फरक फरक भनेर आन्दोलनमा छ । दश गजा पारी, आफ्नो मामालीहरु, ससुरालीहरु वा ज्वाईहरु कस्तो प्रकारको आन्दोलन गरेका छन् भन्ने पनि अध्ययन नगरी हचुवाको भरमा हिन्दी भाषाको कुरा गरिएको छ । 

दोस्रो कुरा, तराई आन्दोलनको कुरा आउँदा साथ दिल्लीको कुरा आउँछ । मधेश आन्दोलन कर्मीहरु दिल्लीका नेताहरुलाई बहुतै मान मनितो गर्छन्, थाहा भएकै कुरा हो । उनीहरुले दिल्लीका नेतालाई मान मनितो गरेको मधेश आन्दोलन विरोधीलाई मन पर्दैन । दुवैले उग्र तरिकाले कुराहरुको उठान गर्छन् । अस्ति यसको प्रिजेन्टेशनमा एक जना साथीले यसलाई भारतसँग तपाईहरुको के सम्बन्ध छ भनेर सोध्नु भयो । यशले मधेशी जनताको भारतिय जनतासँग रोटी र बेटीेको सम्बन्ध छ भन्नु भो । हो, यहि नेर समाजशास्त्रको समय र स्थानको महत्वको काम छ । कुन भारत ? विहार, दिल्ली, कोलकत्ता, मुम्बाई कुन ठाउँ हो जोसगँ मधेशी जनताको रोटी र बेटीको सम्बन्ध छ । जरुर त्यो विहार हो । 

हो विहार, अनि विहारलाई भारत भर कसरी हेरिन्छ ? भारत भर विहारीलाई कस्तो व्यवहार गरिन्छ ? अरुनाभको कविता भन्छ, भारतमा विहारीलाई त्यहि ब्यवहार गरिन्छ । जस्तो हिन्दुस्तान नामको भारतमा मुसलमानलाई गरिन्छ ।

तेस्रो कुरा, यशकुमारले अस्ती आफुलाई कसैले भैया भन्दा मैले तेरो घरमा खाली बोटल, पुराना कागज माग्न आएको छु ? भनेर भनेँ भने । मलाई यसको कुराले उनी नै तराई मधेश के कुरामा हेपिएको हो भनेर प्रस्ट छैनन् भन्ने लाग्यो । साथी यसले म थोडी भैया हुँ ? (उनको भाषामा खाली बोटल, पुराना काजग भन्ने, फलफुल बेच्ने, ग्यास चुलो, प्रेसर कुक्कर बनाउनेलाई भैया भन्न मिल्छ) भन्ने कुराले सुकिला, धनि, पढेलेखेकाहरु भैया हुँदैनन्  । जो तल्लो तहको काम गर्छन्, जो तल्लो जातका छन् उनीहरु भैया हुन भन्ने लाग्छ । यो प्रकारको प्रतिक्रियाले तराईलाई मुक्ति जरुर हुँदैन ।

चौथो कुरा, काठमाण्डौमा बेला बेला महेन्द्र हाइवे तलको तराईलाई आत्म निर्णयको अधिकार सहितका मागहरु मधेशी राजनीतिकर्मिहरुले गर्छन् । साथी यशको कुरा पनि यो भन्दा फरक छैन । त्यसैसँग मधेश आन्दोलन विरोधी तप्काबाट प्रतिक्रिया ब्यक्तहुन्छ, ‘नेपाललाई फुटाएर भारतमा गाभ्ने चालामाला हो ।’ समाजशास्त्रमा देखिने काम र नदेखिने कामको विषयमा खुब चर्चा हुन्छ । कुतर्क गर्नका लागि नदेखिने कामको विषयमा कुरा गर्न सकिन्छ । यदि नदेखिने काम नेपालको तराईलाई भारतमा जोड्ने नै हुन्छ भने पनि त्यसले न तराई वासी, न तराईको नाममा राजनीति गर्ने नेता कुनैलाई फाईदा हुँदैन ।

कदाचित तराई नेपालबाट फुटेर भारतमा गाभिएछ भने पनि गाभिने विहारसँगै हो । अनि विहारबाट दिल्लिसम्मको राजनीति गर्न, त्यहाको नीतिनिर्माणको तहमा पुग्न, भैया भनिनबाट मुक्ति पाउन, वलिउडमा हिरो, हिरोईन हुन त्यति सजिलो, सम्मानजनक पक्कै हुने छैन । 

0 comments:

Post a Comment