देशभर एमालेको महाधिवेशले तातिरहदा किर्तिपुरको चौरमा राजनीतिमा नलागेका मेरा साथीहरु समेत एमालेको महाधिवेशनको विषयमा खुब चर्चा गरिरहन्छन् । नवौँ महाधिवेशन पछिको परिणाम, त्यो परिणामले देखाउने समाजको प्रवृति र त्यसले आम जनताको लागि निर्माण गर्ने अबसर र चुनौतिको विषयमा गफहरु हुन्छन् । माक्र्सवादका ठेलीहरु पढ्ने र एमालेसँग बाह्रहातको साईनो पनि नभएका मेरा साथीहरु एमालेले अहिलेको नामै फेरेर नेकपा(माक्र्सवादी वा समाजवादी) नाम राख्नु पर्ने, लेनिनवादी संगठनात्म सिद्धान्तलाई हटाउनु पर्ने देखि लिएर कुन गुटले किन जित्नु पर्छ, भन्ने सम्मका बहसमा उत्रिन्छन् ।
गुट गत राजनीति भन्दा पर, एमालेसँग कुनै लेनादेना नभएका साथीहरुको तर्कले मलाई भित्रै बाट हल्लाउँछ । असारको पहिलो साता अनलाईन समाचार भरि ७५ प्रतिशत प्रतिनिधि केपिओली पक्षको निर्वाचित भए भन्ने समाचारमा पढेर सुनाउँदै मेरा एक जना जनजाती साथीले ठट्टा गर्दै भने, ‘अब एमालेमा बाहुन जाति र चरि प्रजाति बढेछन्’ । यस्ता कुराले एमालेमा वर्षको तीन सय लेभि तिरेर संगठित सदस्यदा रिन्यू गर्ने मेरा शिर लाजले निउरिन्छ ।
यो महाधिवेशनले कागजीरुपमा नेपाली समाज पुँजीवादी भएको भन्नेकुरालाई स्वीकार गरेको छ । प्राज्ञिक क्षेत्रबाट समाजको चरित्र पुँजीवादी छ भन्ने हाम्रा गुरु चैतन्य मिश्र र एमालेले दस्तावेजीक रुपमा समाज पूँजीवादी हो भनेर राख्नु पर्छ भनेर १२ वर्ष देखी लेख्दै भन्दै आउनु भएका गुरु घनश्याम भुसालको कुरा केहि हद सम्म भए पनि स्वीकार गरिएको छ । नेपाली समाज पुँजीवादी कि समान्तवादी भन्ने जस्तो बहसले यो महाधिवेशनले निक्कै चर्चा पायो । यसरी चर्चा हुनु राम्रो हो, साठी वर्ष भन्दा पुरोनो व्याख्याको परिवर्तन हुनु, त्यसको लागि युवाहरुको एउटा समुहले दशक लामो प्रयत्न गर्नु पर्ने अवस्थाको विषयमा चर्चा हुनै पर्ने थियो ।
पत्रपत्रिकामा लेख्ने लेखकहरुले विचारको यो बहस आम कार्यकर्तामा त्यति महत्वको विषय होईन भन्ने प्रकारका टिप्पणी गर्छन् । उनिहरुको टिप्पणी सहि हो । समाजको चरित्र कस्तो छ भनेर व्याख्या गर्नुको मुख्य कारण कस्तो प्रकारको योजना र नीति निर्माण गर्ने भन्ने कुरा सँगै जोडिएर आउँछ जुन धेरै हदसम्म नेतृत्वले चासो राख्नु पर्ने कुरा हो ।
मिडियामा र सामाजिक सन्जालहरुमा मुख्य गरेर प्रवृतिको कुरा आएको छैन । कुन गुटको नेतृत्वले कुन प्रकारको प्रवृतिको पक्षपोषण गर्छन् भन्ने कुरा आम जनसमुदाय, एमालेका कार्यकर्ता र पार्टीका सामान्य सदस्यको चासोको विषय रहँदै आएको छ । एमालेको यो महाधिवेशनमा त्यस प्रकारको प्रवृति स्पष्ट देखिन्छ ।
किन एमालेको युवा संघ आम युवाहरुको संघ भएन, त्यसमा कला, साहित्य, खेलकुद र विचारका हिसाबले अब्बल रहेका एमाले जनका छोराछोरी, अनुेरास्ववियुका पूर्व कार्यकर्ताहरु वा एमालेको सदस्यता लिएका युवाहरुले किन युवासंघलाई आफु पनि अट्ने संगठन महशुस गर्न सकेनन् । किन युवासंघले लोडसेडिङको विरुद्ध हस्ताक्षर गरेर बस्छ ? तर, लोडसेडिङ कसरी घटाउन सकिन्छ भन्नेमा उसको चासो रहँदैन ? कुनै ठेकेदारको समाचार लेखेबापत किन युवा संघ पत्रकारको ज्यानमाथी खनिन्छ, किन कुनै डनलाई प्रहरीले समात्दा युवासंघले जिल्ला बन्द गर्छ ?
विज्ञापनले महिलाको शरिरलाई कमोडिफिकेशन गर्छ भनेर संसार भरका माक्र्सवादमा विश्वास गर्ने मानिसहरु फेशन शो जस्ता कुराको विरोध गर्छन् । तर अनेरास्ववियुले कमिटि गत रुपमा नै फेसन शो गर्ने निर्णय गर्छ । अनेरास्ववियुले पछिल्ला वर्षहरुमा किन विचार र बहसका कुराहरुलाई पछि धकेल्दै आएको छ ? शैक्षिक मुद्धाहरु किन अनेरास्ववियुमा किनारामा पर्दै आएका छन् ?
अनेमसंघ किन आम महिलाहरुको संगठन बन्न सकेको छैन ? भदौको एक महिना तिजको नाममा गरिने रत्यौली बाहेक अनेमसंघले अरु कार्यक्रम किन गर्दैन ? देश भरि वर्ष भरि नै महिलाहरु दहेजको नाममा, बोक्सीको नाममा, प्रेमको नाममा जिउँदै जलाईदा, मारिँदा वा दुव्र्यवहार हुँदा किन अनेमसंघले विरोध गर्दैन ? छाउपढी गोठमा मरीकी महिलाको समाचारले किन अनेमसंघकी अध्यक्षको मन पोल्दैन ? काठमाडौका सेमिनार हल र गुटगत राजनीति भन्दा पर किन अनेमसंघको केन्दीय नेतृत्व उपस्थित छैन ?
यी आम प्रश्नहरु हुन् । यी प्रश्नसँग अर्को प्रश्न पनि छ, जनताको पक्षमा काम गर्न छोडेका एमालेका भातृ भगिनी संस्थाको नेतृत्वमा पछिल्लो आधा दशकमा को को थिए ? उनी हरु कुन गुटका हुन् । सार्वजनिक नभएका रमेश बाहुनलाई घरमा गएर कसले पार्टीको सदस्यता दिएको थियो ? चरिलाई प्रहरीले समात्दा कसको नेतृत्वमा धादिङ बन्द गरिएको थियो ? पर्शुराम बस्नेतको पक्षमा कसले विराटनगर र काठमाण्डौमा आन्दोलनको नेतृत्व गरेको थियो ? ती कुन गुटका हुन ?
यस्ता विषयमा एमालेको महाधिवेशन केन्द्रित गरेर बहस भएको छैन । जब कि एउटा आम नागरिक वा कार्यकर्तालाई यस्ता विषयमा चासो हुन्छ ।
पछिल्लो आधा दशकमा एमालेको मुख्य भातृ भगिनी संगठनको नेतृत्वमा के पी ओली गुट नै रह्यो । केपी ओली समुहले महाधिवेशनमा जिते भने एमालेको कार्यपद्धति, व्यवहार अहिलेको युवा संघ वा अनेमसंघको भन्दा फरक हुने छैन । त्यसमा बाहुन, चरी र पर्शुराम बस्नेत जस्ताले ठूलो महत्व पाउनेछन् । र अर्को पक्ष माधब नेपाल पक्षले जितिरहँदा एमाले दुधले पखालीएर त पक्कै आउँने छैन । तर, चरी, बाहुन र बस्नेतहरु भन्दा कला, साहित्य, खेलकुद र वौद्धिक युवाहरुले ठाउँ पाउने सम्भावना चाहि छ । जसले कुनै डन पक्राउ परेको कारण जिल्ला बन्द गर्ने जस्तो घृणित काम गर्ने छैनन् ।
0 comments:
Post a Comment