नेपाली समाज ६३ साल पछि अवनतीको दिशामा छ ?

on Wednesday, April 23, 2014

पेट्रोलको लाईनमा बसेर रातको ११ बजे कान्छु घरमा आउँदा म चाहि समाज उन्नतीको दिशामा छ भनेर बाल्नु पर्ने कक्षाको तयारीमा गर्देैथिएँ । मध्यरातमा आएको छोरालाई हेर्दै आमा देशका ठूला नेताहरुलाई गाली गर्न थाल्नु भयो । यो सायद मेरो घरको मात्रै कुरा होईन । हुनुपर्ने काम समयमा नहुँदा हामी नेताहरुलाई र  देशलाई मज्जाले गाली गर्छाैँ । आमाले नेतालाई गाली गरेको भोली पल्ट नेविसंघको स्थापना दिवसको उपलक्षमा त्रिविमा आयोजित चियापान कार्यक्रममा नेविसंघकै एउटा गुटका विधार्थीले अर्को गुटका साथीलाई लखेटेको देखेका मेरा साथीहरुले समाज बर्वाद भएको कुरा चिया खादै एकअर्कासँग गरिरहे । हिजो आज  हामी हरेक ठाउँमा समाजमा उन्नती हुन नसकेको, केहि पनि नभएको भन्ने सुन्छौँ । मलाई मेरै बा आमाले बेला बेलामा भन्नुहुन्छ, ‘पढाई छोडी छोडी आन्दोलन गरेर, पुलिसको कुटाई खाएर के भयो त ?’ ।


 धेरै ठाउँमा (साथीहरुको विचमा, परिवारको विचमा, सार्वजानिक वसमा) प्राय म समाज खत्तम भएको विश्लेषण चुपचाप सुनिबस्छु । म चुपचाप बसिरहँदा मेरा राजनीतिमा नलागेका आफन्तहरु, साथीहरु मलाई राजनैतिक दलले प्रयोग गरेको, पढाई र करिअर विगारि दिएको र हामीजस्ता पहुच नभएका मानिसलाई माध्यम बनाएर सत्तामा पुगेका गुनासाहरु सुनाई रहन्छन् । सत्तामा पुगेका नेताहरुले जनताको अपेक्षा पुरा नगरे पछि म जस्ता बबुराले बोल्ने कुरा पनि भएन । 

 म प्रायः सोच्छु हामीले  पढाई विगारेर, पुलिसका भाटा र टियर ग्यास खाएर ल्याएको लोकतन्त्रले समाज झन झन अवनतिको दिसामा नै गईरहेको छ ? ६३ सालको आन्दोलन पछाडी र अगाडीलाई तुलना गर्दा हाम्रो समाजमा, हाम्रो दिनदिनैको जिन्दगी झन अफ्ठेरोमा परेको छ ? केहि दिन अगाडी मेरा गुरु यज्ञशले जनताको स्वाभिमान गिर्दैगरेको बारेमा कान्तिपुरको कोसेलीमा लामो लेख लेख्नु भयो । नेपालीको स्वाभिमान ६३ सालको आन्दोलन पछाडी बढी गिरेको हो कि त्यो भन्दा अगाडी  गिरेको थियो ? स्वाभिमानको गिराई कम हुर्दै गएको छ कि बढ्दै गएको छ ? म सोच्ने गर्छु ।

मेरो पढाई र अनुभवले ६३ सालको आन्दोलन पछाडी समाज पछि फर्केको, केहि पनि नभएको, जनताको स्वाभिमान झन झन घट्दै गएको भन्ने भनाईलाई स्वीकार गर्दैन । म मेरै जिवनलाई पहिला र अहिले दाजेर हेर्छु । मेरा आसपासका मानिसको जिवनलाई दाँजेर हेर्छु । अनि म निरास हुँदिन ।

जनआन्दोलन अगाडीको समयमा सबै भन्दा मलाई घरमा जानु परेपछि पिडा हुन्थ्यो । काठमाण्डौबाट विहानै हिडेकी म कास्कीको लुम्लेमा रहेको मेरो घरमा कहिल्यै बेलुका पुग्दीनथेँ । घण्टा घण्टामा चेक जाचमा रोकिनु पर्दा र दुई घण्टा चेक जाँचको लाममा उभिँदा, आर्मी र प्रहरीका मुखबाट निस्केका अपशब्द सुन्दा, झोला खोलेर आफ्नो भित्रि लुगा देखाउनु पर्दा मलाई आफु उभिएकै ठाउँमा भासिन पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो ।  समयमा पुग्नु पर्ने ठाउमा नपुगिने जस्तो समस्या अहिले छैन । अहिले दुर्घटना नै भएको खण्डमा बाहेक सामान्यतया, पुग्नु पर्ने ठाउमा समयमा नै पुगिन्छ । कसैलाई आफ्ना सामानहरु खोलेर देखाउन पर्दैन, कसैका आमा,बा वाला गाली सुन्न पर्दैन ।

विचारको कुरा गर्ने हो भने ६२ साल भन्दा अगाडी नेपालीहरु आफ्नो विचार कसैसँग ब्यक्त गर्दैन्थे । म आफै कुन पार्टीमा छु भनेर आफ्ना घरमा भन्न सकिन । किनकि कुनै पार्टीमा कार्यकर्ता भएकै कारण ज्यानको बाजी थाप्नु पर्ने अवस्था थियो । आफ्नो विचार स्पष्टरुपमा राख्न सक्ने वातावरण थिएन । विचार अभिव्यक्तिको कुरामात्रै हैन, फरक विचारका विताब पढ्ने, घरमा राख्ने वातावरण पनि थिएन । पढ्न मन लागेको किताब लुकेर किन्नु पर्ने, लुकेर पढ्नु पर्ने, लुकाएर राख्नु पर्ने अबस्था थियो । म आफैले युवाहरुको गित, आमा, रातो चट्टान, नयाँ घर जस्ता कितावहरु भित्रि लुगाले छोपेर राख्थे । जुन अवस्था अहिलेको छैन । मानिसहरु आफुलाई लागेको कुरा स्वतन्त्र भएर बोल्न, लेख्न र पढ्न पाएका छन् । कुनै विचार बोकेकै भरमा मारिनु पर्ने अवस्था अहिले छैन । 

रोजगारको कुरा गर्दा पनि ६३ साल पछि मानिसहरु आफुले मनमा लागेको पेशा स्वतन्त्र भएर छान्न पाएका छन् । विशेष गरि सुरक्षा निकाय र माओवादीमा रहेका मानिस र उनीहरुका परिवारको दुःखका दिन नगए पनि त्रासका दिनहरु गएका छन् । एउटा पेशा वा पार्टी अंगालेकै कारण मारिनु पर्ने, डराउनु पर्ने अवस्था अहिले छैन । 

संचारमा भएको प्रगतिको कुरा गर्ने हो भने, ६३ साल अगाडी नेपालमा एक कल फोनको लागि घण्टौँ सम्म हिडेर जानु पर्ने अवस्था थियो । तर, ६३ साल पछाडी संचार (मोवाईल फोन) प्रयोग सर्वसुलभ भएको छ । जसले गर्दा मानिसको दिनदिनैको काम सहज भएको छ । 

६३ सालको परिवर्तन पछाडी सबैभन्दा सकारात्मक परिवर्तन महिला, आदीवासी जनजाती, दलित मधेशीहरुमा परेको छ । उनीहरुको अधिकार केहि हद सम्म भए पनि सुनिश्चित भएको छ । अधिकारको विषयमा मानिसहरुले आवाज उठाउन सहज भएको छ । 

सबै भन्दा ठूलो कुरा मानिसहरु डर  र त्रासमा बाच्नु पर्ने अबस्थाको अन्तय भएको छ । शिक्षा, स्वास्थ्या, रोजगार, आर्थिक अवस्था, संचार, सरदर बाच्ने आयु, अधिकार प्रतिको चेतनामा तिब्र गतिले विकास भएको कुरा तथ्यांकहरुले बताउँछन् । 

कुनै पनि प्रकारको परिवर्तन रातारात हुँदैनन् । कुनै पनि विरुवा रोप्ना साथ फल्दैन । त्यसको लागि समय चाहिन्छ । र समयको आधारमा भन्ने हो भने नेपाल धेरै कुराले प्रगती कै बाटोमा छ । प्रगति पनि अरु देशहरुको दाजोमा धेरै सुचांकहरुमा अगाडी छ । सायद हामी नर्र्कबाट स्वर्गको यात्रामा छौँ । स्वर्ग पुग्न पनि बाटाकासमय लाग्छ होला नि ?

0 comments:

Post a Comment