किन हुन्छन् छोरीहरु रुन्चे र खन्चुवा ?

on Monday, April 7, 2014


हाम्रो समाजमा छोरी सन्तान खन्चुवा हुन्छन् भन्ने आम मान्यता छ । त्यसै मान्यताको आधारमा छोरी सन्तान चार महिना पुरा पुगे पछि उनीहरुको पास्नी गरिन्छ । जब कि छोरा सन्तानको पास्नी छ महिना पुरा भए पछि मात्रै गर्ने चलन छ ।

के साच्चिकै छोरीहरुले छोराहरुको भन्दा चाडै र धेरै खान खोज्छन् त ? डाक्टर अरुणा उप्रति भन्छिन्, ‘यो सरासर अवैज्ञानिक कुरा हो । चिकित्सा विज्ञानले त बच्चा चाहे छोरा होस्, चाहे छोरी होस् दुवैलाई ६ महिना पुरा नपुगे सम्म पानी पनि खुवाउन हुँदैन भन्छ । आमाको दुधमात्रै खुवाउनु पर्छ ।’


पास्नी जस्तै अर्को मान्यता नेपाली समाजमा छोरीहरु जन्मँदा देखिनै रुने भएर जन्मन्छन् भन्ने पनि छ । ‘आईमाईको जस्तो आशु झार्ने ?’ भन्ने लान्छना त हरेक आशु झार्ने पुरुषलाई लाग्छ । समाजको यो मान्यताले महिलामा साच्चै नै रुनका लागि छुट्टै ग्रन्थि  भएको जस्तो अर्थ दिन्छ । 

छोरी सन्तानहरु किन जन्मँदै रुन्चे भएर जन्मन्छन् ? भनेर सोधेको प्रश्नमा डा. उप्रेती भन्छिन्, ‘कुनै पनि बच्चा बिना कुनै कारण रुदैन । कि उ भोकले रोएको हुन्छ, कि दिसा पिसाव गरेर रोएको हुन्छ कि वा उसको कुनै समस्या हुन्छ । छोरीहरु रुन्छन् भन्ने कुरा रुढीवादी कुरा हो ।’

अरुणा उपे्रतीको कुरा त चिकित्सा विज्ञानको भयो । के छोरी सन्तान जन्मेको समय देखी रुने पिरोल्ने गर्दैनन् त ? के छोराले भन्दा छोरी सन्तानले चाडै अन्न खान खोज्दैनन् त ? के हाम्रो समाजका अग्रजहरु यत्तिकै झुटो बोलेर पास्नीको संस्कार बसालेका हुन् त ?

चिकित्सा विज्ञानले जेसुकै भनोस् सामान्यतया महिला जन्मेको बेला देखी जिवनभर रुन्चे हुने कुरा साचो जस्तै लाग्छ । हाम्रो आसपासमा रुने जिम्मा महिलाकै हुन्छ, खुसीको क्षणमा होस् कि दुःखको क्षणमा होस् । कसैसँग मिलनको समयमा होस् कि बिछोडको समयमा महिलाका आशु पहिला र धेरै झर्छन् । महिलाका कुरा छोडिदिउँ वल्लो पल्लो घरमा बच्चा रोएको बेला सोध्दा हुन्छ, रुने बच्चा छोरी नै हुने सम्भावना बढी हुन्छ । छोरीहरु जन्मेकै बेला देखी रुन्चे हुन्छन् वा पिरल्ने हुन्छन् भन्ने कुरा छोरी सन्तान भएका धेरै अभिभावक स्विकार गर्छन् । चाडै खान खोज्ने कुरा पनि त्यस्तै हो । 

समाजशास्त्रको आधारभूत मान्यता के छ भने, संसारका सबै घटना सामाजिक रुपमा निर्मित हुन्छ । जस्तो की कुनै ठाउँमा बढी उब्जाउ हुने जमिन रहेछ भने समाजशास्त्रीहरु त्यो ठाउँका मानिस बढी मेहनती रहेछन् भनेर बुझ्ने गर्दछन् । कुनै बस्तिको नजिकै घना जंगल सहेछ भने समाजशास्त्रीले त्यो ठाउँका मानिसहरु बन विनास प्रति सजग रहेछन् भन्ने बुझ्छन् । त्यसै गरि कुनै समाजमा मानिसहरु धमाधम आत्महत्या गर्न थाले भने समाजशास्त्रीहरु आत्महत्याको सामाजिक कारण खोज्न थाल्छन् । के कुराले मानिसहरुलाई आत्महत्या गर्न वाध्य पारिरहेको छ भनेर । 

छोरीहरु जन्मेकै समय देखी रुन्चे र छोरा भन्दा पहिले खन्चुवा हुने कुरालाई पनि समाजशास्त्रीय आखाबाट हेर्ने सकिन्छ । पहिलो कुरा बच्चिहरु जन्मेकै समय देखी रुन्चे हुन्छन् र छोरा सन्तानको भन्दा चाडै खान खोज्छन् भन्ने हाम्रो समाजको मान्यतालाई स्विकार गरौ । त्यस पछि समाजशास्त्रको आखाबाट हेरौँ । किन उनीहरु रुन्चे र खन्चुवा हुन्छन् त ? उत्तर खोज्न धेरै गाह्रो पर्दैन । उत्तर समाजकै ब्यवहार र भनाईमा नै छ । 
हाम्रो समाजमा भनाई नै छ, ‘छोरा जन्मे खसी, छोरी जन्मे फर्सी’, ‘छोरा जन्मे घिउ र भात छोरी जन्मे झोल र भात’ । यी भनाई भनाईमा मात्रै सिमित छैनन् । व्यवहारमा पनि छन् । गत वर्ष निस्केको ‘स्वअस्तित्वको खोज’ नामक नेपालका लेखिकाहरुको अनुभुतिहरुको संग्रह पढ्दा थाहा हुन्छ कि छोरी जन्मेकोमा नेपाली समाज खुसी हुँदैन । 

त्यो किताब पनि पढ्न पर्दैन । हामी हाम्रै परिवार हेरौँ, नजिकका आफन्त हेरौ, छोरा जन्मँदा हाम्रो मनमा कस्तो भावना आउँछ ? र, छोरी जन्मँदा हाम्रो मनमा कस्तो भावना आउँछ ? परिवारमा छोरी जन्मँदा हामी छोरा जन्मँदाको जत्तिकै खुसी हुँन्छाँै त ?  हुँदैनाँै । किनकि छोरी त जुन जमाना आए पनि अर्काको घरमा नै जाने जात हो । चाहे छोरीलाई पढाएर डाक्टर बनाईयोस्, चाहे अरुनै । तर, छोरो केहि नभए आफ्ना बा आमालाई छोडेर अर्काको घरमा जाँदैन ।

त्यसैले हाम्रो समाजमा छोरो जन्मेको छ भने छोरा जन्माउने आमाको स्याहार सुसार, खाना र आरामको सबैले ख्याल गर्छन् । छोरा जन्माएकी छोरी बुहारीलाई भनिन्छ, ‘हुनेको वर्ष दिन, नहुनेको छ महिना वच्चाकी आमाको ख्याल गर्नु पर्छ ।’ अर्थात् उसलाई पोसीलो खुवाउनु पर्छ बच्चासँगै आराम गराउनु पर्छ । बच्चाकी आमाले कपडा, भाँडा धुनु हुँदैन किनकि बच्चालाई चिसो लाग्छ । 

तर के छोरी जन्माउने आमाको पनि त्यस्तै स्याहार हुन्छ त ? छोरी जन्माउने आमालाई त समाजले भन्छ, ‘फलानाकी बुहारीले त एघार दिन कै दिनमा पानी छोई’ । पानी छोई अर्थात् उसले सुत्केरी भएको एघार दिन देखी घरको काम गर्न थाली । छोरी जन्माउने उहि महिलाले छोरा पाउदाको झै खाना, स्याहार र आराम पाउँदिन । काम गरे पछि धेरै खानु पर्ने हुन्छ, तर समाजले, परिवारले त छोरी पाउने आमालाई त फर्सि वा झोल र भात दिने भन्छ नि त । खसीको मासु खाए जत्ति दुध त फर्सि खाएर पक्कै आँउँदैन । नत घिउ खाएर आउने जत्ति दुध झोल खाएर नै आउँछ । 

छोरी जन्माउने आमाले आराम गर्ने कुरा भएन । स्याहार सुसारको कुरा पनि भएन । पोसिलो खानाको, आरामको र स्याहारको कमिका कारण छोरी बच्ची जन्माएकी आमाको दुध कम आउँछ । जब कि छोरो जन्मदा त्यहि आमाको दुध धेरै आउँछ । आमाको दुध कम आए पछि बच्चि भोकाउने स्वभाविक हो । यसैलाई हाम्रो समाजले छोरी धेरै खन्चुवा हुन्छन् भन्छ । 

यदि बच्चीकी आमा उसको आसपासमा हुने हो र उसलाई समस्या पर्दा याद गर्ने हो भने उनीहरु रुँदैनन् । रुने वा रुन्चे हुने कारण पनि बच्चिको स्याहारमा हुने लापवाही नै हो । छोरी जन्माउने आमाले छोरा जन्माएको बेलामा झै आराम गर्नुको सट्टा काम गर्नु पर्ने हुन्छ । काम गर्नुको अर्थ बच्चीकी आमा उसगै नहुनु हो । आमा साथमा नभए पछि दिसा गरे पनि, पिसाब गरे पनि, भोक लागे पनि रुनै प¥यो । अफ्ठेरो भएर, दिसा पिसाब गरेर, भोक लागेर बच्चा रोई रहन्छ । जसलाई हाम्रो समाजले छोरी त जन्मँदै रुन्चे हुन्छन् भनेर टार्छ ।

0 comments:

Post a Comment