सुत्केरी विदा बहस नभएको मुद्धा

on Tuesday, July 23, 2013

दुई दिन अगाडीको कुरा हो, ससस्त्र प्रहरी अस्पताल सतुंगलको गेटमा एक महिला कर्मचारी डिउटीमा थिईन् । उनको अनुहार मलिनो थियो । चिनजानकी भएको कारण मैले सन्चो छैन कि भनेर सोधेँ । उनले भनिन् ‘मलाई त सन्चै छ, हेर्नोस् न बाबु(उनको चार महिनाको छोरो)लाई सन्चै छैन ।’

उनको छोरो तिन दिन देखी ज्वोरो आएर सिकिस्तै थियो । मैले थप कुरा गर्न सकिन उनको कुराले मलाई पनि मनै अमिलो भएर आयो । हाम्रो घर भन्दा अगाडी उनको डेरा छ । म उनको डेरा छेउमा नै पुग्दा उनको बच्चा कहालिई कहालिई रोएको थियो ।

उनका श्रिमान बच्चालाई सके सम्म फकाउने कोशिसमा थिए । तर आमा खोजेर रोएको बच्चा आमा नआई मान्ने वाला थिएन । मलाई धुरुक्क रुन मन लाग्यो । मलाई बच्चा प्रति होईन देशको नियम कानुन र समाजको रिति रिवाज प्रति रुन मन लागेर आयो ।

महिला अधिकारको विषयमा हाम्रो समाजमा अहिले बहुत चर्का नाराहरु घन्किरहेका छन् । चुनावको विषयले प्रधानता पाएको यो समयमा महिला अधिकार पनि अब बन्ने संविधान सभामा महिलाको संख्या कति र प्रतिशत कति पुराउने भन्ने विषयमा केन्द्रित हुन थालेको छ । यस्तो बेलामा एउटी बच्चाकी आमाको विषयमा लेखिने यो लेखले कमै महत्व पाउला । तर यो विषयमा अब कसै न कसैले त बोल्नै पर्छ, अब लेख्नै पर्छ । जानाकारहरु(बाल विशेषज्ञ) भन्छन्, बच्चा दुई वर्षको नभईन्जेल सम्म उसकी आमाको आसपास नै रहन पाउनु पर्छ । उसलाई जति बेला उसकी आमाको दुध खान मनलाग्छ, उति बेला उसले आफ्नी आमाको दुध खान पाउनु पर्छ । हाम्रो नेपाली समाजमा पनि महिला सुत्केरी भए पछि ‘नहुनेको ६ महिना हुनेको वर्ष दिन’ सुत्केरी महिला र नवजात बच्चालाई स्याहर्नु पर्छ भन्ने मान्यता रहेको छ । विज्ञानले नवजात बच्चालाई ६ महिनाको नहुँदा सम्म आमाको दुध मात्रै खुवाउनु पर्छ भन्छ । आमाको दुधमात्रै भन्नाले पानी पनि नखुवाउने भन्ने अर्थमा हो । यो विषयमा सरकारले पनि प्रचार प्रचार गरेको छ । तर, यत्रो विषयमा चर्चा गर्ने समाज र सरकारले काम गर्ने महिलाहरुलाई भने ६ महिना पनि विदा दिने नियम बनाएको छैन । सामान्य तया सुत्केरी विदा ४५ दिन दिने गरिएको छ । यो कस्तो कानुन हो ? बालबालिकाको विषयमा कुरा गर्ने बेलामा ६ महिना सम्म आमाको दुधमात्रै खुवाउन पर्छ भन्ने, २ वर्ष सम्म बच्चालाई आमाको आसपास रहनु पर्छ भन्ने, अनि महिला कर्मचारी कामदारको विषयमा कुरा हुँदा ४५ दिनमात्रै सुत्केरी विदा दिने 
?
म सुत्केरी भए पछि मेरा धेरै साथीहरु भन्थे, कति थाग्ना पट्याएर बसेको फलानीले त दुई महिनाको बच्चा छोडेर जागिर गर्न थालिन्, फलानीले त तिन महिनाको बच्चा छोडेर विदेश गईन् । मैले कतिलाई त मुखैले भनें ‘दुई वर्ष सम्म आफ्नी आमासँग बस्न पाउने मेरो बच्चाको अधिकारको कुरा हो । यदि मैले मेरो अधिकारको कुरा गर्ने हो भने, बच्चाको अधिकार हनन् गर्न मेरो नैतिकताले दिँदैन ।’ हरेक दिन जब म छोरालाई छोडेर चारपाँच घण्टा बाहिर जान्छु र घरमा आउन ढिला हुन्छ मेरो मनमा लाग्छ, धार्मिक रुपमा मैले पाप गरिरहेकी छु र नैतिक रुपमा मैले अनैतिक काम गरिरहेकी छु बच्चालाई समय नदिएर ।

यो मेरो वा कुनै प्रहरी महिलाको कुरा होईन । हरेक नवजात बच्चाको अधिकारको कुरा हो । हरेक बच्चाकी आमाको पिडा र ग्लानीको कुरा हो । नेपालका महिला अधिकार कर्मीहरुले सुत्केरी विदाको विषयमा गम्भिर भएर बहस गरेको मलाई जानकारी छैन । तर, अब गर्नु पर्छ र यो गर्नै पर्ने विषय हो हरेक महिलाका लागि ।
यदि सरकारले  नवजात शिशु दुई वर्षको नहुँदा सम्म उसकी आमाको आस पास रहनु पर्छ भन्ने मान्यता राख्छ भने । सरकारी सेवामा रहेका महिला कर्मचारीलाई दुई वर्ष सुत्केरी विदा दिनु पर्छ । तलवि वा वेतलवी विदाको विषयमा बहस गर्न सकिन्छ । तर विदा दिनै पर्छ । सुत्केरी विदामा बसे वापतको समय बरु महिलाले पछि काम गर्नु पर्ने भन्ने सर्त राख्न सरकारले सक्छ । तर दुध खुवाउनु पर्ने बच्चालाई घरमा छोडेर जबरजस्त महिलालाई काममा लगाउँन सरकारले पाउँदैन । त्यसै गरि सरकारले हरेक नीजि संस्थाका कर्मचारीको लागि पनि यो नियम लागु गर्न वाध्य पार्नु पर्छ । बोल्न र सडकमा आगो बाल्न सक्नेहरुको जायज मागहरुमाथी मतलब नगर्ने सरकारले भरखर जन्मेका बच्चा जसले आमा पनि भन्न जान्दैनन्, उनीहरुको विषयमा सुस्तरी बोलेर सुन्ने त कुरा नै भएन ।

लौन हो महिला अधिकारको पक्षमा लडिरहेकाहरु, बालअधिकारको पक्षमा लडिरहेका अधिकारकर्मिहरु । एउटा यस्तो कानुन बनाउन पहल गरौँ, जुनकानुन बने पछि हरेक कामकाजी आमाको सन्तान हुनुको पिडाले कुनै नवजात शिशु कहालिई कहालिई रुन पर्ने छैन । कुनै महिलाले सुत्केरी भएको वापत आफ्नो क्यारिएर गुमाउन पर्ने छैन । घरमा छोडेको बच्चा भोकले सुक्यो कि, ओड्नेको बुझो मुखमा लगायो कि भनेर कुनै काम काजी महिला मिनेट मिनेटमा छटपटाउन पर्ने छैन । अनि घरमा विरामी बच्चा छोडेर गएकी आमा बच्चा खोजेर चर्केको आफ्नो स्तनलाई जकेटको खोल भित्र रुँदै बगाउन बाध्य हुने छैनन् । लौन, के यो विषयमा कुरा गर्न र कानुन बनाउन ढिला भएको छैन त ? हाम्रो समाजलाई सभ्य समाज  बनाउने हो भने, नयाँ पुस्ताको अधिकारको सुनिस्चित गर्नु पर्दैन त ?यो विषमा हामीले आज आवाज उठाएनौँ भने, हामीलाई आफ्नो नैसर्गिकहकहरु परिवार, समाज र सरकारसँग माग्ने नैतिकता पनि हामीमा हुँदैन ।

0 comments:

Post a Comment