द नेवार: नेवारी समाजको ऐना

on Thursday, September 22, 2016

  
The Newarsको लागि तस्बिर परिणाम
पहिलो संबिधान सभाको निर्वाचन अगाडी पछाडी काठमाडौंमा नेकपा(एमाओवादी)ले नेवा राज्य परिषद गठन गरेको थियो | एकल जातीय पहिचानको पक्ष बिपक्षामा चर्का कुरा उठिरहेका थिए | यस्तैमा हास्य कलाकार हरिबंश आचार्यले कुनै कार्यक्रममा भने रे (रेको कुरा, भनेकै हो भन्ने पनि पक्का थाहा छैन), 'काठमाडौंका आदिवादी माछा र भ्यागुता हुन्' एकल जातीय पहिचानका कुरा आउँदा ७ ८ वर्ष अगाडी मेरा साथीहरु हरिवंश आचार्यले भनेको भनिने त्यहि लाईन दोर्याउथे |

गत वर्ष त्रिविको समाजशास्त्रमा 'नेपाली समाज र सस्कृति' बिषय अन्तर्गत अन्य धेरै जातीय समाज बारेमा लेखिएका लेख/किताब सँगै समाजशास्त्री गोपाल सिंह नेपालीको 'द नेवार' नामक किताब पनि पढ्न पाईयो | 'द नेवार' गोपाल सिंह नेपालीले सन् १०५७-५८ मा क्रितिपुरको पाँगा र काठमाडौंका केहि ठाउँमा आफ्नो पिएचडीको थेसिसको लागि गरेको जातीय-समाजशास्त्रीय अध्ययन हो | सामान्यतया जातीय अध्ययनलाई मानवशास्त्रीय अध्ययनको एक पाटोको रुपमा हेर्ने गरिए पनि नेपालीले संरचनात्मक प्रकार्यवादको प्रयोग गरे यसलाई समाजशास्त्रीय अध्ययनमा ढालेका छन् |

५५ वर्ष अगाडी निस्किएको 'द नेवार' बजारमा नपाईएको धेरै बर्ष भएको थियो | र, समाजशास्त्रको पाठ्य सामग्रीमा पढ्नु पर्ने भएको कारण यसको फोटोकपी मात्रै क्याम्पसहरुका फोटोकपी सेन्टरमा उपलब्ध थियो | उक्त किताबलाई भर्खरै मण्डला बूक्सले बजारमा ल्याएको छ | किताबलाई १५ वटा उप-शिर्षकमा बिभाजन गरिएको छ | नेवारी जनजीवन, तिनीहरुको आर्थीक जीवन, गुठी परम्परा, नाता सम्बन्ध र त्यसमा गरिने व्यवहार, बिवाह, मृत्यु, नेवारी समुदायले मान्ने देविदेवता लगाएत नेवार समुदायको ऐना उतार्ने काम समाजशास्त्री नेपालीले गरेका छन् |

समाज कस्तो छ ? भन्ने प्रश्नमा समाजका हरेक अंगहरु मिलेर बसेको छन, यी हरेक अंगहरुले आफ्नो आफ्नो भूमिका निभाएका छन् भन्ने धारणा/व्याख्यालाई संरचनात्मक प्रकर्यवाद अन्तर्गत बुझिन्छ | नेपालीले नेवारको अध्ययन संरचनात्मक प्रकर्यवादको आधारमा रहेर गरेका छन् | जसलाई प्रमाणित गर्न किताब भित्र बिभिन्न ठाउँमा यसको ब्याख्या पनि गरेका छन् | उदाहरणको लागि (घर/परिवार, गुठि सदस्य, देवीदेवता सबैको आफ्ना आफ्नै भूमिका हुन्छन् | कुनै देवताले पानी पार्ने काम गर्छन्, कुनै देवताले सहकाल बनाउने काम गर्छन्, कुनै देवताले रक्षा गर्छन्, कुनैले सन्तान दिन्छन) |
(समाजशास्त्रको बिकास क्रममा एक निश्चित समयमा एक निश्चित 'वाद'को वर्चस्व(डोमिनेसन) रहेको पाईन्छ | सन् १९३० दशक देखि ६० दशक सम्म समाजशास्त्रमा संरचनात्मक प्रकार्यवादको दबदबा थियो | त्यो दब्दवाबाट भारतीय समाजशास्त्री जी एस घुरे(जो गोपाल सिंह नेपालीका गुरु हुनुहुन्थ्यो र नेपालीले यो किताब उहाँकै मातहतमा बसेर गर्नु भएको थियो) र उहाँका चेला गोपाल सिंह नेपाली पनि अछुतो हुने कुरा भएन | नेपाली सरमा संरचनात्मक प्रकर्यवाद्को प्रभाव कति थियो भन्ने बारेमा समाजशास्त्रका पुराना बिधार्थीहरू 'गोपाल सरले संरचनात्मक प्रकर्यवाद पढाउनु भयो भने वर्ष बितेको पनि थाहा हुन्न' भनेर भन्थे अरे |)

अध्ययनको क्रममा जुन सिद्धान्तको प्रयोग गरिएको भए पनि नेवार समुदायको एक ऐनाको रुपमा यो किताब लेखिएको छ | संरचनात्मक प्रकर्यवाद अन्तर्गत लेखिएको भनेर ठाउँ ठाउँमा पुष्टि गर्न खोज्दा खोज्दै पनि लेखकले गोर्खाली समुदाय र नेवार समुदाय बिचको, कथित माथिल्लो र तल्लो जाति बिचको, हिन्दु र बौद्द धर्म मान्ने समुदाय बिचको तितो सम्बन्धलाई भने किताबमा लुकाएका छैनन् |
अहिले नेपालमा भईरहेको जाती-जनजातिको आन्दोलन भईरहँदा यो किताबको एक महत्वपूर्ण शिर्षक 'नेवारी जाती व्यवस्था' निकै रोचक छ | नेवार समुदाय बाहेकका धेरै मानिसले नेवार भन्ने बित्तिकै, राँगाको मासुबाट बनेका परिकार खाने, श्रेष्ठ थर र ब्यापारी जाती हो भन्ने बुझ्छन् | तर, नेवारी जाती व्यवस्था शिर्षक पढ्दा थाहा हुन्छ, श्रेष्ठ र गुरुवाचार्य, खड्गी र मल्ल, आचार र ज्यापु बिच आकास पातालको फरक | नेपालीले हरेक नेवारी जातीको निर्माण प्रक्रियाको छोटो तर निकै उपयोगी जानकारी जाती व्यवस्थामा उनले समेटेका छन् | कुनै एक जाती कसरी अछुत बन्यो ? एकै मानिसले छोएको दुध चल्ने पानी नचल्ने चलन, बिक्रम सम्बत् २०६०को दशकमा खड्गी समुदायले हामी कसाई होईनौं भनेर गरेको संघर्ष बुझ्न पनि जाती व्यवस्था शिर्षकले सहयोग गर्छ |

खस नेपाली समाज अन्तर्गत नेवारी समुदायलाई वैश्य अन्तर्गत राखिएको छ | जब कि काठमाडौंको जात व्यवस्था धेरै हद सम्म गोर्खाली जात ब्यवास्थासँग मिल्छ | जुनकुरा धेरैलाई थाहा नभएको बिषय हो | नेवारी समुदाय खस नेपाली समाज अन्तर्गतको नभई छुट्टै समुदाय हो भन्ने किताब पढे पछि थाहा हुन्छ | र, नेपालका उपाध्याय र जैसी ब्राह्मणका सगोत्रियहरुलाई पनि चार वर्णको फूलबारीमा समेट्दा कथित वैश्य भित्र पारिएको छ |  

हामी(त्रिवि समाजशास्त्रमा पढ्ने गत वर्षका बिधार्थी)ले कक्षामा एक एक शिर्षक एक एक बिधार्थीले समिक्षा गरेका थियौं | ५५ वर्ष अगाडीको र अहिलेको नेवार समुदायमा धेरै कुरा फरक भएको हाम्रा नेवार साथीहरुले कक्षामा बताएका थिए | तर, पनि नेवार समुदाय भित्रका जात-जातिहरुको निर्माण र पुननिर्माणको कथा | नेवार समुदायका बिभिन्न संस्कारको कुरा, काठमाडौंका चोकचोकमा रहेका गणेशका मन्दिर र त्यसले बताउने छोराको/भान्जाको महत्वको कुरा, नेवारी समाजका गतिविधिलाई प्रतीकको आधारमा गरिने ब्याख्या (उदाहरणको लागि भान्जो जन्मिएको छ भने मामाले सिंगो सुपारी पाउँछन र भान्जी जन्मेकी छ भने आधा सुपारी पाउँछन् | अर्थत् सुपारीको आधारमा भान्जा जन्मेको हो कि भान्जी जन्मेकी हो थाहा पाउँछन् | त्यसै गरि बिबाह कुनै कारण रद्द भएको छ भने उक्त कुरालाई बिहेको लागि संकलन गर्दै गरेको रक्सीको भाँडो सबैले देख्ने चोकमा लगेर फुटाइन्छ | र आफन्तले त्यसैको आधारमा बिबाह रद्ध भएछ भनेर बुझ्छन् |) लाई किताबमा निकै रोचक बनाएर लेखेका छन् |

नेपालीले किताबका केहि ठाउँमा सम्बन्ध र चालचलनलाई लिएर नेवारी समाज सुरुको समयमा मातृसत्तात्मक र बहुपति प्रथामा आधारित थियो कि भन्ने प्रश्न उठाएका छन् | तर, उनले अध्यन गर्ने समयसम्म आईपुग्दा नेवारी समाज एकल पति र पितृसत्तात्मक भएको बताउन्छन् | केहि ठाउँमा नेवार महिलाहरु आफ्नो जीवनसाथी चुन्ने बिषयमा स्वतन्त्र रहेको कारण अरु समुदाय भन्दा स्वतन्त्र रहेको बताउन्छन् भने, त्यो स्वतन्त्रता एक जीवनसाथीलाई छोडेर अर्को जीवनसाथी चुन्नेमा मात्रै सिमित रहेको पनि लेख्छन् |

जे होस् समाज विज्ञानमा चासो राख्नेहरुले नेवारी समाज आज भन्दा ५५ वर्ष अगाडी यस्तो रहेछ, यसका चालचलन यस्ता रहेछन | सामाजिक, आर्थिक, धार्मिक चालचलन यस्ता रहेछन भनेर बुझ्नको लागि यो किताब निकै उपयोगी छ | अंग्रेजी भाषामा लेखिएको भए पनि किताबमा अफ्ठेरा शब्दको भण्डार नहुँदा सरासर पढ्न सकिन्छ |





0 comments:

Post a Comment