(आफैंले लेखेका कैयौं कुराको आफैंलाई अत्तो पत्तो हुँदैन | गत वर्ष भूकम्प गए पछि लेखेको यो लेख अनलाईन खबरमा छापिएको थियो | ब्लगमा संकलित हुने हुनाले यहाँ पोष्ट गरेकी छु | मलाई लेख्नको लागि झक्झकाउने अरुण बराललाई धेरै धन्यवाद !)
काठमाडौमा भूकम्प
आएको पन्द्र दिन पछि पनि सामाजिक संजालका प्रयोग कर्ताहरु भूकम्पलाई 'वाह क्या
साम्यवादी ! कुनै धनि-गरिब, जति, भाषा, धर्म, लिङ्गको विभेद नगरी आउने | सबैलाई
समान रुपमा प्रभाव पर्ने' भनेर प्रकृतिको अनुपम समानताको ब्याख्या गरेका थिए |
धेरैले क्या गज्जब करोड पति र रोडपतिलाई भूकम्पले एकसाथ उस्तै पालामुनिका बासिन्दा
बनायो जस्ता भनाइ जताततै देख्न सुन्न पाईएको थियो |
बैसाख १२ गते भूकम्प
जाँदा हामी चितावनको जङ्गल भित्र थियौं | भोलि पल्ट बिहानै घरमा पुग्नासाथ मेरा ससुराबाले भन्नु भो, 'कुनै ठुला नेतालाई
केहि भएको छैन |' मेरो राजनीति तिरको झुकाब बुझेर हुनु पर्छ उहाले यस्तो भन्नु
भएको | उहाँको कुरा सुने पछि मेरो मनमा अर्को एक लाईन थपियो, 'ठूला नेता मात्र
होइन कुनै ठूला कलाकार, ठूला पत्रकार, ठूला लेखक, ठूला ब्यवसायी वा अरु कुनै महान,
बरिष्ठ भनिने कसैलाई केहि भएको छैनन् |' मैले मनको कुरा मनमा नै राखें |
काठमाडौ फर्के पछि महानगरपालिकाको
३३ वडामा भएको क्षति, त्यसको व्यवथापन, व्यवस्थापनका बिभिन्न कठिनईलाई नजिकबाट
हेर्ने मौका मिल्यो | काठमाडौ महानगरपालिकाको ३३ वडामा २० घर पूर्णरुपमा भत्केका
छन् | भत्किएका मध्ये धेरै घर ९० सालको भूकम्पले हल्लाएका थिए | जुन घरका मालिकहरु
अन्तै बस्थे र भाडा मात्रै उठाउथे |
वडा कार्यालयमा कुनै
सहयोग पाईन्छ कि भनेर राहत लिन आउनेको दुई बृद्ध दिदीभाई धेरै बेर बसेको देखे पछी
हामीले उनीहरुसँग सामान्य गफ गर्यौ | उनीहरु जुन घरमा बस्थे त्यो घरका मालिकको
अनुहार कस्तो छ उनीहरुले कहिल्यै देखेनन् | हरेक महिनाको पहिलो हप्ता कुनै खटाईएको
मानिस आउथ्यो र घर भाडा असुलेर जान्थ्यो | मालिक बिहिन उक्त घरमा धेरै कुराको
सुबिधा थियन | तर, उनीहरु सस्तो भाडा भएको कारण त्यहाँ बस्थे | भूकम्पको क्षतिको
विवरणमा उक्त घरको नाम पनि छ | तर, उक्त घरमा बसेर सहरमा मजदुरी गर्ने मानिसहरुको
जुन क्षति भएको छ त्यसको बारेमा कतै कुरा भएको छैन | आफुले मजदुरी गरेर भेला परेका
सबै थोक भत्केको दरबारको भाग्नवसेसमा पुरिएका मानिसको बारेमा कसले बोलिदिने ? कसले
सहयोग गरिदिने ?
धेरै मानिसले भने
जस्तो प्रकृतिले सबैलाई समान व्यवहार गर्छ | भूकम्पले मात्रै होइन, हरेक दिन चल्ने
हावाको सितलता, घामको पोलाई सबैले सबैलाई समान व्यवहारनै गर्छन् | तर, मानव समाजमा
भोगिदा त्यो धेरै प्रकारले विभेदित हुन्छ | अरबको खाडीमा काम गर्ने मजदुर र
मालिकलाई आकासमा रहेको एकै सुर्यले एकै खालको प्रभाव पर्दैन | मालिक, व्यवस्थापक
बतानुकुल घरका बस्छ, बतानुकुल कार्यालयमा काम गर्छ, बातानुकुल गाडीमा सयर गर्छ
उसलाई रुसको जाडो र खाडीको गर्मीको बिचमा कति सेन्तिग्रेटको फरक छ भनेर महशुस
हुदैन | जो कामदार हरेक दिन चर्को घाममा काम गर्नु पर्ने बाध्यता हुन्छ उसैलाई
पर्छ गर्मीको मार | खाडी नै किन जानु हरेक दिन पानी आउदाको काठमाडौ कै कुरा गरौँ,
जब काठमाडौमा पानी पर्छ तब कार चढेर हिड्ने कुनै ठुला-बरिष्ठको कुनै काम बिग्रीदैन
| काम त तिनको बिग्रीन्छ जो बाटो छेउमा उभिएर लामो समय गाडी कुरेर बस्नु पर्छ |
हरेक चैत्र बैशाखमा
किन लाग्छ जाजरकोटमा मात्रै सरुवा रोगको महामारी ? किन लाग्छ तराईका मुसहर, डोम
बस्तीमा आगलागी हरेक साल ? काठमाडौंका मजदुरहरु र गरिब बिधार्थीमात्रै हरेक बर्ष
जन्डिसले किन थालिन्छन ? भूकम्प पछि काठमाडौको जनजीवन सामान्य बन्दै छ, तर पालमा
नै रुदै किन बसिरहेका छन् ? ति पाल मुनि कुनै महान- बरिष्ठ छन र ? जरुर छैनन् |
सहरको भन्दा खुल्ला स्थान भएको सिन्दुपाल्चोकमा किन भयो यति धेरै मानिसको मृत्यु ?
यी सबै प्रश्नको जवाफ वर्गसँग गएर जोडिन्छ |
जाजरकोटमा पहिलो
कुरा त डाक्टर जानै मान्दैनन | नमान्नुको कारण छ, जाजरकोटका मानिसहरु महँगो पैसा
तिरेर डाक्टरको क्लिनिकमा आउदैनन | पैसा तिर्ने हैसियत भएकाहरु सहर तिरै बस्छन |
त्यहि भएर जाजरकोटमा स्वास्थ्यको जिम्मा पाएको डाक्टर काज मिलाएर सहरतिर क्लिनिक
चलाएर बस्छ | मुसहर बस्तीको कुरा पनि त्यहि हो | व्यवस्थितरुपमा घर बनाउन सक्ने
आर्थीक हैसियत छैन | आगोले भेट्ने घर एउटाको घरमा आगो लागेपछि बस्ति नै सखाप हुन्छ | जुन वर्गको घर सम्म मोटरको बाटो
बनेको छैन, जुन बर्गका मानिसले बल्लियो घर बनाउन सकेका छैनन्, जुन स्थानमा
महान-बरिष्ठहरु बस्दैनन्, त्यहि हुन्छ बिपत्ति चाहे त्यो भूकम्पको होस् वा कुनै
महामारीको |
भूकम्पले हल्लाउँदा
काठमाडौका अरब पतिहरुको पनि पाल मुनिको बास जरुर भयो | एक हप्ता पछी उनीहरु आफ्ना
आरामदायी घरमा फर्किसकेका छन् | तर, उनीहरुसँगै पालमा बसेका घर-डेरा भात्केकहरु
कहाँ फर्कने भन्ने कुराले जो कोहीको मन चसक्क हुन्छ | प्रकृतिको कम्पन समान भए पनि
जसरी घरहरुमा असमान रुपमा क्षति पुगेको छ | यसै गरि असमान रुपमा भत्केका छन्
मान्छेहरुका सपनाहरु | र त्यो असमानता वर्गीय आधारमा छ |
0 comments:
Post a Comment