बौरिँदै बारपाक

on Tuesday, March 29, 2016


ट्रेकिंग, गाउँघर, गुरुङ समाज र संस्कृतिमा चासो हुनेलाई मात्र सम्झनामा रहने गोरखाको बारपाक गाउँ बैसाख १२ गतेको भूकम्प पछि एकाएक चर्चामा आयो | बैसाख १२ गतेको भूकम्प र बारपाक गाउँ सँगै आउने शब्द बने | भूकम्पमा केन्द्रित भएर एम एको थेसिस लेख्ने योजना बने पछि बारपाक गाउँ मेरो पहिलो रोजाई भयो | पढेको र सुनेको भरमा बारपाक गुरुङ संस्कृति र बस्तीको नमुना गाउँ र बैसाख १२ गतेको भूकम्पको केन्द्र बिन्दु भन्ने बाहेक धेरै कुरामा ज्ञान थिएन | काठमाडौंबाट गोरखाको लागि हिंड्नु भन्दा अगाडी मैले गुम्दा गाबिसका सचिव मेरा साथी हरि भुजेललाई भेट्न गएकी थिएँ | बारपाक जाने भन्ने बित्तिकै हरिको पहिलो प्रतिक्रिया थियो, 'त्यहाँबाट कसरी डाटा ल्याने भन्नेमा समस्या हुन सक्छ | बैसाख १२ गतेको भूकम्प पछि अनुसन्धानको नाममा धेरै मानिस बारपाक पुगेका कारण रिसर्च गर्न आउने मानिसहरूलाई बताउँदा बताउँदै त्यहाँका धेरै मानिसलाई चिड चिडाहट भएको पनि हुन् सक्छ |' उनको सल्लाह थियो, एनजीओ र अनुसन्धान दाता नपुगेका गोरखाका अन्य गाविस जाने |


थेसिस लेखनको लागि छुट्याएको एक वर्ष एम एका धेरै बिधार्थीलाई महाभारतको युद्द तत्तिकै हुन्छ | मेरा लागि पनि थेसिस एक प्रकारले महाभारत नै भैसकेको छ | एम ए भर्ना गर्दा देखी थेसिस गर्ने भनेर चार पाँच शिर्षक फेरे पछि अब म सके सम्म यो शिर्षक र स्थान परिवर्तन गर्ने मानसिकतामा थिईन त्यसैले हरि जीलाई 'एक पटक गएर हेरुँ' भन्ने छोटो जवाफ दिएँ |


काठमाडौंबाट सिदै बस बारपाकमा जाने भए पनि बारपाकका गाविस सचिव चेत प्रसाद अमगाईको घर गोरखा बजारमा नै भएको हुँदा उहाँलाई गोरखा बजारमानै भेट्न सकिने लोभले हामीलाई गोरखा बजारमा बसायो | बजार पुगेर चेत सरलाई फोन गरें तर उठाउनु भएन | दुई घण्टा पछि फेरि गर्दा बजार भन्दा अल्ली टाढा भएको कारण आउन सक्ने भन्नु भयो | उहाँ टाढा नै हुनुहुन्थ्यो होला तर, मैले हरि जीले भनेको कुरा सम्झिएँ | बारपाकका कर्मचारी उत्तर दिँदा दिँदा थाकेका पनि हुन सक्छन् | लगभग एक वर्ष देखी भूकम्पमा केन्द्रित भएर काम गर्दा गर्दा थकित गाविस सचिवले सनिवारको दिन पनि त्यसैमा खर्चनु पर्छ भन्ने थिएन | काठमाडौंका हाकिमहरू भएका भए अफिस समयमा कुरा गर्न आउनुस भनेर पन्छाई दिन्थे | तर, उहाँले त विनम्रता पूर्वक नै परेको सहयोग गर्छु भन्नुभएको थियो |

अब गोरखा बजारमा हाम्रो काम थिएन | एक रात गोरखा बाजारको दर्शन गरेपछि भोलिपल्ट बिहान ६ बजे बारपाक जाने बसको टिकट काट्न बसपार्क पुग्यौं | बारपाकको लागि दुई टिकटको ६३० रुपयाँ भने पछि हामीले प्रश्न गर्यौं, 'काठमाडौं देखी गोरखा बजार आउन पनि ३०० अनि गोरखा बजार देखि बारपाक पुग्न पनि उत्ति ? १५० र ४५ किमी दुरीमा चल्ने गाडीको भाडा एकै कसरी हुन सक्छ ?' हाम्रो प्रश्नमा प्रतिप्रश्न गर्दै काउन्टरका मानिसले भने, 'कसरी हुन्छ भन्ने कुरा पुगे पछि थाहा पाउनुहुन्छ | लास्ट सिट हो जाने कि नजाने ?' त्यहीं जाने भनेर आएको मान्छेले नजाने भन्ने त कसरी हुन्थ्यो र ? हामीले टिकट लियौं |

७ बजे गोरखा बजारबाट बारपाकको लागि गाडी हिड्यो | दुई किलोमिटर पिच बाटोमा बिना जाम एक घण्टा बिताए पछि बस १२ किलो भन्ने चोकमा पुगेर एक घण्टा रोक्छ है भन्दै डाईभर गाडीबाट झरे | हामी थेसिसमा लिटरेचर रिभियुको काम गरिरहेका हुनाले गाडी कहाँ किन कति बेर रोक्छ भन्ने बारेमा चासो नराखी फोटो कपि निकालेर पढ्न थाल्यौं | तर, एक एक घण्टा बिचमा बाटोमा गाडी रोकेकोमा गाडीमा रहेका स्थानीय बासिन्दा गनगन गरिरहेका थिए |


डाईभर बोलिका पक्का रहेछन, एक घन्टामा आएर गाडी अगाडी बढाए | तिन चार किलोमिटर पिचमा हिंडे पछि गाडी कच्ची बाटोबाट अगाडी बढ्यो | बिहान गाडी छुट्ला भन्ने हतारोले होटलमा चिया पनि नखाई हिंडेका हामीहरू भोकले आत्तिन थालेका थियौं | लगातार दूई घण्टा कच्ची बाटोमा गाडी हिडेर रोकिँदा बिहानको ११ बजेको थियो | निधारमा नामको प्रमाण पत्र नटाँगेको कुनै बजारमा मिठो खाना खाए पछि हामी फेरी अगाडी बढ्यौं | हरेक मिनेटमा बुरुक्क बुरुक्क उचाल्ने बसमा खुब लेखनदास बन्न बोकेको ल्यापटप कसरी सकुशल राख्ने भन्ने पिरलोले सताउन थाल्यो | हरेक चोकमा पुगे पछि हाम्रो स्वाभाविक प्रश्न हुन्थ्यो 'बारपाक पुग्न अब कति लाग्छ ?'


हरेक पटकको प्रश्नको उत्तरमा बारपाक पुग्न लाग्ने समयको दुरी ५ मिनेटको भन्दा फरक हुँदैनथ्यो | तर, बसले यत्ति उफारेको थियो कि हरेक मिनेट बित्न महिना बितेको जस्तो लाग्थ्यो | खाना खाएको एक घण्टा पछि गाडी दरौदी र राङ्गरुंग खोलाको दोभानमा रोकियो | अगाडी डोजरले बाटो खनेको कारण देखाएर गाडी अगाडी नबढ्ने भनेर फर्काउने भयो | सँगै रहेका बारपाकका महिलाहरू थुन्सेमा रहेको भारी बोकेर उकालो बाटो लागे | म खुट्टा दुखेर पेन किलर खाई रहेकी थिएँ | गाडी गाउँ सम्मै जान्छ रे भनेर काठमाडौंबाट हिडेकी, साथी कहिल्यै पहाडको उकालो नटेकेकी ! साना साना दुई झोला बाहेक, दुई जनाका लुगा भएको अर्को झोला पनि थियो | साथीले भनिन, 'हिड सके पनि नसके पनि एक पटक पुगेरै फर्किम |'


अलिकति हिंडे पछि मेरा खुट्टाले आफ्नो चरित्र देखाउन थाले | बारपाकका दिदीहरू अगाडी बढे, साथीका पिर सुरु हुन थाले, 'बल्ल बल्ल बारपाक आएको फर्किन पर्छ कि के हो ?' मलाई आफ्नो थेसिसको भन्दा पनि पहिलो पटक पहाड हेर्न आएकी मेरी साथीको माया लागेर आयो | र, भनें, 'बिस्तारै हिड्ने, यिनीहरूलाई दुई घण्टा लाग्ने बाटो हामीहरूलाई चार घण्टा त लाग्ला | बेलुका सम्म बारपाक पुगिन्छ |' हामी अलिकति उकालो हिंडे पछि एउटा खालि ट्याक्टर आयो | हामीलाई त्यहि भए पनि ठूलो राहत भयो, ल्यापटप कसरी जोगाउने भन्ने समस्या बाहेक |

पछाडी बस्दा धेरै उफर्ला भन्ने पिरले अगाडी डाईभरको छेउमा बसियो | बसले भन्दा ट्याक्टरले उफर्छ भन्ने सबैलाई थाहा नै हुने कुरा हो, त्यसरी उफार्ने ट्याक्टरको अगाडी बस्नु, तल नदि र उकालोमा हिड्नु पर्ने ग्रावेल बाटोबाट तलको नदि देखिनु साच्चिकै डर लाग्दो थियो | बारपाकमा अत्याधिक राहत थुप्रियो भन्ने हल्ला काठमाडौंमा सुनिएको थियो | मेरी साथीले भनिन्, 'यस्तो बाटोमा मान्छेले कसरी राहत ल्याए होलान् ?' हामीसँगै ट्याक्टरमा झुन्डिरहेकी एनजीओ कर्मीले भनिन, 'साना साना निजि गाडी त आउँछन् नि' ति साना निजि गाडीमा कस्तो राहत आयो होला भन्ने मनमनै सोचें | बोल्न सक्ने जाँगर पनि थिएन | एक घण्टा डरमर्दो भिर उक्ले पछि ट्याक्टर बारीको पाटाको बीच बीच हिंड्न थाल्यो |

थेसिस लेख्ने भने पछि त्यसलाई कुन सिद्धान्तको चस्माले हेर्ने, के हेर्ने भन्ने कुरा मुख्य रूपमा आउँछ | बारपाकका बारेमा पढेका लेखहरूले भूकम्प र त्यसपछिको राहतको कुराले बारपाकलाई परनिर्भर बनाउँदै लागेको बताउँथे | ममा पनि अन्य सिद्धान्त भन्दा परनिर्भरता सिद्धान्तको बढी प्रभाव छ | तर, मेरा एडभाईजर प्रोफेसर युवराज लुईटेलले विकासे संस्थाले प्रयोग गर्ने शब्द भए पनि भूकम्पको बारेमा थेसिस गर्ने भए "रिजिलिएन्स" हेर्दा राम्रो हुने सल्लाह दिनु भएको थियो | रिजिलिएन्स जसलाई नेपालीमा कुनै दुर्घटनाबाट बौरिने सक्ने खुबी भन्न सकिन्छ | म परनिर्भरता र रिजिलिएन्स दुबैलाई दिमागमा राखेर बारपाक जाँदै थिएँ | बारपाक परनिर्भर बन्दै छ भन्ने हल्ला पूर्ण सत्य होइन भन्ने कुरा बारीमा लहलह परेको गहुँ, जौ, भर्खर उम्रदै गरेको मकै र गोड्ने बेला भएको आलुले बताउँथे | मानिसले आफ्नो काम धन्दा छोडेका थिएनन् |

दुई घण्टा ट्याक्टरको उफाराई पछि हामी चल्नै बिर्सेला जस्तो भएको शरीर बोकेर बारपाक बसपार्क अर्थात् गाउँमा पुग्यौं | भूकम्प अगाडिको बारपाक नदेखेको हुँदा एक नजरमा बारपाक अन्य सामान्यतया गरिब  बस्ति जस्तै लाग्यो | बारपाक गाउँमा पुग्ने बितिकै हाम्रो कानमा एक प्रकारको सङ्गीत जस्तो टाकटाक टुकटुकको आवाज आईरहेको थियो | भोक र थकाईले गलेको शरीरलाई आधा घण्टा जति आराम गराए पछि चाउचाउ र चिया खाएर हामी गाउँ घुम्न निस्कियौं | चोकमा एक ट्रक जति बालुवा थुपारिएको थियो | जसलाई सात आठ जना दिदिहरू बोकेर कतै लाँदै हुनुहुन्थ्यो | कतै घर बन्दै थिए | गाउँ भरि जताततैबाट ढुँगा मिलाउँदै गरेको टाकटाक टुकटुकको आवाज आई रहेको थियो | हरेक घरमा पुन निर्माणको कुनै न कुनै काम भईरहेको थियो | कतै जग राखिंदै थियो, कतै गारो लागईदै थियो, कतै घर टिनले छाउने काम हुँदै थियो, कुनै घर पोतिदै थिए | स्कुल जाने उमेरका केटाकेटीको अन्तिम परिक्षा चलिरको थियो | तर, बिहान बेलुका गिट्टी कुट्ने, काठ मिलाउने काम गरिरहेका भेटिन्थे | एक ठाउँमा जाईकाले सिकर्मीहरूलाई कसरी घर बनाउने भन्ने तालिमको प्राक्टिस चल्दै थियो | यस्तो लाग्यो, बारपाक सबै छोडेर पुन निर्माणमा लागेको छ |   

१४८४ घर धुरी भएको बारपाक गाबिसमा भूकम्पले १४४७ घर र ७२ जना मानिसको  जीवन समाप्त पारेको थियो | यति बेला बारपाकका ४० प्रतिशत घरहरू जस्तो तस्तो बनि सकेका छन् | बाँकी पनि बन्ने क्रम तिब्र छ | सरकारले राहतको रूपमा दिएको १५ हजार रुपया वा सोहि मुल्यको जस्ता पता बाहेक अन्य सरकारी सहयोग गाउँलेले पाएका छैनन् | केयर नेपाल नामक गैर सरकारी संस्थाले सरकारको तर्फबाट काम गरेको आम धारणा छ | जसले भूकम्प पछि कस्तो घर बनाउने भन्ने बारेमा बिभिन्न मोडेल प्रस्तुत गरेको छ | तर, ती मोडेल अनुसार घर बनाउँदा आर्थिक भर बढी पर्ने बताउन्छन् स्थानीय नेता जीत बहादुर घले |

गाउँका नेता जस्ता मानिसहरू गाउँ पुरानै डिजाईनका घर बनुन भन्ने चाहन्छन | तर, भूकम्पमा पक्कि घर नभत्केको कारण स्थानीय वासिन्दा पक्कि घर बनाउन चाहन्छन | जस्तो घर बनाउने भए पनि सरकारले दिने भनेर घोषणा गरेको २ लाखले घर बन्दैन भन्ने निष्कर्षमा गाउँहरूले पुगेका छन् | तर, २ लाख भए पनि थपथाप हुन्थ्यो भन्ने आसा धेरैको छ |

सरकारले अझै कस्तो घर उपयुक्त हुन्छ भन्ने बारेमा निर्णय पठाएको छैन | एकीकृत बस्ति बिकासको अवधारणा ल्याउने भन्ने छ | तर, त्यो कस्तो हुने भन्ने थाहा छैन | 'घर त धमाधम बन्न थालेछन नि ?' भनेर मैले सोधेको प्रश्नमा नेता जीत बहादुर घले भन्छन्, 'सरकारले धेरै कुरा त दिन सक्दैन | तर, घर कस्तो बनाउने भन्ने नीति दिएको भए पनि हुन्थ्यो | जुन आएको छैन | सहरी बिकास मन्त्रालयले छिटै नीति बन्छ भनेको त छ | तर, स्थानीयलाई सधैं टिनको एक पाखेमा बसिराख भन्न पनि त मिलेन | अब जसले जसरी जानेको छ उसरी नै घर बन्ने भए | सरकारको नीति कहिले आउने हामीलाई नै थाहा छैन |'

आउने वर्षामा जस्तो भए पनि घरमा नै बस्ने धेरै गाउँलेको योजना छ | त्यसैले त बुढा बुढी देखी परिक्षाको बेलाका बालबालिका पनि साँझ बिहान निर्माणका काममा लागेका भेटिन्छन् | स्थानीय पत्रकार प्रशन्न पोखरेल भन्छन्, 'कसैले सहयोग गर्ने वाला छैन भन्ने निष्कर्षमा गाउँले पुगेका छन् |'

बाहिर भन्ने गरिएको जस्तो बारपाकमा राहत सहयोगको खासै ओईरो लागेको थिएन | जसले मानिसहरूलाई परनिर्भर बनाओस् | नत धेरै पत्रकार, अनुसन्धान कर्मी पुगेका थिए, जसले सोधेका कारण गाउँले र कर्मचारी हैरान हुन् | मानिसहरू नयाँ मान्छे देख्दा मुसुक्क हाँस्थे | साना केटाकेटी 'नमस्ते !' भन्थे | मानिसहरूसँग भेट्दा लाग्थ्यो यहाँ त्यस्तो कुनै बिपत्ती आएको थिएन् | दुई दिन बारपाक बस्दा लाग्यो, भूकम्पमा बारपाकका घर ढलेका थिए मानिसका हिम्मत ढलेका थिएनन् | यति बेला बारपाक बासी हिम्मतका साथ उठ्दै छन् |

0 comments:

Post a Comment