बैसाख महिनाको दोश्रो साता म कालिकोटबाट काठमाडौं फर्के पछि एक जना साथीले
मलाई गरेको पहिलो प्रश्न थियो, 'कालिकोट भोकमरी कै ठाउँ हो रैछ ?' उनको प्रश्नमा
मेरो जवाफ के थियो भन्ने कुरामा पछि आउँछु | पहिला हामीले कर्णालीको बारेमा के
बुझेका छौं भन्ने कुरा हो | कालिकोट जान भन्दा अगाडी मेरो धारणा के थियो ? सायद
झाडापखाला, भोकमरी, खाद्य संस्थानमा लागेको लामो लाईन र डरलाग्दो मोटर बाटो,
स्थानीय बासिन्दाको कुरा नसुन्ने, मर्का नबुझ्ने बाहिरिया लुटेरा जस्ता सरकारी
कर्मचारी भएको ठाउँ यस्तै सोच्थे मैले पनि | गएको चैत महिना भरि देश भर खडेरीले
खेति हुन नसकेको, पानीका मुहान सुकेको समाचार आईरहेका थिए | बैसाख ३ गते बिहान
कालिकोटको मान्म बजारमा आँखा खोल्दा मेरो अगाडिको भिरालो पहाडमा गहुँ हुनु पर्छ
पहेंलपुर भएको थियो | मान्म बजार भन्दा तलको भाग पनि पुरै खेतीले भरिएको थियो | र,
राती हामी आएको बाटो पिच थियो |
सहकर्मीहरूले तपाईंलाई कस्तो छ भनेर सोध्दा मेरो उत्तर थियो, 'आज सम्म मैले
सुनेको कालिकोट झुटो रहेछ |' मेरो ध्यान नेपालगंजको राँझा एअरपोर्ट देखि कालिकोटको
मान्म सम्म आउँदा गलेको मेरो ज्यानको भन्दा टुटेको भ्रममा थियो | दिउसो कान्तिपुरका
पत्रकार तुलाराम पाण्डे दाईसँग भेट भयो | उहाँसँग पनि त्यस्तै कुरा भयो, बुझेको र
देखेको कालिकोटको फरकको बिषयमा | उहाँले कर्णालीमा आएको फरकको बारेमा कान्तिपुरमा
लामो समाचार पठाएको बताउनु भयो (जुन एक दुई दिन पछि हुनुपर्छ कान्तिपुरको प्रमुख
समाचार पनि बनायो) | झाडा पखाला पछिल्ला वर्षहरूमा महामारीको रुपमा नरहेको र
खाध्यानको कुरा गर्दा खाद्य संस्थानको चामल नबिकेको बुझियो | दिउसो सरकारी
कार्यलयका हाकिमहरूलाई भेट्दा सबै हाकिमहरू केहि गरौँ भन्ने उसाहले भरिएका भेटिए |
तर पनि बेलुका लाग्यो, यहाँ पो मोटर बाटो छ, सुबिधाको कुरा छ अन्य जिल्लामा त
हालत उस्तै होला नि ? मान्ममा नै काठमाडौं बसेर लेख्ने पत्रकार लेखकहरूको एउटा
टोलीसँग भेट भयो, उहाँहरू जुम्ला र मुगु पनि पुगेर फर्कनु भएको थियो | हतार हतारको
भेटमा भएको हाम्रो गफको बिषय एकै थियो कर्णाली प्रतिको हाम्रो बुझाई गलत रहेछ |
उहाँहरूले मलाई एक पटक जुम्ला र मुगु(रारा) पनि पुगेर फर्कने सल्लाह दिएर हिड्नु
भयो | जुम्ला र मुगु जान नसके पनि मेरो दिमागमा मैले कर्णालीलाई गतल बुझेकी रहिछु
भन्ने लागिरह्यो |
कुनै पनि बिषयमा मानिसले कसरी धारणा बनाउँछन् भन्ने बारेमा तानाशाह हिटलरको
भनिने एक लाईन 'झुट पनि हजार बार सुने/पढे पछि साँचो जस्तो लाग्छ' भन्ने कतै
सुनेकी वा पढेकी थिएँ | त्यस्तै कुनै पनि समाजको बारेमा ज्ञान कसरी निर्माण हुन्छ
भन्ने बारेमा बेनेड्रिक्ट एन्डरसनको ईम्यजिन कम्युनिटी भन्ने लेख छ | जसले ज्ञान
निर्माणमा लिखित साहित्य (समाज विज्ञानमा साहित्य भन्नाले रुमानी कथा, कविता र
उपन्यास मात्रै पर्दैन, गहन खोज अनुसन्धान मुलक वा धार्मिक लेख, किताब पनि पर्छ)को
ठूलो भूमिका हुने र जुन भाषाको माध्यम बाट निर्माण हुनेमा जोड दिन्छ |
कर्णालीको बारेमा म जे सोच्थें पक्कै पनि सुनेको र पढेको आधारमा मेरो धारणा
विकास भएको हुनु पर्छ भन्ने मलाई लाग्छ | मैले कर्णालीको बारे कहाँ पढेकी थिए ?
कसले सुनाएको थियो कर्णालीको कुरूप चित्र ? मेरो दिमाग घुमिरहेको थियो | कर्णालीका
बारेमा पहिला पढेका सुनेका श्रोतहरुको कुरा लेख्न चाहन्न | कालिकोट जान योजना बने
पछि मैले समृद्ध कर्णालीका दु:ख नामक किताब किनेकी थिएँ | पढ्छु भन्दा
किताबका सम्पादकहरूको बयान पढ्दा भेटेका केहि आक्रोशित लाईन पढे पछि मलाई त्यो
किताब पढ्ने जागर मारेर बन्द गरेकी थिएँ | कालिकोटबाट काठमाडौं फर्के पछि उक्त
किताब फेरि जबर जस्ती भए पनि पढ्छु भएर जाँगर चलाएँ |
किताबमा ९ जना लेखकका लेख समावेश गरिएको छ | जसले सके सम्म कर्णालीका फरक फरक
बिषयलाई लिएर कलम चलाएका छन् | झलक सुवेदीको लेख कर्णालीको सीमान्तीकरण:
एतिहासिक प्रक्रियाबाट नियाल्दा, सोमत घिमिरेको अनिकालले जेलिएको कर्णाली, डा.
कृष्ण प्रसाद पौडेल/धन ब. कठायत/ सुजाता तामाङको लेख कर्णालीको कृषिका
सम्भाव्यता ले कर्णालीको भोकमरी बाहिर (सरकार)बाट थोपरिएको, जसले कर्णालीलाई परनिर्भर बनाएको,
कर्णाली आफैं भने आत्म निर्भर भएको बिषयमा कोण कोणबाट स्पष्ट पार्ने प्रयास गरेका
छन् | कुनै कुनै ठाउँमा फरक लेखकका भनाई एक आपसमा बाझिने खालका पनि छन् |
कर्णालीलाई परनिर्भर बनाउने क्रम कहिलेबाट सुरु भएको भन्ने बिषयमा झलक सुवेदी
गोरखा राज्यको बिजय पछि सुरु भएको मान्छन् भने सोमत घिमिरे भोकमरी चलेको नाममा
जहिलेबाट कर्णालीमा चामल वितरण गर्न थालियो त्यहि समयबाट कर्णाली परनिर्भर बन्दै
गएको मान्छन् | ईतिहासका विविध काल खण्डमा सरकार द्वारा चालिएका कदमहरूले
कर्णालीलाई कसरी परनिर्भर बनाएको हो भन्ने कुरामा लेखकहरू सहमत देखिन्छन् | तीनै
लेखलाई छोटोमा भन्दा कर्णाली आफै चाहिँ आत्म निर्भर हुने क्षमता राख्छ, बाह्य
कारणहरूले उसलाई परनिर्भर बनाएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ | डा. कृष्ण
प्रसाद पौडेल लगाएतले लेखेको, "कर्णालीको खाधान्न न्यून वितरणको अवस्थाले एक
किसिमको भोकमरी चित्रित गरे तापनि अहिलेकै अवस्थामा जडिबुटी सङ्कलन, पशुपालन र
अन्य मौसमी रोजगारी (भारत र जिल्ला भित्र)बाट हुने आम्दानीबाट चामलको उपभोग तथा
अन्य घरायसी व्यवहार चलाएको पाईन्छ |" भन्ने भनाई बाट पनि कर्णाली परनिर्भर
होईन भनेर बुझ्न सकिन्छ | लेखहरूमा कसरी कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन
सकिछ भन्ने बारेमा सबैका गहन तर्कहरू छन् |
लेखक हरि रोका र लक्ष्मी कार्कीका लेखले कर्णालीको बारेमा भिजेर लेखेको जस्तो
लाग्दैन | रोकाले कर्णाली एक संघीय प्रान्तकोरूपमा मा देश सङ्घीयतामा गए
पछि कर्णालीले कसरी फाईदा लिन सक्छ भन्ने बारेमा लेख्ने कोसिस गरेका छन् | तर,
उनको लेख आम स्थानले संघीयतामा गए पछि लिन सक्ने लाभका बारेमा लेखिएको जस्तो लाग्छ
| लक्ष्मी कार्कीको कर्णालीका महिला लेख पनि केहि मानिससँग गरिएका कुराकानी
र सतही रूपमा खोजिएका तथ्यांकमा आधारित हुनाले कुनै एनजीओको सेमिनारमा प्रस्तुत
गरेको पावर पोइन्ट भन्दा फरक लाग्दैन |
कर्णाली शिक्षा : केहि चिन्ता, केहि चिन्तनमा लेखक टिका भट्टराई कसरी
कर्णाली शिक्षामा पछाडी परेको छ भन्ने बिषयमा प्रकास परेका छन् | जसमा कर्णालीका
पाँचै जिल्लाको शिक्षा रहेका समस्या, भईरहेको प्रगति र कोसिसको बारेमा गहन रुपमा
लेखेका छन् | कर्णालीमा दलितको अवस्था लेखमा रण बहादुर रम्तेलले मन छुने
लेख लेखेका छन् | एउटा दलित भएर नेपालि समाजमा बाच्न कति गाह्रो छ भन्ने बिषयमा
उनले आफ्नै अनुभवबाट लेखको सुरुवात गरेका छन् | र कर्णालीसँग जोडेर लेख्दा,
स्थानीय जन जीवन नबुझेर सरकारले बनाउने योजना र सहयोग कति निकम्मा हुन्छन् भन्ने
उदाहरणको रुपमा उनले कर्णालीका दलितको आयु र सरकारले दिने बृद्ध भत्ता सहयोगको
बिषयमा प्रष्टाएका छन् | कर्णालीका दलितको आयु सरदार ३८ देखी ४० वर्ष रहेको कारण
सरकारले ७५ (पछि कर्णालीका मानिसलाई ६०वर्ष उमेर पुगे पछि ) वर्ष पुगे पछि दिने
बृद्ध भत्ता प्राय कर्णालीका दलितले नपाउने तथ्य उनले उजागर गरेका छन् |
कर्णालीका जनजाति र तिनको वास्तविकता नामक लेखमा छक्क लामा र दिपेन्द्र रोकाया गोरखा राज्यले गरेको एकीकरण
अभियान देखी राजा महेन्द्र सम्मले लिएका नीति कसरी कर्णालीका जनजातिको बिरुद्ध
थियो भन्ने स्पष्ट परेका छन् | कर्णाली प्रतिको गलत धारणा म भित्र कसरी विकास भएको
थियो होला भन्ने मेरो प्रश्नको उत्तर मैले किताबको अन्तिम लेखको रुपमा पत्रकार
नवराज महताराको लेख "कर्णालीमा पत्रकारिताको अवस्था" मा केहि हद
सम्म भेटें | काठमाडौंमा रहेका संचार माध्यमले कर्णालीको बारेमा कस्तो चित्र
बनाएका छन् भन्ने बारेमा उनि आफ्नो लेख मा लेखेका छन् "पत्रिकाहरूमा प्रकाशित
अधिकांश समाचारका विषयहरू कर्णालीमा चामलको अभाव, अस्पतालमा औषधीको नभएको,
हवाईजहाज र गाडी दुर्घटना देखी झाडापखालामा मृत्यु भएको, यार्सागुम्बाको संकलनमा
ज्यान गएको, बिधालयमा पढाई नभएको, एक सचिवले
१४ वटा सम्म गाविस हेरेको जस्ता विषयले मात्रै प्राथमिकता पाएका छन् |
काठमाडौंमा २ दिन बन्द हुँदा बजारमा तत्कालै उपभोग्य वस्तु देखि हरेक क्षेत्रमा
अभाव र हाहाकार भए पनि कर्णालीका जति गाडी र जहाज बन्द भए पनि हाहाकार नभई आफ्नै
स्रोतमा निर्भर भएको, कृषि क्षेत्र, ठूला-ठूला स्याउ, सुन्तला फारमहरू एकजना
व्यक्तिले मात्रै संचालन गरेको खबरले कहिल्यै प्राथमिकता पाएका देखिएनन् |"
कर्णालीका पत्रकारले लेखेका सकारात्मक समाचारलाई काठमाडौंका संचार माध्यमले महत्व
नदिने गरेको आकोश महताराको लेखमा भेटिन्छ |
किताबको सुरूमा नेपालको एकीकरणको बिरोध गर्ने लेखहरूको संगालो पो हो कि जस्तो
लागे पनि पढ्दै जाँदा किताबले कर्णालीका पत्र पत्र खोतल्ने कोशिस गरेको पाइन्छ |
जता बाट जुन पत्र उप्काएर हेरे पनि हरेक लेखमा काठमाडौंका हर्ताकर्ता बिरुद्ध ठाउँ
ठाउँमा आक्रोश भेटिन्छ र जुन स्वाभाविक लाग्दै जान्छ | एउटा खासै अध्ययन नगरिएको
समाजको बारेमा २७३ पेज भएको किताबमा कति कुरा समेट्न सकिछ र ? किताब पढिसकेपछि सके
सम्म सबै बिषय समेट्न कोशिस गरिएको रहेछ भन्ने महशुस हुन्छ | अन्त्यमा समाजमा आफुँ
पढ्ने लेख्ने, नीति निर्माणमा सहभागी हुने मान्छे हुँ भनेर दावी गर्नेले र मेरो
जस्तै कर्णालीका बारेमा कुरूप चित्र बोकेर हिड्नेहरूले यो किताब एक पटक पढ्नै
पर्ने खालको छ | कर्णाली प्रतिको भ्रमबाट माथि उठ्न यो किताबले थोरै भए पनि सहयोग
गर्छ |
(यो समिक्षा २०१६ मा कान्तिपुरको कोसेलीमा प्रकाशित भएको थियो)
0 comments:
Post a Comment