गुरूबा ! हामी त सिकारी युगमै छौं

on Sunday, December 6, 2015
(यो लेख गत वर्ष आश्विन २९ गते कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो | मेरा लेखहरु कसैले चाहँदा पढ्न सक्नुहोस् भनेर यहाँ पुनः राखेकी छु )
केहि  समय अघि भएको एनसेल साहित्य महोत्सवमा कविहरूको पुस्तान्तरणको विषयमा कार्यक्रम भइरहेको थियो । कार्यक्रमको सञ्चालन कवि सरस्वती प्रतीक्षाले गरेकी भए पनि वक्ताहरू तीनजना पुरुष (मनु मन्जिल, श्रवण मुकारुङ र मनोज बोगटी) हरू थिए । कार्यक्रममा कुन पुस्ताका कुनकुन कविले राम्रो लेखिरहेका छन् भनेर उनीहरूले राम्रै बहस र ब्याख्या गरे । उनीहरूको बहस राम्रै थियो । तर दुर्भाग्य उनीहरूले लिएका दार्जिलिङ र नेपालका त्यति धैरै कविहरूको नाममा कुनै पनि महिला कविको नाम उल्लेख गरेनन् ।

कवि मनोज बोगटीले आफ्नो पुस्ताका धेरै कविले लेखिरहेका कविताका कुरा गरे । तर ती धेरै कविमध्ये सरस्वती प्रतीक्षा, विमला तुम्खेवा, सीमा आभाष, सरिता तिवारी, शकुन्तला जोशी लगायत कुनै महिला कविको नाम थिएन । कार्यक्रम सकिएपछि एकजना महिला कविले भनिन्, 'महिलाको नाम लिँदैमा उनीहरूको केही सकिने त थिएन नि ?' उनको कुरा सुनेपछि मेरो मुखबाट यत्तिकै निस्कियो, 'ज्ञान निर्माणको कुरा गर्दा हामी अझै सिकारी युगमै छांै ।' कसैले बोल्नुपथ्र्यो नि भनेर कुरा निकालेपछि कवि विमला तुम्खेवाले भनिन्, 'पन्ध्र वर्ष भइसक्यो बोल्न थालेको, अब त बोल्न पनि मन लाग्दैन ।'
साहित्यिक महोत्सवमा नै विचार पृष्ठमा कुन आधारमा लेखहरू छापिन्छन् भनेर एउटा 'सेसन' नै चल्यो । कार्यक्रममा विचार पृष्ठका सम्पादकलाई प्रनिका कोयुले कस्तो प्रश्न सोधिन् त थाहा भएन । तर यो प्रकारको बहस चलाउनुको पछि विचार पृष्ठमा महिला लेखहरूलाई खासै महत्त्व दिइँदैन भन्ने हल्लाले महत्त्व पाएको थियो ।
सिकारी युगको कुरा अझै सकिएको छैन । महोत्सवमा साहित्यका गुटहरूको निकै कुरा भयो । काठमाडौंमा साहित्यका थुप्रै साहित्यिक गुटहरू छन् । गुट साहित्यमा मात्रै छैनन्, राजनीति र समाज विज्ञानमा पनि छन् । जसले आफ्नो गुटको झुरभन्दा झुरलाई पनि स्थापित बनाउँछ । ज्ञान निर्माणको कुरा गर्दा त्रिभुवन विश्वविद्यालयको समाजशास्त्रको हाम्रो कक्षामा विद्यार्थीहरू भन्छन्, 'कीर्तिपुरका चियापसलमा बिहानै चिया पिउन आउने विद्यार्थीहरूको भीड हुन्छ । तर त्यो भीडमा महिलाको संख्या नगन्य हुन्छ ।' बिहानको चियागफ र बेलुकाका दारु गफहरूमा देशको राजनीति, अर्थतन्त्र, फेसबुक, फिल्मदेखि सेक्ससम्मका विषयमा गफ हुन्छन् । तर ती गफ प्रायः महिलाले गर्दैनन् ।
त्रिवि समाजशास्त्रकी एक प्रध्यापक भन्छिन्, 'पार्टटाइम पढाउन आएको सत्ताइस वर्षको ठिटोले क्याम्पस चिफसँग बरु निकट सम्बन्ध बनाउँछ । जुन तहको सम्बन्ध तीस वर्ष पढाएकी महिलाले बनाउन सक्दिन ।' सम्बन्धहरू कसरी बन्छन् ? कवि सरिता तिवारीको मार्मिक कविता छ, हतार-हतार घर-अफिस गर्ने कविको पुरा हुन नसकेको कविताको कविता । प्रायः कार्यालयबाट निस्केपछि हतार-हतार घर दौडने महिलालाई देखेपछि म सरिता तिवारीको उक्त कविता सम्झन्छु ।
केही दिन अघि सहाना प्रधानको अन्तिम संस्कारमा आर्यघाटमा थियौं । धेरैपछि भेट भएकी कुनै साथीलाई केही मानिसले कत्ति मोटाएकी भनेर प्रश्न गरे । छेउमा बसेकी अखिलकी नेतृ रन्जु ज्ञवालीले भनिन्, 'खालि महिलालाई किन मोटाएकी ? किन दुब्लाएकी मात्रै सोध्छन् । मलाई यस्तो सोध्नेसँग साह्रै सिर उठ्छ ।' हुन पनि हो वर्षौंसम्म ती महिला कहाँ थिइन् ? के गर्थिन् ? अहिले के गर्दैछन् भनेर कसैले सोधेको सुनिएन । किन त्यसरी मोटाइन् भन्ने प्रश्न प्रमुख रहेछ, महिलाका लागि । अघिल्लो दिन ऋचा भट्टराईको, 'के नारी सुन्दर छन् ?' लेख पढेकी मैले पनि भनिदिएँ, 'महिलाको शरीरलाई वस्तुकरण गर्ने समाजका नमुना प्रश्न हुन् यी' । आफ्नै मुखबाट बमजस्तै बोली निस्केपछि वरिपरि हेरेँ, छेउमा नै मेरा गुरु घनश्याम भुषाल हुनुहुन्थ्यो । उहाँतिर पुलुक्क हेरेँ । उहाँको अनुहार उज्यालो थियो । कार्लमाक्र्सले गरेको पुँजीवादको ब्याख्या र माक्र्सवादी नारीवादीले गर्ने ब्याख्यासँग मिल्ने कुरा मेरो मुखबाट निस्केका जो थियो । प्रायः सिद्धान्तसँग गएर जोडिने यस्ता कुरा हामीले बोल्दा, लेख्दा हाम्रा गुरुहरूको अनुहार उज्यालो हुन्छ ।
दुःखको कुरा के थियो भने ऋचा भट्टराईको त्यति राम्रो लेख काठमाडौंबाट निस्कने कुनैै दैनिक पत्रिकाको शनिबारको पेजमा छापिएको थिएन । त्यसैले धेरैले पढ्ने कुरा पनि भएन । मैले रन्जुलाई ऋचाको उक्त लेेख पढ्न अनुरोध गरेँ । समाजमा (पुरुषवादी समाजमा) राम्रो कुरा धेरै दिन लुक्न सक्दैन । त्यसले ढिलो-चाँडो महत्त्व पाउँछ भन्ने भनाइ छ । तर यो त्यही समाज हो, जसले भानुभक्तको वधु शिक्षालाई पढायो र योगमायालाई गुमनाम बनायो, हाइपासिया र आर्टिमिसियालाई मार्‍यो, औषधीमूलो गर्ने कैयौं महिलालाई बोक्सी भनेर जिउँदै जलायो, यो त्यही समाज हो, जसले दसजना पुरुष कविको नाम लिँदा एकजना महिला कविको नाम लिन सक्दैन ।
मेरा आदरणीय गुरु चैतन्य मिश्र र घनश्याम भुषालले नेपाली समाज पुँजीवादमा गएको निष्कर्ष निकाल्नुभएको छ । नारीवादीहरूले समाज विज्ञानका मुख्य वादहरूलाई मेनस्टि्रम (मूलधार) होइनन्, मेलस्टि्रम (पुरुषधार) हो भनेर आरोप लगाउँछन् । ६९ सालको प्रेम दिवसको दिन त्रिविमा भएको कार्यक्रममा मैले हामी जति नै पढे पनि र जागिर खाए पनि खाना पकाउने, भाँडा धुने र घर सम्हाल्नेभन्दा माथिल्लो अवस्थामा छैनौं भन्दा चैतन्य सरले अमेरिकामा पनि महिला त्यही अवस्थामा छन् भन्नुभएको थियो । ज्ञान निर्माणकै कुरा हो, बाराक ओबामा पहिलोपटक राष्ट्रपति उठ्नेताका उनीसँग हिलारी क्लिन्टन उठेकी थिइन् । त्यतिबेलै नेपालका राजनीतिक विश्लेषक सीके लालले अमेरिकी समाजले बरु लामो समय दास बनाइएका मानिसलाई राष्ट्रपति बनाउला, महिलालाई बनाउँदैन भनेर अनुमान गरेका थिए । मैले त्यो पत्याएकी थिइन, तर नतिजा ओबामाको पक्षमा आयो ।
म मेरा गुरुहरूलाई सोध्न चाहन्छु, सरिता तिवारीको कवितामा झंै केले दौडाउँछ महिलाहरूलाई ? केले जोताउँछ दिनका अठार घन्टा काममा ? र बल्लबल्ल समय निकालेर समाजमा उपस्थित भएर महिलाले केही गरिनै हाले पनि किन लिन सक्दैनन्, पुरुषहरूले महिलाको नाम ? किन दिन सक्दैनन्, उनीहरूलाई ठाउँ ? किन सोध्न सक्दैन, समाजले महिलालाई के गर्दै छौ भनेर ? समाज त पुँजीवादमै गएको हो नि गुरुबा ? तर महिला अझै पनि सिकारी युगमा नै छौं ।

0 comments:

Post a Comment