भाग्यले बाचेमा हामी !

on Friday, June 5, 2015

आमा प्राय: भन्ने गर्नुहुन्छ, 'तेरो भाग्य बल्लियो छ' | ३० वर्ष पुग्नै लाग्दा मलाई भाग्यको परिभाषा मान्छे, समाज र समय अनुसार फरक हुँदो रहेछ भन्ने लाग्छ | परिवारका सदस्यहरुसँग मेरो सधै एक हदको दुरी छ | सानासाना कुराहरुले मलाई खासै अत्याउन र मत्याउन सक्दैनन् | त्यसैले होला परिवारका सबैले मलाई रुखी छे भन्छन | म आफैलाई भने, 'म जोगीनी हुनु पर्ने' जस्तो लाग्छ | कौयौं पटक हप्ताको एकदिन बा-आमालाई फोन गर्छु भनेर नियम बनाउछु अनि दुइ तिन हप्तामै त्यो नियमको पालना मबाट हुँदैन | मैले नै कसैलाई फोन नगर्ने भएर होला मेरो मोबाइलमा खासै फोन पनि आउदैन |


मेरो जीवनमा सरदले जन्म लिए पछि म सके सम्म सम्बेदनशील बन्ने कोशिस गर्छु | १५ महिनाको उमेरमा मन्टेस्वरीमा सरद्लाई छोडेर पढ्न जाँन थाले पछि हप्ताको एक दिन उसलाई हामीले छुट्याएका छौं | साथीभाई बिचका भेटघाट, फिल्म हेर्न जाने वा सनिवारको दिन आयोजना हुने कुनै कार्यक्रममा भाग सकेसम्म नलिने र सरद्लाई घुमाउने एक प्रकारको अव्यक्त, अलिखित रुटिन छ हाम्रो घरमा |

बच्चालाई घुमाउन काह लैजाने ? स्वयम्भु, पशुपतिनाथ, बसन्तपुर, पाटन दरबार, चिडिया खाना वा फन पार्क | हरेक सनिबार हामी यी मध्ये कुनै ठाउँमा हुन्थेम | बैसाख १ गते पशुपति गएर फर्कंदा सरदले होटलको भात राम्ररी खायो, अचम्म लाग्ने गरि | भात खाए पछि धरहरा छाड्ने उसको जिद्दी सुरु भयो | यसै पनि उसले ४ वर्षको नहुदै दशौँ पटक धरहरा चढीसक्यो | एक गते उसले सरासर धरहरा चढ्यो रे, म जाँगर नलागेर तलै बसें | धरहराको दैलो छेउको ढुंगामा बसिरहँदा किन किन मलाई धरहराको बारेमा शंका लागिरह्यो, पटक पटक फोन गरे पछि टुप्पोमा पुगेर उनीहरु फर्किए |

सन्तानसँग सम्बन्धित साना साना कुराले जीवनमा धेरै नै फरक पर्ने रहेछ | सरदले होटलमा भात खाएको घटनाले हामीलाई बिहे गरे पछि पहिलो पटक घुम्न जाने समय मिल्यो | हामी(सबै परिवार) घुम्न जाने भने पछि मेरा साथीहरुले भने, 'चार वर्षको छोरो र पचास वर्षकी आमा सहित हनिमुन !'
घुम्न र एकरात बसेर भोलि पल्ट फर्कन सबै भन्दा नजिक मनकामना मन्दिर हुने भयो | आमा र सरद्को लागि मन्दिर भने पछि अरुकुरको खास चासो थिएन जस्तो लाग्छ | हामीलाई भने एकबारको जुनीमा यो केबुलकार भन्ने चिज पनि चढी हेरम न भन्ने थियो
|
बिहान ११ बजे तिर कुरिनटारमा रहेको मनकामना केबुलकार चढ्नेको लाईन निक्कै लामो थियो | तीन घण्टा लाईनमा बसेपछि केबुलकार चढ्ने पालो आयो | जीवनमा पहिलोबार चढेको केबुलकारले जब त्रिसुली नदि पार गर्यो, मलाई बेस्सरी डर लाग्यो | मैले आखा चिम्लेको देखे पछि सरदले भन्यो, 'छोरी(सरद मलाई माया गरेर बोलाउन परे छोरी भन्छ) म छु नि नडराऊ |' उसको कुरा सुनेर हामी हास्यौं | मनमनमा लाग्यो अब बोलीले भए पनि ढाडस दिने भयो |

डरलाग्दा महाभारत पहाड पछि मनकामना झर्यौं | जब केबुलकारबाट झारियो ब्यपरिहरुका कानखाने आबाज ! कोहि झ्याउरेमा, कोहि पपमा, कोहि र्यापमा आफ्नो पसलको बिज्ञापन गरिरहेका छन् | मन्दिरको बनावट साजसज्जा बाहेक धर्ममा चासो नभएकी मलाई बेस्सरी भोक लागेको थियो | मनकामनामा बस्ने भन्ने सल्लाह भएको कारण पहिला होटलमा बसम, फ्रेस हुम भनेको आमाले यो बेला सम्म भोकै बसियो  अब पुजा गरेर बसम्ला भन्नु भयो  | यत्तिका बेर त कुरियो केहि बेर कुरिदिम भन्ने भयो मेरो मनमा |

मन्दिरमा आमाले पुजा सके पछि होटलको खोजीमा हिडियो | घरै पिच्छेका होटल र तिनका विज्ञापनले तान्न सकेनन | एकजना दिदीको सुन्तलाको झ्यांगमुनि रहेको होटलमा खान खान बस्यौं | लोकल कुखुराको मासु लगायत केकेको सुबिधा छ भन्ने बिज्ञापन गेटमा बसेको भाईले गरेकै थियो | खान ल्याउने बेलामा पनि त्यो भाई गेटमै बिज्ञापन गर्दै थियो | यता खानामा लोकल कुखुराको भनिएको मासुमा कुखुराका नलीहाडमात्रै थियो खाना पनि बासि बासि जस्तो |

यस्सो सोच्दा मलाई किन किन त्यहाँ बस्ने मन भएन | सबैको कुरा बुझ्दा कसैलाई पनि त्यहाँ बस्ने मन नभएको सल्लाह भयो | अनि हामी काहाँ जाने भन्ने ठेगान बिना नै मनकामनाबाट केबलकार चढेर कुरिनटार झर्यौं | केहि बेर त्यहाँ आसपास कतै बस्न राम्रो ठाउँ पाईन्छ कि भनेर सोध्यौं पनि | त्यहाँ बस्ने ठाउँ नभएको कारण हामी ट्याक्सी लिएर सौराहा जाने सल्लाह गर्यौं |  

१२ गते भूकम्प आउँदा हामी चितावनको झंगल भित्र थियौं,  सौराहाको थारु म्युजियममा | भूकम्प हुँदा डराए पनि भूकम्प रोकिए पछि त्यो सानोतिनो भूकम्प मात्रै हो भन्ने मेरो अनुमान थियो | नेपालमा कुनै पनि समय ठूलो भूकम्प आउन सक्छ भन्ने भूगर्भविद्को भनाइ थियो | मेरो कल्पना धेरै ठूलो भूकम्पमा थियो | त्यसैले पनि त्यो सानै भूकम्प हो भन्ने भयो ! भूकम्प रोकिए पछि हामी टाँगामा थियौं अर्को झड्काको हामीलाई याद भएन | फर्किदै गर्दा टाँगावालाले भने, 'मान्छेलाई अब एक हप्तालाई पुग्ने गफको मसला मिल्यो' |

होटलमा पुग्नै लाग्दा देखि मोबईलमा फोन आउन थाल्यो | आफन्त, साथीहरु सबै  पहिलो बाक्यमा नै 'छोरो-तिमी ठिक छौ' थियो | सबैको चासो हाम्रो बारेमा भन्दा पनि सरदको बारेमा थियो | पछिल्लो समयका मेरा निकट साथीहरुले डराउँदै फोन गर्नुको कारण, सरदले हरेक सनिबार डुल्ने ठाउँहरु ध्वस्त भएर थियो | फोन राख्ने बेलामा सबैले भने, 'भाग्यले बच्यौ, तिमीहरु, बसन्तपुर, धरहरा, पाटन दरबार, स्वयम्भु सबै भत्कियो | काठमाडौं भएको भए तिमीहरु बच्दैन्थेउ !'

सबैले त्यसै भने पछि मलाई पनि लाग्यो, जीवनमै पहिलो पटक हामी घुम्न जानु, हरेक महिनाको दोश्रो सुक्रबार हुने मेरो अफिसको बहस कार्यक्रम(जसको संचालन म गर्छु) त्यो महिना बिहिबार नै हुनु, मनकामनामा नै बस्ने भने पनि हामीलाई त्यहाँ बस्न मन नलाग्नु, काठमाडौं फर्कन पनि मान नलाग्नु यी सबै कुराहरुले कतै हामीलाई बचाएका त होईनन् ? कहिले काहीं आफैले हुदै हुन्न भनेको कुरामा पनि  विश्वास लाग्दो रहेछ | भूकम्पले ध्वस्त बनाएको काठमाडौं घुमे पछि मलाई एक पटक आमाको भनाईमा विश्वास लाग्यो | एक पटक भाग्यमा विश्वास लाग्यो !


0 comments:

Post a Comment