चुनावी गर्मि चढीरहेको यो बेलामा मेरो कम्प्युटरको भित्ता दलका कार्यकर्ताले भरिरहेका छन्, फेसबुकका माध्यमबाट । धुप्रै एमालेका कार्यकर्ताले अग्रेजीमा लेख्दा पनि एमाले लेखिरहेका छन् । माओवादीका कार्यकर्ताले पनि माओइस्ट नलेखेर माओवादी लेखिरहेका छन् । यसरी लेख्नेमा उम्मेद्वार पनि छन् ।
अहिले फेसबुकका भित्तामा राजनैतिक दलका कार्यकर्ताले यसरी लेखेको देख्दा मलाई ०६२ सालको जनआन्दोलनको समय याद आयो । ०६२ सालमा मैले सरस्वती कलेजमा स्नातकमा भर्ना गरेकी थिएँ कमर्समा । अनेरास्ववीयुको सामान्य कार्यकर्ता थिएँ ।
जिन्दगीमा कुनै पनि बेला अङ्ग्रेजीमा बोल्न परेको थिएन त्यो बेला सम्म । अचानक विदेशी मानिस साथी भएको थियो । अन्तराष्ट्रिय समाचार सस्थाको फोटोग्राफर ।
स्कुलमा अङ्ग्रेजी विषय कहिल्यै पास नगरेकी मैले एसएलसीमा पनि अङ्ग्रेजीको जाँच दुई पटक दिएकी थिएँ । कहिलेकाहीँ अङ्ग्रेजीमा बोल्न परेको अबस्थामा मलाई लाग्छ, अङ्ग्रेजी कसरी पास गरेँ होला ? हुन त आई कममा पनि मैले दोस्रो वर्षको अङ्ग्रेजी दुई पटकमा मात्रै पास गरेकी हुँ ।
यस्तो मानिसका साथी भएको थियो अङ्ग्रेजी बोल्ने क्यानडेली । मेरा केही महत्वाकाक्षी साथीहरु जो बोर्डिङ् स्कुलबाट एसएलसी पास गरेर प्लस टु पढेका थिए । उनीहरुको सल्लाह जसरी पनि अङ्ग्रेजी सिक भन्ने थियो । जसरी पनि अर्थात् जाने पनि नजाने पनि बोल ।
अब मेरा लागि समस्या थियो, कोसँग बोल्ने भन्ने । कोठामा म एक्ले थिएँ । त्यहाँ अङ्ग्रेजी त के नेपाली भाषा पनि बोल्न सुन्ने कोहि नभएर म आत्तिन्थे । कलेजमा आखा मिच्दै जाँदा पढाई सुरु भएको हुन्थ्यो । नेपाली भाषामा । साथीभाई बनाउन पनि एक विषय बाँकी हुदा नै म अफिसको लागि हिँडी सक्थे ।
अफिसमा म सबै भन्दा तल्लो लेबलको कर्मचारी थिएँ । समय साप्ताहिकको सेल्स डिपार्टमेन्टमा । मसँग नेपालीमा नै बोलिदिने त कोहि थिएन । अङ्ग्रेजीमा बोली दिने र मेरो टुटेफुटेको अङग्रेजी सच्चाई दिने को ? तीन बजे पछि म समयको अफिसबाट निस्केर अखिलको कार्यलय रत्नपार्कको रातो घरमा पुग्थे । हरेक दिन जसो म पुग्दा अखिलका कार्यकर्ताहरु जुलुसको अन्तिम तयारीमा हुन्थे ।
जुलुसमा दौडभाग गर्दा नै घाम डुब्थ्यो । जुलुस सकिए पछि म नयाँबजारको डेरा फर्कन्थेँ । अखिलको सामान्य कार्यकर्ता थिएँ, नया थिएँ । जुलुस पछि नेताहरुसँग गफ गर्ने, चिया खाने र नेताको घरमा जाने विषयमा मलाई जानकारी थिएन । जसको कारण के छ ? सन्चै हुनुहुन्छ भन्ने बाहेकका गफ हुँदैनथ्यो । त्याहा पनि मेरो अङ्ग्रेजी बोलेर सुधार्ने चान्स थिएन ।
घरमा फर्के पछि खाना पाकिन्जेल रेडियो अन हुन्थ्यो । खाना खाए पछि मेरो पढ्नु हुन्थ्यो र रेडियो बन्द हुन्थ्यो । मैले कतै पनि अङग्रेजी सुधार्न समय पाएकी थिईन । यस्तै दिनहरुमा न्युरोडका जुलुसहरुमा भेटिदा उ मेरो साथी भएको थियो ।
झोँछेको गल्लीमा टियर ग्यासले आखा तिरमिराएर घोप्टो पर्दै गर्दा उसले मेरो फोटो खिचेको थियो । विदेशीले मेरो फोटो खिचेको मन नपरेर पहिलो पटक मैले टुटेफुटेको अङ्ग्रेजीमा म बोलेकी थिएँ, उसलाई गाली गर्न । उसले बुझेछ । भन्यो, ‘सि ! आई डिलिट योर फोटो’ । मैले थ्यान्क यु भनेँ । उ खिसिक्क हाँस्यो ।
अर्को दिन सरस्वती कलेज अगाडी हामीहरुले टायर बालेर जुलुस गरिरहेका थियौ । त्यो दिन हामी भन्दा प्रहरी बल्लिया भएछन् । कलेज भित्रै हुले हामीहरुलाई । त्यतिले पुगेन उनीहरु पनि छिरे । प्रहरीले हामीहरुलाई एक एक गरेर पक्डन थाले । केटी म र भक्त लामा( जो अहिले अखिलको सचिव हुनुहुन्छ) थियौँ । पुलिसले मेरो सर्टको कठालो समाएको थियो । गेटबाहिर ल्याय पछि कुन्नी किन हो पुलिसले हामीलाई भ्यानमा हालेन । सायद महिला प्रहरी नभएर होला । केटाहरुलाई मात्रै लगे ।
केटाहरुलाई भ्यानमा कोचे पछि प्रहरीहरु पनि गए । म र भक्त बाँकी रहयौ । प्रहरीले मेरा तिग्रामा दुई लात्ति हानेको थियो । सबै गए पछि तिग्रा भतक्क पोले । ढाडसम्म पुगेको मेरो सर्टको कठालो भक्तले माथी सारी दिईन । यस्सो हेरेको त अगाडीका दुई वटा टाँकै छैनन् । त्यहि बेला मेरो हातमा केटा केटा गनाएको तातो टिसर्ट पर्यो । यस्सो हेरेको त्यहि खैरे थियो, जसले झोँछेको गल्लीमा खिचेको मेरो फोटो डिलिट गरेको थियो ।
उले भन्यो, ‘लखाउ तिम्रो सर्ट भाँचियो ।’ गेटमा भएका कलेजका केटाकेटी हाँसे । मेरा आखा भतक्क पोले । मैले त्यो बेलामा ‘मानिसको अन्तराष्ट्रि जाती हुनेछ’ भन्ने गित सम्झेको हुनु पर्छ । पछि उसले मलाई बहिनी भन्न थाल्यो मैले उसलाई ब्रदर भन्न थालेँ ।
उ केहि नेपाली बोल्थ्यो । म केहि अङ्ग्रेजी बोल्थे । बिचमा थुप्रै शब्द हुन्थे जुन न मैले अङ्ग्रेजीमा भन्न सक्थे न उसले नेपालीमा बुझ्न सक्थ्यो । उसलाई हरेक दिन फोटो खिच्नु हुन्थ्यो । बिहान आठ बजे उ सरस्वती कलेज अगाडी आएर मलाई मिसकल गथ्र्यो । उसको मिसकलको अर्थ हुन्थ्यो म आएँ चिया खान आउ ।
चिया खादै उसले कहाँ कहाँ जुलुस भईरहेको छ भनेर मबाट जानकारी लिन्थ्यो । म उसैको मोबाईलबाट प्रत्येक कलेजका नेताहरुलाई फोन गरेर जुलुस भए नभकएको बुझि दिन्थे । चिया खाए पछि उ जुलुस भएको कलेज तिर जान्थ्यो म कक्षामा फर्कन्थे ।
दुवैजना व्यस्त नभएको एक दिन । कुरा गर्दा गर्दै कताबाट एमालेको विषय आयो । उ सिपिएन यूएमएल भन्छ । म नो नो एमाले भन्छु । उ मेरो एमाले बुझ्दैन । मलाई एमालेलाई यूएमएल भन्छन् भन्ने थाहा थिएन । हामी त्यहि दुईवटा शब्दमा अड्की रहेका थियौँ लगभग एक घण्टा । पल्लो टेबुलमा चिया पिईरहेका दाई हाम्रो टेबुलमा आए । र एमालेलाई यूएमएल भन्छन् मलाई बताई दिए । मलाई कम्ताको लाज लागेन त्यो जानेर ।
उसले धेरै पछि सम्म पनि मलाई अङ्ग्रेजी मेल गर्दा हाइ एमाले भनेर गथ्र्यो । राजनीतिक दलका कार्यकर्ताको फेसबुक हेरेर म उसलाई सम्झिरहेकी छु ।
1 comments:
lekh mann paryo... ramailo lagyo...
Post a Comment