३१ अगष्ट २०१९ मा नेपालको समाजशास्त्रका पिता (?) भनेर बेला बेला सम्बोधन गरिने हाम्रा गुरुबा चैतन्य मिश्रको किताब लोकतन्त्र र आजको माक्र्सवादको विमोचन थियो । चैतन्यसरको उक्त किताब आउनु भन्दा अगाडीबाट नै उहाँले आफुँ युवा अवस्थामा हुँदा प्रभावित भएको र लेखनमा केन्द्रीत गरेको सिद्धान्तबाट अल्लि पर अल्लि फरक निर्णयमा पुगेको बताउँदै आउनु भएको थियो । त्यो अल्लि पर पुगेको विषय मुख्यत माक्र्सवाद र माक्र्सवाद भित्रको आधुनिक विश्वब्यवस्था सिद्धान्त दृष्टिकोण (मोर्डन ओल्र्ड सिस्टम थ्यौरी पर्सपेक्टिभ) थियो । आधुनिक विश्व ब्यवस्था सिद्धान्त दृष्टिकोण इमान्युवल वालेस्र्टेइनलाई उहाँले आफ्ना गुरुमान्दै आएको कुरा कतै अन्तवार्तामा भन्दै आउनु भएको छ । समान्यतया रुढ लाग्ने चैतन्यसर विश्वव्यवस्था दृष्टिकोण र त्यसका हस्तीहरुबाट कति प्रभावित हुनुहुन्थ्यो भन्ने कुरा त्रि वि समाजशास्त्र विभागले एम फिल र पिएचडि पढाउने कक्षाको ह्रवाइट बोर्डसँगै विश्वब्यवस्था सिद्धान्तका सिद्धान्तकारहरु ए जि फ्रेंक, वालेस्टेइन, जिओभ्नी अरिघि र समिर अमिनको एउटा सानो फोटो झुन्डाउनु भएको छ ।
सम्योग नै भन्नु पर्ला चैतन्यमिश्र सरको नयाँ किताब काठमाडौमा बिमोचनको भएको दिन नै विश्वब्यवस्था दृष्टिकोणका मुख्य संस्थापक वालेस्टेइनको मृत्यु भएछ । यो लेख स्वर्गिय वालेस्टेइन, उनलाई संसारभर चिनाउने विश्वब्यवस्था सिद्धान्त, नेपालको समाजशास्त्र र समाजमा परेको उक्त सिद्धान्तको प्रभाव माथि केन्द्रीत छ ।
इमान्युवल वालेस्टेइन मुख्य त माक्र्सवादी समाजशास्त्री हुन् । तर मानवसमाजको विकासको क्रममा भएको शोषण माथि उनले गरेको ब्याख्या समाजशास्त्र सहित इतिहास र अर्थशास्त्रका विधार्थीले पनि नपढि उनिहरुको शास्त्रको ज्ञान पुरा हुँदैन । उनि सन् १९३० सेप्टेम्बर २८का दिन अमेरिकाको न्युयोर्कमा जन्मेका थिए । सन् १९५१मा बिए पढ्न कोलम्बिया विश्वविधालय प्रवेश गरेका उनि सोहि वर्ष अमेरिकि सेनामा जागिर सुरु गरेका थिए । अमेरिकि सैनिकको जागिर र विधार्थी जिवनलाई अगाडी बढाईरहेका उनले आफ्नो एमएको थेसिसमा ‘म्याकार्थिज्म’ को केस स्टडीको रुपमा राखे ।
खासमा अमेरिकि समाजमा रहेको कम्युनिष्ट विरोधी ब्यवहार जसलाई म्याकार्थिज्म भनिन्थ्यो, त्यो शित युद्धको समयमा अमेरिकि समाजिक कार्यकर्ता जोसेफ म्याकार्थि(जो पछि सिनेटर पनि भए)ले अमेरिकाका विश्वविधालय, फिल्म र सरकारी संयन्त्र भित्र अलिकति आलोचनात्मक सोच राख्नेलाई कम्युनिष्ट, सोभियत जासुस वा दलाल वा समर्थक भनेर सामाजिक रुपमा बहिस्करण गर्ने गरि चलाएको अभियान थियो । उक्त अभियानलाई केस स्टडीको रुपमा राखिएको थेसिस र त्यसमा आधारित लेखले उनलाई निक्कै चर्चित बनायो । उनले आफ्नो वेवसाइटमा भनेका छन्, ‘उक्त लेख धेरै चर्चित र साइट भयो अनि मैले आफुलाई राजनीतिक समाजशास्त्रीको रुपमा केन्द्रीत गर्नु पर्छ भन्ने सोच्न थालेँ ।’ उनले आफुलाई राजनीतिक समाजशास्त्री बनाउन चाहे पनि अमेरिकाको राजनीतिमा आफ्नो चासो नभएको र अमेरिका, युरोप बाहिरको दुनियाको राजनीतिमा हाइस्कुलको विधार्थी हुँदा देखि चासो भएको त्यसमा पनि भारतका गान्धी र नेहरुलाई नजिकबाट नियाल्दै आएको बताएका थिए ।
त्यसमा माथि उनि अन्तराष्ट्रिय युवा कग्रेसमा हुँदा देखि अफ्रिकाका नेताहरुसँगको उनको सगत भयो भने, त्यहि बेलामा अफ्रिकाका देशहरुमा स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो । अनि उनले आफुँलाई अफ्रिकाको विषयमा आफुलाई केन्द्रीत गरेर अगाडी बढ्ने निर्णय गरे । र सन् १९५५मा पिएचडिको लागि फोर्ड फाउण्डेसनले दिने अफ्रिकन फेलोसिप पाए । फेलेसिपमा उनले आइभेरिकोष्ट र गोलकोष्टमा भएको राष्ट्रिय स्वाधिनताको आन्दोलनमा केन्द्रीत भएर अध्ययन गरे । पिएचडि पछि उनि सन् १९५८मा कोलम्बिया विश्वविधालयमा नै प्राध्यापन गर्न थाले साथ साथ अफ्रिकाको विषयमा नियमित लेख्न र अध्ययनमा केन्द्रत भए । उनि भन्छन्, ‘सन् १९५५ पछिको २० वर्षमा पुरै अफ्रिका घुमेँ र धेरै किताब लेखेँ’ । अफ्रिकाको उक्त अध्ययनले उनलाई विश्वको बारेमा बुझन मद्दत गर्यो ।
सन् १९७१मा उनि क्यानडाको म्याकगिल विश्वविधालयमा प्राध्यापक भएर गए । म्याकगिलमा हुँदा नै उनले १९७३ मा अमेरिका र क्यानडाका प्राध्यापकहरु जो अफ्रिकन समाजको अध्ययन गर्ने अफ्रिकन स्टडिज एसोसियसनको अध्यक्ष समेत भए । त्यहि समयमा उनले अफ्रिकामा गरिरहेको अध्ययनले उनलाई विश्वब्यवस्थाको सिद्धान्त निर्माण गरिरहेका थिए । उनले सन् १९७० देखि कथित् तेस्रो विश्व आफ्नै असक्षमताको कारण नभई नियमित शोषणका कारणले पछि परेको हो भन्ने निष्कर्षमा पुगेका थिए । सन् १९७४मा उनले मोर्डन वल्र्ड सिस्टमको पहिलो भोलुम र त्यसमा नै आधारित द राइज एण्ड फ्युचर डेमिस अफ वल्र्ड क्यापिटालिज्मः कन्सेप्ट फर कम्पाराटिभ एनालिसिस लेख प्रकाशित भयो । जसले उनलाई सन्सारभर राजनीतिक र प्राज्ञिक दुवै रुपमा चिनायो । त्यस पछिका दिनहरुमा उनले मोर्डन बल्र्ड सिस्टमका चार भाग सम्मले लेखे । जसले युरोप र अमेरिकाको वैभव खासमा लुटमा आधारित हो भन्ने विषयमा केन्द्रीत गरे ।
सन् १९७६मा उनि न्युयोर्क स्थित् विङ्घमटन विश्वविध्यालयको फर्नान्ड ब्राउडेल (जर्मन समाजशास्त्र) सेन्टर फर द स्टडी अफ इकोनोमिको प्रमुख भए र सन् १९९९मा रिटायर्ड नहुँदा सम्म विङ्घमटन विश्वविधालयमा समाजशास्त्रका प्राध्याकमको रुपमा काम गरिरहे । विङ्घमटन विश्वविधालयको प्राध्यापक हुँदा नै उनि सन् १९९४ देखि १९९८ सम्म अन्तराष्ट्रिय समाजशास्त्र संघको प्रमुख भए । विङ्घमटन विश्वविधालयबाट रिटायर्ड भए पछि सन् २००० देखि उनिको मृत्यु सम्म उनि याले विश्वविधालयमा बरिष्ट अनुसन्धाताको रुपमा कार्यरत थिए ।
वालेस्टेइन २८ वर्ष उमेरमा प्राध्यापक भए पछि ६१ वर्ष सम्म प्राध्यापन, र लेखनमा नियमित लागिरहेका थिए । दर्जन भन्दा बढी जर्नलको सम्पादन, विस भन्दा बढी प्राज्ञिक संस्थासँगको आबद्धता, विसौँ विश्वविधालयमा लेक्चरर र प्रोफेसर भएका उनका इतिहास र समाजशासत्रमा चारसय भन्दा बढी लेख प्रकाशित छन् । त्यस माथि सन् १९९८को अक्टोबर देखि उनले विभिन्न विषयमा हरेक महिनाको एक र १५ तारिखमा नियमित कमेन्टरी लेख्थे २०१९को जुलाई १ तारिखमा उनले आफ्नो अन्तिम अर्थात् ५००औँ कमेन्टरीको शिर्षक दिस इज द इण्ड; दिस इज द विगिनिङ शिर्षक दिएर कोहि पनि बाँचिरहन सक्दैन र आफुँले पनि लेखिरहन नसक्ने बताएका थिए ।
धेरैले आधुनिकता सिद्धान्तको क्रिटिक गर्दै विश्वब्यवस्था सिद्धान्त आएको मान्छन् । उक्त कुरालाई धेरैहद सम्म सहि मान्न सकिन्छ । आधुनिक भनेको पँुजी र प्रविधिमा अगाडी हुनु, लोकतन्त्र भनिने निश्चित समयमा निर्वाचन हुन र पश्चिमा संस्कृति हो भन्ने विचार लामो समय अगाडी देखि समाजविज्ञहरुले राख्दै आएका थिए । संसारभर उपनिवेश बिरुद्धको स्वाधिनताको लडाईले जिते पछि पनि पश्चिमाहरु आफैँले शोषण गरिरहेका मुलुकमा नयाँ ढँगले हैकम जमाउँदै अगाडी बढीरहे । औपनिवेशबाट निस्कँदै गरेका मुलुकलाई अविकासित, अल्पविकासित जस्ता लेबल लगाएर । विश्वब्यवस्था सिद्धान्तले पश्चिमा समाजविज्ञद्धारा समाज विकासको ब्याख्या जुन परम्परागत र आधुनिक वा पछौटे र विकसित भन्दै आएको आधुनिकताको विचार सिद्धान्तको उक्त ब्याख्या र पश्चिमा राजनीतिज्ञहरुको ठालुपनलाई तर्क र तथ्य मार्फत खण्डन गर्यो र नयाँ सोच प्रदान गर्ने काम गर्यो । वालेस्टेइनले समाज बिकासको प्रक्रियामा पछिपरेका मुलुकहरु आफ्नै असक्षमताका कारण नभई अर्को मुलुकसँगको असमान शक्तिसम्बन्ध र अर्को मुलुकले गरेको शोषणको कारण पछि परेको निष्कर्ष उनले निकालेका थिए ।
उनको यी दुई लेख र किताब भर्खरै युरोपको शोषणबाट मुक्त भएका मुलुकहरुका राजनीतिज्ञको लागि बैचारिक आधारको रुपमा खडा भयो । उपनिवेशको कहर भोगेका राजनेता र समाजविज्ञहरुको हकमा उनको किताब धेरै हद सम्म सहि सत्य कुरा थिए । उनि आफैँले पनि मोर्डन वल्र्ड सिस्टम किताब ‘सिद्धान्त भन्दा बढी सत्यको खोज’ भएको उनले बताएका थिए । यहि सत्यको खोजले उनलाई विश्वभर चिनाउने काम गर्यो ।
समाजशास्त्र भित्र आधुनिक विश्व ब्यवस्था सिद्धान्तलाई नवमाक्र्सवादी दृष्टिकोणको रुपमा उनलाई जर्मन समाजशास्त्री अल्फ्रेड गुन्डर फ्रेंकले परनिर्भरताको सिद्धान्तसँग सँगै पढिन्छ । आधुनिक विश्व ब्यवस्था सिद्धान्तको निर्माण वालेस्टेइनले गर्दै गर्दा जर्मन समाजशास्त्री आन्द्रे गुण्डर फ्रेंकले आफ्नो किताब रिओरिएन्टः ग्लोबल इकनमि इन एसियन एजमा उनले पुँजीवादको विकासलाई १६ सताब्दी पछि मात्र अध्ययन गर्नु भन्दा दुई हजार वर्ष अगाडी लैजान पर्नेमा जोड दिएका छन् । फ्रेंकको परनिर्भरताको सिद्धान्त र उनको प्रभावशाली लेख इन्टडक्सन टु रियल वल्र्ड हिस्टोरी भास युरोसेन्ट्रीक सोसियल थ्योरीमा वालेस्टेईनको ब्याख्या गरेको समयलाई तन्काएर १८ सय वर्ष अगाडीको एसियाको वैभवको कुरा अगाडी बढाएका छन् । भने समिर अमिनले धनि देशबाट हुने शोषणबाट बच्न गरिब मुलुकले उनिहरुसँगको सम्बन्ध तोड्नु पर्नेमा बढी केन्द्रीत थिए ।
नेपालको समाजशास्त्रमा विश्वब्यवस्था सिद्धान्तको प्रभाव
नेपालको समाजशास्त्रको विकास नै चैतन्य मिश्रको कर्मबाट हुनु र उनले आधुनिक विश्वब्यवस्था सिद्धान्तप्रति झुकाब राख्ने कुराले नेपाली समाजशास्त्रमा यो सिद्धान्तले गहिरो गरि जरो गाडेको छ । चैतन्य मिश्रको लेख डेभलपमेन्ट एण्ड अण्डरडेभलउमेन्ट ः अ प्रेरिलिमिनरी सोसियलजिकल पस्र्पेक्टिभ र त्यस पछिका धेरै लेखका नेपाल सुगौली सन्धी पछि इष्ट इन्डिया कम्पनी त्यस पछि ब्रिटिस भारत र पछि स्वतन्त्र भारतसँगको शताब्दी लामो ब्यापार घाटा र शोषणको कारण पछि परेका निष्कर्षहरु ठाउँ ठाउँमा पढ्न पाईन्छ । त्यसो त मानवशास्त्रका प्राध्यापक डोरबहादुर विष्टले आफ्नो किताब फेटालिज्म एण्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल फर मोडर्नाइजेसन किताब एकै समयमा आएको थियो र नेपाल पछाडी पर्नुको मुख्यकाकारण बाहुनवाद हो भन्ने डोरबहादुर सरको मुख्य निष्कर्ष थियो । डोरबहादुर विष्टको उक्त किताबको बिस्तृत समिक्षा र किताब लेखनको सन्दर्भ सहित सुजित मैनालीले आफ्नो किताब सिलन्यासमा समिक्षा लेखेका छन् । सिलन्यासमा सुजित मैनालीको नेपालको इतिहासलाई हेर्ने दृष्टिकोणसँग सहमत हुन नसके पनि डोरबहादुर सरको फेटालिज्म एण्ड डेभलपमेन्टको समिक्षामा धेरै हदसम्म सहमत हुन सकिन्छ । यसरी एउटै विभाग भित्रका दुईवटा प्राध्यापकले अगाडी बढाएका विचारधारा समाजशास्त्रका विधार्थी जो राजनीतिक रुपले बढी कम्युनिष्ट भन्न चाहन्थे उनिहरु विश्वब्यवस्था सिद्धान्तका पक्षधर हुनु स्वभाविक पनि भयो ।
चैतन्य सरको किताब आउन भन्दा अगाडी नै सन् १९८०मा प्रकाशित भएको डभिड सेडन, जोन क्यामरुन र पि एम ब्लाइकिले लेखेको नेपाल इन क्राइसिस ले झन् नेपालका माक्र्सवादीहरु प्राज्ञ र राजनीतिहरुमा गहिरो गरिछाप छोड्न सफल भएको थियो । जुन बुटबल देखि नारनघाट, पोखरा देखि बुटवल र काठमाडौ देखि पोखरा सम्मको सडक निर्माण पछि संजालले नेपालमा कत्तिको विकास भयो भनि बेलायत सरकारले अध्ययन गर्न पठाएका पाँजजना अनुसन्धानकर्मिहरुले बेलायत सरकारलाई बुझाएको रिपोर्टका आधारित थियो । किताबमा उक्त सडकको निर्माणले नेपालको विकास भएको भन्दा झन बढी परनिर्भरता बढेको कुरालाई मसिनो गरि उल्लेख गरेका छन् । कसरी नवलपरासीमा राजमार्ग छेउमा बस्तिहरु बसे र ती बस्तिका मुख्य ब्यापारी नेपालका परम्परागत ब्यापारी नेवारहरुको ब्यापार घट्यो र भारतिय माडवाडिहरुको हातमा गयो । कसरी पुराना मुख्यबजारहरु (पाल्पा, बन्दीपुर) सुनसान भए र सडकको संजाल पछि डुम्रे दमौली कसरी गुल्जार भयो । अन्नमा आत्मनिर्भर भएको नेपाल उक्त सडकको निर्माण पछि झन् भारतिय प्रति परनिर्भर भए भन्ने कुरालाई उक्त किताबमा जोडिएको छ । उक्त किताब प्रकाशित भएर चर्चित भए पछि तत्कालिन पंचायत सरकारले ब्याण्ड गर्ने कुराले किताबलाई झन चर्चित बनाएको लेखकहरुको भनाई छ । पन्चायतकाल सकिए पछि माओवादी कालमा आर्मिले उक्त किताब घरमा राखेकै आधारमा पनि दुख्ख दिएको कुरा थियो ।
नेपाल इन क्राईसिस र चैतन्यसरका लेक्चर सुनेका नेपालका कम्युनिष्टहरु लामो समयसम्म वैदेशिक अनुदानमा लगानी हुने भनिएका ठूला परियोजनाको विरोधमा उत्रने गरेको बेला बेलामा सुन्न पाइन्छ । त्यसको सकारात्मक नकारात्मक प्रभाव के भयो भन्ने कुराको समिक्षा हुँदै गर्ला ।
अन्तमा, ‘पश्चिमाहरुले तिमीहरु पछौटे हौ, परम्परागत प्रविधि, राजनीतिक र संस्कार संस्कृतिका हिसाबले तिमीहरु भन्दा हामी विकसित छौं’ भन्दै गरि आएको दावीलाई वालेस्टेइनले ‘तिम्रो विकास मुलत शोषणको आधारमा भएको हो’ भनेर जोरी खोज्ने आधार तयार गरिदिए । जसले कथित् तेस्रो भनिने विश्वका राजनैतिक नेता र समाजविज्ञलाई आत्मविश्वास बढाउने काम गर्यो भन्दा फरक नपर्ला । त्यो साथ साथै उनि एक प्रतिबद्ध प्राध्यापक थियो जो लगातार ६१ वर्ष सम्म प्राज्ञिक कर्म गरिरहे । इतिहास भनेको घटनाहरुको संग्रहमात्रै होइन भनेर लगातार प्राज्ञिक पैरबी गरिरहे । उनको बारेमा यो लेख निकैनै सानो श्रद्धान्जिल मात्रै हो ।